मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पूर्खाले चिनेका सयपत्री

नेपाली समाजमा चलनचल्तीका शब्द ‘सफा’ र ‘पवित्र’ बीचको भिन्नता बुझ्न मलाई झन्डै तीन दशक लाग्यो । मेरो बुझाइमा ‘सफा’ भनेको एउटा अवस्था हो, कुनै कार्य गरी प्राप्त गर्न सकिने । जस्तै: तामा वा स्टिलको जुठो गिलास खकालेर पानी पिउने प्रयोजनका लागि ‘सफा’ बनाउन सकिएला । तर, त्यो ‘पवित्र’ नै हुन्छ भन्ने निश्चित छैन । ‘पवित्र’ शब्दले समग्रमा सधैं ‘शुद्धता’ राख्ने संस्कृतिको बृहत् अवस्थालाई इंगित गर्छ । जस्तै: तिहारका बेला दिदीबहिनीको धन्य मनले दाजुभाइलाई लगाइदिने सयपत्रीको माला, लगाइदिने भावना र त्यसको परिवेश सबैलाई ‘पवित्र’ मान्न सकिन्छ । किन र कसरी सयपत्रीको माला समेत पवित्र भयो भन्ने तर्कका लागि भने अलिकति चर्चा जरुरी होला ।

तिहार भन्नेबित्तिकै हामी सयपत्री फूल सम्झन्छौं । हाम्रा पूर्खाले तिहारको मालाका लागि सयपत्री र मखमली नै किन रोजे होलान् त ? फूल, कोपिला, पात, डाँठ र जराको उच्च आयुर्वेदिक महत्व रहेको सयपत्रीबारे आयुर्वेदिक फर्माकोपियामा खासै उल्लेख छैन । तर, आयुर्वेदले सयपत्रीको पात र फूलको थुप्रै प्रयोजन सुल्झाएको छ ।

मेक्सिकोमा सयपत्रीलाई ‘झन्डू’ भनिँदो रहेछ । त्यहाँ बगैंचाको सौन्दर्यका साथै झन्डू फूलबाट चाडबाडमा खानाको परिकार बनाउदा रंगाउन हालिने पहेंलो र सुन्तला–रातो खाद्य रंग बनाइन्छ । हाम्रा गाउँघरमा पनि चिसो लाग्दा, रुघाखोकी र ब्रोन्काइटिस हुँदा सयपत्रीको सम्पूर्ण बिरुवा पिँधेको झोल ३०–४० मिलिलिटरजति पिउने चलन नभएको होइन । छालामा सानो साह्रै दुख्ने र पिप बन्ने बिबिरा उठ्दा, हाड–जोर्नी र मांसपेशी दुख्दा सयपत्रीको पातको लेदो दलेर छुटकारा लिइआइएकै छ ।

गाउँघरमा पिसाब पोल्दा सयपत्रीको पात र फूल पिँधेर बनेको लेदो ५०–६० मिलिलिटर पिउन दिने चलन छ । त्यही लेदो लगाउँदा पाइल्सको फुन्द्रो घट्छ भने पिप आउने घाउ ड्रेसिङ्ग गर्दा छिटो सन्चो हुन्छ । तातो पानीमा सयपत्रीको स्टिम डिस्टिलेट ४–५ थोपा हाली पिउँदा दमका बिरामीको स्वास्थ्यमा उल्लेखनीय सुधार आउँछ । नाथ्री फुट्दा धेरै रगत बग्न रोक्ने अचुक औषधी भनेकै सयपत्री फूल उमालेर सेलाएको पानी नाकमा हाल्नु हो । रजस्वला र पाइल्समा सामान्यभन्दा बढी नै रगत बगेमा सयपत्रीको पातको लेदोलाई चौथाई थुर्मी गाईको घिउमा हल्का भुटेर खाने चलन अद्यापि छँदैछ ।

अब पाठकवृन्दलाई आफ्नै आँगनमा ढकमक्क फुलेको सयपत्रीका वैज्ञानिक तथ्य जान्ने खुल्दुली जाग्नु स्वाभाविक छ । सयपत्रीका फूल, डाठ र जरा बहुगुणी छन् । सयपत्री फूलको एक्सट्रेक्टमा झन्डै ९३ प्रतिशत अत्यन्त उपयोगी पिग्मेन्ट्स हुन्छन् । ८८ प्रतिशत लुटिन र ५ प्रतिशत जियाजेन्थिन । लुटिनले प्रकाशको किरणबाट नीलो प्रकाश सोस्छ । थोरै कन्सन्ट्रेसनमा सोस्दा पहेंलो देखिन्छ भने धेरै कन्सन्ट्रेसनमा सोस्दा सुन्तला–रातो । सयपत्रीको पत्रमा हुने लुटिनको मात्राले यसको रंग निर्धारण गर्छ । जियाजेन्थिनले भने रामपुर पहेंलो जातको मकैको गेडाजस्तो पहेंलो रंग दिन्छ ।

लुटिन र जियाजेन्थिन आँखाको रेटिनाको लागि जरुरि पर्ने क्यारेटिनोइड हो । बुढ्यौलीमा आँखाको दृष्टि घट्दै जानुको धेरै कारणहरुमा एउटा मुख्य कारण रेटिनामा लुटिन, जियाजेन्थिनजस्ता क्यारेटिनोइडको कमी हुनु पनि हो । सयपत्री फूलले दिने रंगमा मनग्य लुटिन र जियाजेन्थिन पिग्मेन्ट्स पाईने हुदा सयपत्री फूलबाट बनाइएको खाद्य रंग मानव दृष्टिवृद्धिमा सहयोगी हुने भेटिएको छ । सयपत्री फूलको रंग हालिएको दाना खुवाएको कुखुराले पारेको अन्डामा लुटिन र जियाजेन्थिन क्यारेटिनोइड उच्च पाईन्छ । दृष्टिवृद्धिका लागि त्यही अन्डा खाएर लुटिन र जियाजेन्थिन रेटिनासम्म पुर्याउन सकिने आजसम्म हामीलाई उपलब्ध सबैभन्दा उत्कृष्ट तरिकाहरु मध्ये एक मानिएको छ। त्यसैले कुखुराको न्युट्रिसन सप्लिमेन्ट बनाउन सयपत्रीको माग बढ्न थालेको छ ।

दूषित हावापानी बाट मानिसको छालामा संक्रमण गर्ने किटाणु प्राय ग्राम पोजेटिभ र ग्राम नेगेटिभ प्रकृतिका हुन्छन् । सयपत्रीको बिरुवा पिँधेको लेदोमा लेमोनिन, ओसिमिन, लिनालाइल एसिटेट, लिनालोल, टेजिटोन र नोनाइल अल्डिहाइड जस्ता केमिकल हुन्छ। सयपत्रीको फुल र बिरुवाको झोलमा र बाताबरणमा जाने बासनामा पाइने माथिका तत्वहरुमा ग्राम पोजेटिभ र ग्राम नेगेटिभ ब्याक्टेरिया मार्ने (एन्टी–ब्याक्टेरियल) गुण हुन्छ । जसले छालालाई ती किटाणुको संक्रमणबाट जोगाउँछन्। एन्टी–सेप्टिक गुणका कारणनै छालाको रोग, डन्डिफोर, खटिरा आदिमा सयपत्रीको उपयोग घरेलु उपचारमा प्रयोग हुँदै आइरहेको हो। सम्भवतः बासनाको उक्त गुणका कारण हाम्रा पुर्खाले घर वरिपरि सयपत्रीको झाडी बनाउने गरेका होलान।

रगतमा प्रो–थ्रम्बिन कमी हुने, प्लेटिलेट्स बढ्ने अनि रक्तस्राव नरोकिने आदि समस्या संसारमा आज निकै विकराल बन्दैछ । सयपत्रीको पात निचोरेर निकालिएको रसमा मानिसको रगतमा प्रो–थ्रम्बिन बन्न सहयोगी हुने ग्यालिक एसिड, इस्कोपोलिटिन, फ्रिनुलिक एसिड, कुयरसिसिटिन आदि पदार्थ भेटिन्छ । तिनले प्रो–थ्रम्बिन बन्न र रक्तस्रावका बेला रगत जमाउन सहयोग गर्छन् । सयपत्रीको पातको रस एकातर्फ एन्टी–सेप्टिक हुने र अर्कोतर्फ रगत जमाउन सघाउने हुदा पाइल्स र महिनाबारीमा रामवाण सावित भएका छन् ।

वनस्पतिमा पाइने प्रोटिन पेरोक्सिडेज, अक्सिडेज, लिपोक्सिनेज र क्याटालेज रोग र कीरा प्रतिरोधात्मक इन्जाइम मानिन्छन् । पछिल्लो समय जैविक विधिबाट सयपत्रीको पात निचोरेर निकालिएको रस छर्कंदा गोलभेंडा खेतीमा रोग र कीरा प्रतिरोधात्मक इन्जाइम आश्चर्यजनक रुपमा वृद्धि गर्न सकिएको छ । सयपत्रीको जैविक बिधिबाट बिरुवामा रोग र कीरा प्रतिरोधात्मक शक्ति  बढाउन सक्षम ग्रीन इस्प्रे प्रमाणित भएकाले लगायतका मानिसका लागि स्वस्थवर्द्धक कृषी उत्पादनमा पनि सयपत्री बिरुवाको माग बढेको पाईन्छ ।

जब सयपत्री खेती मालामा मात्र सीमित भएन र यसको अथाह गुणबारे जानकारी बाहिरियो, यसको चिया पिउने चलन पनि बसिहाल्यो । सामान्यतया ४ किलो सयपत्रीको फूल सुकाउँदा १ किलोजति तयार हुन्छ । झुरुमझुरुम हुने गरी सुकाइएको सयपत्री हातले माडिदिँदा पनि धुलोपिठो बन्छ । सयपत्रीको २ चिया चम्चा धुलोलाई उम्लिएको २ सय मिलिलिटर पानीमा १० देखि १५ मिनेट छाडिदिएपछि बन्ने झोल छानेर तातै चिया खान सकिन्छ । रुघामर्की–ब्रोन्काइटिस निको होस्, पाइल्स र महिनाबारीमा रगत बग्ने समस्या कम होस्, बुढ्यौलीमा समेत दृष्टि नघटोस्, छाला स्वस्थ रहोस् भनेर हिजोआज दिनमा ५ कपसम्म सयपत्री-चिया पिउने पारखी भेटिएका छन् ।

आज विश्वबजारमा सयपत्रीको चिया, ट्याब्लेट, गोली र क्याप्सुल तथा दृष्टिवर्द्धक चूर्ण, रगत सफा गर्ने जुस, छालाको लागि क्रिम आदि आयुर्वेदिक सप्लिमेन्ट बिक्री भइरहेको छ । हामी भने भाइटीकाको मालामा सीमित गरी गमक्क परी बसेका छौं । अरु जे होस्, दिदीबहिनीको धन्य मनले दाजुभाइलाई सयपत्री गाँसेर माला लगाइदिने पवित्र संस्कृतिमा भने हामीले जति गर्व गरे पनि हुन्छ ।

घिमिरे खाद्यवैज्ञानिक हुन् । सम्पर्क: narayanghimire@yahoo.com

WRITE COMMENTS FOR THIS ARTICLE