मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सिटौला किन टाढिए कोइरालाबाट ?

Cover letter

मंसिर २५, २०७२- प्रधानमन्त्रीको निर्वाचनपछि कांग्रेस सभापति सुशील कोइराला र महामन्त्री कृष्ण सिटौलाको सम्बन्ध सामान्य औपचारिकतामा सिमित छ । पछिल्लो समय सिटौला कोइराला निवास धाउन छाडेका छन् । १३ औं महाधिवेशन नजिकिदै गर्दा कोइराला र सिटौलाको सम्बन्धमा झनै दरार आउने संकेतहरु देखिन थालेका छन् ।

गिरिजाप्रसाद कोइरालाको सामिप्यबाट सिटौलाले राजनीतिक उचाई लिएका हुन् । उनको निधनपछि सुशीलको विश्वासपात्रको रुपमा उनी भित्रिए । गिरिजाप्रसादको निधनपछि नेतृत्वको संक्रमणकालीन चरणमा सुशील सिटौलाकै भरमा थिए । सिटौलाले पनि विश्वासपात्रकै रुपमा सुशीललाई सघाए । त्यही विश्वासले १२ औं महाधिवेशनपछि सिटौलाले महामन्त्रीको जिम्मेबारी पनि पाए ।

तर, यो घनिभूत सम्बन्ध लामो समय टिकेन । सिटौला चाहन्थे, कोइराला सानो कोटरीबाट बाहिर निस्केर आफ्नो सुझाव अनुसार चलुन् । तर प्रधानमन्त्री निर्वाचनसम्म आइपुग्दा सिटौलाको सुझाव उनले मानेनन् । पार्टीमा उनी सानै कोटरीमा रमे । सरकारको नेतृत्वमा छँदा महेश आचार्य, नरहरी आचार्य र मिनेन्द्र रिजाल सुशीलका सहयोगीको रुपमा भित्रिए । आफ्नै समूहभित्र जो सिटौलालाई मन पराउदैनथे उनीहरुकै आग्रह बमोजिम कोइराला पछिल्लोपटक सिटौलालाई दुरीमा राख्न थाले ।

कोइराला र सिटौलाबीचको सम्बन्ध बिग्रनुमा पछिल्लो कारण प्रधानमन्त्री निर्वाचन भए पनि भित्री रहस्य अर्कै छ । सिटौलाले सुशीलपछि संस्थापन पक्षको नेतृत्वमा आउने महत्वकांक्षा राख्दै आएका थिए । पार्टीका प्राय: निर्णयमा सिटौला निर्णायक जस्तै थिए । जसलाई संस्थापन पक्षभित्रै खासगरी कोइराला परिवारले रुचाएन । उनको भूमिकालाई खुम्चाउने काम स्वयम् सभापतिले गर्न थाले । संविधान निर्माणमा पनि कोइराला र सिटौलाबीच बारम्बार खटपट हुँदै आयो ।

सुशीलाई सफल बनाउन आफूले जति नै प्रयत्न गरे पनि कोइरालाको झुकाव परिवारप्रति नै देखिन थालेपछि सिटौला आफंै पनि विस्तारै टाढिन थालेका हुन् । उनको बुझाई पार्टी नेतृत्व कोइरालाबाट बाहिर नजाओस् भन्नेमा सुशील प्रष्ट छन् । संस्थापन पक्षकै एक सदस्यका अनुसार १३ औं महाधिवेशनमा आफू सभापति भएर बीपीपुत्र सशांकलाई नेतृत्वमा स्थापित गर्ने योजनामा सुशील लागेका छन् । सभापति निर्वाचित भए सशांकलाई उपसभापति बनाएर कार्यबाहक सभापति सुम्पने योजना सुशीलको छ ।

प्रधानमन्त्री निर्वाचनको घटनापछि सिटौलाले कोइरालाको विकल्पको रुपमा आफैंलाई अघि बढाउन थालेका छन् । संविधान जारी गरीसकेपछि कांग्रेसले राष्ट्रपति लिएर एमाले नेतृत्वकै सरकारमा जानुपर्ने पक्षमा सिटौला थिए । त्यसो गर्दा कांग्रेसले महत्वपूर्ण मन्त्रालय लिएर जान पाउनेसम्मको समझदारी बनिसकेको उनले बताउँदै आएका छन् । तर, सुशीलसहित पार्टीकै तीनै नेताले प्रधानमन्त्रीमा प्रतिस्पर्धा गर्ने चाहना देखाए ।

उपसभापति रामचन्द्र पौडेलले त दुई तिहाईको प्रधानमन्त्री हुन सकिने भन्दै आफूलाई उम्मेदवार बनाउन बारम्बार जोड गरे । देउवाले संसदीय दलको निर्वाचनको माग गरे । दुवैलाई हुन नदिएर कोइराला आफंै अघि बढे र उम्मेदवार भए । महामन्त्री सिटौला र सहमहामन्त्री पूर्णबहादुर खड्का सकेसम्म पार्टीले नै उम्मेदवार नदिने नभए सुशीलले कुनै पनि हालतमा दिन नहुने पक्षमा थिए । तर, सुशीलले उनीहरुको कुरा सुनेनन् । खड्काले सहमहामन्त्रीबाट राजीनामै दिए ।

१३ औं महाधिवेशनमा कोइरालाले उम्मेदवार बन्ने चाहना देखाउन थालेपछि सिटौला उनलाई रोक्न खोजिरहेका छन् । संस्थापन पक्षबाट कोइराला सबैभन्दा कमजोर उम्मेदवार हुने उनको विश्लेष्ण छ । पार्टी सभापति कोइराला र उपसभापति पौडेल दुवैलाई रोकेर आफू अघि बढ्ने रणनीतिमा लागिरहेका सिटौला देउवा पक्षतिर लाग्ने चर्चा पनि पार्टीभित्र उतिकै छ । तर, उनी निकट नेताहरु कुनै हालतमा सिटौला देउवातिर नलाग्ने बताउँछन् ।

संस्थापन पक्षकै कतिपयले सिटौलाको पछिल्लो भूमिका निर्वाचित महामन्त्रीमा उम्मेदवार हुने बार्गेनिङ कार्डको रुपमा बुझेका छन् । सिटौला भने ‘एकपटक भईसकेको पद दोर्‍याउने काम म गर्दिनँ’ भन्छन् । त्यसो भए उपसभापति चाहनु भएको हो त भन्ने प्रश्नमा सिटौलाले माघको दोस्रो साता यता कुनै पदका लागि आफूले उम्मेदवारी घोषणा नगर्ने बताए ।

WRITE COMMENTS FOR THIS ARTICLE