मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

दूधभन्दा महँगो गहुँत

नारायण घिमिरे

सन् २०१८ जुलाईतिर भारतको राजस्थानमा किसानका गिर र थारपारकर जातको उन्नत नश्लका गाईको गहुँत १५ देखि ३० प्रतिलिटर बिक्री भइरहेको थियो भने दूध प्रतिलिटर २२ देखि २५ रुपियाँमा । राजस्थानका किराना पसलमा जुस र पौष्टिक पेय सेल्फमसँगै गोमूत्रका बोतल पनि लहरै सजाइएको थियो । गोमूत्र धमाधम बिक्री हुँदा पनि कसैमा आश्चर्यको अनुभूति देखिँदैनथ्यो ।

अर्गानिक खेतीमा युरिया मलको विकल्प, पूजाआजामा पञ्चगव्य र औषधिका रुपमा भारतकै जयपुरमा पनि अत्यधिक माग बढेपछि गहुँतको मूल्य एकाएक ३० प्रतिशतले वृद्धि भएपछि किसानहरु बिहान र सम्साँझै गोमूत्र जम्मा गर्न र बेच्न व्यस्त भेटिन्थे । भारतको उदयपुरको महाराणा प्रताप युनिभर्सिटीले अर्गानिक खेती शीर्षकमा प्रति महिना १५ देखि २० हजार भारुमा गहुँत खरिद गरेको थियो ।

महाराष्ट्रको थाने जिल्लाको केशव शास्त्री गौशालाका २ सय ३० गाईबाच्छाबाट बिहानै ४ बजे २ सय लिटर गौमूत्र जम्मा गरी नजिकैको डिस्टिलेसन युनिटमा पुर्याइँदै थियो । डिस्टिलेसन युनिटले गौमूत्र पास्चराइज, फिल्टर, बोतल प्याक र लेबल गरी राज्यभरिकै किराना दोकानमार्फत साइज अनुसार २० देखि ८० भारु प्रति बोतल बजारमा धमाधम बिक्री गर्दै थियो ।

त्यसको लगत्तै बङ्लरुको माँगाय प्रडक्टले भारतको प्रसिद्ध अनलाइन ग्रोसरी चेन ‘बिग बास्केट’ मार्फत गहुँतबाट बनेको भुइँ र शौचालय सफा गर्ने फ्लोर क्लिनर (गिनोल), दाँत माझ्ने टुथ पाउडर, ओठ फुट्दा लगाउने बाल्म र अनुहारमा दल्ने फेस प्याक लन्च गर्यो । प्रथम महिनामै करिब १ लाख भारुको कारोबार गर्ने माँगाय प्रडक्ट जस्ता हजारौं गाईपालक आज बिग बास्केट, ई–वे र अमेजन आदि नामुद प्लेटफर्ममा गाईको प्रशोधित गोबर, पिसाब, दूध–घिउ–गोबर–दही, पिसाबबाट निर्मित पञ्चगव्य, गोबर पोलेर बनाइएको विभूति, सिन्के अगरबत्ती आदिमा करोडौंको कारोबार गरिरहेका छन् ।    

गुजरातको पिताम्बरी प्रडक्ट प्राइभेट लिमिटेडले त्रिफलामा कन्सन्ट्रेटेड गोमूत्र हाली दिनमा १–२ क्याप्सुल खान सिफारिस गर्दै गोमूत्र प्लस नामक पाउडर हालिएको क्याप्सुल बनाएर बजारमा ल्याएको छ । महाराष्ट्र, गुजरात, मध्यप्रदेश, कर्णाटक आदि राज्यमा ३० क्याप्सुलको २ सय भारुमा गोमूत्र प्लसको बिक्री बढ्दो छ ।

लन्डनको वेम्ली, अमेरिकाको न्युयोर्क र क्यानडाको टोरन्टो आदि सहरमा खानाका रुपमा गोमल–मूत्रमाथि अझै बन्देज छ । त्यसैले पूजाका लागि गुजराती हिन्दू समुदायले ५० एमएल युरिन डिस्टिलेट बोतलको २ सय ६० देखि ३ सय भारुमा खरिद किनेर प्रयोग गरिरहेका छन् । १५ एमएल युरिन डिस्टिलेटमा १५ एमएल पानी हाली औषधिका रुपमा गुजराती समुदायले गहुँत खाइरहेको छ ।

नकारात्मक शक्तिलाई हटाउने धार्मिक मान्यताका कारण होस् वा ‘गोमूत्र थेरापी’का रुपमा, छिमेकी देश भारतमा किसानले प्रतिलिटर गाईको दूधभन्दा महँगोमा गहुँत बिक्री गरिरहेका छन् । विज्ञानको जमानामा पनि गाईको गहुँत, गोबर, पूजा सामग्रीका साथै खाद्य पेय, थेरापी, स्यानिटाइजर, विभूति, औषधि र कस्मेटिक आदिका रुपमा किन बजार माग बढ्यो ? त्यसबारे आयुर्वेद, खाद्य विज्ञान र मेडिकल विज्ञानको पछिल्लो अनुसन्धानको निचोड र अन्तर्राष्ट्रिय स्वीकार्यताबारे जान्नु जरुरी छ ।

गहुँतमा ९५ प्रतिशत पानी, युरिया र मिनिरल–साल्ट २.५ प्रतिशत अनि इन्जाइम तथा हर्मोन २.५ प्रतिशत हुन्छ । गोमूत्र क्षारीय ७.४ देखि ८.४ पीएचको हुन्छ भने स्पेसिपिक ग्य्राभिटी (डेन्सिटी) १.०२५ देखि १.०४५ हुने गर्छ । बायोकेमिकल अध्ययनले देखाए अनुसार गोमूत्रमा सोडियम, नाइट्रोजन, सल्फर, भिटामिन ए, बी, सी, डी, ई आदिका म्याग्निज, आइरन, सिलिकन, क्लोरिन, म्याग्नेसियम, कपर लगायत २४ थरी मिनरल भेटिन्छन् ।

कम्तीमा १७ थरी इन्जायम तथा हर्मोन भेटिने गोमूत्रमा सिट्रिक, सक्सिनिक र क्याल्सियम साल्ट तथा कार्बोकसिलिक एसिड, ल्याक्टोज, फस्फेट र क्रिएटिन जस्ता तत्व भेटिन्छन् । पछिल्लो समय आएर गोमूत्रमा औरम हाइड्रोअक्साइड, जुन सुनको क्षार हो, भेटिनुले हाम्रो रैथाने आयुर्वेदको दाबा सही प्रमाणित हुनु अर्को महत्वपूर्ण पाटो उजागर भएको हो ।

फ्री र्याडिकल केमिस्ट्रीबारे हालसालैको नयाँ तथ्य र ज्ञानका कारण आज खाद्य वैज्ञानिकहरुलाई स्वास्थ्य र रोग व्यवस्थापनमा समेत पूर्ण ध्यान पुर्याएर स्वस्थ र पोषणयुक्त खानपान प्रस्ताव गर्न सम्भव बनाएको छ । मानिस जीवित रहनका लागि नभई नहुने अक्सिजनले मेटाबोलिक प्रोसेसबाट शक्ति पैदा गर्छ । कतिपय अवस्थामा मेटाबोलिक प्रोसेसबाट र धेरैजसो हाम्रो शरीर एक्सरे, चुरोट गाँजाको धुवाँ, प्रदूषित हावा, औद्योगिक केमिकल लगायतका प्रतिकूल वातावरणको लगातार संसर्गमा आउँदा इन्जाएमेटिक र नन्इन्जाएमेटिक गतिविधिमा हुने अक्सिजन र प्रोटिनमा हुने नाइट्रोजनको अर्बिटको इलेक्ट्रोनलाई र्याडिकलाइज गरी रियाक्टिभ बनाइदिन्छ ।

र्याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण नहुँदा यसले फ्याट, न्युक्लिक एसिड, प्रोटिन आदिलाई लक्ष्य गरी सेललाई बिगारिदिन्छ । यसलाई अक्सिडेटिभ स्ट्रेस भनिन्छ । शरीरमा क्यान्सर लगायतका रोग तिनै अक्सिडेटिभ स्ट्रेसका कारण भित्रिन्छ । लगातारको रेडिएसन, प्रदूषण, चिन्ता र कुपोषण आदिका कारण हुने अक्सिडेटिभ स्ट्रेसबाट नै मानिसमा बुढ्यौली, छाला रोग, मधुमेह, हृदयघात, क्यान्सर लगायत अन्य जटिल रोग पैदा हुन्छ ।

शरीरमा फ्री र्याडिकल पैदा हुँदाका बखत त्यसलाई आक्रमण गरी तुरुन्तै न्युट्रालाइज गर्न सक्ने क्षमता विकास गर्न सहयोगी हुने तत्व मानिसले प्रायः खानाबाट पूर्ति गर्नु जरुरी हुन्छ । जसलाई एन्टी–अक्सिडेन्ट भनिन्छ । अक्सिडेटिभ स्ट्रेस धेरै हुँदा मानिस छिट्टै बूढो समेत देखिने हुँदा एन्टी–अक्सिडेन्टयुक्त खानालाई एन्टी–एजिङ खाना र पेयलाई एन्टी–एजिङ पेय अथवा अमृत भनिएको हो । 

फ्री र्याडिकल निर्मूल गर्न सक्ने गहुँतको क्षमताबारे प्रयोगशालामा कोषिकामाथि गरिएको वैज्ञानिक परीक्षणमा एक लिटरमा ५.२५ एमएल ताजा गहुँतले र ७.३७ एमएल युरिन डिस्टिलेटले र्याडिकलाइज आयोनलाई तुरुन्तै नियन्त्रण गर्न सक्षम प्रमाणित गरिदियो । स्वस्थ रहन मिनरल, भिटामिन, इन्जायम र हर्मोन जस्ता तत्व शरीरलाई जरुरीभन्दा  कम वा बेसी दुवै हुनु हानिकारक हुन्छ । गोमूत्रमा शरीरलाई चाहिने एन्टी–अक्सिडेन्ट त छँदैछ, क्षारीय गोमूत्र सेवनले मानव शरीरभित्रका ती तत्वहरुको आवश्यकता अनुरुप ब्यालेन्स गर्न समेत उल्लेखनीय भूमिका रहने देखिएकाले ‘गोमूत्र थेरापी’को माग संसारमै ह्वात्तै बढेको हो ।

लौठ सल्लाको बोक्रा र पातबाट पाठेघर र स्तन क्यान्सरको औषधि हुने टेक्सोल निकालिन्छ । बोक्रा ताछ्दा लौठ सल्ला मर्ने र बोक्राभन्दा पातबाटै सस्तोमा उच्च गुणस्तरको टेक्सोल बन्ने पहिचान भएपछि डाबर इन्डिया लिमिटेडले ११.५ करोड (अनुसन्धान खर्च मात्र ४ करोड) भारु खर्चमा लौठ सल्लाको पातबाट टेक्सोल बनाउने प्रविधि विकास गरी उत्पादन गरिरहेको छ । 

क्यान्सरका बिरामीलाई ८ पटक यो औषधि सेवन गर्दा जम्मा कुल १.७ ग्राम जरुरी पर्छ । डाबर इन्डिया लिमिटेडले ११.५ करोड लगानीको उद्योगमा टेक्सोल उत्पादन प्रतिमहिना मात्र ६ सय ग्राम गरेको बताइरहेको छ । फलतः अति दुर्लभ टेक्सोल १.७ ग्रामकै लगभग ३ लाख भारु पर्नु सामान्य नै भयो । भारतमै मात्र प्रतिवर्ष क्यान्सरका नयाँ बिरामी ३ हजार थपिन्छन् । टेक्सोलको माग संसारभर छ ।

जब गोमूत्रलाई ४०–५० डिग्री सेल्सियसमा डिस्टिल गरी आएको डिस्टिलेटलाई फ्रिज ड्राई गरी पानी हटाएर कन्सन्ट्रेट गरियो र टेक्सोलबाट स्तन क्यान्सरको उपचार गरिरहेको मानिसलाई १ सय माइक्रो एमएल प्रतिएमएल कन्सन्ट्रेट खान दिँदा अति दुर्लभ टेक्सोलको प्रभावकारितालाई २० गुना बढाएको पाइएको छ । समग्रमा गोमूत्र आफै कुनै रोग निवारणको औषधि नहुँदा पनि मधुमेह, पत्थरी, कलेजोको समस्या, छालाको रोग, छारेरोग, ट्युमर, क्षयरोग आदिमा रोग निदानमा सहयोगी हुने प्रमाणित भएको छ ।

गोमूत्रमा प्रचुर मात्रामा कार्बोनिक एसिड हुन्छ, जसले गहुँतको बासना दिन्छ । कार्बोनिक एसिड मूलतः फिनोल र क्रिसोलको मिश्रण हो, जसका कारण गाईको पिसाब डिस्इन्फेक्टेन्ट र एन्टी–सेप्टिक हुने गर्छ । बजारमा पाइने चलनचल्तीको सेन्थेटिक फिनोलले हाम्रो वातावरण बिगार्ने भए तापनि भुइँ र शौचालय सफा राख्न ५ प्रतिशत फिनोल प्रयोग हुने गरेको छ ।

हाल गोमूत्र (२५ एमएल) लाई अरु डिस्इन्फेक्टेन्ट र एन्टी–सेप्टिक गुण भएका हर्बल डिस्इन्फेक्टेन्सजस्तै निम एक्सट्रेक्ट (३७.५ एमएल), तुलसी एक्सट्रेक्ट (३७.५ एमएल), रिट्ठा एक्सट्रेक्ट (२० एमएल), पाइन (सल्लो) ओएल (१० एमएल) फिनाइलजस्तै शक्तिशाली तर भुइँ र शौचालय सफा गर्ने वातावरणमैत्री फ्लोर क्लिनर बनाएर गौनाइलको नाममा बिक्री व्यापक छ ।

भारतबाट म्यानुफेक्चरिङ सुरु भएको गौनाइलमा गौमूत्र सबैमा रहने र कम्पनी अनुसार युकालिप्टस ओएल, पाइन ओएल, क्यासटर ओएल, निम ओएल, लेमन ग्रास, बाबरी, वनमासाको मुना, धुपी, सयपत्री लगायतका एन्टी–ब्याक्टेरियल हब्र्सका एक्सट्रेक्टहरू हाली सलुसन बनाएर बेच्ने गरेको भेटिन्छ ।

गहुँत भइहाल्यो, गाईको गोबरको पनि आफ्नै महत्व छ । गोबर मानिसले खाने पञ्चगव्यको एक भाग त हो नै, यसलाई सुकाएर डढाउँडा आउने खरानीको विभूति बनाई निधारमा लगाईन्छ भने धुवाँले वातावरण शुद्ध गर्ने र लामखुट्टे लगायतका परजीवीलाई धपाउन सहयोग गर्छ ।

डीएनए सिक्वेन्सिङ प्रविधिमार्फत अध्ययन गर्दा गोबरमा हुने कार्बन र नाइट्रोजनको अनुपात र गोबरमा हुने ब्याक्टेरोइड्स, फिर्मिकुट्स र प्रोटियोब्याक्टेरियाले मलका रुपमा प्रयोग हुँदा माटोका अर्गानिक तत्वलाई जस्तै ः लिगनिन, सेलुलोज, चिटिन, जाइलन आदिलाई सानोसानो पारी कुहाउन र बिरुवालाई उपलब्ध गराउन सघाउने देखायो ।

गोबरमा हुने बेसिलस, एसिनिटोब्याक्टर, स्टोनोट्रोफोमोना र सिउडोमोनस ब्याक्टेरिया बिरुवालाई हलक्क बढ्न सहयोगी हर्मोन इन्डोल एसिटिक एसिड बनाउने र जमिनमा भएको आइरनलाई बिरुवासम्म पुर्याउने सिडरफोन बनाउँछ । गोबरमा भेटिएको एसिनिटोब्याक्टर र सिउडोमोनसले बिरुवालाई चाहिने नाइट्रोजन हावाबाट लिई बिरुवाको जरामा पुर्याउन (नाइट्रोजन फिक्सिङ) र माटोमा रहेको फस्फेटलाई फस्फोरस मल बनाउन सघाउँछ । बिरुवाको स्वास्थ्य र मानिसको स्वास्थ्यमा समेत नकारात्मक क्षति पुर्याउने ब्याक्टेरिया र फंगसलाई चैनले बाँच्न नदिने प्रकृतिका बेसिलस र सिउडोमोनस प्रजातिका सहयोगी ब्याक्टेरिया गाईको गोबरमा पाइने र तिनले एकातर्फ बिरुवामा रोग लाग्न नदिने र अर्कातर्फ धार्मिक र परम्परागत प्रयोजनमा प्रयोग हुँदा सेनिटाइजर र डिस्इन्फेक्टेन्टको काम गर्छन् ।

उत्तर अफ्रिका र क्यामरुनमा परम्परागत रुपमै सुकेको गोबर बाली आउने विभूति घाउ हुँदा र त्यसमा संक्रमण हुँदा हुने खटिरामा औषधिका रुपमा प्रयोग हुन्थ्यो । विभूतिलाई पिउने पानीमा घुल्ने जति घोलेर छानी आएको पानीलाई आगोमाथि उमालेर पनि फाली बसेको क्रिस्टललाई दलाङ अथवा गोबरको एक्स्ट्रेक भनिन्छ । दलाङ हाम्रो शरीरलाई चाहिने मिनरलको स्रोत हो । (K>Na>Mg>Ca>Fe>Al>Zn) जुन हाम्रो शरीरमा रहेर इम्युन सिस्टम कमजोर हँुदा संक्रमण गरी रोग निम्ताउने अवसरवादी ब्याक्टेरियालाई मार्न सहयोग गर्छ । तिनै गुणले गर्दा उत्तर अफ्रिका र क्यामरुनमा परम्परागत रुपमा दलाङ इन्फेक्सियस रोगको घरेलु उपचार विधिमा प्रयोग हँुदै आएको हो । हाम्रो रैथाने विभूतिलाई यिनै तपसिलका कारणबाट शुद्ध र चोखो टीकाको रुपमा आयुर्वेदका आधारमा स्वीकरिएको हो ।

कामधेनु गाईलाई भारत र नेपालको रैथाने गाईको नश्ल मानिन्छ । जसको दूध, घिउ, दही, पिसाब र गोबर औषधि मात्र मानिन्न, गोमूत्र र गोबरले घर वरपरको हावा र वातावरण शुद्ध पार्ने र हावामा अक्सिजनको मात्रा बढाउने हँुदा कर्मकाण्डमा यसको सदुपयोग गर्नु लाभकारी हुने वेदमा उल्लेख गरिएको छ । हाल भारतमा मात्र कम्तीमा २७ थरीका र नेपालमा ७ थरीका रैथाने गाई भएको विश्वास गरिन्छ ।

नेपाल र भारतमा रैथाने जुर्रो हुने ‘गिर गाई’ को दूधको प्रोटिनमा प्रोलिन नामक गुणस्तरयुक्त एमिनो एसिड हुने हँुदा यसलाई ए–टू कोड दिइयो । लगभग ५ हजार वर्षदेखिको म्युटेसनको प्रभावमा परेका गाईबाट आउने दूधमा प्रोलिन एमिनो एसिडको सट्टा हिस्टिडिन भेटियो ।

जुर्रो नहुने आयातीत होलिस्टिन, एचएफ लगायतको गाईको दूधको बिटा–केसिनमा हिस्टिडिन भेटिएकाले त्यसलाई ए–वान कोड दिइयो । प्रायः आयातीत गाईले दूध त धेरै दिन्छन् तर दूध ए–वान हुने र त्यससमा ओमेगा सिक्स हुने हुँदा ए–टू दूधको तुलनामा कनिष्ठ पेय नै मानिन्छ ।

ओमेगा–सिक्स बढ्दो उमेरका केटाकेटीको वृद्धि विकासमा ओमेगा–थ्रीजस्तो सहयोगी हँुदैन । रैथाने गाईले दिने ए–टू दूधको प्रोटिनमा उत्कृष्ट एमिनो एसिड प्रोलिन हुनुका साथै बालबालिकाको वृद्धि विकासमा उत्कृष्ट मानिएको ओमेगा फ्याट समेत पाइने हुनाले सर्वाधिक मागको दूध बनेको हो । ए–टू दुधको केसिन खाँदा ए–वान दूधको केसिनजस्तो अपच हुने र ल्याक्टोज इन्टोलरेन्स जस्ता कम्प्लिकेसन पनि कमै भेटिन्छ ।

रैथाने गाईको दूध र दूधका परिकार विकासे गाईको भन्दा सम्पूर्ण रुपमै उच्चकोटिको भेटिएको छ । रैथाने गाईको मल र पिसाब समेत रैथाने गाईको दूधजस्तै मेडिकल, आयुर्वेदिक, युनानी, कस्मेटिक, स्यानिटाइजर, क्लिनर, मल लगायत सांस्कृतिक र अन्य प्रयोजनमा समेत अब्बल भेटिएको छ । 

नेपालजस्तो भूगोलको हिसाबले सानो मुलुकमा दूध र मलका लागि ठूलठूला व्यावसायिक गाईपालनमा लाग्ने लगानी, जोखिम र बिक्रीका आधारमा हुने मुनाफाभन्दा रैथाने गाईको दूध, गोबर, गहुँत र तिनका परिकार मेडिकल, आयुर्वेदिक, युनानी, कस्मेटिक, सांस्कृतिक र परम्परागत मल, बायोग्यास, इन्धन आदिबाट हुने मुनाफा सयौं गुना धेरै छ । त्यस कारण रैथाने गाईपालन नेपालको भविष्य हुने लगभग निश्चित देखिन्छ । 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE