मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भित्रिँदै इ–भ्याप कल्चर

संसारकै एक कमजोरी बनिरहेको छ– चुरोट, सिगार, बिँडी, तमाखु र हुक्का सेवन अर्थात् स्मोक । यसले निम्त्याएको स्वास्थ्य समस्याले संसारभरि नै मानिसको जीवनयापनको लागत (कस्ट अफ लिभिङ) बढाइरहेको छ । यसको नयाँ विकल्पका रूपमा भित्रिसकेको छ, इ–भ्याप (e-vape) सभ्यता । यो विकल्प नेपालमा पनि सहजै बनिसकेको छ ।

के हो इ–भ्याप  ?

खानामा हालिने बासनालाई अंग्रेजीमा फुड फ्लेवर भनिन्छ । फुड फ्लेवरलाई सुर्तीको झोलसँग मिसाएर वा नमिसाईकन इलेक्ट्रिकल उपकरणको सहयोगमा बनाइएको धुवाँजस्तो देखिने कुहिरोलाई अंग्रेजीमा इलेक्ट्रोनिक भ्यापर (e-vapour) भनिन्छ । तमाखु पिएजस्तै इलेक्ट्रोनिक भेपरको सेवन गर्नुलाई इलेक्ट्रोनिक भ्यापिङ् (छोटकरीमा इ–भ्याप) भन्ने गरिन्छ । इ–भ्यापका लागि बनाइएको सुर्तीको रस सहित वा रहितको फ्लेवरको झोललाई इ–जुस वा इ–लिक्विड भन्ने गरिन्छ ।

इ–जुसलाई बाफमा परिवर्तन गर्ने उपकरण विभिन्न थरीका हुने हुँदा प्रकार अनुसार इलेक्ट्रोनिक लाइटर, इ–लाइटर, इ–टर्च, इ–पेन, इ–सिसा, इ–हुक्का, मड, भ्याप किट्स आदि नाम दिइएको हुन्छ । इ–जुसलाई बाफ बनाउने उपकरणजस्तो भए तापनि अन्ततः चुरोटको सर्को तान्दा जस्तै मुखमा धुवाँ आउँछ । इ–जुस इलेक्ट्रिक उपकरण राखी सर्को तान्दा आउने सेताम्मै कुहिरो धूमपानको तलतल मेट्न सहयोगी हुने भएकाले नै यसलाई इ–भ्यापिङ भनिएको हो ।

इ–जुसमा सुर्तीजन्य पदार्थबाट बनाइएको निकोटिन इ–जुस सेवन गर्ने व्यक्तिको चाहना अनुसार राख्न वा नराख्न सकिन्छ । इ–जुस बनाउन मूलतः खाद्य प्रशोधनमा प्रयोग हुने फ्लेवर नै हालिने हुँदा यो खाद्य वैज्ञानिक तथा दक्ष फ्लेवरिस्टहरुले बनाउने गर्छन् । संसारमा इ–जुसको बिक्रीवितरण चुलिएसँगै यो कत्तिको सुरक्षित छ भन्ने सवाल पनि उठ्ने गरेका छन् । यसको उत्तर त्यति सहज भने छैन ।

के इ–भ्यापिङ सुरक्षित छ ?

धूमपानको आकाशिएको व्यापार र त्यसको पछाडिको उच्च मुनाफा आफ्नो पोल्टामा पार्न सकिने यथार्थबोधका कारण संसारका अति प्रतिष्ठित कम्पनीहरू इ–जुस व्यवसायको मेरुदण्ड बनेर उभिएका छन् । उनीहरु के भन्छन् भने यस्ता बस्तु खाद्य पदार्थमा प्रयोग गर्न पनि अनुमति दिइएको छ । मानव प्रयोजनका लागि सामान्यतया सुरक्षित भनी सिफारिस गरिएका कच्चा पदार्थबाटै बनाइएकाले इ–जुससँग डराइरहनुपर्ने जरुरी छैन ।

त्यसो त दशकौंदेखि नै भीडभाडका साथ विभिन्न डिस्कोथेक, भोजभतेर, यज्ञ, परम्परागत समारोह आदिमा मानिसले अत्तर, धुप, सेन्ट, मगमग बास्ना चल्ने एसेन्स आदि प्रयोग गरिआएका छन् । त्यसमा मानिस अभ्यस्त समेत बनेको सन्दर्भ समेतलाई जोडेर यसलाई हेर्न नसकिने होइन । निकोटिन प्रयोग नभएका इ–जुस सुर्ती, चुरोट, तमाखु जस्ता धुवाँ फोक्सोमा पठाई गरिने अम्मलभन्दा कम हानिकारक हुन् भन्ने तर्क ती इ–जुस व्यवसायमा लागेका कम्पनीको छ ।

इ–जुस व्यवसायीले अघि सारेको तर्ककै आधारमा इ–जुस सामान्यतया उच्च गुणस्तरका कन्सन्ट्रेटेड फ्लेवरको झोल हुने हुनाले तुलनात्मक रूपमा सुरक्षित मानी यसलाई चुरोट, सिसा (हुक्का) आदि अम्मलको विकल्पका रूपमा संसारभर माग भएको र बिक्रीका लागि अनुमति दिइएको हो । त्यति हुँदाहुँदै पनि अमेरिकाको खाद्य तथा ड्रग नियन्त्रण नियोग (यूएस–एफडीए) ले इ–भ्यापिङको प्रयोग भर्खरै सुरु भएकाले यो कत्तिको हानिकारक छ भनी यकिन गर्न समय परिपक्व नभइसकेको जनाएको छ ।

जुसमा समेत प्रयोग हुने खाद्यपदार्थमा प्रयोग गर्न अनुमति दिइएका फ्लेवर सामान्यतया खानका लागि सुरक्षित भनी सिफारिस गरिएका कच्चा पदार्थ हुन् । तिनलाई खानामार्फत खाने प्रयोजनका लागि मात्र गरिएका परीक्षणका आधारमा सामान्यतया सुरक्षित भनी प्रमाणित गरिएको हो तर श्वासप्रश्वास प्रणालीमार्फत इ–फ्लेवरको सेवन सुरक्षित छ वा छैन भनी हालसम्म खासै परीक्षण भएको छैन । त्यसैले एफडीएले निकोटिन भएका र नभएका दुवै इ–भ्यापिङ मानव स्वास्थ्यका लागि हानिकारक हुन सक्ने चेतावनी समेत दिएको छ ।

हुन त विज्ञानमा केलाई र कति हदसम्म सुरक्षित मान्ने निक्र्योल हुने अवस्था प्रायः बन्दैन । अनुसन्धानबाट प्राप्त नयाँ सूचनाका कारण पहिले स्थापित वैज्ञानिक मान्यता बदलिँदै जान्छन् । कतिपय वैज्ञानिक मान्यता कतिसम्म मान्य होला भनी यकिन गर्न सकिन्न । परम्परागत चलनचल्तीका भन्दा भिन्न खाद्य पदार्थको उपभोगमा विषय विज्ञहरूले उपलब्ध तथ्यका आधारमा केस बाई केस बेसिस (case by case basis) मा खाद्य सुरक्षाको जोखिम निर्धारण गर्ने चलन छ । इ–भ्यापिङ मानव स्वास्थ्यका दृष्टिले सुरक्षित हुन्छ नै भनी यकिन गर्न सकिने अवस्था त छैन । तर हालको सुर्तीजन्य कागज (चुरोट) वा सुर्ती (सिगार) वा तमाखु (हुक्का) समेतको सुर्तीलाई पोलेर निक्लिएको धुवाँले फोक्सो र शरीरलाई पुर्याइरहेको हानिको तुलनामा सुरक्षित पक्कै छ ।

हाल बजारमा भ्यापिङका लागि धेरै प्रकारका इ–भ्यापराइजर पाइन्छन् । प्रथम पटक बनाइएको इलेक्ट्रिकल भ्यापिङ लाइटर चुरोटजस्तै देखिने गरी बनाइएको थियो । तर, यो ‘युज एन्ड थ्रो’ प्रकृतिको भएकाले कालान्तरमा महँगो पर्न गएकाले दैनिक प्रयोगलाई ध्यानमा राखी एकपटक भ्यापराइजर किनेपछि इ–जुस भरेर पटकपटक प्रयोग गर्न सकिने पाइप र विविध खाले इ–भ्यापराइजर बनाइएको हो । यी उपभोक्ताका लागि कसरी सजिलो र किफायती हुन्छ भन्ने मनोविज्ञानमा आधारित डिजाइन हुन् ।

चुरोटका पारखीलाई चुरोटजस्तै गरी पिउन मिल्ने इ–सिगरेट्स पेन, सिसा वा हुक्काका सोखिनलाई इ–सिसा वा इ–हुक्का अनि बिँडी वा सिगारप्रेमीलाई इ–सिगारको विकल्प दिई बजारमा उपभोक्ताको रूचिअनुसारको भ्यापराइजर छनोट गर्ने व्यवस्था उपलब्ध गराइएको छ । बजारमा पाइने इ–भ्याप (लाइटर जस्ता खाले डिजाइन वा प्रकृतिमा भए पनि सबैको प्रविधि उस्तैउस्तै छ ।

इ–भ्यापलाई सम्भव तुल्याउन भ्यापराइजरको एकातर्फ इ–भ्याप जुस राखिन्छ भने अर्कोतर्फ तताउने र त्यसलाई ससानो बाफमा परिवर्तन गर्ने हिटिङ् क्वाइलजडित भ्यापराइजर हुन्छ । चुरोटको सर्को तानेझंै स्मोक तान्दा इ–जुस गरम भ्यापराइजर हुँदै मुखसम्म पुग्ने व्यवस्था गरिएको हुन्छ । जसले गर्दा इ–लिक्विड बाक्लो सेतो कुहिरोजस्तो बाफ बन्छ । त्यो हेर्दा र अनुभव गर्दा धुवाँजस्तै लाग्छ । जब यसलाई मुखले लामो सर्को तानी फोक्सोसम्म पुर्याइन्छ । यसमा भएको फ्लेवरले आफ्नै आनन्द दिन्छ । जब इ–भ्यापलाई बाहिर फालिन्छ, यो धुवाँको मुस्लोजस्तै देखिने गरी बाफ बाहिर निस्कन्छ । चुरोट, तमाखु र सिगारको स्मोक लिँदाको बेलाजस्तै बाहिरबाट अरूले हेर्दा यो रोमान्चकारी देखिन्छ ।

हिजोआज चुरोट, तमाखु र सिगारको विकल्पमा इ–भ्यापिङलाई लिने गरिन्छ । सुरुमा निर्धारित मात्राको सुर्तीको रस मिसाइएको (निकोटिन एक्स्ट्रयाक) इ–जुस प्रयोग गरिन्छ । यो विधिमा इ–जुसमा निकोटिनको मात्रा क्रमशः घटाउँदै लगेर अन्तमा निकोटिनबिनाको इ–जुस पिउने बानी बसाली सुर्तीजन्य लागूपदार्थ सेवनबाट छुटकारा लिने तरिका अपनाइन्छ । त्यस्तै कसैलाई औषधिका रूपमा गाँजा र चरेसकै स्ट्रेन्थ चाहिने अवस्थामा समेत (कानुनी छ भने) गाँजा र चरेसकै रस आवश्यक डोजमा मिसाएर इ–जुस बनाई इ–भ्यापिङ लिने र बिस्तारै कटौती गर्दै जाने नीति अवलम्बन गर्न सकिन्छ । तमाखुको तलतल मेट्न भने खुदोजस्तै गुलियो दिने पदार्थ, सुर्तीको झोलसहित इ–जुसमा प्रयोग गरी इ–भ्यापिङमार्फत पूरा गर्न सकिने अवस्था रहने भयो ।

संसारमा आज उपभोक्ताले चाहेको स्वाद र नशा अनुरूप आफै आफ्नो मडमा इ–जुसको रिफिल गर्न सकून् भनी बजारमा सयौंथरीका इ–जुस कन्सन्ट्रेड उपलब्ध छन् । इ–भ्यापको माग बढिरहेको सन्दर्भमा घरमै इ–जुस कन्सन्ट्रेड बजारमै उपलब्ध हुने बेस लिक्विडसँग मिसाएर आफूले चाहेको फ्लेवर बनाई सेवन गर्ने मिल्ने गरी विकल्पको व्यवस्था गरिएको छ । पछिल्लो समय यो विकल्प चेन स्मोकरहरूले बढी रूचाएको पाइएको छ । यो विकल्पले तपाईं कुन फ्लेवर चाहनुहुन्छ, त्यो पनि तपाईंले नचाहेको एडिटिभसबिना तपाईंले चाहेकै स्ट्रेन्थ (कडापन)मा निकोटिन मिसाएर वा नमिसाईकन पिउन सक्ने छनोट उपलब्ध गराउँछ ।

वास्तवमा इ–भ्याप कुनै रकेट साइन्स प्रविधि होइन । जसरी पहिलेपहिले हाम्रो गाउँघरमा हुक्का–तमाखु र बिँडी बनाएर खाइन्थ्यो, त्यस्तै इ–भ्याप  प्रविधि पनि कालान्तरमा घरेलु फुड फ्लेवर प्रयोग गरी आफ्नै घरमा प्रयोग गर्न सकिने अवस्था आउँछ । तत्कालका लागि ख्याल गर्नुपर्ने कुरा के छ भने घरेलु फुड फ्लेवर इ–भ्यापको रूपमा लिनु हानिकारक छ वा छैन, त्यसबारे प्रयोगको लामो अनुभव हामीसँग छैन । त्यसैले अलि सतर्क रहनु जरुरी हुन्छ ।

औद्योगिक रुपमा फ्लेवरिस्टहरुले बनाउने फुड फ्लेवरमा भने हानिकारक कम्पोनेन्टहरूलाई डिस्टिलेसनबाट हटाउँछन् र इ–भ्यापका लागि कच्चा पदार्थ तयार गरी इ–जुस बनाउने गर्छन् । खानाले मानव स्वास्थ्यमा पुर्याउने जोखिम अनुसन्धानसँगै उपभोगको नतिजा धेरै विश्वासयोग्य रहने हँुदा समयक्रममा सेवनको अनुभवका आधारमा इ–भ्यापिङको स्वस्थ विकल्प घरघरमै उपलब्ध भएपछि मात्र इ–जुसको घरेलु उत्पादन सम्भव हुने देखिन्छ ।

समग्रमा हेर्दा इ–भ्याप पूर्ण स्वास्थ्यबर्धक होइन कि परम्परागतको धूमपानभन्दा कम हानिकारक विकल्प मात्र हो । धूमपानको लत लागेकाहरूलाई डोज घटाउँदै लगेर अन्त्यमा छुटकारा दिलाउने सजिलो तरिका पनि हो, इ–भ्याप । सबैले मनन गर्नुपर्ने कुरा चाहिँ इ–भ्याप भर्खरै मात्र संसारभर ठूलो स्केलमा प्रयोगमा आइरहेकाले परम्परागत धूमपानको जस्तो यसबाट अन्य के कति अल्पकालीन र दीर्घकालीन बेफाइदा छन्, त्यसको यकिन हुन विश्वलाई निकै लामो समय लाग्न सक्छ ।

इ–भ्याप कसरी बन्छ ?

इ–भ्यापमा झन्डै ९० प्रतिशत प्रोपाइलिन ग्लाइकोल हुन्छ । यो खानासँग खान र मुखबाट लिने पफ औषधि समेत बनाउन सुरक्षित मानिएको सेन्थेटिक झोल हो । दमरोगीले प्रयोग गर्ने इन्हेलर र रगतमै दिइने डायाजिपामजस्ता औषधि र खानामा हालिने फ्लेवरमा शताब्दियौंदेखि यसको प्रयोग हुँदै आएको छ । ई–जुसमा प्रोपाइलिन ग्लाईकोलका अलावा भेजिटेबल स्रोतबाट बनाइएको ग्लाइसिरिन र सामान्यतया खानका लागि सुरक्षित भनी सिफारिस गरिएका कच्चा पदार्थ मिसाएर बनेको फ्लेवरबाट बनेको हुन्छ । परम्परागत धूमपानमा धुवाँलाई फोक्सोसम्म पुर्याइने तर इ–भ्यापिङमा तरल पदार्थको बाफको सेवन हुने हुनाले क्यान्सरलाई उत्प्रेरित गर्ने कार्सिनोजिन पदार्थ इ–भ्यापिङमा कम हुने ठानिन्छ ।

निकोटिनयुक्त इ–भ्याप लिँदा निकोटिनको असर शरीर र दिमागमा पर्नु स्वाभाविकै हो । तैपनि इ–भ्यापमा धुवाँ नहुने हुँदा सुर्तीजन्य चुरोट, तमाखुमा जस्तो फोक्सोसम्म पुगेको निकोटिनको मिश्रणभन्दा धेरै कम हानिकारक हुने मानिएको छ । उदाहरणका लागि सुर्तीजन्य चुरोटले रगतमा सेतो रक्तकोष बढाउने समस्या इ–सिगरेटमा देखिन्न । चुरोट सेवनले रगतमा बढ्न जाने निकोटिन र कोटिनिनको लेबल इ–सिगरेटमा कम पाइएको छ ।

सुर्तीजन्य चुरोटमा साँच्चैको धुवाँ मुख र फोक्सोमा पुग्ने तर इ–भ्यापमा बाफ वा भ्यापर मुख हुँदै फोक्सोमा पुग्ने भएकाले सुर्तीको धुवाँका कारण हुने दम लगायतका रोग इ–भ्यापमा तुलनात्मक रूपमा कम हुने मानिन्छ । साथै इ–भ्यापबाट चुरोटको धुवाँले जस्तो घरपरिवार र सँगै रहेको अन्य व्यक्तिमा असर कम हुने भनिएको छ ।

सामान्यतया सुर्तीको निकोटिनसहित डिजाइन गरिएको इ–लिक्युड वा इ–जुसमा निकोटिनको मात्रा २० माइक्रोग्राम प्रति मिलिलिटर राख्ने गरिन्छ । बच्चालाई हानि पुर्याउन निकोटिनको मात्रा १० माइक्रोग्राम काफी हुन्छ भने जवान एवं बूढाबूढीका लागि ३०–६० माइक्रोग्राम प्रति एमएल । त्यसैले उक्त इ–लिक्युड बच्चाहरूले भेट्न नसक्ने गरी राख्न सल्लाह दिइन्छ । त्यस्तै, प्रयोगकर्ताले यसलाई छालामा लाग्न दिनु र सुर्तीजस्तो सीधै सेवन गर्नु पनि जोखिमपूर्ण हुनेछ ।

इ–भ्यापिङ मड वा लाइटर

बजारमा पाइने इ–सिगरेटका मड कुनै कमसल त कुनै गुणस्तरीय हुन्छन् । कमसल प्रकृतिका मडका तरल इ–जुसलाई तताएर बाफ बनाउने हिटिङ क्वाइल राम्रा छैनन् भने इ–जुसको सेवन गर्दा फलाम गनाएजस्तो मेटालिक स्मेल दिन्छ । कतिपय फ्लेवर कम्पनीले इ–जुसलाई जुसिपन दिनका लागि र बाफ राम्रो कुहिरो बनोस् भन्नाका खातिर ट्राइएसिटिन नामक मानिसका लागि सुरक्षित मानिएको कम्पाउन्ड एडिटिभका रूपमा प्रयोग गर्छन् । त्यसले पूरै इ–जुसमा ताजापन दिने काम गर्छ ।

हिटिङ क्वाइल खराब भएको इ–लाइटर पर्यो भने यसले ट्राइएसिटिनलाई प्लास्टिक जस्तो पगालेर बिगारिदिने गर्छ र पूरा इ–भ्यापको मज्जा नै कम्प्रोमाइज हुन जान्छ । तमाखुमा जस्तै गुलियोपन दिन कतिपय अवस्थामा फ्लेवरमा सुइटनरका रूपमा सुक्रालोज राखिन्छ । खराब क्वाइलले सुक्रालोजजस्ता पदार्थलाई डढाइदिन्छन् । कहिलेकाहीँ इ–जुसमा हल्का कलर दिनका लागि क्यारामेल कलर हालिएको हुन सक्छ । जुन धेरै पोलियो भने क्वाइलमै यस्तोसँग टाँसिन्छ कि यसले पोलिएजस्तो गन्ध मात्र थपिदिने होइन, क्वाइल नै बिगारी मडलाई नै काम नगर्ने बनाइदिन सक्छ ।

इ–भ्याप फ्लेवरिङबारे

इ–भ्यापको सबैभन्दा महत्वपूर्ण कच्चा पदार्थ भनेकै यसमा प्रयोग हुने फ्लेवर हो । सेन्थेटिक र नेचुरल दुवै कच्चा पदार्थ प्रयोग गरी बनेका नेचुरल, नेचुरल र आर्टिफिसियल मिसिएको अनि आर्टिफिसियल गरी तिन प्रकारका फ्लेवर इ–जुसमा हाल्ने गरिएको छ । मूलतः फुड तथा फ्लेवर सम्बन्धमा विषय विज्ञता हासिल गरेका केमिस्ट वा खाद्य वैज्ञानिकहरूको विशिष्ट ज्ञानको उपज हुन् फ्लेवर । फ्लेवरका विज्ञहरूले प्रयोगशालामा अमेरिकी गैरमुनाफामुलक संस्था फिमाले सामान्यतया मानिसको खानामा हाल्ने प्रयोजनका लागि सुरक्षित भनी प्रमाणित गरेका कम्पाउन्ड मिलाएर फ्लेवर बनाउँछन् । हाल फ्लेवरिस्टहरुले प्रयोगशालामा तपाईंले जे चाहनुहुन्छ, त्यही फ्लेवर बनाउन सक्ने स्थिति छ ।

प्रयोगशालामा बनेका विभिन्न फ्लेवरमध्ये मडको प्रयोगबाट सीधै इ–भ्यापमा परिवर्तन गर्न सकिने इ–जुस तोकिएको कन्सन्ट्रेसनको सीमा (थ्रेसहोल्ड) ननाघ्ने गरी इ–भ्यापका लागि बजारमा फ्लेवर पुग्छन् । खानका लागि सुरक्षित तर भ्यापका लागि भने अति नै जोखिमपूर्ण देखिएका कतिपय फ्लेवरका इ–जुसमाथि बजारमा प्रतिबन्ध लगाइएको छ । यति हुँदाहुँदै पनि बजारमा नपत्यारिलो ढंगले इ–भ्यापको माग अत्याधिक बढेकाले एकैपटक धेरै फ्लेवरका इ–जुस बजारमा देखापरेका छन् । संसारभर नै आज कति प्रकारका र कस्तो जोखिमका इ–जुस छन्, सोको यकिन र नियमन लगभग असम्भवप्रायः बनेको अवस्था छ ।

इ–भ्यापबारे केही सावधानी

यदि इ–भ्यापिङपछि छाती वा घाँटी पोल्ने, चिलचिलाउने वा खोकी लाग्ने लक्षण छ भने त्यो फ्लेवर प्रयोग नगर्नुस् । बजारमा पाइने प्रायः फ्लेवरको फर्मुला प्रोपाइटरी वा गोप्य हुन्छ । त्यो उपभोक्तालाई उपलब्ध गराउने सुविधा लगभग छैन । तैपनि प्रायः कम्पनीले सोधेको अवस्थामा ग्राहकको स्वास्थ्यलाई ध्यान दिई व्यक्ति विशेषका स्वास्थ्यको हिसाबले जरुरी हुन सक्ने तोकिएको कम्पाउन्ड इ–जुस फ्लेवरमा छ वा छैन ? सोधिएको अवस्थामा भनिदिने पनि गर्छन् । सामान्यतया इ–भ्यापका पारखीलाई इ–जुस फ्लेवरमा तल दिइएका कम्पाउन्ड भएको अवस्थामा सकेसम्म निषेध गर्न संसारभरि नै सल्लाह दिइँदै आएको छ ।

१) डाइएसिटाइल बटर फ्लेवरमा पाइने कम्पाउन्ड हो । दूधको बटरमा प्राकृतिक रूपमै डाइएसिटाइल हुन्छ । यदि कुनै फ्लेवरमा यो प्राकृतिक रूपमा होइन कि फ्लेवर कम्पाउन्डिङका क्रममा अन्यत्रबाट पछि मिसाइएको छ भने त्यसलाई एडेड डाइएसिटाइल भनिन्छ । एडेड डाइएसिटाइलले फोक्सोलाई हानि गर्छ ।

२) एडेड एसिटोइन भ्यापराइजेसन प्रक्रियामा डाइएसिटाइलमा परिवर्तन हुने हुँदा यो पनि निषेध गर्नु राम्रो हुन्छ ।

३) एडेड एसिटाइल प्रोपोनायलको असरबारे मुसामा गरिएको परीक्षण शंकास्पद पाइएकाले यसलाई पनि निषेध गर्नु बुद्धिमानी मानिन्छ ।

४) कौमारिन भन्ने कम्पाउन्ड क्यासिया, सिनामन र अन्य बिरूवामा पाइन्छ । यसले मिर्गौलामा पार्ने असरका कारण खानामा प्रयोग गर्न प्रतिबन्ध छ । तैपनि यो टोबाको फ्लेवरमा मज्जैले प्रयोग हुने गर्छ र हालसम्म निषेध समूहमा छैन । त्यसैले यसको निषेध गर्नु बुद्धिमानी हुनेछ ।

५) एसिटिक एसिडले आँखा, छाला र श्वासप्रश्वास नलीमा खसखस गराउँछ । अतः निषेध गर्नु राम्रो ।

६) आफूलाई राम्रो गरिरहेको छैन भने सस्ता भ्यानिला वा भ्यानिलिन प्रयोग गरिएका र फुडका सेन्थेटिक कलर हालिएका इ–जुस पनि निषेध गरिदिनु नै बुद्धिमानी हो ।

हाम्रो जीवनका प्रायः कुराका सकारात्मक र नकारात्मक दुवै पक्ष हुन्छन् । कुनै न कुनै खतरा वा बेफाइदा नभएका कुरा सायदै होलान् । निचोडमा भन्दा अन्य कुराजस्तै इ–भ्यापको पनि असल र खराब पक्ष छन् । प्रत्येक विषयवस्तुका फाइदा र बेफाइदाको हिसाबकिताब गरी अघि बढ्नु मानव जीवनको नियति नै बनेको छ ।

हामीले चाहे पनि या नचाहे पनि आज इ–भ्याप क्रेज संसारमै असामान्य रूपमा बढिरहेको छ । यसबाट नेपाली बजार पनि अछुतो छैन । संसारभर टोबाको युक्त र टोबाको रहित दुवै इ–भ्यापको प्रयोग ज्यामितीय हिसाबले यति तीव्र बनिरहेको छ कि १० वर्षभित्रै परम्परागत सिगरेट फ्याक्ट्रीहरूलाई यसले पूर्ण रूपमै विस्थापित गर्ने लक्षण देखिएको छ । मानव कल्याणका लागि यो एक कोशेढुंगा सावित होस् ।

लेखक नारायण घिमिरे क्यानेडियन फुड साइन्टिस्ट एवं सर्टिफाइड फ्लेवरिस्ट हुन् । ३ वर्षयता उनले ३ सयभन्दा बढी इ–जुस फ्लेवरको अनुसन्धान र विकासमा संलग्न भएका छन् । narayanghimire@yahoo.com

 

WRITE COMMENTS FOR THIS ARTICLE