मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यालिफोर्नियाको विज्ञ भेलामा उच्च तहका व्यक्ति सहभागी गराउने तयारी !

न्युयोर्क । क्यालिफोर्नियास्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ तारिखमा हुन लागेको एनआरएन विज्ञ भेलामा नेपालबाट सरकारका उच्चतहका व्यक्तिलाई सहभागी गराउन प्रक्रिया अघि बढाउने एनआरएन अमेरिकाले जनाएको छ । विज्ञा भेला सम्पन्न गर्न गठित मूल आयोजक समिति स्टेरिङ कमिटीको बुधवार भएको छलफलमा उक्त निर्णय भएको एनआरएन अमेरिकाका क्षेत्रीय संयोजक गौरीराज जोशीले जानकारी दिए ।

बौद्धिक भेला एनआरएन अमेरिकाको प्रतिष्ठाको विषयसँग पनि जोडिएको हुदां यसलाई पूर्ण रूपमा सफल बनाउन अमेरिकाज् क्षेत्रका संयोजक जोशी, एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेल, एनआरएन क्यानडाबाट गोपी काफ्लेलगायतले सबैसँग आग्रहसमेत गरेका छन् ।

‘यो एनआरएन अमेरिकाको प्रतिष्ठाको विषय पनि हो यसलाई सफल बनाउन सकियो भने अमेरिकाबाट सकारात्मक सन्देश जाने छ,’ स्टेरिङ कमेटीका संयोजक जोशीले भने, ‘यो सम्मेलनलाई अवसरका रूपमा लिनु पर्छ ।’

अर्थमन्त्री डा युवराज खतिवडा, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, युवा नेता गगन थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले, युवा अर्थशास्त्री डा विश्व पौडेल लगायतलाई भेलामा सहभागी गराउने बारेमा गृहकार्य भइरहेको जोशीले बताए ।

एनआरएन अमेरिकाका अध्यक्ष डा केशव पौडेलले बौद्धिक भेला अवसर भएको हुदां यो पूर्ण रूपमा सफल हुने बताए । भेलासँगै एनआरएन अमेरिकाको साधारण सभा पनि भएकाले आईसीसी र एनसीसीले मिलेर काम भइरहेको डा पौडेलले उल्लेख गरे । पौडेलले भेलाको व्यवस्थापनमा कुनै कमी कमजोरी राख्न नहुने बारेमा सुझाव राखे ।
अमेरिकाज् क्षेत्रका उपसंयोजक नवीन शेरचनले यो महत्त्वपूर्ण भेला भएकाले यसका लागि आवश्यक स्रोत व्यवस्थानका लागि प्रस्ताव प्रस्तुत गरे ।
उक्त बैंठकमा आईसीसी सदस्य कुंगा शेर्पा, वेद बस्नेत, डल्ली भट्टराई, राजन त्रिपाठी, एनआरएन अमेरिकाका उपाध्यक्ष उमा कार्की, एनआरएन अमेरिकाका प्रवक्ता विनोद तिवारी क्यानडाबाट प्रमिला बस्नेत लगायतको सहभागिता थियो ।

बैठकमा भेला व्यवस्थापनसँग सम्बद्ध विविध पक्षकावारेमा पनि छलफल भएको थियो ।

विज्ञ भेला संयोजक डल्ली भट्टराले सञ्चालन गरेको उक्त बैठकमा उनले भेलाको तयारी लगायतका विषयमा जानकारी गराएका थिए ।
भेला नेपालको समृद्धिमा विदेशमा कार्यरत दक्ष नेपालीलाई कसरी सहभागी गराउने भन्ने विषयमा केन्द्रित छ । विज्ञ भेला लगत्तै एनआरएन अमेरिकाको बािर्षक साधारण सभापनि रहेको छ ।

अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा रहेर आफ्नो विषय र क्षेत्रमा दक्षता हासिल गरेका गैर आवासीय नेपालीको सहभागितामा अमेरिकाको क्यालिफोर्निया स्थित सनफ्रान्सिस्कोमा जुन १६ र १७ मा आयोजना हुन लागेको हो ।

गैर आवासीय नेपाली संघ (एनआरएनए) एनआरएनए अमेरिकाज् र एनआरएनए अमेरिकाको संयुक्त पहलमा यो भेला हुन लागेको हो । यसको केही महिना पछि काठमाडौमा विदेशमा दक्षता हासिल गर्नु भएका प्रवासी नेपालीको यस्तै बृहत सम्मेलन हुने कार्यक्रम छ ।

भेलामा अमेरिका क्यानडा लगायत विश्वका विभिन्न देशमा कार्यरत वैज्ञानिक, प्राध्यापक, डाक्टर, इन्जिनियर, व्यवसायी, विदेशमा राजनीतिमा संलग्न लगायत कुनै विषयमा दक्षता हासिल गर्नुभएका नेपाली र नेपाली मूलका गैर आवासीय नेपाली सहभागी हुनेछ । सम्मेलनको मुख्य उद्देश्य विदेशमा आफ्नो विषयमा दक्ष गैर आवासीय नेपालीको ज्ञान र सिपलाई नेपालको आर्थिक विकास र समृद्धिमा कसरी जोड्न सकिन्छ भन्ने रहेको छ ।

चिकित्सा, प्रविधि, अर्थशास्त्र, विज्ञान, उद्योग व्यवसाय लगायत थुप्रै विषयमा सफल दक्ष नेपाली विभिन्न देशमा कार्यरत छन् । यो सिप र दक्षतालाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ यसका लागि बौद्धिक वर्गसँगै सल्लाह सुझाव लिन भेला आयोजना गर्न लागिएको हो । भेलामा नेपाल सरकारका विशिष्ट अधिकारी, बौद्धिक व्यक्तित्व र व्यवसायी पनि सहभागी हुनेछन् । बौद्धिक भेलामा एनआरएनएका केन्द्रीय पदाधिकारी पनि सहभागी हुनेछन् ।

Source: ePaper  ११ : २६ : १६ मध्यान्ह    २०७५ बैशाख १२ बुधवार  etimes.com

WRITE COMMENTS FOR THIS ARTICLE