मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रवासमा थिति बिग्रेका काँग्रेस:चिरन शर्मा

Capture

 

Capture

 

जननेता वीपी कोइरालाले तात्कालीन अवस्थामा प्रवासमा संगठन बनाउँदा नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि विदेशमा समेत लबि गर्न सजिलो हुने निश्कर्षसाथ खोलिएको नेपाली कांग्रेसको भातृसंस्था जनसम्पर्क समिति यतिखेर फरक प्रकृतिसाथ चलिरहेको छ। यतिखेर हिजोजस्तो न त प्रजातन्त्रका लागि प्रचारप्रसार गर्नुपरेको छ न त आवश्यक परेका बेला केही गर्नसक्ने हैसियत नै बनाएका छन्, सम्पर्क समितिहरूले।

यति हो कि नेताका विदेश गमनका लागि ससुरालसाबित भएको छ हरेक जसो जनसम्पर्क समितिहरु।

यस्ता जनसम्पर्क समितिले पार्टीले अह्राएको भन्दा बढी सिन्को पनि भाँच्न नहुने रैछ भन्ने कुरा केही समयअघि भारतीय नाकाबन्दीविरुद्ध संसारभर विभिन्न संघसंस्थाले हैसियतअनुसारका दुनियाँ काम गरे तर यस्ता संस्थाका प्रतिनिधि कहीँकतै मिसिएर फेसबुक टाल्ने काम भन्दा बढी भएन।

वीपीले बनाएको जनसम्पर्क समितिको अवधारणा यो पटक्कै होइन।

यो प्रसंग किन जोड्न आवश्यक छ भने आगामी फागुन २० देखि २३ सम्म नेपाली काँग्रेसले १३ औं महाधिवेशन गर्दैछ। पक्कै पनि महाधिवेसन भनेपछि पैसा र मतको महत्व हुन्छ नै। त्यसैबेला धेरै घरेलु नेताले जनसम्पर्क समितिलाई झलझलि सम्झेका छन्।

कारण भोट हाल्न त आइहाल्छन्। त्यसैबेला यसो दक्षिणा पनि चाहिन्छ है भन्दै दिनहुँ फोन बज्न थालेका छन्। त्यो फोन पनि जनसम्पर्क समितिका लागि एक अवसर नै रहेछ। नेताका लागि भन्यो, उनीहरुलाई २/४ हजार हालिदियो, उठाएका बाँकी रकम उनीहरुलाई बोलाएर कार्यक्रम गरे चारजना मान्छे उडाएपछि हिसाब बराबर। अनि त्यो नेताका लागि पनि जिब्रो पनि फेरिने संसार पनि हेरिने अर्को अवसर पनि हो।

यतिखेर प्रवासमा जे जति संस्था खुलेका छन्, प्रायः तिनीहरुका काम ९० प्रतिशत एउटै प्रकृतिका हुन थालेपछि नेपाली संघसस्थालाई विदेशमा हेर्ने दृटिकोणमा व्यापक फेरबदल आएको छ। विश्वासको संकट उत्पन्न भएको छ।

मुलुकको जुनसुकै प्रजातान्त्रिक आन्दोलनमा नेपाली काँग्रेसको भूमिका नेतृत्वदायी नै भयो। त्यसको निरन्तरता संविधान जारी गर्दासम्म देखियो। तर, विडम्बना, ठुलो लोकतान्त्रिक पार्टीको केही चरित्र अलोकतान्त्रिक बन्न थालेपछि आलोचना बढ्नु स्वाभाविक पनि हो। २०४६ को राजनीतिक परिवर्तनपछि लामो समयसम्म सरकारको नेतृत्व कांग्रेसले नै गर्‍यो। तर, पार्टीले देश निर्माणमा अपेक्षाकृत योगदान दिन सकेन। नेपालको सन्दर्भमा अरु पार्टी भएपनि विश्वका दृष्टिले उनीहरु जनताको मन जित्न सफल छैनन्। त्यसैले पनि हिँड्ने गोरुको पुच्छर निमोठ्ने भने झैँ गाली पनि काँग्रेसले खान्छ र ताली पनि पाउँछ।

कांग्रेसको पुरातनवादी सोंचले सधैँ पार्टीको नेतृत्व कब्जामा लागिरह्यो। त्यो फेरि एकपटक कसले बाजी मार्ला? संघारमा आइपुगेको छ। उसले आफ्नो लोकतान्त्रिक छविलाई कहिल्यै ख्याल गरेन। उसका कार्यकर्ता यति छाडा छन् कि एउटा लबिमा टाँसिएपछि उसलाई  जे गर्न पनि छुट छ। बाँकी आफ्नो लबिका नेताले सबै जिम्मा लिन्छन्।

यो नेपाली काँग्रेसको हकमा मात्रै होइन कि सबैजसो पार्टीमा काँग्रेसमा भन्दा बढी अरुमा देखिन्छन्। तर पनि लोकतन्त्रको परिभाषाअनुसार लोकतान्त्रिक भन्ने दलको आचरण परिवर्तन गर्न जरुरी छ।

विदेशमा बस्ने अधिकांश नेपाली देशको मुहार फेरिएको हेर्न हरसम्भव प्रयासरत छन्। तर, त्यसका लागि प्रयासले मूर्तरुप दिन हैसियत राख्ने छहारीको पात झरेर घाम छेक्ने हैसियत गुमाएको छ, यतिबेला। हुँदाहुँदा महाधिबेसन नै नगर्न खोज्ने र सधैँभरि पद ओगट्ने परिपाटी सुरु हुन थालेको छ। यस्तो बेला नेपाली काँग्रेसको महाधिबेसन बाध्यताले गर्नुपरेको छ। कानुन र कारणले भ्याएसम्म सारेर अन्तिम उपाय गर्नैपर्ने बाध्यात्मक अवस्थामा मात्रै तयार भएको महाधिवेसन एकातिर छ भने अर्कोतिर भातृ संस्था पार्टीको व्यवस्थापन भन्दा कयौँ गुणा अस्तव्यस्त देखिन्छन्। माउ पार्टीले व्यवस्था सिकाए न उसका भातृसंस्थाले जान्दछन्। महाधिवेसन आउनलाग्दा हतारमा कागजात मिलाएर पठाउने र अरुबेला मनोमानी गर्ने रोग काँग्रेस मात्रै होइन, धेरै संघसस्थाका लागि सामान्य बन्दैगएको छ।

नेपाली काँग्रेसको आन्तरिक र बाह्य जे भए पनि देशकै ठूलो राजनीतिक दलको महाधिवेशनपछि आउने नेतृत्व र त्यसको विचार र नेतृत्वको कारण देशको मार्गचित्र कोरिने भएकाले धेरैले काँग्रेस महाधिवेशनलाई महत्वसाथ नियालिरहेका छन्।

काँग्रेसले यसअघि नै यूरोप, अमेरिका, एसिया, अष्ट्रेलियालगायतका ३२ देशमा नेपाली जनसम्पर्क समितिको रुपमा संगठन बिस्तार गरिसकेको छ। भारतबाहेक ती जनसम्पर्क समितिमा ११ हजार ७४ क्रियाशील सदस्यताबाट करिब एक करोड ५० लाख रुपैयाँ जनसम्पर्क समितिबाटै काँग्रेसले सदस्यता शुल्क उठाएको छ। तीमध्ये १७ देशका एक सय १९ जनाले काँग्रेसको १३ औं महाधिवेशनमा प्रतिनिधिको रुपमा भाग लिन पाउने भएका छन्।

काँग्रेसका तरुण दल, भूतपूर्व सैनिक संघका शाखासमेत प्रवासमा छन्। तिनै पार्टीका संगठनले अमेरिका, बेलायत, बेल्जियम, जापान, जर्मनीलगायत प्रमुख देशमा सञ्जाल बिस्तार गरेका छन्। ठूलो र सशक्त सञ्जाल भनेको काँग्रेसआबद्ध नेपाली जनसम्पर्क समितिको देखिएको छ।

युरोपका प्रायः सबै देशमा बिस्तार भएको समितिले विश्वभर आफ्नो बिस्तार गर्ने लक्ष्य बनाएको बताइएको छ। सामान्यता काँग्रेस नेता विदेश आउँदा एयरर्पोटमा स्वागत गर्ने, सामान्य अन्तरक्रिया कार्यक्रम गर्ने, घरघरमा लगेर खाना बस्न दिने, तानातान गरेर किनमेल गराई दिने, बिभिन्न मनोरञ्जन केन्द्रमा लैजाने र नयाँनयाँ ब्राण्डको मदिरा खुवाउन भूमिका विदेशस्थित नेपाली जनसम्पर्क समितिका नेता तथा कार्यकर्ताले गर्छन्। कहिलेकाहीँ पार्टी तथा नेताका जन्म मृत्युको सम्झनामा कार्यक्रम गर्न भुल्दैनन्। जुन कार्यक्रममा उपस्थित जनसमुदाय भन्दा वक्ता र मञ्चमा बस्ने अतिथि संख्या बढी हुन्छ।

स्थानीय सामाजिक संघसंस्थाको निर्वाचनमा सशक्त भाग लिने र पार्टीका उम्मेद्वारलाई जिताउने तथा संस्था कब्जा गर्न मरिहत्ते गर्छन्। आदि इत्यादि नै विदेशमा खोलिएका सबै राजनीतिक दलका दिनचर्या छ। बिदेशमा बिस्तारित संगठनलाई हेर्ने कुनै पनि दलभित्र छुट्टै संरचना, मार्गचित्र र नयाँ सोंच छैन। त्यस्ता संगठनलाई व्यस्थापन गर्न भन्दा नेतालाई पनि चुनावका बेला पैसा उठाउन र संसार हेर्ने र मुख फेर्ने गतिलो माध्यम बनेको छ।

यस्ता संगठन प्रायः विदेश विभागले हेर्ने चलन छ, काँग्रेसभित्र भने संगठन विभागले हेर्ने वा विदेश विभागले हेर्ने भन्नेबारे दुईमत हुँदाहुँदै जनसम्पर्क समिति समन्वय विभागलाई विदेशस्थित जनसर्म्पक समिति हेर्न दिइएको छ। स्वाद पाउँदै गएपछि पछिल्ला दिनमा यो विभाग हाँक्न केन्द्रीय नेता मरिहत्ते गर्न थालेका छन्। त्यो विभागले फलानो नेता आउँदैछन् मिलाएर गर्नू भन्नेमा नै पहिलो निर्देशन हुन्छ। सो विभागको काम कर्तब्य र अधिकार स्पस्ट नहुँदा विभागीय प्रमुखको अधिकार अहिलेकाहीँ पार्टी कार्यालय सचिवले प्रयोग गर्दै निर्वाचित कार्यसमितिलाई समेत ‘कु’  गरेको विगत भेटिन्छन्। केही मानिसलाई ल्याउनेलाने काममा पेपर बनाउनसमेत केन्द्रीय कार्यालयको सचिवसम्मले लाभ लिएको सुनिन थालेपछि जसको शक्ति उसको भक्ति भन्ने कुरा यतातिर पनि लागू हुन थालेको छ।

जो नेपाल पुग्छ, नेता घरैपिच्छे पुगेर फोटो फेसबुकमा हालेपछि प्रवासमा नै रहने फलानोले भ्यायो भन्दै मुर्च्छा पर्छन्। जो नेपाल पुग्छन् अनेक च्यानल फिट गरी नेता भेट्ने पहिलो प्राथमिकता हुन्छ।

विदेश आउँदा मनोरन्जनसाथ घुमाउने र नेपाल पुग्दा म फलानो देशको भन्नेबित्तिकै नेताका ढोका २४ सै घण्टाका लागि खुल्छ। थिति बिग्रिएको यसै कारण हो नीति र नियम धोती लगाएपछि संगठन र संरचनाले काम गर्दैन।

विश्वका विकसित मुलुकमा रहेकाबाट ज्ञान र सीप लिएर पार्टी काममा लगाउनू भन्ने त कता हो कता, उनीहरुलाई समेत चाकडी र चाप्लुसीमा पोख्त बनाएर बानी बिगारेका छन्। बिदेशमा बसेर सिकेको ज्ञानसीपका आधारमा संगठन सञ्चालन हुनुसट्टा उनीहरु पार्टीले संगठन बिस्तारको प्रष्ट उद्देश्य र गाइडलाइन नदिँदा सबैतिर गुटउपगुटले बिभाजित छन्। विदेशमा बसेर पनि कुनै नेताको पक्ष र बिपक्षमा उभिएका छन् कांग्रेसजन। उनीहरुमा अग्रगामी सोँचको विकास हुन सकेको छैन। विदेशमा सिकेको ज्ञानलाई पार्टीभित्र लैजाने र नयाँ सोंचसाथ अगाडि बढ्ने र पार्टीलाई मागदर्शन दिने हैसियत राख्दैनन्। तर के गर्नु चाकडी नगरी केही नसुन्ने भएपछि यतिखेर यस्ता संघसस्थामा हैसियत र दक्ष मानिस पाखा लाग्दैगएका छन्।

काँग्रेसको १३ औं महाधिवेशनको चर्चासँगै नेपाली जनसम्पर्क समितिले लाखौँ रुपैयाँ नेताको निर्वाचनमा खर्च गर्न सहयोगको लागि याचना गरिसकेका छन्। बिदेशस्थित काँग्रेस नेता तथा कार्यकर्ता फलानो दाइ हाम्रो र राम्रो हो भन्दै सहयोग संकलन थालिसकेका भेटिन्छन्। काँग्रेसलाई जनसम्पर्क समिति बेलायतले मात्र विभिन्न शीर्षकमा करिब एक करोड रुपैयाँ संस्थागतरुपमै सहयोग गरेको चर्चा नचलेको होइन। भूकम्पपीडित, सदस्यता शुल्क, पार्टी कार्यालय भवन निर्माण, सोसलिष्ट इन्टरनेशनलको सदस्यतासहित परिवारलाई सहयोग आदि शीर्षकमा लाखौं रकम काँग्रेसले प्राप्त गरेको चर्चा काँगे्रसीजनभित्र चलेको थियो। यस्तो बेला प्रसस्त पैसा उठाएर आधा दाइलाई पठाउने र आधा भाइले नै राख्ने होडवाजीमा कतिपय जनसम्पर्कका साथी नियमित कामबाट विदा नै लिएर खटिएका छन्। नेपाली जनसम्पर्क समिति काँग्रेस पार्टी र नेताका लागि ठूलो आम्दानीको स्रोतजस्तै बनेको अनुभूत जोकोहीले गरेका छन्।

विदेशबाट लगाएको गुन खाएको नुनको सोझो गर्न मात्रै काँग्रेसले १२ औं महाधिवेशनदेखि केन्द्रीय प्रतिनिधि हुन पाउने व्यवस्था मिलाएको छ। विदेशबाट भित्रिएको लाखौँ रुपैयाँको बदलामा काँग्रेस महाअधिवेशनमा प्रतिनिधि हुन पाउने अधिकार त दियो, तर त्यो आंशिक मात्र छ। उनीहरुले मतदान गर्न पाउँछन्, तर उम्मेद्‌वार बन्न पाउँदैनन्। आखिर अधिकार नै दिने हो भने किन असमान व्यवहार?

काँग्रेसले विदेशमा बसेर लाखौं रुपैयाँको सहयोग भित्राउने कार्यकर्तालाई न्यायोचित ब्यवहार गर्न सकेन।

विदेशमा जम्मा भएको ठूलो आर्थिक सहयोग नेतासँगको सम्बन्धलाई नजिकाउन प्रयोग भएको देखिन्छ। पार्टी नेतालाई लाखौँ रुपैयाँ बुझाउनुको सट्टा आफ्नो पढेको स्कुलको छाना टाल्न, गाउँमा स्वच्छ पानी ल्याउने ब्यवस्था गर्न सके भूकम्पपीडितले केही राहत त पाउने थिए। द्वन्द्वकालमा भत्किएको आफ्नै गाबिस भवन बनाऊ, जनआन्दोलनका घाइतेको घाउमा मलम लगाऔं, भूकम्पपीडितलाई सहयोग गरौँ, नेताको चाकडीमा खर्चनुको सट्टा एक–एक रुपैयाँ देश निर्माणमा लगाऔं भन्ने विवेकसमेत विदेशमा रहेका काँग्रेसजनले राखेको देखिँदैन।

विदेशमा सक्रिय काँग्रेस नेता तथा कार्यकता देश निर्माणका लागि कुनै विचार वा नयाँ चिन्तन पार्टी नेतालाई दिने क्षमता राख्दैनन्। उनीहरु गुट–उपगुट र दाइका पछाडि लाग्नमै रमाइरहेका छन्। नेपालबाट विदेश आउने नेताले पनि विदेशमा गएर कुनै कुरा सिकौँ र देशभित्र लागू गरौँ भन्ने चिन्तन राखेको उदाहरण अहिलेसम्म भेटिएको छैन। विदेशस्थित नेपाली समुदायमा भएका मुद्दालाई प्रष्टरुपमा आफ्नो पार्टीभित्र राखेको पाइँदैन। त्यसैले होला नेपाली जनसम्पर्क समितिका कार्यकर्ताको सुरुका दिनमा जुन उत्साह थियो, त्यो अहिले भेटिदैन।

विदेशमा पुगेर जेजति जानेका छन्, त्यसलाई व्यवहारमा उतार्नुको साटो नेतालाई बढी नै चाकडी गरेर थप भ्रष्ट बनाउन हुँदैन। त्यसो भए विकसित मुलुकमा सिकेको ज्ञान र सीपको के अर्थ? हिजोजस्तो प्रजातन्त्रको लागि एड्भोकेसी गर्न नपर्दा यतिखेर विदेशमा खुलेका यस्ता जनसम्पर्क समिति जस्ता अरुले पनि मुलुकको अवस्थालाई हेर्दै राजनीतिक तवरमा विभिन्न कार्यक्रम आदनप्रदान गर्न सकिन्छ। जसले दुई देशबीचको सम्बन्ध पनि सुधार हुन्छ भने अर्कोतर्फ नेपाल र नेपालीबारे जानकार विकसित मुलुकले सहयोगका विभिन्न संभावनाको ढोका खोल्न पनि मद्दत हुने थियो। आगामी दिनमा यस्ता राजनीतिक संगठनले आफ्नो योजना र व्यवहारमा परिवर्तन नगर्ने हो भने यी र यस्ता संस्था केवल नेताका ससुरालसाबित हुनेछन्। अन्यथा राजनीतिक संगठनका लागि लाभादायी हुने छैन।

इमेल- chirans@hotmail.com

प्रकाशित मिति: बुधबार, माघ ६, २०७२ १४:२८:५१

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE