मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मदिसे खिर्रोबाट लामखट्टेको लार्भा मार्ने सिल्भर नेनोपार्टिकल !

नारायण घिमिरे

भारतीय सरकारको निम्तोमा कृषि इनोभेसनबारे छलफलका लागि नयाँदिल्ली पुग्दा दुई दिनका लागि नेपाल पनि पस्न भ्याएँ । वयोवृद्ध बुबाको आशीर्वाद थाप्न हवाई अड्डाबाट सीधै तनहूँको याम्पाफाँट हानिएँ । त्यतिन्जेल रहर पुग्ने गरी नेपालीमा कुरा गर्न पनि पाएको थिइनँ । ड्राइभर भाइलाई घर कता प¥यो भनी सोधें । ‘दाइ, मेरो घर हजुरको घरपारि रातमाटे हो । म हजुरको स्कुले साथी मालतीको कान्छो भाइ कृष्ण त हो नि ।’म त छक्कै परें ।

पढ्नमा अति टाठी थिइन् मालती । स्कुलको वादविवाद प्रतियोगिताको अन्तिममा जहिल्यै उनैसँग भिड्नु पर्ने तर मैले सधैं हार्ने । एसएलसी दिएर बस्दा वारि म भैंसी चराउन जाने, पारि उनी गाई चराउन आउने । हाम्रो दोहोरी जम्थ्यो । मलाई शिवराम र हरिले अलिअलि सघाउँथे । तर, उनलाई पटक्कै जित्न नसकिने ।

एक दिन बालकृष्ण दाइ आइपुगेर सिकाए । हाम्रो घम्साघम्सी नै पर्यो । उनले भनिन्, ‘माया तिमी बेसारे छौ अरे, जसलाई भेट्यो लव पर्यो भन्छौ रे ।’ बालकृष्ण दाइले सिकाए अनुसार मैले गीत फर्काएँ, ‘तिमी भने हलेती चाना, मलाई मात्र बेसारे नभन ।’ उनको तर्फबाट कुनै प्रत्युत्तर आएन । त्यसपछि जति कोसिस गर्दा पनि उनले मेरो गीतको उत्तर फर्काइनन् ।

दुई हप्तापछि च्याङलिङ जात्रामा हाम्रो भेट भयो । सोधिहालिन्, ‘नढाँटी भन त, तिमीलाई गीत कसले सिकाएको थियो त्यो दिन ?’ मैले बालकृष्ण दाइले के भनेथें, उनी फन्किएर हिँडिन् ।

बालकृष्ण दाइ च्याङलिङबासीबीच अलि अलोकप्रिय भएका रहेछन् कि कुन्नि ? त्यसपछि उनीसँग मेरो कहिल्यै भेट भएन । क्यानडा आएपछि मेरो जिन्दगी बेसार र हलेती चानाको अनुसन्धानमा बित्दै थियो । लाग्यो, म बेसारे त रहेछु नि । तर, जसलाई भेट्यो, उसैलाई लव गर्छु चाहिँ पक्कै भनिनँ र गरिनँ पनि ।

स्मृतिको पाना पल्टाउँदै जाँदा आधा घन्टा बितिसकेछ । ‘के भो दाइ चिन्नु भएन र ? क्यै बोल्नु भएन, उत्तर पनि दिनु भएन ।’ कृष्णको आवाजले म झसंग भएँ । के भनुँ भनुँ भयो ।

प्वाक्क मुखमा आयो, ‘बाबु, तिमी गाउँको त्यस्तो सबैले मानेको धनी नै कुलायनको छोरा, त्यति शालीन र बुद्धिमानी मालतीका भाइ, किन आफ्नै केही नगरी अरुकोमा मजदुरी गरेको ? अनि मालती कता छिन् ? उनी त मेरो स्कुलको दोहोरी खेल्ने साथी हुन् । स्कुल छुटेपछि भेट नै हुन सकेन । सबै कुशल मंगलै त होला !’

कृष्णले नबोलीकन झन्डै आधा घन्टा गाडी चलाए । मलाई लाग्यो, बानी त दिदीकै जस्तो रहेछ । मलेखु काट्ने बेला राजमार्गको कर तिर्नपर्ने रहेछ । मैले पैसा दिएँ, उनले लिए र तिरे । अनि बोले, ‘दाइ, दिदी त बिहे भएकै साल एक्सिडेन्टमा बित्नु भो । म एउटा मात्र छोरो ।

खुरिखन्डै रातो माटोको पन्ध्र रोपनी टाट्नुमा खिर्रोबाहेक केही फल्दैन । म कसरी परिवार पालुँ ? बारीको घैया–कोदोले खान पुग्ने हैन । केही उपाय नभएर यो काम गरेको त हो नि ।’ उनले सडकपारिको भीर देखाए, ‘हेर्नुस् त पारिको जस्तै बाँदर पनि नबस्ने अर्को आठ रोपनीको चौटो छ । झाडीबाहेक क्यै हुन्न अनि कसरी गाउँमा बस्न सकिन्छ ?’ मैले सोधें, ‘सबै बारीमा मदिसे खिर्रो लगाए कति बोट होला ?’

‘होला नि दाइ तेइस रोपनीमा, रोपनीको बीस–पच्चीस बुटाको दरले पनि पाँच सय त । तर, मलाई अहिले बौलाहा कुकुरले टोकेको पनि छैन दाइ त्यसरी सरकारलाई विरोध दर्साउन । यो खप्परमा लेखेको भए त हामी पनि दाइजस्तै जहाज चढ्ने भइहाल्थ्यौं नि । ठीक छ दाइ, जे छ, चल्छ । चिन्ता नलिनू ।’

जब हाम्रो घर वरपर अलिकति गर्मी बढ्छ अनि हाम्रै गतिविधिका कारण माटो र पानी दूषित बन्छन्, फोहोर पानी र माटोमा तुरुन्तै फैलिने प्रोटोजोवा, स्पोरोजोवा, सिजेला, अमिवाजस्ता किटाणु हात, पाउ, कपडा र अन्य सामानमा टाँसिएर हाम्रो भान्सा र ओछ्यानसम्म पुग्छन् । हामीले खाएको खाना वा पानीसँग जब यी किटाणु हाम्रो आन्द्रामा पुग्छन्, हाम्रो शरीरले पखालामार्फत आन्द्राबाट तत्काल हटाउने कोसिस गर्छ ।

पखाला चालु गर्न हाम्रो शरीरलाई प्रशस्त पानीको जरुरत पर्छ । त्यो बेलामा हाम्रो शरीरबाट पानी मात्र जाँदैन, पानीमा घुल्ने इलेक्ट्रोलाइट जस्तै: नुन (सोडियम, पोटासियम, क्याल्सियम, आइरन आदि), तत्काल शक्ति दिने चिनी, भिटामिनका साथै इन्जायम पनि खेर जान्छ ।

नुन–चिनी–पानीको कमीका कारण मानिसलाई डिसेन्ट्री हुन्छ । डिसेन्ट्रीले जब शरीर सिथिल हुन्छ, तब रोगसँग लड्ने शक्ति वा इम्युनिटी गुमाउँछ । त्यसै बेला हाम्रै शरीरमा भएका अवसरवादी पेथोजन जस्तै: ब्याक्टेरिया, भाइरस, प्रोटोजोन र फंगसले हाम्रो शरीरलाई संक्रमित गर्छ । सही उपचार नहुँदा ज्यान नै जान सक्छ ।

मानिसलाई डिसेन्ट्री हँुदा नुन–चिनी–पानी खाने चलन आउनुभन्दा धेरै पहिले मदिसे खिर्रोको कमलो डाँठ र बोक्राबाट निकालिएको पदार्थ ‘लेटेक्स’ औषधिका रुपमा दिइने हुनाले खिर्रोको वैज्ञानिक नाम नै होलारिना एन्टीडिसेन्ट्रिका दिइयो । यसलाई रिटिया एन्टीडिसेन्ट्रिका पनि भनिन्छ ।

वेदमा उल्लेख भए अनुसार मदिसे खिर्रोको बिरुवाको सम्पूर्ण भाग नै आयुर्वेदिक मूल्यको हुन्छ । सयौं वर्षदेखि विश्वका विभिन्न जातजातिले खिर्रोको बोक्राको रस डायरिया, कोलेरा, डिसेन्ट्री, छालाको रोग, इपिलिप्सी (छारे रोग), पेट दर्द र छालामा किटाणुको संक्रमण हुँदा प्रयोग गर्दै आएको अभिलेख भेटिन्छ । आज पनि मिर्गौला, युटेरस, गलब्लाडर आदिमा पत्थरी हुँदा दिइने आयुर्वेदिक सम्प्लिमेन्टमा खिर्रो हालेको भेटिन्छ ।

आज संसारका १२ प्रतिशत (भारतकै ११ प्रतिशत) मानिस कुनै न कुनै प्रकारका मिर्गाैला, युटेरस, गलब्लाडर आदिमा हुने पत्थरीको सिकार बनेका छन् । पुरुषमा महिलामा भन्दा ३ गुना बढी पत्थरी भएको भेटिन्छ । मिर्गाैलाको पत्थरी के हो भनी हेर्ने हो भने यसमा ७० देखि ८० प्रतिशतसम्म विभिन्न प्रकारका क्याल्सियम अग्जालेट, १० देखि १५ प्रतिशतसम्म म्याग्नेसियम एमोनियम फस्फेट, ३ देखि १० प्रतिशतसम्म युरिक एसिड र ०.५ देखि १ प्रतिशतसम्म सिस्टिन भेटिन्छ ।

जब पिसाब एसिडिक हुन्छ, तब पत्थरी बन्न थाल्ने केमेस्ट्रीले बताउँछ । पत्थरी हुन नदिन वा भएपछि त्यसलाई फुटाएर घटाउँदै लान कडा पत्थर बन्ने साल्टलाई जमाउन सघाउने युरिक एसिडलाई न्युट्रिलाइज गर्न अल्कलाइन खाना वा ड्रगको जरुरी हुन्छ । अल्कलाइन खिर्रोको बोक्राको चूर्णलाई दहीमा मिसाएर खाँदा यसले पत्थरीलाई फुटाएर निकाल्न सकेकाले यो आयुर्वेदिक औषधिमा परम्परागत रुपमै हाल्न थालिएको हो । पछि यसको तिनै गुणका लागि खिर्राेको झोल र एक्सट्रेक उपयोगमा आएका हुन् ।

आज लामखुट्टेका कारण मानिसमा हुने ज्वरो र रोग विश्व समुदायका लागि नै विशाल चुनौती बनिसकेको छ । मुख्यतः क्युलेक्स र एडिस नामक दुई लामखट्टेका कारण संसारले भोगेको आतंक भयावह छ । जब राउन्ड वर्म संक्रमित व्यक्तिलाई क्युलेक्स नामक लामखुट्टेले टोक्छ, मसिनो वर्म क्युलेक्स लामखुट्टेमा सर्छ । संक्रमित क्युलेक्स लामखुट्टेले स्वस्थ मानिसलाई टोकेमा मसिनो वर्म क्युलेक्स लामखुट्टेबाट स्वस्थ मान्छेमा सर्छ । जुन मसिनो लामो धागोजस्तो वर्म बनि शरीरभर फैलिएर आँखामा समेत संक्रमण गर्छ । जसलाई फिलारिअल भनिन्छ । फिलारिअलको हालसम्म त्यति सन्तोषजनक उपचार छैन ।

डेंगे भाइरसबाट संक्रमित व्यक्तिलाई एडिस एजिप्टी नामक लामखुट्टेले टोकेपछि लामखुट्टेमा डेंगे भाइरस सर्छ । एडिस नामक डेंगे भाइरसबाट संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोक्दा स्वस्थ मान्छेमा डेंगे भाइरस सर्छ । डेंगे भाइरसका कारण रगतको बाक्लोपन घट्ने र प्लेटिलेस बढ्ने गर्छ । जसले डेंगे ज्वरोमा देखिने अन्य धेरै समस्या निम्ताउने गर्छ । हालसम्म डेंगेविरुद्ध प्रभावकारी खोप आइसकेको छैन । डेंगे ज्वरो भाइरल संक्रमण भएकाले यसको ठोस उपचार पनि छैन । जब बस्तीहरुमा डेंगे भाइरसको संक्रमण देखिन्छ, तब वातावरण र पानीको सरसफाई गर्ने र रोग सार्ने एडिस लामखुट्टेको लार्भा खोजी नष्ट पार्नु नै हालसम्मको उपलब्ध उपाय बनेको छ ।

मदिसे खिर्रोको बोक्रा ताछी कोठाभित्र ३ दिनजति सुक्न दिएर पिँधेपछि चूर्ण बन्छ । २० ग्रामजति चूर्णलाई आधा लिटर पानीमा ४५ मिनेट उमाली कपडाले छानी आएको मनतातो झोललाई खिर्रोको एक्सट्रेक भनिन्छ । जब मदिसे खिर्रोको १० एमएल एक्सट्रेकलाई ९० एमएल १ मिलिमोल एकक्वास सिल्भर नाइट्रेटको ७.५ पीएचमा ४८ देखि ५२ डिग्रीको तापक्रममा मिसाएर २ घन्टा छाडिन्छ, सुरुमा पहेंलो हुने तरल पदार्थ खैरो रंगमा परिवर्तन हुन थाल्छ । जब त्यो गाढा खैरो रंगमा परिवर्तन हुन्छ, तब त्यहाँ सिल्भर नेनोपार्टिकल बन्छ । यो सिल्भर नेनोपार्टिकललाई सेन्ट्रिफ्युज गरी पहिला मिथानोल, त्यसपछि डिस्टिल पानीले धोएर इयर–ड्राई गरेपछि ठोस सिल्भर नेनोपार्टिकल तयार हुन्छ ।

यसरी बनेको सिल्भर नेनोपार्टिकल क्युलेक्स र एडिस नामक दुवै लामखट्टेका लार्भा मार्न सक्ने आजसम्मको सबैभन्दा प्रभावकारी विकल्प बनेको छ । सबैभन्दा उल्लेखनीय कुरो सिल्भर नेनोपार्टिकल मानिसलाई कत्ति पनि हानि नगर्ने र पर्यावरणीय दृष्टिमा सफा, स्टेबल र सर्वस्वीकार्य विकल्प बनेको छ । मात्र ७२ घन्टामा सिल्भर नेनोपार्टिकलको ५.५३ पीपीएमको प्रयोगले एडिस र १९.२४ पीपीएमको प्रयोगले क्युलेक्स लामखट्टेको प्रभावकारी नियन्त्रण हुन सकेको छ ।

पछिल्लो समयमा आएर मदिसे खिर्रोको एक्सट्रेक क्युलेक्स र एडिस नामक लामखट्टेले पैदा गरेको विकराल अवस्थालाई नियन्त्रणका लागि  सिल्भर नेनोपार्टिकल बनाउन उपयोगी बनेपछि मदिसे खिर्रो आयुर्वेदिक महत्वको खाना र औषधिका अलवा सिल्भर नेनोपार्टिकलका लागि समेत नयाँ पुस्ताको रुचिको वनस्पतिमा दर्ज हुन सकेको छ ।

संसारमै ठूलो भ्यालुएड दिन सक्षम मदिसे खिर्रोको खेती कृष्ण भाइजस्ता सयौं नेपालीको जीवनमै कायपलट दिन सक्ने गरी सदुपयोगमा आउन अझै कति दशक कुर्नुपर्ने हो ?

पाहाडमा खिर्रो भनेर दुध-खिर्रोलाई धेरै मानिसहरु चिन्ने गर्छन ! जसको पात र डाठबाट आऊने दुध खोलामा माछा मार्ने काममा प्रयोग हुन्छ! दुध खिर्रोलाई सापियम ईनसिग्नि बैज्ञानिक नामाकरण दिईएको छ! यसलाई साइको-टक्सिक मानिन्छ!

दुध-खिर्रो गाऊ घरमा खासै रुचाईने रुखहैन! यसको पात न त गाईबाख्राले खान्छ न यसको दाउरा नै काम लाग्छ! बाल्दा यस्को धुवा त पुतपुताऊछ नै, बिसालु धुवाले आखै रातो पारिदिन्छ! लामो समयको धुवाको असर आखाको लागि जोखिम पुर्ण मानिन्छ! खिर्रोको दुध कतिपय लाई एलर्जि पनि हुन्छ!

दुध-खिर्रोको पातको एक्सट्रेकमा कोरिलागिन, गुजाभेरिन, निकोटिफ्रोरिन, फोरबोल ईस्टर, किईयुनिक एसिड, स्कोपोलिन आदि हुने हुन्छ! आयुरबेदमा यसको बारे खासै बर्णन नभेटिएपनि यसको दुध वा चोपमा पाईने फोरबोल स्टरका कारण मान्छेको सरिर चिलाऊने र चिडचिडाऊने गर्छ! दुध-खिर्रोको जराको रसको २-४ थोपा गाई-भैसिमा अपच हुदा औषधिका रुपमा दिईन्छ त बोक्राको दुध जनावारमा हुने परजिबि र जुकाको उपचारमा प्रयोग हुनेगर्छ!

घरेलु ऊपचारको रुपमा खिर्रोको दुध सारिरमा आउने मुसा हटाउन दलिने चलन छ! कुनै निस्चित समुदायले  सर्पले टोक्दा टोकेको ठाऊमा दुध-खिर्रोको पातको एक्सट्रेक लगाउने गरेको भेटिन्छ! आज भोलि तितेपाति, दुध-खिर्रो र अंगेरी मिलाएर बनेको झोलबाट जैबिक पेस्ट-कन्ट्रोल गर्न चलन निकै चलेको छ! नगदे बालि छोप्ने सेऊला देखि काठ बाट मल्च, बाख्राको दाना र जर्मिसाईड समेत बन्ने गर्छ! सुकेको पात र खरानि मिसाएर मल समेत बन्छ! दुध-खिर्रोको काठबाट सलाईको बाकस, किचन केबिनेट र सारंगि समेत बन्ने गरेको छ!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE