मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भ्रमण वर्षले नचिनेका तातोपानी कुण्डयात्री

प्राकृतिक खनिज पदार्थलाई मिनिरल भन्ने चलन छ । तातोपानीको छहरा या तालमा नुहाएर स्वास्थ्य लाभ लिने प्रक्रियालाई ‘नेचुरल हट एन्ड मिनिरल स्प्रिङ बाथ’ भन्ने गरिएको छ । यस अर्थमा त्यसलाई ‘तातोपानी कुण्ड स्नान’ भने पनि हुन्छ ।

तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा मानव स्वास्थ्यमा उल्लेखनीय सुधार भएका तथ्य पनि छन् । त्यसैले प्राकृतिक चिकित्सामा तातोपानी कुण्ड स्नानतर्फ आकर्षण मात्र बढेको छैन, यसले आश्चर्यजनक रुपमा हेल्थ, वेलनेस, रिक्रिएसनल र आध्यात्मिक पर्यटनको विकास गरेको छ ।

आज स्वस्थ कहलिन रोगव्याधमुक्त शरीरमात्र भएर पुग्दैन, भौतिक, मानसिक र सामाजिक रुपमा समेत तन्दुरुस्त हुनुपर्छ । तातोपानीको छहरामा नुहाउँदा होस् या कुण्ड वा तलाउमा डुबुल्की मार्दा, पानीको तातोपना र प्रकृतिको गर्भबाट आएको मिनिरल र सूक्ष्म तत्वले शरीरलाई दिने प्रत्यक्ष आनन्द त छँदैछ, कतिपय रोग र ब्याध लाग्दा कुण्डस्नान स्वास्थ्यलाभ दिने परिपूरक र वैकल्पिक उपचार पद्धतिका रुपमा प्रख्यात छ । यसरी प्राकृतिक छहरा र कुण्डमा नुहाउन धाउने पर्यटकलाई ‘तातोपानी कुण्डयात्री’ वा ‘जियोथर्मल टुरिस्ट’ भन्दा अन्यथा नहोला ।

पृथ्वीको सबैभन्दा भित्री भागमा तातो पग्लेको फलामको कोर रहेको तथ्य सर्वविदितै छ । त्यसै कारण हामी पृथ्वीको सतहबाट जति तल जान्छौं, उति तातो हुँदै जान्छ । जब पृथ्वीमा पानी पर्छ, गुरुत्वका कारण विभिन्न छिद्र र चिरा परेका सतहबाट पानी ४५ सयदेखि ७५ सय फिट तलसम्म पुग्न सक्छ । एक त माथिको सतहको प्रेसर, ग्रेभिटी लस, रेडियो एक्टिभ डिके, विविध रासायनिक प्रतिक्रिया आदिका कारण पानी जति तल पुग्छ, त्यति तातो हुने क्रम बढ्छ । चर्किएका भाग पृथ्वीको बाहिरी भागबाट भित्री भागतर्फ मात्र हैन कि कतिपय ठाउँमा पृथ्वीको भित्री कोरबाट माथिसम्म समेत तातो लाभा पुग्न सक्ने गरी छिद्र बनेका हुन्छन् ।

नेपालको भौगोलिक अवस्थामा भने विभिन्न भागमा माथिबाट धेरै तल पुगेको पानी म्याग्मा र तातो पत्थरसँग सम्पर्कमा आउँदा जियोथर्मल वा पृथ्वीको भित्री तातोपनका कारण बेसरी तात्न गई बाफ बन्छ र निकै ठूलो प्रेसरमा पृथ्वीको सतहतिरै धकेलिन्छ । त्यो बाफले कतिपय अवस्थामा फोहोरा र कतिपय अवस्थामा तातोपानीको मूलका रुपमा त्यो पृथ्वीको सतहमा पुगी तातो फोहोरा, छहरा, मूल, कुवा वा ताल (तातोपानी कुण्ड) बनाउँछ ।

तातोपानी माथि आउने क्रममा पृथ्वीको भित्री सतहमा वर्षौंदेखिको जैविक तथा रासायनिक प्रतिक्रियाका कारण जमिबसेका क्याल्सियम, बाइकार्बोनेट, सिलिकेट, आइरन कम्पाउन्ड, सोडियम, म्याग्नेसियम, सल्फर लगायत अन्य सूक्ष्म तत्व जस्तै ः सिलिनियम, आर्सेनिक, आल्मुनियम, कपर, जिंक आदि लिएर आउँछ । यसका अतिरिक्त कार्बोनडाइअक्साइड, हाइड्रोजन डाइसल्फाइड, नाइट्रोजन, अक्सिजन आदि ग्यास समेत हुन्छन् ।

एक परीक्षणमा नेपालका तातोपानी कुण्डमा पानीको पीएच ७ देखि ९ सम्म पाइएको छ । उदाहरणका लागि ः  मुस्ताङको तातोपानीमा ७, रसुवाको चिलिमेमा ७, म्याग्दीमा ८, रिओरमा ९ र सुरई खोलामा ९ भेटिएको छ । प्रायः तातोपानी कुण्डमा सल्फर, सल्फेट, बाइकार्बोनेट, क्लोराइड, म्याग्नेसियम, पोटासियम, सोडियम, आर्सेनिक पाइएको छ । कतिपयमा त बोरोनसमेत भेटिएको छ ।

नेपालका अधिकांश तातोपानी कुण्ड मेडिकल टुरिस्टका लागि उपयुक्त तातो सल्फर कुण्ड भन्न मिल्छ । तातोपानी कुण्डमा हुने सल्फर र सल्फेटले शरीरका धेरै विकृतिविरुद्ध उपयोगी देखिए पनि यो छालामा भएको इन्फेक्सन, श्वासप्रश्वास, छाला पोल्ने र इन्फ्लामेसनको उपचारमा सहयोगी मानिन्छ ।

हुन त सल्फेट पिउने पानीमा प्रायः पाइने यौगिक हो । पिउने पानीमा सल्फेट धेरै हुँदा पखाला लाग्ने भए तापनि छालामा मलहमका रुममा दल्दा भने यसले मांसपेशीलाई आराम दिने, छालाका घाउखटिरामा भएका किटाणु मारी निको पार्न सहयोग गर्छ । सल्फेट एक महत्वपूर्ण केमोथेरापिक एजेन्ट मात्र होइन, प्रभावकारी प्राकृतिक  एन्टीसेप्टिक ड्रग समेत भएकाले श्वासप्रश्वास समस्यामा सुधार गर्न सकेको हो ।

कुण्डमा लगभग ३०–४० डिग्रीभन्दा माथिको तातोपानीमा घुलेको बाइकार्बोनेटको आफ्नै महत्व छ । तातोपानीले असामान्य र घाउखटिरा भएका छालामा रक्तकोषिकाहरुको घनत्व बढाउँछ र प्रेसरमार्फत रक्तनलीभित्र जमेको फोहोर निकास गर्न सघाउँछ । बाइकार्बोनेटले जमेको फोहोर घुलाएर छालाको अन्तसम्म जानबाट रोक्छ र रक्तसञ्चारमा सघाउँछ । त्यसैले छालामा देखिएको चरचराहटको कमी आउनुका साथै रक्तचाप घटाउन र घाउखटिरा निको पार्न समेत सहयोगी हुन्छ ।

हाम्रो शरीरमा लगभग १० खर्ब कोषिका हुने भए तापनि लगभग १ सय खर्ब बाहिरी माइक्रोबियल कोषिकालाई समेत बोकिरहेको हुन्छ । हाम्रो पाचन नली (आमाशय, आन्द्रा र गुदद्वार) मा लगभग ३ पौन्ड ब्याक्टेरियाको घर हो । तिनीहरु हाम्रो पाचन नलीमा बस्ने मात्र हैन, हाम्रो प्रतिरक्षा प्रणालीलाई के गर्ने के नगर्ने भनी सल्लाह दिइरहेका हुन्छन् ।

हाम्रा शरीरका सूक्ष्म जीवहरुले आवश्यकता अनुसार प्रतिरक्षा प्रतिक्रिया बढाउन वा घटाउन टि–सेलहरुलाई परिचालन गर्छन् । यसरी हाम्रो प्रतिरक्षा प्रणालीले फाइदा हुने ब्याक्टेरियाको सहयोगमा आफूलाई उत्पादनमूलक वातावरण बनाउँछ ।

हाम्रो शरीरमा प्रतिरक्षा कोषिकाको व्यवस्थापनमा गडबडी आइदिँदा हाम्रो सेतो रगतको सेल (टि–सेल) ले आफ्नै कोषिकालाई आक्रमण गरी मारिदिन्छ र छालाको भित्री तहभन्दा बाहिर धकेलिदिन्छ । जुन छालाको बाहिरी भागमा कत्ला बनाएर जम्छ । शरीरको प्रतिरक्षा कोषिकाले आफ्नै कोषिकालाई बैरी ठानी आक्रमण गर्दा छाला रातो धब्बा हुने, पोल्ने, चिरचिराउने र कतिपय फुटेर रगत आउने पनि हुन्छ । त्यसलाई सोरियोसिस भनिन्छ ।

पछिल्लो बायोमेकानिजमका अनुसार मानव शरीरमा हुने ब्याक्टेरिया जेनथोमोनसले केराटिन नामक प्रोटिनको रखबारी गर्छ । सोरियोसिस हुँदा छालालाई सुरक्षा दिने केराटिन नामक प्रोटिन अत्यधिक उत्पादन हुने र मृत कोषिका बन्ने गर्छ ।

कतिपय अनुसन्धानमा तातोपानी कुण्डमा गरिने मिनिरल बाथले छालाको कम्पोजिसनमा फरक ल्याएको र शरीरलाई लाभ हुने ब्याक्टेरियाको हेरफेर भई जरुरी मात्रामा मात्र केराटिन उत्पादन गरी उपचारमा सघाएको पाइएको छ । गरम पानीमा डुब्दा पानीको प्रेसरले ग्रेभिटीविरुद्ध काम गरी हड्डीबाट शरीरको भार हटाइदिन्छ । प्रेसरले जोर्नीलाई ३६० डिग्रीमै सपोर्ट दिएर हल्का र खुकुलो बनाउने हुँदा दुखेको हड्डीले वास्तवमै आराम पाउँछ । प्रशस्त पानी पिएर लगभग यो अवस्थामा शरीरलाई २० मिनेटभन्दा बढी राख्न सक्दा सुन्निएको कममात्र हुँदैन, भित्री दुखाइ कम हुँदै रक्तसञ्चार बढ्छ । केही समय रहन दिँदा वरपर जमेका फोहोर पनि सफा हुन्छन् ।

तातोपानीको पोखरीमा चोबलिने काम सकिएपछि लामो समयसम्म शरीरले आराम मात्र पाउँदैन, भौतिक र मनोवैज्ञानिक राहतका कारण मानिसलाई बाथजस्ता रोगबाट छुटकारा दिलाइदिन सक्छ । पानीमा उचित मात्रामा क्लोरिन हुँदा नै शरीरलाई आराम पुगेको हो । रक्तसञ्चार ठीक गर्ने प्रक्रिया छिटोछिटो हुने हुँदा बाथरोग, शल्यक्रिया, जोर्नी सुन्निँदा, यातना र भयका कारण पैदा भएका शारीरिक तथा मानसिक विकृति र हड्डी तथा पाठेघरको रोग सम्बन्धी समस्यामा समेत सहयोगी हुने आममान्यता छ ।

तातोपानीमा हुने सोडियम बाथरोगमा हुने पीडा कम गर्न त सहयोगी हुन्छ नै, यसले शरीरको प्रतिरक्षा प्रणालीलाई सक्रिय राख्न उत्तेजित गरिदिने विश्वास गरिन्छ । तातोपानीमा पाइने पोटासियमका कारण मुटुको धुकधुकी स्थिर हुने, उच्च रक्तचाप घट्ने र छालामा रहेको विषादी फाली छालालाई स्वस्थ राख्ने आमविश्वास छ ।

तातोपानी कुण्ड नुहाउँदा छालामार्फत शरीरले प्राप्त गर्ने म्याग्नेसियमले रगतमा भएको चिनीलाई इनर्जीमा बदल्न र छालालाई स्वस्थ राख्न सहयोग पुर्याउने भनिएको छ । तातोपानीमा आर्सेनिकको मात्रा धेरै हुँदा शरीरलाई हानिकारक हुने भए तापनि सूक्ष्म मात्रामा यसको उपलब्धता शरीरको प्लाज्मा र टिस्युको वृद्धिमा सहयोगी मानिन्छ । धेरै आर्सेनिक भएको पानी गोडाको फंगल इन्फेक्सनको उपचारमा सहयोगी हुन्छ । तातोपानीमा सूक्ष्म मात्रामा हुने बोरोनले मांसपेशीको तौल बढाउने, हड्डी बलियो पार्ने र दिमागलाई चुस्तदुरुस्त राख्न सहयोगी हुने आम बुझाइ छ ।

कुनै पनि मूल, कुवा आदिबाट बनेका छहरा, फोहोरा वा तालले तातोपानी कुण्डको मान्यता पाउन कम्तीमा २५ डिग्री सेल्सियस हुनुपर्ने मापदण्ड तोकिएको छ । जापानमा कम्तीमा २५ डिग्री सेल्सियस र जर्मनीमा कम्तीमा २० डिग्री सेल्सियस तापक्रम नभएको कुण्डलाई तातोपानी कुण्ड मानिँदैन । नेपालका हालसम्म पहिचान भएका कतिपय तातोपानी कुण्डको तापक्रम मनतातो (२०–३० डिग्री सेल्सियस) भएको रेकर्ड छ ।

नेपालका २३ तातोपानी कुण्डमध्ये प्रख्यात १४ वटाको सतहको तापक्रम मापन गर्दा दार्चुलाको श्रीबगर (५७–७३), जुम्लाको लुमा दहचौरी (२४), तिला नदी (३६–४२), जोमसोम (२१), मुस्ताङ तातोपानी (७१) साधु खोला (६९), म्याग्दी (४०), रियोर (३३), सुरई खोला (३७) चिलिमे (५५) र कोदारी (४२) डिग्री सेल्सियस भेटिएको छ भने सिना, चमेलिया र बझाङका तातोपानी कुण्ड मनतातोमा परेका छन् ।

ग्लोबल वेलनेस इन्स्टिच्युटको सन् २०१८ मा प्रकाशित रिपोर्ट अनुसार सन् २०१७ मा संसारका १ सय २७ देशमा रहेका अनुमानित ३४ हजार ५७ तातोपानी कुण्ड व्यवसायले १.८ मिलियन रोजगार दिँदै तातोपानी कुण्ड स्नानमा जाने तातोपानी कुण्डयात्रीबाट मात्र ५६.२ बिलियन डलर आय गरेका थिए । त्यो सम्पूर्ण वेलनेस टुरिजमको आयको ८.८ प्रतिशत हो । वार्षिक आय वृद्धिदर ६.५ प्रतिशत रहेको तातोपानी कुण्डयात्रीले सन् २०२२ मा पुग्दा ५६.२ बिलियन डलरको आय दिने अनुमान छ ।

संसारका तातोपानी कुण्डमध्ये २५ हजार ९ सय १७ (७६.१ प्रतिशत) एसिया प्रशान्त क्षेत्रमै पर्छन् । तिनले २०१७ मा ३१.६० बिलियन डलरको कारोबार गरेको देखिन्छ । अनुमानित ३ हजार ९ सय तातोपानी कुण्डबाट १७ हजार ५ सय १ मिलियन डलरको कारोबार गरी चीन र २० हजार ९ सय ७२ तातोपानी कुण्डबाट १२ हजार ७ सय ९५ मिलियन डलरको कारोबार गरी जापान संसारकै तातोपानी कुण्डयात्रीबाट सबैभन्दा धेरै आय गर्ने पहिलो र दोस्रो देश बनेका छन् । तातोपानी कुण्ड पहिचान भएका फिलिपिन्स (१ सय ५३ वटा), भियतनाम (३२), इन्डोनेसिया (४६) र थाइल्यान्ड (५८) ले क्रमशः ७०, २३, २३, र १७ मिलियन डलरको कारोबार गरेको देखिन्छ । भारत तातोपानी कुण्डयात्रीबाट सबैभन्दा धेरै आय गर्ने संसारका २० देशको सूचीभित्र पर्दैन ।

 

नेपालमा कति वटा तातोपानी कुण्ड छन् त ? यसबारे न देशभित्र, न त विदेशमै लेखाजोखा गरिएको छ । यद्यपि नेपाल र तिब्बतको सिमानामा मात्रै कम्तीमा ५० तातोपानी कुण्ड रहेको अनुमान छ । म्याग्दी, मुस्ताङ, सुर्खेत, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा आदि ठाउँमा तातोपानीको स्रोत रहेको खबर भने आइरहेकै छन् ।

नेपालको म्याग्दी जिल्लामा मात्रै १४ वटा (तापक्रम ५०–५८ डिग्री सेल्सियस) कुण्ड बनाउन सकिने तातोपानीका स्रोत छन् । तीमध्ये ५ वटा त बेनी नगरपालिकाभित्रको म्याग्दी खोला किनारमा छन् । अरु ९ वटा मुडीको बगर, दर्बङको भाले बास्ने पोखरी, भुरुङ तातोपानी, हिस्तान र घासाको कालीगण्डकी खोलाको तीरमा रहेका छन् ।

वार्षिक २० हजारभन्दा बढी तातोपानी कुण्डयात्री म्याग्दी पुग्ने गर्छन् । यो सामान्य आँकडा हेर्दा काठमाडौंलाई मन्दिरै मन्दिरको सहर भने जस्तो नेपाललाई तातोपानी कुण्डैकुण्डको मुलुक भनी संसारभरका कुण्डयात्रीलाई आकर्षण गर्न सकिने ठाउँ छ ।

आजका संसारका तातोपानी कुण्डका मुख्य पर्यटक धेरैजसो बेबी बुमर व्यवसायमा लागेका हेल्थ टुरिस्ट छन् । नेपालका तातोपानी कुण्ड किन पनि अनौठा छन् भने हाम्रा प्रायः तातोपानी कुण्ड प्रकृतिनिर्मित हुन् । युद्ध, यातना, मानसिक आघातका कारण तनावपूर्ण जीवन बिताइरहेकाहरुलाई आराम दिलाउन उपयुक्त मानिएको पृथ्वीको गर्भको लाभाबाट तातेका पीएच ७ वा सोभन्दा माथि क्षारीय पानी रहेको नेपालका तातोपानी कुण्ड कुण्डयात्रीका लागि उत्कृष्ट गन्तव्य नै हुन् ।

तातोपानीसँगै पाइने तमाम मिनिरल्स पृथ्वीको भित्री भागबाट प्राकृतिक रुपमै आएकाले प्राकृतिक चर्म चिकित्साका लागि अब्बल मानिन्छन् । संसारका पर्यटन संस्थाहरुले कुनै पनि मुलुकका लागि दिगो पर्यटनका लागि हुनुपर्ने १० आधारभूत खम्बामा होटल, यातायात, स्मारक, दर्शनीय स्थलकै हाराहारीमा तातोपानी कुण्डलाई समावेश गरेका छन् ।

पर्यटन नै नेपालको दिगो विकासको आधार भनी सुगा रटान भइरहे पनि दोस्रो नेपाल भ्रमण वर्ष मनाइरहँदा समेत आफ्नो नाभीको कस्तुरीको पहिचान र सदुपयोग गर्न नसक्ने रोग हामीमा छँदै छ । नेपालका तातोपानी कुण्ड स्नानका लागि मात्र होइन, विश्वले इन्धनका रुपमा प्रयोग गरिरहेका कोइला, पेट्रोलियम, युरेनियम, आणविक ऊर्जा आदि सकिने वा वैकल्पिक ऊर्जाको खोजी हुने अवस्थामा जियोथर्मल इनर्जीको स्रोत समेत बन्ने पक्का छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE