मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

रैथाने ज्ञान र सीपको बैरी : नारायण घिमिरे

रोग र कीराले खेतबारीमा त सताउँछन् नै, भकारीमा थन्काइसकेपछि पनि हाइसन्चो हुन्न किसानलाई । हाम्रा पितापुर्खा घुन, पुत्ला, कीरा, मुसाविरुद्ध रैथाने वनस्पतिहरुलाई नै भिडाइदिन्थे । खाद्यान्न सुरक्षाका लागि आफ्नै मौलिक प्रविधि थियो । फुलेको पातीको धुलो पोकामा बेरी धान, गेडागुडी या अन्नमा राखेर वा भण्डारणबाहिर घरेलु डिस्टिलेसन गरी प्राप्त झोल (एसेन्सियल ओएल) छर्कने चलन थियो । खपटे, घुन र पुत्लाका विरुद्ध बोजोको धुलो नै पर्याप्त थियो ।

मकैमा लाग्ने घुन अनि पिठो, मसला आदिमा आउने रातो बिटल नियन्त्रणका लागि लसुन, रायो, तोरीको तेल आदि उपयोग गरिन्थ्यो । जिरा, तुलसी, बाबरी आदिका धुलो वा झोल पनि खाद्यान्नलाई दिगो सुरक्षा दिने जडिबुटीजन्य विकल्प थिए । नीमको तेल वा गेडाको धुलो पनि घरेलु अन्न र गेडागुडी गोदामलाई कीरा लाग्नबाट बचाउने भरपर्दो उपाय मानिन्थ्यो ।

धुर्सेली या नीमका पात सुकाएर अन्न र गेडागुडीसँगै गोदाममा हालिदिँदा मात्रै पनि कीरा कम लाग्थ्यो । नरिवल तेल या मेन्थोल हरियो चना या केराउमा लाग्ने कीराको नियन्त्रणमा प्रभावकारी मानिन्थ्यो । परम्परागत रुपमा हामीले प्रयोग गर्ने घरेलु झोल औषधी खाद्य सुरक्षाका कवचमात्र थिएनन्, मानव स्वास्थ्यका लागि हितकारी आयुर्वेदिक महत्वका फुड सप्लिमेन्ट्स पनि थिए । ती खाद्य सुरक्षामात्र होइन, खाद्यको गुण वृद्धि गर्न समेत सहयोगी हुन्थे । त्यसै कारण स्वच्छ खानपानका लागि नेपाल विश्वमै चिनिएको थियो ।

मालाका लागि खेती गरिने कुरा मात्र थिएन रुद्राक्ष । यसको काठ निकै बलियो हुने हुँदा महँगोमा बिक्थ्यो पनि । आध्यात्मिक मूल्य बोकेको यसको दाना धेरै काममा प्रयोग हुन्थ्यो । रुद्राक्ष घोटेर अर्जुन (काहु) को बोक्राको धुलोसँग बराबर मात्रामा मिसाई २–३ चिया चम्चा महले लेदो बनाई अनुहारमा लगाएर आधा घण्टा छाड्ने र मनतातो पानीले मुख धुँदा अनुहारको डन्डिफोर या दाग निदान हुन्थ्यो । त्यही कामका लागि आज हामी आयातित कस्मेटिक्सको सहारा लिइरहेका छौं ।

कागतीको रससँग रुद्राक्षको धुलो मिलाएर बनेको लेदो अनुहारमा लगाएर आधा घण्टा छोड्ने र मनतातो पानीले मुख धुँदा अनुहारको चमक फिर्ता लिने चलन फेयर एन लव्लीजस्ता केमिकल पेस्टबाट प्रतिस्थापित भएको छ। अनुहारको छालाको दाग हटाउन, कालो भाग अनि छ्याकेपन हटाउन र छालाको चमक बढाउन रुद्राक्षको धुलो, जेठीमधु, अमला पाउडर र मजिठो बराबर भाग मिसाएर दैनिक ५ ग्राम खाने पुरानो चलन थियो । अहिले हाम्रो समाजमा ती कुरा विश्वास गर्नै गाह्रो हुने स्थिति छ ।

विकसित मुलुकहरुमा रुद्राक्षको धुलो गुलाबजलमा मिसाएर क्रिम बनाउनेदेखि पुलाउ, आइसक्रिम, लस्सी र स्मुथीमा मिसाएर आयुर्वेदिक महत्वको डिटक्स पेयका रुपमा रेस्टुरेन्टहरुमा सर्भ गर्ने चलन भित्रिरहेको छ । एन्टी कोल्ड पेय पेयका रुपमा अश्वगन्धाजस्तै रुद्राक्षको धुलो महसँग मिसाएर मनतातो पानीमा हाली बनाइएको हर्बल चियाको व्यापार उक्लँदो छ । कफ या छातीमा अप्ठेरो हुँदा यो चिया सहयोगी हुन्छ ।

