मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मान्छे र कम्युनिस्ट एकसाथ बन्न कसरी सकिन्छ ? :: देवप्रकाश त्रिपाठी

Capture

सामान्यतया मानिस कम्युनिस्ट बन्दैनन् र कोही कम्युनिस्ट बनिहाले भने ती मानिस रहँदैनन् भनियो भने आफूलाई पूराका पूरा कम्युनिस्ट ठान्नेहरूलाई पूराका पूरा क्रूद्ध या असन्तुष्ट तुल्याउन सक्छ । तर, दर्शनशास्त्रले प्राणीलाई जसरी वर्गीकृत गरेको छ, त्यस आधारमा धारणा बनाउँदा ‘एउटा पूर्ण मानव कहिल्यै कम्युनिस्ट बन्न सक्दैन र बने भने ती पूर्ण मानव रहन सक्दैनन् भन्ने निष्कर्षमा पुग्न सकिन्छ । दर्शनशास्त्रले प्राणीलाई तीन वर्गमा विभाजित गरेको छ, पहिलो प्राण मात्र भएका, दोस्रो प्राण र चेतनासहितका र तेस्रो प्राण तथा चेतनाका साथ विवेकसमेत भएका । पहिलोकोटिका प्राणीमा वनस्पति जगत्लाई लिइन्छ, जसमा जीवन छ, तर चेतनाशून्य, आफैँलाई ढाल्न बन्चरो लिएर आउनेहरूसँग प्रतिवाद–प्रतिरोध गर्ने चेतना पनि उनीहरूमा हुँदैन ।

जनावरहरूलाई दोस्रोकोटिका प्राणी भनिन्छ, यिनीहरूमा प्राणका साथै चेतनासमेत भएकोले खाने–नखाने वस्तु छुट्याउन सक्ने, यौनकर्ममा सहभागी हुने र जीवनरक्षाका उपाय अवलम्बन गर्न सक्ने क्षमता रहन्छ । तेस्रोकोटिमा पर्ने मानिसमा प्राण र चेतनाका साथ विवेक पनि रहने सम्भावना हुन्छ । सही–गलत, राम्रो–नराम्रो, उचित–अनुचित छुट्याएर व्यवहार गर्न सक्ने, दया, करुणा, धर्म र सेवाभाव राख्न सक्ने, कर्मको परिणामबारे चेत राख्ने र सुदूर भविष्यसम्म देख्न सक्ने क्षमता मानिसमा विवेककै कारण रहेको हो । मानिसबाट विवेक निकालिदिएपछि रूप या आकारले कोही व्यक्ति मानिसजस्तै देखिए पनि तिनका क्रियाकलाप मानिसभन्दा बढी जनावरसँग मिल्दाजुल्दा हुन्छन् । यस्ता प्राणी यन्त्रवत् चल्छन्, यिनको दिमागी दायरा रोबोटको झैँ सीमित र निश्चित हुन्छ । कसैले दिएको मार्गदर्शनअनुसार चल्दै गर्दा विचार, सिद्धान्त, समूह या नेतृत्वले ‘शत्रु’ ठहर रहेका पात्रलाई तिनले शत्रु नै देख्नु र भन्नुपर्ने हुन्छ, चाहे ती पात्र समाजका जतिसुकै योग्य र इमानदार किन नहुन् । जीवन निर्वाहका क्रममा अप्ठ्याराहरूमा आफैँलाई सहयोग पुर्‍याएका रहेछन् भने पनि विवेकविहीन मानिस जनावरले झैँ ती दातालाई प्रहार गर्न हिचकिचाउँदैनन् ।

विचार र समूहले निर्देशन दिएपछि यन्त्रवत् जस्तोसुकै कर्ममा जुट्न पनि तत्पर रहने प्राणीका रूपमा कम्युनिस्टहरूलाई पनि लिइन्छ । माक्र्स, लेनिन, स्टालिन, माओ, हो चि मिन्ह र चे आदिको मार्गदर्शन तथा आफूसम्बद्ध पार्टीको नीति, निर्णय र निर्देशनलाई एउटा खाँटी कम्युनिस्टले त्यसरी ‘फलो’ गर्छ जसरी एउटा रोबोटले रिमोट कन्ट्रोलको आदेशअनुरूप आफूलाई क्रियाशील तुल्याउँछ । त्यस्तै प्राकृतिक रूपमा प्राप्त निश्चित गुणहरूका आधारमा चल्ने हुँदा जनावरमा मानिसले आफू बाँच्नका लागि लगाएको बाली कुन हो र कुन हरियो दुबोको चौर हो भनी छुट्याउने क्षमता हुँदैन । त्यसैले पटक–पटक शारीरिक यातना पाइसकेपछि पनि जनावरहरू खेतमा लगाइएको बालीमा चर्न छोड्दैनन् । रोबोट या जनावरमा विवेक हुन्थ्यो भने उनीहरू त्यसरी बनिबनाउ निश्चित भूमिकामा सीमित हुने थिएनन् । त्यसैगरी कम्युनिस्ट बन्ने एउटा व्यक्ति पनि आफ्नो विवेक प्रयोग गर्ने स्वतन्त्रताबाट मुक्त रहन्छ ।

माक्र्सदेखि माओसम्मका नीति–निर्देशन र आफूसम्बद्ध कम्युनिस्ट पार्टीको निर्णयअनुसार चल्दाचल्दै कम्युनिस्ट बन्ने एउटा व्यक्तिमा कालोलाई सेतो र सेतोलाई कालो भन्ने क्षमताको समेत विकास भइसकेको हुन्छ । मानवसमाजकै एउटा कित्तालाई शत्रु या दुश्मनका रूपमा हेर्ने अभ्यासले कम्युनिस्टलाई विवेकसम्मत व्यवहार गर्न रोक लगाउँछ । त्यसैले कोही पनि व्यक्ति कम्युनिस्ट बन्ने हो भने सबभन्दा पहिले ऊ विवेकमुक्त हुनु अनिवार्य छ । कम्युनिस्ट हुँ भन्ने र विवेक पनि प्रयोग गर्ने काम कसैले गरेको छ भने त्यस्ता मानिस कम्युनिस्ट हुँदै होइनन्, कम्युनिस्ट पार्टीमा आबद्ध रहेछन् भने तिनले कालान्तरमा या त कम्युनिस्ट पार्टी या विचार छोड्नुपर्ने हुन्छ या विवेक प्रयोगको अभ्यासबाट मुक्त रहनुपर्छ । विवेकमुक्त भइसकेपछि त्यस्तो प्राणीलाई मानिस नै भनिरहने हो या अरू केही, त्यसको निर्धारण समाजले गर्नुपर्ने हो ।

वर्गसङ्घर्षलाई राजनीति र राज्यसत्तासँग जोड्दै कम्यसनिस्ट विचारको उत्पादन गर्ने कार्लमाक्र्स स्वयम् कम्युनिस्ट थिएनन् र उनी कुनै कम्युनिस्ट पार्टीका संस्थापक या समर्थक, नेता वा कार्यकर्ता पनि होइनन् । कम्युनिस्ट पार्टीमा आबद्ध रहेका भए उनीबाट स्वतन्त्र चिन्तन सम्भव थिएन र स्वतन्त्र चिन्तनबिना कुनै वाद–विचारको उत्पत्ति असम्भव मानिन्छ । मानिसलाई जनावर या रोबोटसरह बनाउने कम्युनिस्ट विचारको जन्म पनि स्वतन्त्र चिन्तनको परिणामस्वरूप भएको हो । यसरी स्वतन्त्र चिन्तनधरामा पैदा भएको कम्युनिस्ट विचार नै आधुनिक युगमा मानवीय स्वतन्त्रताको सर्वाधिक ठूलो चुनौती बन्न पुग्यो । यद्यपि समृद्ध मुलुकले बीसौँ शताब्दीमा झैँ यतिबेला कम्युनिस्टहरूको सामना गर्नु परिरहेको छैन, नेपाल र गरिबी मौलाएका मुलुकमा मात्र ‘कम्युनिज्म’ अझै पनि एउटा जटिल समस्या बनिरहेको छ । गरिबीमा कम्युनिस्ट त्यसरी फैलँदा रहेछन् जसरी फोहोरमा झिँगा । झिँगा र फोहोरबीचको जस्तै सम्बन्ध कम्युनिस्ट र गरिबीका बीचमा कायम भएको देखिन्छ । जब फोहोर बढ्छ तब झिँगा र तिनका गतिविधि बढ्न थाल्छन् । फोहोर हटेपछि झिँगाको नामोनिसानासम्म भेटिन्न । त्यस्तै गरिबी रहेसम्म कम्युनिस्ट रहन्छन्, गरिबी हट्नेबित्तिकै कम्युनिस्ट पनि रहन्नन् भन्ने दृष्टान्त समृद्ध मुलुकहरूमा देखिइसकेका छन् ।

यहीँनेर प्रश्न उठ्न सक्छ– गरिबी उन्मूलन हुँदा कम्युनिज्म र कम्युनिस्टको नामोनिसाना नरहने भएपछि के कम्युनिस्टहरूले गरिबी उन्मूलन गर्ने प्रयास गर्न खोज्लान् ? वास्तवमा झिँगाका फोहोर हटाउने कुरा र कम्युनिस्टका गरिबी उन्मूलन गर्ने नाराबीच तात्विक अन्तर देखिन्न । फोहोरबिना झिँगा र गरिबीबिना कम्युनिस्ट कसरी जीवित रहन सक्लान् ? तथापि यहाँ झिँगाले फोहोर हटाउने गफ दिएकै शैलीमा कम्युनिस्टले गरिबी हटाउने बाजा बजाइरहेका छन् र हामी सुन्न बाध्य छौँ । नेपालमा विगत दुई दशकभित्र कम्युनिस्टहरूको दबदबा बढ्दै जाँदा गरिबी पनि त्यही मात्रामा बढेको छ । कम्युनिस्ट बढेका स्थानमा शान्ति, स्थायित्व र समृद्धिले दूरी बनाउँछ भन्ने तथ्यको पुष्टि नेपालमा पनि हुँदै छ । संविधान, सत्ता र राजनीतिमा कम्युनिस्ट हामी हुँदै जाँदा नेपालबाट पनि शान्ति, स्थायित्व र समृद्धिको सम्भावना टाढिएको छ ।

पाँचवटा राष्ट्रिय निर्वाचनमा सहभागिता जनाएर प्रजातान्त्रिक विचारअनुरूपको व्यवहार दर्शाउने नेकपा एमालेजस्तो दल, जसले पश्चिमा मुलुकका राजदूत पार्टी कार्यालयमा आउँदा माक्र्स, लेनिनका तस्बिर लुकाउने गर्दथ्यो, त्योसमेत पछिल्ला समयमा अधिनायकवादी समाजवाद स्थापनाको सहयोगी भूमिकामा देखापरेपछि कम्युनिस्टहरू कहिल्यै प्रजातन्त्रवादी बन्न सक्दैनन् भन्ने सन्देश प्रवाहित हुन पुगेको छ । एमालेको आड पाएपछि प्रचण्डले समेत ‘समाजवाद’ स्थापनाको गुड्डी हाँक्न थालेका छन् ।

नेपालमा माघेसङ्क्रान्ति एउटा चाड हो र धेरै समुदायले यो चाड मनाउँछन् । चाडको नाम सबैथरीले ‘माघी’ या ‘माघेसङ्क्रान्ति’ भने पनि समुदायपिच्छे यो मनाउने तरिका भने भिन्न छ । त्यस्तै ‘समाजवाद’ शब्द काङ्ग्ेरस–कम्युनिस्ट सबैले भन्ने गरेका भए पनि यसको प्रयोगमा अतुलनीय भिन्नता छ । प्रजातन्त्रवादीका विचारमा ‘समाजवाद’ एउटा त्यस्तो आर्थिक कार्यक्रम हो जसले गरिबलाई गरिबीमुक्त बनाउने अभीष्ट राख्दछ, तर कम्युनिस्टको विचारमा समाजवाद आर्थिकभन्दा बढी राजनीतिक उद्देश्य निहित रहन्छ र व्यक्तिका आर्थिक अधिकार निर्मूल गरी राज्यकेन्द्रित अर्थतन्त्र स्थापित गर्नु तथा एकदलीय अधिनायकवादी प्रणाली अवलम्बन गर्नु नै समाजवाद हो । गत असोज ३ गते वामपन्थी संविधान जारी गरिसकेपछि सत्तारुढ हुन पुगेका वामपन्थी कम्युनिस्टहरू ‘त्यस्तै’ समाजवाद स्थापनाको सपना देख्न थालेका छन् । वामसंविधान र वामसत्ता स्थापनाको सफलताबाट उन्मादित प्रचण्डले दाङ पुगेर आगामी दश वर्षभित्र समाजवाद स्थापना गर्ने घोषणा गरेका छन् । उनको भनाइ छ, ‘दश वर्ष जनयुद्धको तयारीमा बित्यो, दश वर्ष जनयुद्ध र त्यसपश्चात्का दश वर्ष शान्ति प्रक्रियामार्फत भिन्न प्रकारले पुँजीवादी क्रान्ति अगाडि बढेकोले अबको दश वर्ष समाजवादी क्रान्तिमा खर्च हुनेछ । जनयुद्ध गर्दा नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने योजना बनाएका थियौँ, तर हामीले भनेजस्तो तरिकाले सत्ता कब्जा हुन सकेन, अब पुँजीवादी जनवादी क्रान्ति हुँदै समाजवादी क्रान्ति पूरा गर्ने दिशामा अगाडि जाँदै छौँ ।’ (२०७२ पुस २५ गते शनिबार, घोराही दाङमा सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षणमा) प्रचण्डको यस्तो अभिव्यक्तिले मुलुकमा तत्काल शान्ति, स्थायित्व र समृद्धि स्थापित हुन नसक्ने त स्पष्ट गरेकै छ, समाजवादी क्रान्ति सम्पन्न गर्ने नाममा कम्युनिस्टहरूले नेपालको अरू कति दशक बर्बाद गर्ने हुन् गम्भीर चिन्ता पनि थपेको छ ।

साम्यवादी समाजवादको प्रथम प्रयोगकर्ता पूर्वसोभियत सङ्घ आफ्नो प्रयोगमा असफल भइसकेको, माओकालीन समाजवादमा रमिरहेको चीन र हो चि मिन्हको भियतनामले समेत उदार अर्थनीति अवलम्बन गर्न थालिसकेको परिप्ेरक्ष्यमा प्रचण्डले समाजवादी क्रान्तिको मुद्दा उठाएर नेपाल र नेपालीलाई कति सास्ती दिन खोजेका हुन् सिङ्गै देशले गम्भीरतापूर्वक सोच्नुपर्ने बेला आएको छ । कम्युनिस्टहरूका कारण देशको राष्ट्रियता रुग्ण बनेको छ, राष्ट्रिय एकता क्षत्विक्षत् भएको छ, सार्वभौमसत्ता कमजोर भएको छ, शान्ति–व्यवस्था र सुरक्षा अवस्था भत्किएको छ, उद्योग तथा कलकारखानाहरू बन्द प्राय: भएका छन्, लगानी निरुत्साहित बनेको छ र समग्र अर्थतन्त्र ओरालो लागेको छ, रोजगारीका अवसर खुम्चिएका छन्, जनताको जनजीवन इतिहासमै सर्वाधिक कष्टकर बनेको छ, दक्ष, सक्षम र क्षमतावान जनशक्ति देशबाट पलायन हुने क्रम बढ्दो छ र देश एउटा युद्धभूमिमा रुपान्तरित हुँदै छ ।

यसरी भयावह स्थिति पैदा हुँदा पनि कम्युनिस्टहरू अझै क्रान्तिको नाममा कष्ट उत्पादन निम्ति रम्दै छन् । बिरामी भएर ढलेकी गाईको दूध चुस्न बाच्छाले नछोडेझैँ मुलुक चरम अभाव, अराजकता, अन्योल, गरिबी, सङ्कट र अस्थिरताबाट गुज्रँदा पनि कम्युनिस्टले क्रान्तिका भ्रान्तिपूर्ण गफ दिन छोडेका छैनन् । विवेक भएका कुनै पनि प्राणीले सोच्नै नसक्ने व्यवहार कम्युनिस्टहरूले प्रस्तुत गरिरहेका छन् । देशले अहिले भोग्नुपरेको पीडा र कम्युनिस्टहरूको व्यवहार हेर्दा विवेक र कम्युनिस्ट एकैपटक एकै स्थानमा रहन नसक्ने सिद्ध गरिसकेको आभास हुन्छ । प्रजातन्त्रवादको वकालत गर्ने नेपाली कांग्रेस विचारविहीन हुनु र काङ्ग्ेरसका नेता विवेकरहित हुनुको परिणामका रूपमा पनि वर्तमान स्थितिलाई बुझ्न सकिन्छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE