मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

असोज-३ गते (20 Sept 2015) आईतबार साँझ ५ बजे ‘नेपालको संविधान २०७२’ घोषणा हुने ।

‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि सदस्यहरुबाट प्राप्त संशोधनलाई संविधानसभाको आजको बैठकमा निर्णयार्थ प्रस्तुत गर्ने क्रम चलिरहेको छ । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते (20 Sept 2015) घोषणा हुने भएको छ ।

संविधानसभाका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले संविधान घोषणाको नयाँ मितिबारे पुष्टि गरे । कुइँकेलका अनुसार असोज ३ गते आइतबार साँझ ५ बजे विशेष समारोहका बीच राष्ट्रपतिले संविधान सार्वजनिक गर्नेछन् ।

CA NEPAL - Copy

पारित भएको धारा ५ मा ‘सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता, स्वाधीनता, स्वतन्त्रता, एकता, नेपालीको हक एवम् स्वाभिमानको रक्षा, सिमानाको सुरक्षा, आर्थिक समुन्नति र समृद्धि नेपालको राष्ट्रिय हितका आधारभूत विषयहरू हुने’ उल्लेख छ ।

पारित धारा ६ मा ‘नेपालमा बोलिने सबै मातृभाषाहरु राष्ट्रभाषा हुन्’ भन्ने व्यवस्था छ ।

धारा ७ मा ‘देवनागरी लिपिमा लेखिने नेपाली भाषा नेपालको सरकारी कामकाजको भाषा हुने, नेपाली भाषाको अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसङ्ख्यक जनताले बोल्ने एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई कानुन बमोजिम प्रदेशको सरकारी कामकाजको भाषा निर्धारण गर्ने’ व्यवस्था बैठकबाट पारित भएको छ ।

राष्ट्रिय झन्डासम्बन्धी धारा ८ मा ‘सिम्रिक रङ्गको भुइँ र गाढा नीलो रङ्गको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रको बीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अङ्कित भएको झन्डा नेपालको राष्ट्रिय झन्डा हो” भन्ने व्यवस्था पारित भएको छ ।

विधेयकको धारा ९ मा रहेको ‘राष्ट्रिय गानको अनुसूची, नेपालको राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ सिम्रिक, राष्ट्रिय जनावर गाई र राष्ट्रिय पक्षी डाँफे हुने’ व्यवस्था छ ।

WRITE COMMENTS FOR THIS ARTICLE