हामी भने स्वास्थ्यवर्धक पेय भनी आफूलाई पूर्ण ज्ञान नभएका विदेशी खाना र पेयमा मनग्ये पकेट मनी उडाइरहेका छौं । हाम्रा किशोरकिशोरी र चढ्दो उमेरका युवायुवती अनुहारका डन्डिफोर र दागको निदान अनि चमकका लागि हानिकारक केमिकल र हाम्रै परम्परागत जडिबुटीमा पाइने तत्वबाट निर्मित सौन्दर्य प्रसाधन प्रयोग गर्दै करोडौं रुपैयाँ बाहिर पठाइरहेका छन् । हाम्रा मणिहरु खोलामा मिल्किरहेका छन् ।

हाम्रा परम्परागत दैनिक जीविकाका हजारौं रैथाने विधि र प्रविधि दशकौंको प्रयोगबाट प्रभावकारी प्रमाणित मात्र थिएनन्, हाम्रा पुर्खाको तरक्कीको चिनारी पनि थिए । त्यसलाई हामीले आयातित शिक्षाको प्रभावमा परी चटक्कै छाडिदियौं । विदेशमा पढेलेखेबापत नीति निर्माण तहमा नियुक्ति पाएका प्राज्ञहरुको सैद्धान्तिक दर्शनमा उल्लिएर हामीले परम्परागत सीप र ज्ञानलाई नै तिलाञ्जली दियौं ।

तत्कालीन राजा–महाराजा र शासकहरुले विदेशमा पढेलेखेका, देश–विदेश बुझेका भनी प्राज्ञहरुलाई मुलुकको द्रुत विकास हुने आशामा जिम्मेवारी सुम्पेका थिए । दुर्भाग्यवश पढेलेखेका, टाठाबाठा र आयातित शिक्षाप्राप्त जमातले बिगारेको मुलुकका रुपमा इतिहासमा दर्ता हुन पुग्यो नेपाल । आफ्ना रैथाने बिरुवा र कीराबाट मुलुक कसरी समृद्ध बन्न सक्छ ? कस्ता कस्ता रैथाने बिरुवाले हाम्रो खाद्य भण्डारणमा सहयोग गर्छन् र विगतमा गरेका थिए ? यस्ता कुरा हाम्रो मुख्य एजेन्डा कहिल्यै बनेनन्, बने त केवल विदेशी व्यापारीहरुले थुपारेका परिवर्तनका एजेन्डा ।

फलतः विभिन्न व्यापारिक मुनाफाबाट प्रेरित अनि मानव स्वास्थ्यका लागि घातक आयातित सेन्थेटिक केमिकल हाम्रा ड्राइफुड चेन स्टोर र खाद्यस्टोरमा खाना जोगाउने सुरक्षा कवचका रुपमा रोजिए । हाम्रा शताब्दियौं पुराना प्रयोगात्मक प्रविधिबाट प्रमाणित स्वर्णविकल्पको उपयोग त के, सुन्ने शक्ति समेत गुमाउन पुगे हाम्रा कृषि र खाद्यविज्ञहरुले ।

फलस्वरुप हाम्रा प्राज्ञहरुद्वारा गरिने रिसर्चका लागि विदेशबाट २–४ हजार डलरका प्रोजेक्ट आउने क्रम निकै बाक्लिए । हाम्रा प्रमाणित स्वर्णविकल्प त्यसै हराए । हाम्रै प्राज्ञहरु प्रयोग गरि नेपाल सरकारकै अधिकारीहरुको सक्रियतामा स्वास्थ्यमा खेलवाड गर्ने आयातित सेन्थेटिक केमिकल र बिषादी हाम्रा दैनिक उपभोग्य खाद्यान्नको उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीका अभिन्न अंग बने । हाम्रा खाना जोगाइदिने बिषादीका नाममा विदेशी कम्पनीहरु हाम्रो अकुत धनराशि विदेश लैजान सफल भए ।

आज आयातित कोला, लाइम, लेमन, ओरेन्ज, जिन्जर बियर, रुट बियर र इनर्जी ड्रिंक हाम्रा दैनिक पेय भएका छन् । नेपाली रैथाने वनस्पतिहरु प्रशोधन गरी प्राप्त हुने एक्सट्रेक वा फ्लेवरलाई मात्र चिनीपानी हाली कार्बोनेसन गरेको पेय तपाईं–हाम्रो विशाल धनराशि विदेश लैजान सफल बनेको छ ।

हामी सामान्य प्रविधि र थोरै लगानीमै नेपाली रैथाने वनस्पतिबाट फ्लेवर बनाउनेतर्फ कहिल्यै गएनौं । हाम्रो अदुवा उसले किनेन, सुन्तला निर्यात रोकियो, अलैंची किनिदिएन वा कालो मरिच, कन्दमूल आदि तस्करीका कुरा त ग¥यौं तर त्यसको मूल कारण पहिचान गरी समाधानसम्म पुग्न सकेनौं । हाम्रा सीमित खाद्य उद्योगहरु महँगो पैसा तिरी हाम्रै निकासीबाट बनेका वनस्पतिबाट बनेका फ्लेवर महँगोमा किन्न विवश बने ।

फलतः स्थानीय कच्चापदार्थमा आधारित उद्योगधन्दाले आफ्नै बजारमा समेत प्रतिस्पर्धा गर्ने क्षमता गुमाए । हामीले रोजगारी, स्वरोजगारी वृद्धिका कुरा त धेरै ग¥यौं तर हाम्रो आयात हाम्रै रैथाने कच्चापदार्थ, सीप र ज्ञानलाई सदुपयोग गरी कसरी विस्थापित गर्ने भन्नेतर्फ ध्यान पु¥याउन सकेनौं ।

हाम्रा खाद्य उद्योगहरुले चर्को मूल्यमा आयात गर्ने ककनट फ्लेवर आधा कप टुक्राटुक्रा पारेको ग्रेटेड ककनट  २ सय ५० मिलिलिटर ९५ प्रतिशतको स्प्रिटमा हाली ३–४ हप्ता राखी छानेर आएको तरल पदार्थ हो । त्यो नेपालकै कुनै कुटीर उद्योगले सजिलै नेपालमै निर्माण गर्न सक्छ भन्नेसम्म हामीले बुझ्नै चाहेनौं । १ कप पुदीनाको पात लिई २ सय ५० मिलिलिटर ९५ प्रतिशतको स्प्रिटमा हाली २ दिन राखी त्यसलाई छानेर शीतल मिन्ट फ्लेवर बनाउने गरिन्छ । ३–४ कप भुटेको कटुसलाई २ सय मिलिलिटर ९५ प्रतिशतको स्प्रिटमा हाली २ महिना राखी छानेर चेसनट फ्लेवर बनाउनेतर्फ हामीले कहिल्यै ध्यान दिएनौं । हामीले लाखौं खर्ची किन्ने मेपल फ्लेवर मेथी पिँधेर बनेको झोल भन्ने भेउ पनि पाएनौं ।

कृषिको अर्को पाटो नेपाली रैथाने वनस्पतिबाट जैविक मल बनाउने काम छाडी हामी माटो बिगार्ने रासायनिक मल आयातमै रमायौं । हामीले आफै रासायनिक मल फ्याक्ट्री बनाउने भनी दर्जनौंपटक सम्भावना अधययन र भ्रमणमा करोडौं खर्च ग¥यौं । सन् २०१६ तिर रुपन्देहीका देवदह र केरवानी अनि नवलपरासीको रुपौलियामा केमिकल बिषादीले माटो मात्र बिगार्ने खाद्यलाई समेत अखाद्य बनायो भन्ने महसुस गरी रासायनिक मलको सट्टा जैविक मल (भर्मी कम्पोस्ट) र बिषादीको सट्टा रैथाने घस्यौटी, गड्यौला आदिबाट जैविक मल बनाउने सस्तो र प्रभावकारी प्रविधिसमेत अँगाल्न सकेनौं । नजिकैको सिक्किमले जैविक खेतीप्रणालीमा मारेको फड्कोले हामीलाई छुनै सकेन ।

हामी मुकदर्शक मात्रै बनिरह्यौं । के ठीक, के बेठीक ? न जान्यौं, न त सिक्ने इच्छाशक्ति नै देखायौं । किन र कुन नियतले हामी ऋषिभूमि–बुद्धभूमि नेपालमा दैनिक उपभोग्य खाद्यान्नको उत्पादन, भण्डारण, प्रशोधन र ढुवानीमा मानव स्वास्थ्य प्रतिकुल आयातित सेन्थेटिक बिषादी हाल्न हौसियौं ? यसको जरोकिलो बुझेपछि मात्र नेपालका कृषिउद्यमीहरुलाई समाधानतर्फ प्रेरित गर्न सकिनेछ । यो काम दुई तिहाई बहुमतप्राप्त सरकारले सुरु गर्ला कि पशुपतिनाथ भरोसा नै होला !

घिमिरे क्यानडानिवासी खाद्य वैज्ञानिक हुन् । उनी क्यानडाको सबैभन्दा ठूलो फ्लेवर हाउस फ्लेवरक्यान इन्टरनेसनल इन्कका टेक्निकल म्यानेजरका रुपमा कार्यरत छन् । घिमिरेले ११ वर्षदेखि खाद्य, कृषि र जडिबुटीका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा नेतृत्व गर्दै आएका छन् ।   narayanghimire@yahoo.com

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE