मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

टिक्ला त साम्यवादी र इसाईहरुको सत्ता ? दीर्घराज प्रसाई

Screen Shot 2015-10-30 at 8.35.32 PM

नेपालको भविष्यबारे अब कसैले एकीन गर्नसक्ने अवस्था छैन । भारतीय गुप्तचर संस्था ‘रअ’ सँग मिलेर नेपाललाई लथालिंग बनाउने माओवादीहरुको षड्यन्त्र बुझिनसक्नु छ । माओवादीकै बलमा एमालेका खड्ग ओली प्रधानमन्त्री बनेका छन् । नेपालमा एमाले र माओवादी दुई भिन्न ध्रुवमा रहेका साम्यवादीको संयुक्त सरकार बनेको छ ।

माओवादीभित्र धेरै क्रिस्चियन छन् । माओवादीभित्र प्रचण्ड, बाबुराम भट्टराई, कृष्णबहादुर महरालगायत धेरै क्रिस्चियन छन् । काँग्रेस (आई) र उसको ‘रअ’, युरोपका इसाई देशहरु र सिआएको सहयोगमा उनीहरु नेपालका पहिचान, एकता र सार्वभौमसत्तामा खललः पार्न विश्वको एकमात्र हिन्दुअधिराज्य र राष्ट्रिय एकताको प्रतीकको रुपमा स्थापित राजसंस्थालाई ध्वस्त गराएर नेपाललाई इसाईकरण गर्न चाहन्छन् ।

४ जेठ ०६३ मा नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरेपछि नेपाल अधिराज्यभरी इसाईहरुको बढ्दो सक्रियता पनि माओवादीकै बलमा भएको हो । माओवादी, एमालेको साथमा राप्रपा नेपालको सहभागिता रहेको छ । तर राप्रपा नेपालले पदलोलुप्त बाटो रोजेको हो वा हिन्दुअधिराज्य तथा राजसंस्थाको बहालीको लागि यी दुई कम्युनिष्टहरुलाई चुनौति दिएर अगाडि बढ्ने हो, यसै भन्न सकिँदैन । कमल थापा प्रवत्ति कायमै रहिरहेमा राप्रपा नेपालबाट नेपालको राष्ट्रियता सुरक्षित हुन्छ भन्नु पनि जायज नहोला । त्यसैले राप्रपा नेपाल यी दुई कम्युनिष्टहरुको बीचको ऐँजेरु मात्र हुनसक्छ ।

मूलतः यो गठबन्धन आफैँमा दिग्भ्रमित छ किनकि साम्यवाद र इसाईहरुको आधिपत्य रहेकाले एकले अर्कोलाई ठग्ने र एक अर्कोसँग नमिली नहुने अवस्था छ भने उता राप्रपा नेपाल घाँडो छ । यो गठबन्धनमा स्वदेशी विदेशीहरु सबैलाई भुल्याउने गरी सबै कुरा नयाँ देखिए पनि ती सबै पेन्डोरा बक्सभित्रको अभिशाप जस्तो छ, जुन फुटेपछि उनीहरु आफैँ पनि सुरक्षित हुन सक्ने अवस्था नरहला । खड्ग ओली राष्ट्रियताको सवालमा राम्रै मान्छे हुन् । तर उनी कम्युनिष्ट हुन् । उनलाई काँध थाप्ने अर्का खतरनाक कम्युनिष्ट प्रचण्ड भएकाले यो मन्त्रिपरिषद्ले खतरनाक स्थिति ल्याउन सक्छ । उता नेपालमा प्रथम महिला सभामुख ओन्सरी घर्ती बनाइएको छ । उनी माओवादीकी सिपाही । त्यस्तै ११ कात्तिकमा राष्ट्रपतिमा प्रथम महिला एमालेकी विद्या भण्डारी बनिन् । उनी पनि कम्युनिष्ट । सभामुख र राष्ट्रपति यी दुवै अत्यन्त नम्र, मिलनसार र इमानदार नै छन् । तर यहाँ राम्रो नराम्रोको सवाल होइन । नेपालको गौरवमय परिचान र सार्वभौमसत्ता बचाउने कुरा हो । सवाल के हो भने अहिलेको सत्तामा सभामुख, प्रधानमन्त्री वा राष्ट्रपति जतिसुकै राम्रो मानिए पनि यिनीहरु आफैँमा स्वतन्त्र छैनन् ।

सत्ता टिकाउन खड्ग ओलीले र माओवादी नेता प्रचण्डले चाहेको माओवादीका हत्या, अपहरणका सबै मुद्दा खारेज गर्नेलगायत सबै कुरा मान्नु पर्छ । उता एमालेको विचार राष्ट्रपतिले नैतिक दृष्टिले समर्थन गर्नुपर्छ । यो गठबन्धनभित्र कुनै पनि नेपालको सार्वभौम एकताको लागि जिम्मेवार छैनन् । मुख्य कुरा एमाले, माओवादी समुन्द्रको बीचमा घोडा व्यापारीहरुको जस्तो सम्बन्ध छ । माओवादीले ठाउँ पायो भने एमालेलाई घोक्रेठ्याक लगाउन सक्छ । काँग्रेसहरु गिरिजाले खनेको खाडलमा सबै जागिएका छन् । एक्लो एमाले कुहिरोको काग जस्तो भौँतथारिइने मात्र हो ।

यो गठबन्धनको काल ०७२ असोज ३ गते घोषणा गरिएको संविधान नै बनेको छ । युरोपका इसाई राष्ट्रहरुलगायत पश्चिमाको दबाबमा धर्मनिरपेक्ष, गणतन्त्रलाई संविधानमा समावेस गरेर हिन्दुवादी भारतीय जनता पार्टी आक्रोशित भएर भारतकै खेतालाको रुपमा प्रयोग हुँदै आएका नेपालका भ्रष्ट मधेसीलाई उचालेर नेपालको सीमानामा आतंकित बनाइएको छ । ०७२ असोज ३ गते संविधान घोषणा भएपछि बाबुराम भट्टराईलाई प्रचण्डले टोकसेर गलहत्याएका छन् । बाबुराम भट्टराई क्याथोलिक पनि हुन् । उनले भारतीय गुप्तचर संस्थाको आदेशमा धर्मनिरपेक्ष, गणतन्त्र र जातीय संघीयताको बिजारोपण गराएर नेपाललाई पसाउने कुकर्म गरे । ती कुकर्म गरेको पापले बाबुराम भट्टराई अहिले भौँतारिएर मधेसी गुहारेर हिँड्नुपर्ने परिस्थिति आएको छ ।

संविधानमा धर्मनिरपेक्ष र गणतन्त्रको सट्टा हिन्दु राष्ट्र तथा सांस्कृतिक राजालाई कायम गरेर संविधान घोषणा गरिएको भए भारत आफ्नो हिसाबले सहयोगी बन्न सक्थ्यो । तर देखिदेखी भारतको हिन्दु राष्ट्रवादी पार्टी भाजपालाई नकारेर पश्चिमाको इशारामा नेपालको नेतृत्व हिँडेकाले भारतले आफ्नो अपमान ठानेको हुनुपर्छ । त्यसैले यो परिस्थितिमा नेपालका सत्तासीन कम्युनिष्टले धर्मनिरपेक्ष र गणतन्त्र समर्थन गरेर नेपाललाई इसाईकरण गराउने बाटो लिन्छन् कि भारतको चासोमा विश्वको एक मात्र हिन्दुअधिराज्य र स्थायी राष्ट्रप्रमुखको रुपमा राजासँग हात मिलाउछन् यसै भन्न सकिँदैन । तर अहिलेको कम्युनिष्टहरुको सत्ता ‘नखाऊँ भने रातभरको सिकार खाउँ भने कान्छा मामाको अनुहार’ जस्तो भएको छ ।

धारामा पानी हुँदाहुँदै हाम्रा पार्टीका नेताहरुले कुवा खन्ने काम गरे । नेपालमा आफूहरुले भनेको जस्तो हुँदाहुँदै भारतमा गएर काँग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ ले नेपाल कब्जा गर्न तयार गरेको ०६२ मंसिरको १२ बुँदे खतरनाक सम्झौता मानेर त्यसैको आधारमा आन्दोलनपछि ०६३ वैशाख ११ गते राजासँग सम्झौता गरेर सत्तामा आउने अनि त्यहीँ सम्झौतालाई धोका दिएर पश्चिमाको चासोलाई महत्त्व दिएर ०७२ असोज ३ गते संविधान घोषणा गरेर भारतीय हिन्दु राष्ट्रवादी पार्टी (भाजपा) सँग सहमति खाजेपछि कहाँबाट समस्याको समाधान हुन्छ ? ०७० सालतिर भाजपाका नेता गुजरातका मुख्यमन्त्री भएको बेला नरेन्द्र मोदी नेपालको भ्रमणमा आउन लागेको बेला यहाँका सत्तासीनले आउन दिएका थिएनन् । ०७१ सालको प्रारम्भदेखि नरेन्द्र मोदी भारतको प्रधानमन्त्री छन् ।

अब उनैको समयमा भाजपाको कट्टरविरोधी पार्टी काँग्रेस (आई)की सोनिया गान्धीको बेलाको नीति लागु गरेर नेपाली जनताको अभिमत विपरित धर्मनिरपेक्ष घोषणा गरेर नेपाललाई इसाईकरण गर्न खोजेको देखेर भाजपा आक्रोशित हुनसक्छ । किनकि भारतमा अहिले इसाईहरु खुलेर मोदी सरकारविरुद्ध लागेका छन् । यसो भएकोले उसले आफ्नो आक्रोश पोख्न भारतीय गुप्तचर संस्था ‘रअ’ र भारतीय राजदूत रन्जित रायले प्रयोग गरिएका नेपालको नागरिकता लिएका राजेन्द्र महतो जस्ता भ्रष्ट मधेसी र दोहोरो नागरिकता लिएका भारतीय अपराधीलाई उचालेर नेपालको तराईमा आतंक मच्चाउने र त्यही निहुँमा सिमानामा नाकाबन्दी गराउने काम भएको हुनसक्छ ।

नेपालको हिन्दुअधिराज्य र राजसंस्था भारतको पनि सरोकारको विषय हो । नेपाल र भारतबीचको सांस्कृतिक एकतालाई निरन्तरता दिनेक्रममा नेपालका राजा र दुवैदेशका जनताबाट लिच्छविकालदेखि नै मलजल गर्ने कार्य हुँदै आएको छ । भारतका अनेकौँ धामहरुः रामेश्वर, जगन्नाथ, विश्वनाथ, बद्रीनाथ, केदारनाथ, गया, कामाक्ष कामरुपमा नेपालका राजाहरुको विशेषाधिकार कायम छ । श्री ५ गिर्वाणयुद्ध विक्रम शाहको पालामा शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ बिर्ता दिई लालमोहोर गरी ‘…माई कामाक्ष शरणकरे …स्वर्गेस वंशउद्भवः भूपनिर्मित मन्दिरमिदम्’ शिलालेख राखी लालमोहोरिया पण्डा खडा गरी १२ गाउँ बिर्ता दिई लालमोहोर गरी दिएको थियो । यसहिसाबले नेपालका महान तीन विशेषता छन् । १)संसारको पुरानो पौराणिक सुसंस्कृत वैदिक सनातन हिन्दु तथा बौद्ध देवभूमि, २) विश्वको पुरानो सार्वभौम राष्ट्र र ३) विश्वको एक मात्र हिन्दुअधिराज्य ।

यी विशेषतामध्ये भारत पनि ८० करोड हिन्दुहरुको भूमि भएको हुँदा विश्वको एक मात्र हिन्दुअधिराज्यको हैसियतबाट भारतका हिन्दु तथा हिन्दु राष्ट्रवादी पार्टी भाजपाले नेपाललाई विश्वको एक हिन्दुअधिराज्यलाई सम्मान गर्न चाहन्छ । गोरखा एउटा हिन्दु राज्य थियो । यसक्षेत्रका ससाना हिन्दु राज्यहरुको एकीकरण गरेर पृथ्वीनारायण शाहबाट ‘हिन्दुअधिराज्य’को सिर्जना गरेर यसक्षेत्रको अस्मिता जोगाउने काम गरे । अतः यो संविधानमा जसको दबाबमा राष्ट्रिय पोसाक, नेपाली भाषा समानुपातिक, धर्मनिरपेक्ष, गणतन्त्र घोषणा गरिए पनि त्यसलाई खारेज गरेर नेपालमा हिन्दुअधिराज्य र सांस्कृतिक राजसंस्था कायम गरी नेपालको राष्ट्रिय पोसाक यथावत कायम गरिनु पर्छ । नेपालमा जुनसुकै शासनप्रणाली रहे पनि नेपाली भाषालाई नेपालको सरकारी लेखापढीको सम्पर्क भाषा कायम गरिनुपर्छ र देशको राजनीतिक चरित्रलाई नै धमिल्याउन पैसामा बिक्री गरिने, अनावश्यक रोगको रुपमा देखिएको समानुपातिक प्रणालीलाई खारेज गरिएमा नेपाल स्थिर रहिरहनेछ ।

dirgharajprasai@gmail.com

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE