मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

संसदीय दलको नेता चुन्न काँग्रेसले बनायो समिति, अबको नेता देउवा की पौडेल ?

Capture

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले संसदीय दलको निर्वाचन गर्न समिति गठन गरेको छ । यस्तो निर्वाचन आउँदो चैत २२ गते हुनसक्ने काँग्रेस नेताहरुले बताएका छन् ।   काँग्रेसको तेह्रौं महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएपछि शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको पहिलो बैठकले संसदीय दलको नेता चयनका लागि रमेश रिजालको संयोजकत्वमा समिति बनाएको हो ।  समितिको सदस्यमा सुरेन्द्र पाण्डे र गुरु घिमिरे छन् ।

सभापति देउवाले आफू तीन पटक प्रधानमन्त्री भइसकेकोले अब उक्त पदमा आफूलाई लोभ नभएको बताइरहेको बेला को हुने भन्ने बहस र अनुमान सुरु भएको छ ।  देउवा निकट केही हार्डलाइनर नेताहरु भने देउवालाई नै जसरी पनि दलका नेता बनाउन लागि परेका छन भने काँग्रेस कार्यकर्तादेखि जनमत भने वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेता बनाउनुपर्छ भन्ने छ ।

सामाजिक सञ्जालहरुमा आउने प्रतिक्रियाहरुमा बहुसंख्यकले काँग्रेसको दलको नेता पौडेललाई दिनुपर्ने प्रतिक्रिया दिएको देखिन्छ । देउवा आफैले पनि सबैलाई मिलाएर लैजाने बताउँदै आएका छन भने केही नेताहरुले एक व्यक्ति एक पदको व्यवस्था हुनुपर्ने कुरामा जोड दिँदै आएका छन् ।

नेता चयनका लागि रिजाल संयोजकत्वको समितिले निर्वाचनको मिति र कार्यतालिका बनाउनेछ । बैठकले मधेस समस्या समाधान गरी संविधान कार्यान्वयनका लागि सबै दलसँग वार्ता अघि बढाउने निर्णय गरेको छ । मधेस समस्याको सम्बोधन र संविधान कार्यान्वयनमा विशेष जोड दिएको काँग्रेस बैठकमा यसका लागि कार्यदल नै गठन गर्ने प्रस्ताव राखिएको थियो ।

पार्टी कार्यालय सानेपामा भएको बैठकले महंगी र कालोबजारी नियन्त्रण गर्न नसकेको र भूकम्प पीडितलाई राहत, पुनःस्थापना र पुनर्निर्माणमा उदासिनता देखाएको भन्दै सरकारको आलोचना भएको थियो । त्यस विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।  बैठकले भ्रातृ संगठनको अधिवेशन छ महिनाभित्र गरिसक्ने निर्णय गरेको छ । बैठकमा नौ महिनामा गर्ने प्रस्ताव आएको थियो । चैत्र २६ गते जनआन्दोलन दिवस मनाउने र म्यानमारका नवनिर्वाचित राष्ट्रपतिलाई बधाई दिने, महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिने निर्णय गरिएको काँग्रेस नेता गोविन्द भट्टराईले जानकारी दिए ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE