मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अनिवार्य वस्तु दूध र पानी गुणस्तरको हिसाबले समस्यामा : सरसफाईमा विशेष ध्यान जानु आवश्यक

– तीर्थ प्रसाद अधिकारी

अहिले नेपालमा सबैभन्दा बढी गुणस्तरको हिसाबले समस्यामा रहेका उद्योगहरु पानी र दूध हुन् । पानी र दूध हरेक व्यक्तिको निम्ति अनिवार्य आवश्यकताका वस्तु हुन् । पानी र दूग्ध सेवामा निजी र सरकारी दुवै क्षेत्रले प्रदान गर्ने सेवामा नै अहिले समस्या छ । जसलाई सेवा दिइन्छ, उसले राम्रो सेवा पाउन सकुन् भन्नेमा सबै पक्षले ध्यान दिनुपर्छ । माछामासु, विस्कुट, चाउचाउ लगायतका वस्तुहरु पनि समस्यामा नै भएपनि यी वस्तुहरु मानिसले खानैपर्ने भन्ने हुँदैन । तर दूध र पानी नखाई सुखै छैन ।

अहिले यी वस्तुहरुले मानवीय स्वास्थ्यमा विकराल समस्या ल्याइरहेका छन् । यद्यपि राज्यले यी क्षेत्रलाई गुणस्तरीय बनाउनको निम्ति नीति मार्फत व्यवस्थित व्यवस्था गर्न लागेको छ । राज्यको नीति आइसके पश्चात् भने राम्रो स्तरीय सेवा दिन नसक्ने त्यस्ता उद्योगहरु धराशयी हुन सक्ने हामीले देखेका छौं । दूध र पानी उत्पादन गर्ने उद्योगहरुले अहिले जुन रुपमा जसरी सामान उत्पादन गर्दै आएका छन्, राज्यको नीति आईसके पश्चात् त्यही रुपमा ती वस्तुहरु उत्पादन गर्न सक्ने अवस्था नै रहँदैन । यस्तो परिस्थितिमा दुइटा विकल्प हुन सक्छन् । ती विकल्प भनेका कि त उद्योगहरुले आफ्नो क्षमता विकास र गुणस्तरीयतामा विशेष परिवर्तन ल्याउन सक्नुपर्छ । होइन, उद्योगहरुको गुणस्तरीयतामा सुधार आउन सकेन भने उद्योगहरु बन्द गर्नुको विकल्प नै देखिँदैन । त्यसैकारण आगामी दिनमा नेपालका सञ्चालनमा रहेका दूध र पानी लगायतका अन्य खाद्य वस्तु उत्पादन गर्ने उद्योगहरुले पनि मुनाफालाई भन्दा पनि गुणस्तरीयतालाई आफ्नो पहिलो सर्त बनाउनु जरुरी छ ।

अहिले उद्योगहरुबाट उत्पादित वस्तुहरुमा कमजोरी त भएको छ । तर ती सबै कमजोरी उत्पादक जानकार हुन नसकेको कारणले पनि भएका छन् । उत्पादकहरुमा चेतनाको वृद्धि र सीप तथा क्षमताको विकास हुनुपर्नेमा त्यसो हुन नसकेको कारणले गर्दा पनि गल्ती भएका हुनाले यस्ता कमजोरीलाई सुधार गर्न पनि सकिन्छ । यसको निम्ति राज्यले विशेष प्रशिक्षणमूलक तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । तर उद्योगीले जानेर नै गरेका गल्तीमा भने नेपाल सरकारले विशेष कदम चाल्नैपर्ने आवश्यकता छ ।

सरसफाईमा विशेष ध्यान जानु आवश्यक: पानी र दूधको गुणस्तर वृद्धिको निम्ति मुख्यतः सरसफाइमा नै ध्यान दिनुपर्छ । तर अहिले गुणस्तर कमजोर भएको कुरा रोग लगाउने किटाणु र त्यसमा उत्पादनको क्रममा प्रयोग भएका वस्तुहरुले नै पुष्टि गर्दै आएका छन् ।

– अधिकारी नेपाल खाद्य वैज्ञानिक तथा प्राविधिक संघका निवर्तमान अध्यक्ष हुन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE