मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के साँच्चै लड्न लागेका हुन् त प्रचण्ड ?

Screen Shot 2015-11-21 at 8.31.22 AM
निर्मल भट्टराई, भारतको अघोषित नाकाबन्दीका कारण देश तवाहको स्थितिमा पुगेको छ । ग्यास र मट्टितेलको अभावले सर्वसाधारण जनताको जीवन यति कष्टकर बनेको छ कि उनीहरु हातमुख जोड्न नसक्ने अवस्थामा छन् । खासगरी विजुलीमा पहुँच नभएका डेरावाल सबभन्दा मारमा परेका छन् । यही स्थिति कायम रहेमा सबै सहर खाली हुनेछन् र शहरी जनजीवन अस्तव्यस्त हुनेछ ।
उद्योग कलकारखाना सञ्चालन हुने अवस्था छैन । नाका ठप्प हुदाँ अरबौको राजस्व उठ्ने अवस्था रहेन । देशको आर्थिक अवस्था जरजर बन्दै गएको छ । इन्धनको अभावले जीवन चलाउन मुस्किल छ । औषधिको अभाव हुदा अस्पतालमा समेत विरामीको अकालमा जाने स्थिति विद्यमान छ ।
यस परिस्थितिको जिम्मेवार को हो ? यो प्रश्नको उत्तर खोज्न त्यति सजिलो छैन । केही उत्तरहरु “भारत” हुनेछन् र केही उत्तर “मधेशी भारतपरस्त नेताहरु” । सगँसगैंअर्को उत्तर पनि आउँछ –“पहाडिया अहंकारवादी नेताहरु”।
सबैले विगत लामो समयदेखि भोग्दै आएको कुरा हो–भारतको हेपाहा प्रवृति छ । वरिपरिका साना छिमेकीलाई आफ्नो प्रभुत्व जमाउन उसले यस्ता समस्याको सिर्जना गरिरहन्छ । नेपालले नाकाबन्दी, सीमा समस्या र पारवहन अवरोध पटक पटक भोग्दै आएको छ । उत्तरतिर महाशक्ति राष्ट चीन नभएको भए झन नेपाल ठूलो हेपाईबाट गुज्रनु पर्ने अवस्था आउथ्यो । भारतले पटक पटक देखाउने रवैया प्रति सचेत, संगठित र समान दृष्टिकोण बनाउन नसक्ता जनताले दुःख पाउदै आएका छन् । त्यसकारण जनताले दिएको पहिलो उत्तर गलत छैन । भारतले छिमेकीको संवैधानिक विकासमा अलिकति पनि सहिष्णु व्यवहार अपनाएको भए यस्तो परिस्थिति उत्पन्न हुने थिएन । एउटा तथ्य सबैले स्वीकार्नै पर्दछ–भारतले नेपाललाई प्रसस्त राजनीतिक र आर्थिक सहयोग गरेको छ । हाल मधेशी नेताले लिएको जस्तो सहयोग र समर्थन लोकतान्त्रिक आन्दोलनको क्रममा सबैले लिएका छन् ।२०४६ सालको जनआन्दोलन, बाह्रबुँदे सहमति र ०६२÷६३ सालको आन्दोलनमा भारतले सहयोग गरेकै हो । त्यस्तै नेपालको आर्थिक विकासमा उसको सहयोगलाई नजर अन्दाज गर्न मिल्दैन ।
जनताको मनमा उब्जने यो परिस्थितिको जिम्मेवार मधेशका भारतपरस्त नेताहरु हुन् भन्ने उत्तर पनि गलत भन्न सकिने स्थिति छैन । जनताको लागि राजनीति गर्नेले जनताकै घाँटी निमोठेर कसरी आन्दोलन गरेका होलान् ? राज्यको अस्तित्वका लागि चाहिने राजस्व रोक्नेमात्र होइन , जनताले दैनन्दिन उपभोग गर्ने इन्धन र खाद्य सामग्री रोकेर जुन “बहादुरी” देखाइदैछ , त्यो अत्यन्त गलत छ । संविधानमा छुटेका वा नियतवस नसमेटिएका विषय मधेश आन्दोलनका नितान्त जायज माग हुन् । सामन्ती राजतन्त्र भएका वेला जसरी मधेशी÷थारु समुदायदाई बहिस्करणमा पारियो, लोकतन्त्र पछि पनि दृष्टिकोणमा खास भिन्नता आएन । मधेशी ÷थारु समुदाय , खस आर्यन र जनजाति वीचमा खास अन्तरघुलन हुन सकेन । यी यावत् कमजोरी र दुर्नियत हुदाहुदै पनि आन्दोलनरत मधेश केन्द्रित पार्टी र नेताले सामान्य लक्ष्मण रेखाको समेत ख्याल नगर्नु निन्दनीय छ । मधेशी÷थारु नेताले काठमाण्डौलाई तह लगाउन मधेशी जनतासंग भर पर्नु जायज छ , दिल्लीको भर पर्नु नाजायज छ ।
तेश्रो उत्तर तराई मधेशमा वसोवास गर्ने नेता, कार्यकर्ता र जनताको मुखमा यो समस्याको जड नै पहाडिया अहंकारवादी नेता हुन् भन्ने छ । आन्दोलनप्रति गरिएको बेवास्ता,दमन र हल्काफुल्का टिप्पणीलाई हेर्दा अहंकार हावी भएकै छ । मधेश आन्दोलन भारतले उक्साएरमात्र भएको हो भन्ने बुझाइ बोकेर बसेको छ सत्तारुढ गठबन्धन । प्रधानमन्त्री के पी राजनीतिमा मात्र होइन, कूटनीतिमा समेत रमाइला ठट्टा गर्दैछन् । पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई आन्तरिक राजनीतिक विषयमा खुब ठट्टा गर्दथे तर उनले कूटनीतिक क्षेत्रमा कहिल्यै ठट्टा गरेनन् । कूटनीतिले सदैव गम्भीरता र औपचारिकताको माग गर्दछ । ओली सरकारका उपहरुले दिएका अभिव्यक्ति झन आपत्तिजनक छन् । यो परिस्थिति सिर्जना हुनुमा एमाओवादी अध्यक्ष प्रचण्डको प्रमुख भूमिका छ । उनका भारत विरोधी उत्तेजक भाषणले परिस्थितिलाई झन नकारात्मक बनाइदिएको छ । एमाओवादी परित्याग गरी नयाँ शक्ति निर्माण अभियानमा जुटेका पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले वर्तमान नाका समस्या समाधान गर्न शालीन र सन्तुलित कूटनीतिक विधि अवलम्बन गर्नुपर्छ भन्ने धारणा राखेपछि त झन उनको भारत विरोधी पारो ह्वात्तै चढेको आभाश हून्छ । हिजोआज उनी “म अन्तिमसम्म भारतसंग लड्छु ” जस्ता हावादारी भाषण गर्न थालेका छन् । हुन त जनयुद्धकै समयमा भारतसंग सुरुङ युद्ध गर्छु नभनेका होइनन् उनले ।
कुनैवेला भिमसेन थापाले सबै एशियाका देश मिलेर इष्ट इन्डिया कम्पनीलाई लखेट्नु पर्छ भन्ने धारणा राखेका थिए । उनको विचार त क्रान्तिकारी थियो । तर त्यसले युद्ध निम्त्यायो । परिणामस्वरुप देशको एक तिहाइ भूभाग गुमाएरसुगौली सन्धीगर्नु पर्यो । इतिहासबाट पाठ नसिक्ने ? के प्रचण्ड त्यही बाटोमा जान चाहन्छन् ? वास्तवमा उनी आफ्नो डुब्न लागेको पार्टी बचाउन देशलाई नै समस्यामा धकेल्ने प्रयास गर्दैछन् ।देश जलिरहेको बेला आगोमा ध्यू थप्ने नेता कसरी राजनेता हुनसक्छ ? अहिले शालीन र सन्तुलित कूटनीतिको माध्यमद्वारा नेपाल भारत सम्बन्ध सुधार गर्ने र मधेश आन्दोलनका जायज मागलाई सार्थक वार्ताको माध्यमद्वारा सम्बोधन गर्नुको कुनै विकल्प छैन । ढीलो चाँडो यो तथ्य बुझ्लान् नै प्रचण्ड कमरेडले।
Header 1

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE