मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

के मोदी नेपालका बैरी नै हुन् ? :: देवप्रकाश त्रिपाठी

Screen Shot 2015-10-29 at 11.36.33 PM

भारतको प्रधानमन्त्री पदमा निर्वाचित हुनुअघिसम्म नेपाली नेताहरूको दृष्टिमा नरेन्द्र मोदी सायद महत्त्वपूर्ण व्यक्तित्व थिएनन् । कांग्रेस, एमाले, माओवादी र मधेसी मोर्चासम्बद्ध नेताहरूले मोदीसँग सम्पर्क–सम्बन्ध बनाउन विगतमा (प्रधानमन्त्री बन्नुअघि) खासै रुचि नलिनुको कारण उनको महत्ता नबुझेर नै हुनुपर्छ । दिल्ली, उत्तरप्रदेश र बिहारका नेताहरूसँगको सान्निध्यमा रमाउने नेपालका नेताहरू भारतीय जनता पार्टीभन्दा कांग्रेस (आई) तथा वामपन्थी र सम्बद्ध पक्षप्रति नतमस्तक रहँदै आएका हुन् । भाजपाले भारतीय राजनीतिमा आफ्नो उन्नत हैसियत स्थापित गरेपछि मात्र नेपाली नेताहरूले अटलबिहारी वाजपेयी, लालकृष्ण आडवाणी र राजनाथ सिंहसँगको सम्बन्धलाई केही महत्त्व दिन थालेका हुन् । गुजरातलाई आधार क्षेत्र बनाएर राजनीतिमा क्रियाशील नरेन्द्र मोदी बिजुलीको गतिमा नयाँदिल्लीको सत्ताकेन्द्रमा आइपुग्न सक्छन् भन्ने अन्दाजसम्म पनि नेपाली राजनीतिक क्षेत्रले गर्न सकेको थिएन । त्यसैले नरेन्द्र मोदीको उदयले भारतमा साढे ६ दशकदेखि सत्ता राजनीतिको केन्द्रबिन्दुमा रहेको कांग्रेसलाई जत्तिकै झट्का नेपालका नेताहरूलाई पनि दिएको हो । भारतीय मौलिक परम्परा, धर्म, संस्कृति र संस्कारमा गौरव गर्ने राष्ट्रवादी पार्टी भाजपा र त्यसका प्रभावी नेता नरेन्द्र मोदीलाई दक्षिणपन्थी भावधाराको राजनीतिक प्रतिनिधिका रूपमा यहाँ विश्लेषण हुँदै थियो । माक्र्स, लेनिन र माओको नाममा राजनीति गर्ने नेपालका वामपन्थी नेता तथा क्रमश: वामपन्थीकरण हुँदै गएको नेपाली कांग्रेसका नेताहरू मोदीको उदयपश्चात् किन पनि झस्किए भने भारतका वामपन्थीहरूको मार्गदर्शन र समन्वयमा नेपालमा भित्र्याइएको ‘परिवर्तन’ले पूर्णता नपाउने त्रास यिनीहरूमा थियो ।

नरेन्द्र मोदी भारतमा प्रधानमन्त्री बन्दै गर्दा नेपालमा एकथरीले ‘राजसंस्था र हिन्दूराष्ट्र’ पुनस्र्थापित हुने अनुमान र विश्लेषण गर्न थालिसकेका थिए । यस्ता विश्लेषण प्रचण्ड, बाबुराम भट्टराई, माधव नेपाल, झलनाथ खनाल, केपी ओली तथा कृष्ण सिटौलाजस्ता वाम क्रान्तिकारी र वामचङ्गुलमा परिसकेका तात्कालिक नेता गिरिजाप्रसाद कोइरालाका निम्ति पीडादायी बन्थे । हो, नरेन्द्र मोदी प्रधानमन्त्री बन्नुअघि नै गिरिजाप्रसादको देहावसान भयो, बाँचिरहेका भए उनको ‘यू टर्न’ पनि सम्भव थियो भन्न सकिन्छ । तर, जतिबेला नेपाली कांग्रेस र कम्युनिस्ट नेताहरू महान् क्रान्तिकारी बन्ने प्रतिस्पर्धामा थिए, त्यतिबेला यिनले भारतमा भाजपा पूर्ण बहुमतका साथ नरेन्द्र मोदीको नेतृत्वमा सत्तारुढ हुने अनुमानसम्म पनि गरेका थिएनन् । भारतमा आमचुनावको तयारी हुँदै गर्दा नेपालमा संसद् या संविधानसभा अस्तित्वमा थिएन । भारतको चुनावी माहौल भाजपाको पक्षमा जानसक्ने देखिएपछि नेपाली क्रान्तिकारीहरू संविधानसभाको निर्वाचन भारतमा आमनिर्वाचन हुनुअघि नै सम्पन्न गर्न हतारिए । नेपालमा संविधानसभाको दोस्रो निर्वाचन हतार–हतारमा सम्पन्न गर्नुको मूल कारण भारतीय जनता पार्टी र नरेन्द्र मोदीको पक्षमा उर्लंदो जनलहर थियो भन्ने तथ्यबोध हुन सकेन भने नेपाल–भारतबीच पछिल्लो समयमा उत्पन्न तनावको जरो पहिल्याउन सकिँदैन ।

हामीले यहाँ चार वर्षका लागि संसद् उर्फ संविधानसभाको निर्वाचन गरेका हौँ, तर अदृश्य भयका कारण चार या तीन वर्ष लगाएर संविधान निर्माण गर्ने धैर्य नेपाली राजनीतिकर्मीमा रहेन । सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समावेशिताजस्ता ‘उपलब्धिहरूको रक्षा’ यथाशीघ्र संविधान बनाउन सक्दा मात्रै हुने ठहर नेपाली नेताले गरेका हुन् । त्यसैले एक वर्षभित्रै संविधान जारी गरिसक्ने किरिया–कसम उनीहरूले खाएका थिए । संविधान निर्माणमा ढिलाइ हुँदै जाँदा नयाँ संविधानमा नरेन्द्र मोदीको सुझावसमेत समेट्नुपर्ने अवस्था आउन सक्छ भन्ने बुझाइ एमाओवादी, एमाले र कांग्रेसका नेताहरूमा थियो । प्रधानमन्त्रीका रूपमा मोदीको नेपाल भ्रमण, उनले संसद्लाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्ति र पशुपतिनाथप्रति मोदीबाट प्रकट श्रद्धाभावले जनस्तरमा गहिरो प्रभाव पारेको हो । नेपालभित्र भारतप्रति सकारात्मक भाव पैदा गर्ने जादुमयी क्षमता जुन नरेन्द्र मोदीले देखाए त्यसअघि कहिल्यै त्यसस्तरको क्षमता नेपालमा महसुस गर्न पाइएको थिएन । तर, मोदीको लोकप्रियता कतिपय अन्तर्राष्ट्रिय शक्तिकेन्द्र र नेपालका क्रान्तिकारी नेताहरूलाई सैह्य हुन सकेन । यही असैह्य पीडामा रन्थनिएका कम्युनिस्ट–कांग्रेसका नेताहरूले सार्क सम्मेलनका बेला लुम्बिनी, जनकपुर र मुक्तिनाथको दर्शन गर्ने मोदीको उत्कट चाहनामा अवरोध पुर्‍याए । भारतीय प्रधानमन्त्री मोदीले यी तीन महत्त्वपूर्ण स्थानको भ्रमण गरेका भए विश्वभरिका धार्मिक तथा अन्य पर्यटकहरूको ध्यान त्यसतर्फ आकर्षित हुन सक्थ्यो । पर्यटक भित्र्याउने नाममा करोडौँ–करोड रुपैयाँ खर्च गरेर पनि हासिल हुन नसकेको उपलब्धि मोदीको एउटै भ्रमणबाट सम्भव थियो ।
Narendra_Modi-300x231
तर, नेपालका क्रान्तिकारी नेताहरू (जसले इसाईहरूको लगानी, इच्छा र निर्देशनमा काम गरेका थिए भन्ने प्रमाणित हुन बाँकी नै छ) ले मोदीको तीर्थयात्रा हुँदा त्यसले नेपालमा धार्मिक जागरण ल्याउने र संविधानमा हिन्दू राष्ट्रको पहिचान पुन: स्थापित गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्ने ठाने । यही ठम्याइका आधारमा सुरक्षाको कारण बताउँदै मोदीको तीर्थयात्रामा रोक लगाइयो । हो, यहीँबाट सुरु भएको हो मोदीलाई नेपालविरुद्ध भड्काउने र नेपालीलाई मोदीविरुद्ध उचाल्ने यात्राको थालनी । नेपाललाई अति उच्चकोटिको प्रेम र सम्मान गर्ने, सिङ्गै नेपाललाई एउटा पवित्र तपोभूमिका रूपमा बुझ्ने र नेपाल–भारतबीच रहेका सबै स्तरका असमझदारीहरू अन्त्य गरी दुईपक्षीय सम्बन्धमा नौलो बिहानी अवतरण गराउन चाहने नरेन्द्र मोदीलाई नेपालप्रति कठोर बनाउन नेपालभित्र र भारतभित्रबाट भएका दृश्य–अदृश्य कपटबारे अध्ययन–अनुसन्धान र समीक्षा हुन आवश्यक छ ।

नरेन्द्र मोदीको व्यक्तित्वले भारतभित्रै किचिएका राजनीतिकर्मीहरू, उनको भूमिका बढ्दा आफ्नो भविष्य असुरक्षित देख्नेहरू तथा मोदीको विश्व प्रभावबाट विचलित हुन पुगेका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरू नेपालभित्र र बाहिर पनि योजनाबद्ध रूपमा क्रियाशील हुन थाले । तुरुन्तै, आजै र अहिल्यै संविधान जारी नभए ‘तिम्रा उपलब्धि गुम्नेछन्’ भन्दै नेपाली वामपन्थीहरूलाई उचाल्ने काम जो–जसले गरे वर्तमान सङ्कटका निम्ति तिनीहरू नै मुख्य दोषी छन् । त्यस्ता शक्तिहरूमध्ये दृष्टान्तको रूपमा यहाँ एउटै मात्र सन्दर्भ उल्लेख गर्न सकिन्छ । रुसी राजदूतावास राजनीतिक उतार–चढावका बीच यहाँ कहिल्यै कुनै भूमिकामा देखापरेको थिएन । पञ्चायतविरोधी आन्दोलनदेखि गणतन्त्र घोषणा र शान्ति स्थापना प्रक्रियाका अन्य कैयन महत्त्वपूर्ण घटना–सन्दर्भमा रुसी राजदूतावास मस्कोजत्तिकै चिसो महसुस गरिन्थ्यो । पहिले संविधानसभाको विस्थापन हुँदा पनि चुपचाप बसिरहेको रसियाली राजदूतावास यसपटक संविधान जारी गराउने सन्दर्भमा भने निकै सक्रिय रह्यो । त्यसक्रममा केपी ओली र प्रचण्डलगायतका क्रान्तिकारी नेताहरूलाई पटक–पटक भेटी हरहालतमा संविधान जारी हुनुपर्छ, नभए ‘उपलब्धि’ गुम्छ भन्नेहरूमध्ये रसियन राजदूत पनि अग्रपङ्क्तिमा थिए । नेपाली राजनीतिको उहापोहमा कहिल्यै चासो प्रकट नगर्ने रुसी राजदूतावासको सक्रियता त्यसबेला साँच्चै ‘मार्क’ गर्न लायक थियो ।

‘केही दिन पर्खिएर भए पनि सबैलाई समेटेर दिगो संविधान जारी गर्न’ नरेन्द्र मोदीको तर्फबाट आएको सुझावलाई उपेक्षा गर्ने तहसम्म पुर्‍याउन रसियाली राजदूतावासले समेत भूमिका निर्वाह गर्नुको रहस्य त्यसबेला खुल्यो, जब संयुक्त राष्ट्रसङ्घीय महासभामा नरेन्द्र मोदी र मोदीको भारतविरुद्ध रसिया खुलेरै अगाडि आयो । भारतलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन नरेन्द्र मोदीले गरेको प्रयासमा अड्चन पैदा गर्न पनि रसिया नै अग्रसर भयो । सुरक्षा परिषद्को स्थायी सदस्य सङ्ख्या पाँचबाट नबढाउन रसियाले गरेको प्रस्तावमा चीनले समर्थन जनाएपछि विश्वमा भारतको महत्त्व बढाउन मोदीले गरेको अथक प्रयास अवरुद्ध भएको हो । यदि मोदी भारतलाई सुरक्षा परिषद्को स्थायी सदस्य बनाउन सफल भएको भए भारतभित्र नरेन्द्र मोदी र भारतीय जनता पार्टीको उचाइ कसरी बढ्न सक्थ्यो अनुमान गर्न सकिन्छ । भारतीय राजनीतिमा मोदी र भाजपाको उचाइ र प्रभाव बढ्ने कुराबाट भारतभित्रै कुन शक्ति सचेत र त्रस्त थियो, त्यसबारे हामी सबै जानकार छाँै । भारतमा कांग्रेसको एकछत्र सत्ता रहँदा तात्कालिक सोभियत सङ्घ (रसिया) सँग स्थायी प्रकृतिको (बीसवर्षे) शान्ति तथा मैत्री सन्धि भएको र कांग्रेसको सरकार उक्त सन्धि नवीकरणको पक्षमा रहने गरेको पनि सर्वविदित छ ।

शीतयुद्धकालमा भारत रसियातर्फ उभिनु ठीक–बेठीक के थियो त्यसको समीक्षा भारतभित्र हुँदै गर्ला, तर नरेन्द्र मोदी र उनको दलचाहिँ विश्वका कुनै एउटा शक्तिराष्ट्रसँग टाँसिएर बाँकी अन्यलाई चिढ्याउने वा सशङ्कित तुल्याउने पक्षमा देखिएनन् । अमेरिका, जर्मनी, फ्रान्स, ब्रिटेन, चीन, जापान, अष्ट्रेलिया, ब्राजिल, दक्षिण अफ्रिका र रसियालगायतका मुलुकसँग सममित्रता र समदूरीको व्यवहार गर्ने नीति मोदीले अवलम्बन गरेको बुझ्न सकिन्छ । भारतको नयाँ सत्ताको यो नीतिले सर्वाधिक दु:खी कसैलाई तुल्याएको थियो भने त्यो रसियालाई नै थियो । रसियाली दु:ख संयुक्त राष्ट्रसङ्घमा प्रकट भएपछि नेपालमा मोदीको सुझावविपरीत संविधान जारी गराउन रसियाली दूतावाससमेत सक्रिय हुनुको रहस्य पनि खुलेको छ । मोदीलाई असफल तुल्याउन भारतभित्रै बनेका योजनामा रसियाली संलग्नता आफैँमा स्मरणयोग्य छ ।

रसियाझैँ अन्य शक्तिकेन्द्र पनि मोदीविरुद्धको योजना र अभियानमा सक्रिय थिए/छन् । भारतको काङ्ग्रेस सरकार र रसियाबीचको मित्रता कुनैबेला नेपालले राखेको शान्तिक्षेत्र प्रस्तावको सन्दर्भमा पनि प्रकट भएको थियो । संसारका एक सय २२ मुलुकले समर्थन गरेको शान्तिक्षेत्र प्रस्तावमा भारत सरकारले निर्णय लिन बाँकी नै रहँदा रसियाले समर्थन जनाएको थियो । तर, दश दिनपछि नै उसले आफ्नो समर्थन फिर्ता लियो । समर्थन किन फिर्ता लिइएको थियो भन्ने देखिने नभई बुझिने कुरा हो ।

नरेन्द्र मोदी, जसका प्रति नेपाली नेताहरूले कुनै सम्पर्क र सरोकार नराख्दा पनि उनी नेपाल र नेपालीलाई प्रेम गर्दथे । उनले आफ्नो निकटतम् सहयोगीको रूपमा कुनै नेपालीलाई राखेका कारणले मात्र मोदीको नेपालप्रेम झल्किएको होइन । वैदिक धर्म तथा ऋषिमुनीका वाणीप्रति मोदीको समर्थन रहनु, पवित्र तपोभूमिका रूपमा नेपाल आदि/अनादिकालदेखि नै परिचित हुनु र ज्ञानको खोजी यात्राका क्रममा नेपालसँग उनको बेग्लै नाता गाँसिनुले पनि नेपाल र मोदीबीच भावनात्मक तथा विशिष्ट सम्बन्ध कायम भएको बुझ्न सकिन्छ ।
सनातनीहरूको पवित्र भूमि नेपाललाई नरेन्द्र मोदी भारतको एउटा असल मित्र र विश्वको एक मात्र विशिष्ट भूमिका रूपमा हेर्न–देख्न चाहन्थे । नेपालमा वामपन्थी कम्युनिस्टहरूको प्रकोप बढेको, त्यसको प्रभाव कांग्रेसलगायतका प्रजातान्त्रिक कित्तामा समेत परेको र वामवर्चश्वका कारण सनातनी मूल्य, मान्यता एवम् पूर्वीय सभ्यता नेपालभित्र सङ्कटमा परेको यथार्थप्रति सायद समयमै मोदीको ध्यानाकर्षण भएन । देशसँगको साइनो कमजोर तुल्याएर भए पनि आफ्ना राजनीतिक तथा आर्थिक अभीष्ट पूरा गर्न उत्प्रेरित नेपाली राजनीतिकर्मीहरूप्रति नेपाली जनताले भरोसा राख्नु र नरेन्द्र मोदीले विश्वास गर्नुको परिणाम प्राप्त भएको छ । हामीलाई विश्वास छ– नेताहरूको व्यवहारका कारण उत्पन्न परिस्थितिबारे नरेन्द्र मोदी जानकार छन् र उनी नेपाली जनतासँगको आत्मियतापूर्ण सम्बन्धमा पैदा भएको उल्झनप्रति सचेत छन् ।

नेपाली जनताले नाकाबन्दीको सामना पहिलोपल्ट गरेका होइनन् । राजा महेन्द्रको कार्यकाल २०२७ सालमा र २०४५ सालमा राजा वीरेन्द्रको कर्यकालमा पनि नाकाबन्दी भएकै हो । २०६२/०६३ को जनआन्दोलन र त्यसको आसपासमा पनि इन्धन असहजतालाई रामै्रसँग व्यहोर्नुपरेको थियो । त्यसबेला हामीले राजाहरू महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्रलाई अप्ठ्यारो पार्नका निम्ति सिर्जित कार्य ठानेर असहजताको स्वागत गरिएकै हो । यसपटक भारतमा नरेन्द्र मोदी प्रधानमन्त्री हुँदा पनि नेपाली जनता नाकाबन्दीबाट सिर्जित कष्ट व्यहोर्न बाध्य छन् । नाकाबन्दीको कारण नेपाली नेता, वामपन्थी संविधान, मधेसी मोर्चाको आन्दोलन या भारत जे भए पनि दु:ख नेपाली जनताले पाइरहेका छन् र आलोचकहरूले मोदीको धज्जी उडाउने मौका पाएका छन् । सनातनी मोदी कहिल्यै हिमालसँग वैरभाव राख्न सक्दैनन्, पहाड र नदीनालासँगको नाता तोड्न सक्दैनन्, तराईसँगको आत्मियता भत्काउन सक्दैनन्, पशुपतिनाथ, मुक्तिनाथ, जनकपुरधाम र लुम्बिनीधामप्रतिको आस्था र समर्पण मेट्न सक्दैनन्, अनि नेपाली जनताप्रतिको ममताबाट उनी टाढिन सक्दैनन् भन्ने विश्वास यहाँ नेपालमा अझै जीवित छ । नेपाली र मोदीबीच भैरभाव पैदा गराउन भएका प्रकट–अप्रकट प्रयासलाई ध्वस्त तुल्याउँदै हामीबीचको सम्बन्ध पूर्ववत् बनाउन विलम्व भइसकेको यथार्थप्रति मोदीको ध्यान जान आवश्यक छ ।

WRITE COMMENTS FOR THIS ARTICLE