मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

सिरानी जडीबुटीको

गाउँले स्कुल चन्द्रोदय प्राविमा ३ कक्षासम्म मात्र पढाइ हुन्थ्यो । कक्षा उक्लेपछि पृथ्वी राजमार्गको २ किलोमिटरभन्दा बढी पैदल मार्च गरेर सत्रसय (तनहूँ) नगई सुखै थिएन । राती अबेर सुत्ने बानीका कारण बिहान ९ बजे स्कुलतिर कुद्न मलाई हम्मेहम्मे पर्थ्यो । एक दिन १ किलोमिटर हिँडिसकेपछि दाइ लक्ष्मणले ‘खै कट्टु ? नांगै स्कुल जान्छस्’ भनेपछि पो झसंग भएँ । गन्जी लगाउँदा र चप्पल खोज्दै गर्दा हतारमा कट्टु लगाउनै बिर्सेछु । धन्न दाइले दुईवटा कट्टु लगाएको रहेछ । तर भित्री कट्टु पुठोमा च्यातिएको रहेछ । मैले नच्यातिएको चाहिँ मागेँ तर केही जोड चलेन । दाइलाई स्कुल जान्न भनी घुर्क्याएँ । झाडीतिर घुस्रेको के थिएँ, काउसोको झुसले सातो लियो । खुरुखुरु दाइलाई पछ्याएँ ।

नेपालमा रहुन्जेल म काउसोको नजिकै परिनँ । आज जुगजमाना बदलियो । विज्ञानले काउसोलाई पृथ्वीबासीका निम्ति वरदान प्रमाणित गरिदिएको छ । म काउसोको पिछा लागेको पनि दशकौं भइसकेछ । कुनै बस्तु देख्दा, घटना सम्झँदा  प्रिय मानिस वा परिस्थितिसँग जम्काभेट हुँदा हाम्रो दिमागले डोपामिन निकाल्छ अनि मात्र ‘आहा जिन्दगीको अनुभव गर्छौं । मन पराएको मान्छेसँग बस्दा, फोन च्याट गर्दा वा फेसबुक स्टाटसमा लाइक देख्दा पनि दिमागले डोपामिन निकाल्छ अनि खुसी र प्रेमका साथ धन्य महसुस गराउँछ ।

हाम्रो मस्तिष्कको नर्भ सेलमा न्युरोट्रान्समिटरका रुपमा निजी अनुभूति साटी शारीरिक गतिविधिको नियन्त्रणमा सहयोगी हुने रसायन हो, डोपामिन । डोपामिन निकाल्ने नर्भ सेल झन्डै ८० प्रतिशत मरेपछि नै पार्किन्सनजस्तो रोग लाग्ने वैज्ञानिकहरुको मत छ । पार्किन्सनको औषधिका रुपमा संसारमा चल्तीमा रहेको प्रमुख औषधि हो, लोभोडोपा । जुनसुकै अवस्थाको पार्किन्सनमा सिफारिस गरिने लोभोडोपाले डोपामिनको कमीलाई भरपाई गरिदिन्छ ।

सन् २०१७ सम्म आइपुग्दा काउसोको भुटेको गेडा पिँधेर बनाएको सातुमा लोभोडोपा भेटिएको मात्र होइन, काउसोको सातुलाई डोपामिन बिन भनी बजारमा सप्लिमेन्टका रुपमा बिक्री हुन थालेको छ । लगभग २ ग्राम (आधा चम्चा) धुलोलाई चिया वा दूध, स्मुथी, सुप वा चिनीसँग खाने गरिएको छ । काउसोलाई अलि पढालिखाहरु मुकुना पुरियन भन्ने गर्छन् । आयुर्वेदले काउसोको जरा शक्तिवर्द्धक टनिक, यौन उत्तेजना बढाउने चुर्ण, पिसाब जगाउने र दिसा खलास गर्ने बुटी मानेको छ । काउसोको भुटेको गेडा पिँधी बनाएको सातुमा समेत ती गुण विद्यमान हुन्छन् ।

हाम्रो जमानामा अर्काको घर जाने जात भनी दिदीबहिनीलाई पाठशालाभन्दा घरेलु काममै जोताइन्थ्यो । भैंसीको दूध बेचेर घरखर्ची आउँथ्यो । सोमबारदेखि शुक्रबार दिदीहरु भैंसी गोठालो जान्थे । शनिबार दिदीबहिनी पर्म लगाउने भन्दै धान–मकै रोप्ने या गोड्ने मेला जान्थे । गोठालो जाने पालो हाम्रो । हामीले भैंसी डुलाउने मर्स्याङ्दी किनारमा ८–१० बोट भलायो थिए । भलायो पाक्ने सिजनमा रातो र टर्रो गुलियो त्यही फलको लोभले म पनि भैंसी गोठालो गइटोपल्थें ।

म त भलायो जति पनि खान्थें तर मेरो साथी हरि मुखमा भलायो उछि«यो भनी नजिकै पर्थेन । जिम्बाल दाइकी छोरीलाई त एकपटक भलायो कति उछि«यो भने पल्लो गाउँबाट जान्नी नै बोलाइयो । गाउँलेले जान्नी भनी मानेका कविराज हाजिर भए । भलायोको फेदकै माटो औषधि भनी शरीरभरि दलिदिए । न्वारानमा जिम्बाल बाले भलायोको गेडा नपड्काएकाले झन्डै छोरी मरेको भने । कविराजका कारण गाउँलेले न्वारानमा पाए भलायोको गेडा पड्काउने, नभए होम गर्दा भलायोको काठ प्रयोग गर्न थाले । बिस्तारै त्यो चलन हट्यो क्यारे !

३ हजार वर्ष पहिले लेखिएको विश्वास गरिने रामायणमा भलायोलाई अर्ध–वैद्य भनिएको छ । अर्थात् लगभग सबै रोग र दोषबाट मुक्ति दिने गुणकारी तर शुद्धीकरणबिना खाँदा ज्यानै लिन सक्ने बिषादी हुन सक्छ, भलायो । भलायोको गेडालाई स्वस्थ जीवन, सन्तान वृद्धि र अजम्बरी आयुको बुटी मानिएको छ । आयुर्वेद र सिद्ध विधिमा भलायोलाई शुद्धीकरण गरी क्यान्सर, दम, बाथ, मधुमेह, पाइल्स, जुका–चुर्ना, हृदयघात, छालाको एलर्जी आदिमा बुटीका रुपमा प्रयोग हुन्छ । भारतबाट नेपालमा आयात हुने सञ्जीवनी भाटी (ज्वरो र बिष), भाल्लाताका रसवाना (एन्टी एजिङ, छालाको रोग), अमृता भाल्लाताका घृता (छालाको रोग, पाइल्स) आदि भलायो निर्मित आयुर्वेदिक सप्लिमेन्ट नै हुन् ।

भलायोलाई ल्याबमा परीक्षण गर्दा यसको फलमा सुगन्धित पदार्थ र तेलका साथै हाम्रो शरीरलाई नभई नहुने ३ प्रकारका भिटामिन र ९ प्रकारका एमिनो एसिडहरु भेटिएका छन् । संसारमा थोरै मात्र फलमा प्रशस्त तेल पाइन्छ । जस्तै ः जैतुन, एभोकाडो, पिमेन्टो, भलायो आदि । प्राणीको बोसो र वनस्पतिको गेडाबाट प्राप्त हुने तेलले हृदयघात हुने सम्भाबना बढाउँछ भने फलबाट प्राप्त हुने तेलले रगतको नलीको भित्री भागमा टाँसिएर नसा थुनेर हृदयघात गराउने चिल्लो पदार्थलाई हटाइदिन्छ । नेपालको रैथाने भलायोको फलमा यो गुण पाउनु प्रकृतिको महान् आशीर्वाद हो ।

भलायोको गेडामा धेरै प्रकारका ऐनाकार्डिक एसिड, भिल्वानोल र फ्लेभोनोइड पाइन्छन् । ती सबैका आफ्नै औषधीय मूल्य हुदाँहुँदै पनि यसमा पाइने एन्टी क्यान्सर केटिचोलका कारण अति उच्च गुणकारी फलका रुपमा स्थापित छ । चाइनिज फर्माकोपिया, २००५ मा एमेटोफ्लावोनलाई एन्टी क्यान्सर, एन्टी इन्फ्लेमेटोरी, एन्टी भाइरस, एनालजेसिक गुणधारी मात्र होइन कि यसले रक्तचाप घटाउने, रगतमा ग्लुकोज घटाउने र रोगसँग जुध्ने शक्ति बढाउने एजेन्ट भनी व्याख्या गरिएको छ । निकै खस्रा र फस्किला भलायोको पातमा अत्यधिक मात्रामा एमेटोफ्लावोनका साथै मानव स्वास्थ्यमा उपयोगी मिनरल र पोटासियम भेटिन्छन् ।

भलायोको फलको बाहिरी भागमा समेत ऐनाकार्डिक एसिड पाइएको छ । कतिपय मानिसमा ऐनाकार्डिक एसिडमा पाइने उरुषीओल नामक तेलले छालाको एलर्जी निम्त्याउँछ । छालाको एलर्जी हुँदा चिलाउने, रातो हुने, सुन्निने र फोका उठ्ने आदि लक्षण देखिन्छ । त्यसमा इस्ठाफाइलोकोकस र इस्ट्रेप्टोकोकसजस्तो इन्फेक्सन हुँदा भने जीवन नै जोखिममा पर्छ । उरुषीओल भलायोको गेडा र डाँठमा समेत हुन्छ । त्यसलाई बाल्दा मनग्य उरुषीओल धूवाँ हुँदै शरीरको सम्पर्कमा आउँछ । न्वारानको बेला आमाको दूधमा मात्रै निर्भर बच्चामा वातावरण प्रतिरोधक शक्ति धेरै हुन्छ । त्यसैले उरुषीओलको संसर्ग हुँदा शरीरमा एन्टी एलर्जी पैदा हुने र पछि खासै असर नगर्ने वैज्ञानिक तथ्य नै हो ।

अनुसन्धानले भलायोको बोक्रामा प्रशस्त एन्टी अक्सिडेन्ट हुने देखाएको छ । त्यसैले यो बुढ्यौली रोक्नमा समेत गुणकारी हुनेमा कुनै शंका रहेन । त्यसमा पनि मानव कोषमा पैदा हुने विषाक्त पदार्थविरुद्ध लड्ने, हटाइदिने र दर्द घटाउन सहयोगी हुने भेटियो । शरीरले नसहने बाहिरी प्रोटिनको उपस्थितिले प्रायः मानिसमा छालाको एलर्जी हुने गर्छ । भलायोको बोक्राको एक्स्ट्रेकले त्यस्ता बाहिरी प्रोटिनलाई रोकेर फटाइदिन्छ । भलायोको फेदको माटोमा उसकै बोक्राको भाग प्रशस्त भेटिन्छन् । त्यसैले भलायोको चोपबाट छालाको एलर्जी हुँदा फेदकै माटो पनि केही हदसम्म औषधि हुन सम्भव छ तर आयुर्वेदमा गुदी समेत भएको नरिवलको दूध वा प्रशस्त नरिवल पानी पिउनुलाई भलायोको चोपबाट हुने छालाको एलर्जीको सही घरेलु उपचार मानिएको छ ।

अन्त्यमा, सानो प्रसंग । सन् २००३ तिर मेरो मागी बिहे भयो । बिहेको पहिलो साल ससुराली हजुरआमाको आशीर्वाद थाप्न नुवाकोटको अमारे जानुपर्ने भयो । ३३ किलोमा खाजा खान झरियो । बार्दलीमा एक किशोर एकोहोरो खोक्दै थिए । ‘मरेको बिरालोले सास फेर्दैन ।’ लगभग ७ मिनेटको बसाइमा उनले त्यो वाक्य ५० चोटि त पक्कै भट्याए । नत्र मलाई अहिलेसम्म के सम्झना हुन्थ्यो र ! त्यसको लगभग १० वर्षपछि तिनै भद्र पुरुषसँग साक्षात्कार गर्ने अवसर मिल्यो । उनी आयुर्वेद डाक्टर बनिसकेछन् । उनको गुनासो थियो– सरकारले बुझेन । आयुर्वेदको विकास भएन ।

के बिर्सनु हुँदैन भने आज पनि हामी दुर्लभ र बहुमूल्य जडीबुटी अनि मणिको सिरानी हालेर सुतिरहेका छौं । हाम्रा बलियाबांगा युवायुवती भने खाडीको उराठ मरुभूमिमा भविष्यको खोजीमा भौंतारिँदै छन् । हामी परदेशी आयातमा सर्वस्व गुमाइरहेका छौं । आखिर कमजोरी कहाँ रह्यो ? सरकारमा वा हाम्रो आफ्नै सुझबुझमा !

–  नारायण घिमिरे

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE