मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बुवाले ‘कसैलाई भनेर तँलाई नोकरी खुवाउँदिनँ, जे सक्छस् आफैँ गर्’ भन्नुभयो ।

जापान पुगेर पनि रोटी पोल्दै छन् चित्रबहादुर केसीका छोरा

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं सभासद् चित्रबहादुर केसीका छोरा सचित्र केही महिनाअघिसम्म काठमाडौं अनामनगरस्थित एक ढावामा रोटी पोल्दै गरेको अवस्थामा भेटिन्थे । अस्ट्रेलिया जाने भनेर उनले १०–१२ लाख खर्च गरेका थिए । तर, अनामनगरमा रोटी पेलेर त्यो ऋण चुक्ता नहुने उनको ठम्याइ थियो । हजुरबाको खेत बेचेर ऋण तिर्न उनको मनले मानेन । त्यसपछि उनी जापानतिर लागे, आठ महिना अगाडि । जापान पुगेर पनि उनी अहिले रोटी पोल्दै छन् । संघर्ष र श्रम कम्युनिस्ट पार्टीका नेता–कार्यकर्ताका लागि अनिवार्य हुन्छ । अनि, नैतिकता र इमानदारिता उसको परिचय हुन्छ भन्ने मान्यता राखेका सचित्र अहिले दैनिक १२ घन्टा काममा खटिन्छन् । जापानको एक रेस्टुरेस्टमा रोटी पोल्दै गरेका सचित्रले जापान बसाइको आफ्नो कथाव्यथा रातोपाटीसँग यसरी सुनाए :

ऋणको ठूलै भारी थियो । त्यसलाई नेपालमै बसेर बिसाउन सम्भव देखिएन । त्यसैकारण म आठ महिनाअगाडि जापान आएँ । यहाँ आएर मैले ‘नेपाली किचन सम्झना’ भन्ने रेस्टुरेन्टमा काम गर्न थालेँ । जापान आएपछि नयाँ–नयाँ अनुभव बटुल्दै छु । पहिलो कुरा त नेपाल र जापानको जनजीवन निकै नै फरक छ । नेपालमा रहँदा पनि काम त गरिन्थ्यो नै, तर जापानको जस्तो थिएन । काम गर्दै, मान्छे भेटदै, गफ गर्दै दिन बित्थे नेपालमा । जापानमा त्यस्तो सुविधा छैन । अत्यधिक मिहिनेत चाहिन्छ । ड्युटी आवरमा दायाँबायाँ केही छैन, बस् काम–काम । जे काम गरे पनि हात खाली हँुदैन । लाहुरे जीवनको अनुभव यहाँ हुन्छ । यहाँ मेरो काम बिहान नौ बजेबाट सुरु हुन्छ । दुई घन्टामा किचनको तयारी सकिन्छ । ११ बजेबाट ग्राहक आउँछन् । उनीहरूको अर्डरअनुसार खाना बनाउने काम सुरु हुन्छ । ग्राहक जति धेरै आउँछन्, किचनमा कामको प्रेसर उत्तिकै बढ्छ । ११ देखि ३ बजेसम्म लन्चको समय हो । ग्राहकको भीड यही बेला हुन्छ । ३ देखि ५ बजेसम्म हाम्रो स्टाफको खाना खाने र आराम गर्ने समय हो । शनिबार, आइतबार र स्थानीय बिदा भएको दिन रेस्टुरेन्टमा ग्राहक बढी आउँछन् । यी तीन दिन हामीलाई ३ देखि ५ बजेसम्म आराम गर्ने समय हुँदैन ।
साँझ ५ बजेबाट डिनरको काम सुरु हुन्छ । फेरि किचनको मोर्चा सम्माल्न लागिन्छ । विभिन्न परिकार बनाउनुपर्छ । तन्दुरीरोटीदेखि विभिन्न परिकार तयार हुन्छ । ५ बजेबाट सुरु भएको डिनर राति १० बजेसम्म चल्छ । यसरी हेर्दा होटलमा १२ घन्टाको ड्युटी छ । सातामा एक दिन बिदा पाइन्छ । काठमाडौंको अनामनगरमा रोटी पोल्दापोल्दै यसो एकछिन बसेर पत्रिका पढे पनि हुन्थ्यो । यहाँ त्यस्तो हुँदैन । ग्राहकको चापअनुसार काम हुन्छ । सेवा राम्रो र चाँडो दिनुपर्ने भएकाले काम सिरियस्ली गर्नुपर्छ । यहाँका अधिकांश ग्राहक जापनिज नै हुन्छन् । ताइवानी, कोरियन, युरोपियन र इन्डियन पनि लन्च–डिनरका लागि आउँछन् । कहिलेकाहीँ नेपाली दाजुभाइ पनि देखिन्छन् । रातिको काम सकेर कहिले पैदल कहिले साइकलमा कोठामा गइन्छ । होटलमा सँगै काम गर्ने चारजना साथी छौँ– बाग्लुङ, स्याङ्जा, नवलपरासीका । चारैजना सँगै बस्छौँ । होटलबाट कोठामा पुग्न साइकलमा १० मिनेट र पैदल ३० मिनेट जति लाग्छ ।

नेपालमा बसेर सोचेजस्तो छैन जापान । कल्पना गरेजस्तो पनि रहेनछ । मेरो हकमा पनि मैले सोचेभन्दा उल्टो पाएँ जापान । यहाँ बस्ने कोठामा टिभीसमेत छैन । होटलमा इन्टरनेट सुविधा छ । फुर्सदमा यसो देश–विदेशका खबर हेर्ने हो । होटलको इन्टरनेटका राउटर राति कहिलेकाहीँ कोठामा लैजान्छौँ । फेरि अर्को दिन बिहान बोकेर आउँछौँ । त्यसैबाट कहिलेकाहीँ कोठामा पनि इन्टरनेट चलाउँछौँ । काठमाडौंमा बुवासँग बस्दाको भिन्दै मजा थियो– घरपरिवार, इष्टमित्र र साथीभाइसँग भेटघाट, कुराकानी चलिरहन्थ्यो, आत्मीयता बढिरहन्थ्यो । यहाँ त्यस्तो हुने कुरै भएन । काम गर्ने साथीबीच नै रहने हो, दुःखसुख साट्ने हो । कुराकानी पनि कामकै हुन्छ । फेरि काम छ सबै छ, काम छैन केही छैन यहाँ । पुँजीवादी देशमा मजदुर र मेसिन उस्तै–उस्तै हुन् ।

मैले अहिलेसम्म तलब बुझेको छैन । यहाँ आउँदा लागेको खर्च तिरिरहेको छु, यस्तै सर्त थियो । ११ लाख रुपैयाँ जति मैले तिर्नुपर्छ । आधा जति अझै बाँकी छ । यो तिरेपछि मात्रै तलब बुझ्न पाउँछु । यहाँको पैसाको मूल्य बढेको छ । ८० हजार युआन तलब छ । टेलिफोन, साथीभाइसँगको कहिलेकाहीँको भेटघाट र यातायातमा अलिअलि खर्च हुन्छ । यातायात निकै महँगो छ । जापानमा मेसिनले जस्तै काम गर्नुको पनि मेरो आफ्नै कथा छ । पुरानो ऋण तिरौँ भन्ने सोचसहित आएको हँु । अस्ट्रेलिया जाने भनेर चक्कर लगाइयो । ११ लाख रुपैयाँ दलालले खाइदियो । साथीभाइ र आफन्तसँग खोजेको त्यति धेरै पैसा दलालले खाएपछि तनाव हुने नै भयो । म नेताको छोरा हुँ, मलाई समेत दलाल ठग्न तयार हुन्छन् । नेपालमा दलालहरू साँच्चिकै बलिया हुन् । दलाललाई ठूलो राजनीतिक संरक्षण होला भन्ने मलाई लाग्छ । प्रहरी प्रशासनको संरक्षण होला । सोझासाझा जनताका लागि त केही छैन भन्ने महसुस हुन्छ ।

बुवाले त विदेश जानुपर्दैन, खेत बेचेर ऋण तिरौँला भन्नुभएको थियो । जापानमै रहेको भाइले पनि ऋण तिरौँला दाइ चिन्ता नगर्नुस् भनेको थियो । तर, मेरो मनले मानेन । आफैँ श्रम गरेर ऋण तिर्नुपर्छ जस्तो लाग्यो । त्यसपछि जापान जाने योजना बनेको हो । बुवाले खेत बेचेर ऋण तिर्ने कुरा गर्दा मलाई धेरै नै असजिलो लाग्यो । बुवा आफैँले किनेको खेत होइन । उहाँले जनताका लागि राजनीति गर्नुभयो । कमाउने राजनीति गर्नुभएन । हजुरबाले कमाएको खेत भाइअंशमा बुवाको नाममा परेको हो । त्यो बेचेर म नातिले कसरी ऋण तिर्ने ? कतैबाट पनि मनले मानेन । त्योभन्दा त आगोको भट्टीमा रोटी पेलेर ऋण तिर्दा नै आत्मसम्मान हुने महसुस भयो । दुई–चार वर्ष काम गर्छु र ऋण तिर्छु भनेर नै यहाँ आएको हो । पहिलो चरणमा जापान आउँदा लागेको ऋण पूरा हुन्छ । दोस्रो चरणमा दलालले खाइदिएको ऋण तिर्छु ।

अंग्रेजी नयाँ वर्षमा जनगायक जीवन शर्मा यहाँ आउनुभएको थियो । रक्तिम सांस्कृतिक परिवारका लागि अक्षयकोष र लाइब्रेरी बनाउनेबारे सल्लाह गर्यौँ । जापानलगायत सबै ठाउँबाट सहयोग जुट्यो भने अक्षयकोष र लाइबे्ररी बनाउन सकिन्छ । रक्तिमका धेरै सम्पति नष्ट हुन्छन् कि भन्ने चिन्ता लागेको छ । जनताको पक्षमा, जनतालाई जागरण दिँदै हिँडेका रक्तिमका कलाकारका लागि पनि अक्षयकोष ठूलो कुरा हुने थियो । म आफैँ पनि त्यो सांस्कृतिक समूहमा रहेर काम गरेको हुँ । जसरी हुन्छ, अक्षयकोष र लाइब्रेरी बनाउने योजना बनेको छ । जीवनजी यहाँ आएका बेला हामीले एउटा कार्यक्रम पनि गर्यौँ । उहाँले गाउनुभयो, म दुईवटा गीतमा नाचेँ । रक्तिमसँगको मेरो भावनात्मक सम्बन्ध छ । मेरो धेरै ऊर्जा रक्तिमका लागि खर्च भएको छ । नेपालमा जस्तै जीवनका गीतमा जापानमा पनि नाचेँ । आकाशमा बादल छैन, पानी पर्यो करेली झालैमा । सामन्तको नाइके छैन, कसले पार्यो माकुरी जालैमा ।।
संघीयताको विषय, धर्मको विषय र जात–जातको विषयमा देशमा लडाइँ छ । विदेशीले लडाउने षड्यन्त्र गरेका छन् । नेपाली लडेका छन् । यही सन्देश दिन खोजेको छ, गीतले । धेरैले मन पराउनुभयो यो गीत । हामीले जापानमै पनि रक्तिमको कमिटी बनाउन खोजेका छौँ । अरू साथीहरू केही अहिले जापानमै काम गरेर बसिरहनुभएको छ ।

नेपालबाट १०–१२ लाख खर्चेर युवाहरू यहाँ आउँछन् । भाषा जानेका हुँदैनन् । लाहुर आउँछन्, हातमा सीप पनि छैन । यहाँ आएर दुःख पाएका पनि देखिन्छन् । यहाँ सकेसम्म भाषा र सीपसहित आउँदा राम्रो हुन्छ । म पनि बूढो भएँ । ४३ लागेँ । भाषा सिक्न पनि कठिन भाको छ । बूढो भएर लाहुर आएपछि के हुन्थ्यो र ? केही वर्षअगाडि म कोरिया पनि बसेँ । कोरियाबाट फर्केपछि अस्टे«लिया जाने सोचेको थिएँ । सम्भव नभएपछि अहिले जापानमा छु । कोरियामा बस्दा पनि र यहाँ बस्दा पनि मैले केही देखेँ । कैयौँ साथीका गुनासा सुनेँ । कहिलेकाहीँ आफैँ पनि भुक्तभोगी भइयो । विदेशमा कठोर श्रम गरेर श्रीमानले घर पैसा पठाउँछन् । कैयौँका श्रीमतीले श्रीमानले आँखाबाट रगत झारेर कमाएको पैसामा मोजमस्ती गर्छन् । दुरुपयोग गर्छन् । विदेशबाट पठाएको पैसा अर्कै केटाका लागि सुम्पिन्छन् । जापानमा धेरैले यस्तो गुनासो गरेको सुनियो । कसैका श्रीमती पोइल गएका छन् । आफ्नो परिवारको सुखी जीवनको सपना बोकेर विदेश आएका घर फर्कंदा न पैसा न त श्रीमती भएको उदाहरण सबैले देखेकै छन् । समाचार आइरहन्छन् । मेरो आग्रह त के छ भने घरमा जति पैसा चाहिने हो, त्यति मात्रै पठाउनुस् । बाँकी आफैँ डिपोजिट गर्नुस् । त्यसो गर्दा पैसा पनि बच्छ । पारिवारिक कलह पनि रोकिन्छ कि !

मेरो जीवन त श्रममै बित्यो । त्यसकारण श्रमसँग मेरो सम्मान छ । बुवा भूमिगत भएकै बेला म ९ मंसिर ०२९ मा बाग्लुङको मल्म–३ मा जन्मेको हुँ । हामी दाजुभाइ नजन्मिदै बुवाको भूमिगत राजनीतिक जीवन सुुरु भएको रहेछ । आमाले दुखजिलो गरेर हुर्काउनुभयो ।
बुवालाई राम्रोसँग चिनेको ०४२÷४३ तिर मात्र हो । त्यतिबेला बुवा दिदीको बिहेका लागि घर आउनुभयो थियो । हाम्रो पनि बुवा हुनुहुन्छ भन्ने अनुभूति भएको त्यतिबेलै हो । बुवा घरमा नभएकाले सानैदेखि हामीले आमालाई सहयोग गथ्र्यौं । बिहान घाँस काटेर स्कुल जान्थ्यौँ । दिनभरि स्कुल पढेर फर्केपछि पनि आमालाई सघाउँथ्यौँ । म आठ वर्षको थिएँ । भैँसी एकहाते भयो । एक वर्षसम्म मैले नै भैँसी दुहुनुपर्र्यो । शनिबार हामी माछा मार्न जान्थ्यौँ । दिनभरि खोला थुनेर मारेका माछा साँझ नजिकका पसलमा बेच्थ्यौँ । अलिकति घरमा पनि ल्याउथ्यौँ । माछा बेच्दा १५ रुपैयाँदेखि ३० रुपैयाँसम्म आउँथ्यो । त्यो पैसा हामीले आमालाई दिन्थ्यौँ । स्कुलमा शुल्क तिर्न, कापी–कलमका लागि त्यही पैसा चलाउँथ्यौँ । यसरी सानैबाट श्रममा जोडिएको हो । त्यही भएर आज पनि श्रम गरेर खान मजा लाग्छ । सानोमा कहिलेकाहीँ मानिसहरुलाई बढेको खोलो तर्न सघाएर पनि पैसा कमाउँथ्यौँ । म नौ वर्षको थिएँ । दसैँको बेला थियो । ‘फोकल्यान्डका टापुबाट लेखिरहेछ चिठी तिमीलाई’ भन्ने मणि थापाले रचना गरेको र जीवन शर्माले गाएको गीतमा कान्छाबाको भरुवा बन्दुक बोकेर नाचेको थिएँ । त्यहाँका प्रधानपञ्चहरूले राजारानीको फोटोमा चित्रबहादुरका छोराले बन्दुक हान्यो भनेर उजुरी हालेछन् । त्यसबेला हामीलाई राजकाज मुद्दा लाग्यो ।

०४६ सालको जनआन्दोलनपछि हरिसिद्ध टायल कारखानामा काम गरियो । हरिसिद्ध टायल कारखानामा काम छाडेपछि फेरि आर्थिक समस्या हुन थाल्यो । स्कुल खोल्यौँ । पार्टी काम, पढाउने काम सँगसँगै भयो । दिउँसो स्कुल पढाउँथेँ । राति पुतलीसडक आएर दोहोरी साँझमा हार्मोनियम बजाउँथेँ । त्यहाँबाट पनि अलिअलि पैसा आउँथ्यो । ०५९ मा कोरिया गएँ । त्यहाँ गएर बंगुरको खोरमा काम गरेँ । १५ सय बंगुर एक्लै हेर्थें । कोरियामा गरेको मिहिनेत म कहिल्यै भुल्दिनँ । यता छोरोलाई कोरिया पठायो भनेर बुवाको आलोचना भएछ । कोरियाबाट फर्केपछि काठमाडौंमै ढावामा रोटी पकाइयो । मलाई श्रमप्रति विश्वास भएर त्यो काम गरेको थिएँ । श्रम गरेर खानुपर्छ भन्ने कम्युनिस्ट सिद्धान्त बोकेको मान्छे हुँ । काम ठूलो वा सानो भन्दिनँ ।

एकपटक बुवालाई नोकरी खोजिदिन भनेको थिएँ । बुवाले ‘कसैलाई भनेर तँलाई नोकरी खुवाउँदिनँ, जे सक्छस् आफैँ गर्’ भन्नुभयो । त्यसपछि बुवासँग ठूलो आशा राखिनँ । आफैँ संघर्ष गरेर जिउने प्रण गरेँ । यही संकल्प हो, आजको काम पनि । ०५६ सालदेखि बुवा सांसद हुनुहुन्छ । तर, मैले बुवाको यो पद कहीँ पनि देखाएको छैन । बुवाको पद देखाएको भए म धेरै गर्न सक्थेँ होला । आज पनि आफ्नो विचारमा अडिग छु म । बुवाको सोर्सफोर्समा केही दलाली गरेर खान मन छैन । त्योभन्दा त रोटी पकाएरै खान धेरै मजा छ । यो काममा गर्व छ । यसमा कसैले औँलो उठाउँदैन । ऋण तिरेर म देश फर्कन्छु ।

CCP From: http://www.ratopati.com

New Rich Text Document

WRITE COMMENTS FOR THIS ARTICLE