मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

भ्यालेन्टाइन र आयुर्वेदिक प्रेम

नारायण घिमिरे

भनिन्छ, अन्तरात्माबाट पैदा हुने रोमान्टिक प्रेम र आफूले मन पराएको मान्छेसँगको रासलीलाले दिने आनन्दभन्दा ठूलो अनुभूति अरु कुनै छैन । जब मानिस प्रेमविभोर बन्छ, उसका चेतना जीवन्त बन्छ । वरिपरिका वातावरण सुखदायी बन्छ, रङहरु प्रकम्पित बनिदिन्छन्, सँगै खाएको खानेकुरा अत्यन्त मीठो र स्वादिलो बनिदिन्छ । सँगै बसेको प्रेमीको मुटुले सामीप्य दर्शाएको, रौं–रौं रोमाञ्चित बनेको, देखिएका र नदेखिएका सबै कुरा ठीकठाक रुपमा चल्दै वातावरण नै रंगीन बनेको अनुभव हुन्छ । सबैभन्दा सकारात्मक पाटो उक्त रोमान्टिक प्रेम वास्तवमै हानिरहित इलेक्ट्रो–म्याग्नेटिक सम्मोहनको पल बनेको हुन्छ ।

आयुर्विज्ञान वा आयुर्वेद भनिने संस्कृत शब्द ‘आयुर’ र ‘वेद’ भन्ने दुईवटा शब्दबाट बनेको छ । त्यसमा आयुर शब्दले जीवन र दीर्घायुलाई जनाउँछ भने वेदले ज्ञान र विज्ञान दुवै समेट्छ । मानिसको जीवनलाई दीर्घ आयुसम्म स्वस्थ र तन्दुरुस्त राख्न प्रेम र प्रियजनको निकै ठूलो भूमिका हुनेमा कुनै सन्देह छैन । हाम्रो परम्परागत मान्यता अनुरुप आफूले अर्कालाई प्रेम गर्नु वा आफू अर्कोसँग प्रेममा पर्नु, आफूलाई अर्काले प्रेम गर्नु वा अर्को आफूसँग प्रेममा पर्नु र दुवै एकअर्कासँग प्रेममा पर्नुको प्राकृतिक नियम हुने गर्छ ।

प्रेममा प्राकृतिक नियमको सिद्धान्त भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्न सक्छ । कुनै पनि कुरामा प्राकृतिक नियमको सिद्धान्त लागु हुनु पहिले त्यो विषयवस्तु परीक्षण गर्न सकिने विज्ञानको दायरामा पर्नु जरुरी हुन्छ । विज्ञानको दायरामा परेपछि उक्त विषयवस्तुको कुनै पनि सम्भावना प्रमाणित गर्न बनाइएको हाइपोथेसिसको परीक्षणमार्फत यकिन भए मात्र वैज्ञानिक रुपमा निर्क्योल भएको मानिन्छ ।

हिजोसम्म संसार न्युटन र आइन्सटाइनको जमानामा थियो । तपाईं हामीलाई स्कुलमा पढाइँदै गरेको विज्ञानको पाठ्यक्रमले भन्छ– न्युटनको सिद्धान्तअनुसार यो ब्रह्माण्डका प्रत्येक चिज कुनै निश्चित तौलको कण -मास) बाट बनेको हुन्छ । जब त्यो कणले बाहिरी शक्ति (फोर्स) प्राप्त गर्छ, त्यो जुन दिशामा शक्ति लागेको हो, त्यही दिशामा सीधा रुपमा निश्चित गतिमा बहन्छ । जहाँ पदार्थको मास अपरिवर्तनीय हुन्छ ।

आइन्सटाइनको जमानामा पुग्दा लाइट, रेडियो वेब, लेजरजस्ता शक्ति इलेक्ट्रो–म्याग्नेटिक पथ लिने भेटियो । परीक्षणबाट न त पदार्थको मास अपरिवर्तनीय भेटियो, न जुन दिशामा शक्ति लागेको हो, त्यही दिशामै बहेको पाइयो, न त पदार्थ सबै समयमा बताइए अनुरुप सोझो हिँडेकै देखियो । अर्को कुरा ब्रह्माण्डका प्रत्येक चिज कुनै निश्चित मासबाट बनेको हुन्छ भन्ने पनि गलत रहेछ । किनकि यो ब्रह्माण्डको लगभग ३० प्रतिशत भूभागमा मात्र यो लागु हुने रहेछ । बाँकी लगभग ७० प्रतिशत भाग त मासविहीन ‘डार्क स्पेस’ पो रहेछ ।

बेलले सन् १९६४ मै प्रतिपादित गरिदिएका यो ब्रह्माण्डमा रहेका सम्पूर्ण वस्तु एकापसमा जोडिएर रहेका मात्र हैनन्, नियमित सम्पर्कमा रही सूचना आदानप्रदान गर्छन् भन्ने भर्खरै पार्टिकल इन्ट्याङल्मेन्टको अवस्था परीक्षणबाटै प्रमाणित गरी स्थापित गरिदियो । फलतः आइन्सटाइनको सबैभन्दा तीव्र गतिमा हिँड्ने शक्ति प्रकाश हो भन्ने दाबी पनि सत्यताको नजिक नरहेको पुष्टि भयो ।

पछिल्लो समय अहम् वैज्ञानिक तथ्य बाहिरिएसँगै क्वान्टम सिद्धान्तले विश्वलाई आध्यात्मिक विषयवस्तुका पाटाको विज्ञानसँगको सम्बन्धबारे जानकारी पाउने अवसर दिलाएको छ । दिमागबाट निस्कने विशुद्ध विचारधारा कसरी वास्तविक पदार्थमा परिवर्तन हुन सक्छ र मानव सोचाइ, अनुभूति, आकांक्षा, सचेतना, चाहना र प्रतिक्रिया आदि अभौतिक पदार्थ कसरी भौतिक पदार्थमा परिणत हुन सक्छ भन्नेबारे क्वान्टम फिजिक्सले हामीलाई नयाँ शिराबाट सोच्न सम्भव तुलाएको छ ।

हुन पनि यो भ्यालेन्टाइन दिवसको सँघारमा पुग्दा नपुग्दै हामीलाई नयाँ तथ्यहरुले प्रेम सम्बन्ध, प्रेमालाप र प्रेम जस्ता विषयवस्तुबारे समेत अनुसन्धान र विश्लेषण सैद्धान्तिक सूत्रहरु प्रतिपादन गर्ने अवसर जुटाइदिएको छ । हाम्रा भौतिक शरीर अणु  (एटम) हरुको भण्डार हो भने बुद्धि (माइन्ड) सोचाइहरुको भण्डार । दुई भण्डारलाई हामीमै रहेको चेतना (इन्टेलिजेन्स) नामक अभौतिक पदार्थले संयोजनको काम गरी जीवन निरन्तर चलिरहेको रहेछ भन्ने प्रस्ट स्वीकारोक्ति हो ।

न्युटन र आइन्सटाइनको जमानामा विज्ञानलाई मात्र व्यावहारिक विज्ञानमा सीमित राखिएकाले प्रेमजस्ता भावनात्मक विषयवस्तु र आध्यात्मिक विषयवस्तु महसुस गर्ने गरे तापनि विज्ञानको दायराबाहिरको भावनात्मक / हेलुसिनेसन को क्षेत्र भनी मिल्काइयो । आज नानो–टेक्नोलोजीसम्म पुगेको विज्ञानले सुझाएअनुरुप जीवित र निर्जीव रहँदा प्राणीको कोषिकामा पाइने अणु र अणुको फुटप्रिन्टमा खासै कुनै अन्तर भेटिँदैन । यथार्थमा भने जीवित कोषिकाले मृत कोषिकाभन्दा सम्पूर्ण रुपमै फरक गतिविधि सम्पादन गर्ने गर्छ । यस सन्दर्भमा भावनात्मक विषयवस्तु र अध्यात्मलाई विज्ञानबाट छुटाउन सकिन्न भन्ने आदिकालदेखिको आयुर्विज्ञानको परिकल्पना सत्यताको धेरै नजिक देखिन्थ्यो ।

आज जमाना फेरिएको छ । न्युटनका कतिपय सिद्धान्त नै त्रुटिपूर्ण रहेको र आइन्सटाइनको सिद्धान्त अपूर्ण भएको क्वान्टम विज्ञानले यकिन गरिदिएको छ । क्वान्टम विज्ञानले मारेको फड्कोले बायोटेक्नोलोजी मात्र हैन, प्रेम सम्बन्धजस्ता भावनात्मक विषयवस्तु र अध्यात्मसमेत वैज्ञानिक रहेको प्रचुर तथ्य भेटिएको दिनप्रतिदिन खुलासा हुँदै गएको छ । प्रमाण र तर्कका आधारमै विज्ञानको दशकौंको दाबी अदूरदर्शी रहेको स्वीकारोक्ति बाहिर आउन थालेका छन् ।

मानव शरीर ३७.२ खर्बभन्दा बढी कोषिका मिली बनेको बताइन्छ । प्रत्येक कोषिका डीएनए आदिबाट बने पनि ती सबै सूक्ष्म रुपमा हेर्दा बिलियन्स एटमबाटै निर्मित हुन् । प्रत्येक एटम क्वार्ज, ग्लुवोन लगायतका विभिन्न अति सूक्ष्म पार्टिकलले बनेका, प्रोटोन र न्युट्रोनबाट बनेका हुन्छन् । इलेक्ट्रोन र क्वार्ज, ग्लुवोन लगायतका सूक्ष्म पार्टिकल निकै सानो सानो इनर्जीका संयोजनले बनेका विन्दु हुन् । यस्ता विन्दुहरू जसले हाम्रो शरीरभित्र इन्फर्मेसनको जालोको संयन्त्र बनाउँछ ।

मरेको र जीवित कोषिकामा रहने फरक भनेको जीवित कोषिकामा ती सानासाना इनर्जीका विन्दुहरुलाई एक अनौठो प्रक्रियाबाट निश्चित हार्मोनीमा सञ्चालन गर्ने इनर्जीको उपस्थिति रहन्छ । यसलाई आयुर्वेदमा जीवन्त शक्ति (वायु वा प्राण वा लाइट) भनिन्छ । क्वान्टम फिजिक्सले यसलाई इन्फर्मेसन भन्ने गरेको छ । जीवन्त शक्ति गुमेपछि कोषिकाको जीवन अन्त हुन्छ ।

क्वान्टम बडी मेकानिक्सका अनुसार प्राणीको शरीरको प्रत्येक कोषिका एउटा छुट्टै अस्तित्वको जीवन हो । साबुनका फोकाजस्ता लाग्ने यस्ता खर्बौं सूक्ष्म जीवनहरुको सग्लो रुप नै प्राणीको शरीर हो । शरीरका प्रत्येक सेलको अर्को सेलसँग भौतिक रुपमा जोडिएर सूचना र मेमोरी आदानप्रदान हुने संयन्त्र एवं न्युरोनको नेटवर्क बनाएको हुन्छ । न्युरोनले शरीरभित्र आपसमा जोडिएर रहेका जीवित पदार्थहरुबीच सूचनाको आदानप्रदान गर्ने गर्छ ।

शरीरसँग कुनै पनि रुपमा नजोडिएको सोचाइ, विचार, इमोसन, शारीरिक प्रतिक्रिया, डार्क म्याटर्स आदि निर्जीव तत्व, जसलाई न पदार्थ भन्न सकिन्छ, न त शक्ति नै, लाई शरीरमा जोडी निर्जीवलाई सजीवसँग जोडी जीवन्त गर्ने काम इन्फर्मेसन वेब (संयन्त्र) ले गर्छ । इन्फर्मेसन वेबले इलेक्ट्रो–म्याग्नेटिक संसर्गको प्रक्रियाबाट न्युरोन आदिलाई सञ्चालित गरी मानिसलाई जीवन्त राख्ने काम समेत गर्छ । यसलाई बोलीचालीको भाषामा इन्टेलिजेन्स वा जैविक चेतना पनि भन्ने गरिन्छ ।

वेदान्तका कुरा सरलीकृत भाषामा भन्दा संसार दुई प्रकृतिका चिज ‘परा र अपरा’ को संयोगबाट बनेको छ । परा भनेको जैविक चेतना हो । जुन प्राणी र वनस्पति दुवैमा हुन्छ । अपरामा पाँच स्थुल तत्व पृथ्वी, जल, आकाश, तेज र वायु तथा तीन सूक्ष्म तत्व मन, बुद्धि र अहंकार पर्छन् । स्थुल शरीर भनेको भौतिक शरीर हो जुन अपरा प्रकृतिको पृथ्वी, जल, आकाश, तेज र वायुबाट बनेको छ । हामीमा रहेको चेतनाको कारण नै हामीले पदार्थलाई देख्न वा महसुस गर्न सक्छौं । जुन चिजमा ईश्वरीय तत्व तथा चेतना छ, त्यो परा अर्थात् मेटाफिजिकल हो । परा भन्नाले वास्तवमा आत्मालाई नै भनिएको हो ।

संसारमा जीव र पदार्थ एकअर्कोबिना अलग अलग अस्तित्वमा रहन सक्दैनन् । जीव र पदार्थसँग ईश्वरीय तत्व वा जैविक चेतना मिलेपछि प्राणी जीवित रहन्छ । आदिमकालमै वेदान्तले भनेका यी कुरा क्वान्टम मेकानिकल बडीका नयाँ मान्यताले भरखरै पुष्टि हुन आएका नयाँ तथ्य भनी दोहोर्याइरहेको छ ।

मानव शरीरमा इन्टेलिजेन्स वास्तविक शरीरको न्युरोन आदि म्याटर्सभन्दा धेरै महत्वपूर्ण हुने गर्छ । किनकि इन्टेलिजेन्सले म्याटर्सलाई निश्चित हार्मोनीमा सञ्चालन गर्छ । जब उक्त हार्मोनी टुट्छ, मानिसको इहलीला समाप्त हुन्छ ।

हाम्रा खानामा रहेको फाइटोकेमिकल्स, मिनिरल्स, भिटामिन आदिमार्फत नै शरीरभित्र सूचनाको आदानप्रदान हुने गर्छ । इन्टेलिजेन्सले वातावरणसँग नियमित सूचना आदानप्रदान गर्ने क्रममा दुई प्रेमीबीच शरीरबाट निक्लने विभिन्न किरण लगायत ननभर्वल बडी ल्याङ्वेज, आराम वा तनावका कारण उत्पन्न वेबको अनुभूति आदि समेतको निक्र्याेल गरी आन्तरिक चेतन, अर्धचेतन र अचेतन अनुभूति गराउने क्षमता राख्छ ।मानव शरीरको इन्टेलिजेन्सले आफ्नो वातावरणसँग नियमित सूचना आदानप्रदान गर्ने गर्छ ।

आयुर्वेदको इन्टेलिजेन्स, मेमोरी र कन्ससनेसबारे आफ्नो प्रस्ट धारणा छ । इन्टेलिजेन्स र मेमोरीबारेको आयुर्वेदको अवधारणा र क्वान्टम बायोफिजिक्सले अघि सारेको तथ्यमा खासै फरक भेटिँदैन। कन्ससनेसबारे भने बायोफिजिक्सलाई निष्कर्षमा पुग्न निकै समय लाग्ने देखिन्छ । समय क्रममा आज आयुर्विज्ञान वा आयुर्वेद सत्यताको निकै करिब रहेको पुनर्पुष्टि  भएको छ । क्वान्टम विज्ञानमा आधारित रहेर प्रेमसम्बन्ध, मनोविज्ञान र अध्यात्मबारे अध्ययन, अनुसन्धान, विश्लेषण र निचोडमा पुग्ने हदसम्म पुग्न हामी सफल बनेका छौं ।

भ्यालेन्टाइन डे आसपास विज्ञानले गरिदिएको व्याख्याका प्रभावमा परी बस्न जाने प्रेमलाई ‘प्रेम’ र आयुर्विज्ञानले व्याख्या गरिदिएको प्रेमको प्रभावमा परी बस्न जाने प्रेमलाई यहाँ ‘आयुर्वेदिक प्रेम’ को संज्ञा दिइएको छ ।

आयुर्वेदिक प्रेममा अन्तरात्माले कसैलाई माया गर्नु वा आफूले कसैको अन्तरात्मादेखिकै माया पाउने मानिसको आफ्नै ढर्राको मानवीय गुण हो भन्ने मान्यता रहेको छ ।

मानिसको आफ्नै प्रकारको अजीव प्राकृतिक गुण हुँदाहुँदै प्रेममा परेका आजका दुई तिहाइभन्दा धेरै मानिस भरपर्दो प्रेम सम्बन्धको खोजीमा रुमलि रहेका पाइन्छ। भनिन्छ दुई तिहाइभन्दा धेरै नै संख्यामा प्रेम सम्बन्धमा रहिरहेका मानिसहरु आफ्नै प्रेम वा प्रेमीसँग नियमित संघर्षबाट गुज्रिरहेका छन् ।

प्रेम सम्बन्धले आफूलाई पासोमा पारेको, आफ्नो प्रेमीले आफूलाई विश्वास नगरेको, आफ्नो योगदान र भावनालाई टुक्राएको, आफ्ना सही र वास्तविक प्रस्तुतिमा समेत सहमति नजनाएको, तारिफ नगरेको र सम्बन्ध सुधार गर्ने पटकपटकको प्रयासलाई आफ्नो कमजोरीको रुपमा लिई दुरुपयोग गर्न चाहेको आदि इत्यादि महसुस गरिरहेको भेटिन्छन् प्रेमीहरु ।

वैज्ञानीक प्रेम सम्बन्धको खोजीमा रहेका कतिपयमा वर्षौं बितिसक्दा पनि र निकै प्रयासका बाबजुद आफू सुहाउँदो योग्य प्रेमी नै मिल्न नसकी एकल जीवन बिताउनु परिरहेको महसुस भइरहेको पाइन्छ ।  आफूभन्दा कमसल र कम डिजर्भिङले लभिङ, केयरिङ र पूर्ण सहयोगी आकर्षक प्रेमी भेटी आनन्दित जीवनयापन गरिरहेका छन् । तर किन आफूलाई भने उक्त सन्दर्भमा अन्याय भएको छ भन्ने बिश्वाशले वैज्ञानिक प्रेमको निरन्तर खोजीमा रहेकाहरुको मनमा डेरा जमाएको भेटिनु अब कुनै आश्चर्यको विषय नै रहेन ।

आफूलाई सुहाउने योग्य प्रेमी भेट्नै धेरैभन्दा धेरै मानिसलाई निकै संघर्ष गर्नुपर्ने र कतिपय अवस्थामा राम्रो प्रेमी मिलेको अनुमानमा सुरु गरेको सम्बन्ध पनि लामो समयसम्म नटिक्नुका  कारणहरुमा  माया, प्रेम, यौन सम्बन्ध र मनोविज्ञान विषयका ज्ञान लिएका विज्ञहरुको लगभग समान प्रकृतिको धारणा भेटिने गर्छ । प्रेम सम्बन्ध हुनु, गाँसिनु र टुट्नुबारे  सोधपुछमा पछिल्तिर एकापसमा मिल्दोजुल्दो क्षेत्रमा काम गर्ने तर भिन्दाभिन्दै विषय विज्ञहरुको लगभग उस्तैउस्तै धारणा आउनुलाई संयोग मात्र मान्न सकिन्न ।

विषय विज्ञहरुका धारणा अनुसार, मानिस प्रायः आफ्नो निजी चाहना कस्तो छ, त्यसै अनुसार अमूक रुपमा आफू को हुँ र आफूले कस्तो प्रेमी डिजर्भ गर्छु भन्ने आफ्नो चुरो मान्यता विकास गर्छन् । यसरी आफूले आफूलाई नै बताएर, आफूले के चाहेको हो, त्यसअनुरुप विकास गरिएको मान्यतामा टेकेर म कस्तो प्रेमी डिजर्भ गर्छु भनी बनेको वैयक्तिक मापदण्डले धेरै हदसम्म प्रेम सम्बन्धको भविष्य निर्धारण गर्छ ।

‘केटाजति सबै मौका मिल्यो कि अर्को केटीको पछि लाग्ने र बदमासी गर्ने बानीका हुन्छन्’ वा ‘आइमाईको मनलाई कसैले पनि बुझ्न सक्दैन, यो जात विश्वास गर्न लायक जात नै हैन’ आदि इत्यादि नकारात्मक विचार मनमा खेलाइरहने बानीले मानिसको अर्धचेतन मस्तिष्कमा बिस्तारै बिस्तारै विपरीत लिंगीप्रति घृणाभावको जरा बसालिदिन्छ ।

कतिपय सैद्धान्तिक कुरा मात्र बुझेका वा भारतीय र अंग्रेजी फिल्म हेरी आफ्नो धारणा बनाउने महिला–पुरुषमा साँचो प्रेमीले जादुको छडीले जस्तो सबै कुरा आफू अनुकूल गरिदिने चेतन, अर्धचेतन र अचेतन विश्वास र गहिरो प्रभावको विकास गरिदिएको भेटिन्छ ।

परिणामस्वरुप उनीहरुको प्रेम सम्बन्धको यात्रा सुरु के हुँदै छ, सोचेका वा आशा गरेका कुनै पनि कुरा आफ्नो कहानीमा वास्तवमै नभइरहेको महसुस गर्छन् । जब आफ्नो प्रेमीको आशा गरिएको मापदण्डको कसौटीमा भइरहेका कुनै पनि कुरा सन्तोषजनक भेटिन्नन् वा मात्र अल्प समयसम्म मात्र पूरा हुन्छ, तब उक्त प्रेम नै साँचो नरहेको र भविष्यमा उक्त प्रेमीबाट वास्तवमै डिजर्भ गर्ने माया पाउनबाट आफू वञ्चित रहने निश्चित भएको निष्कर्षमा पुग्छन् ।

फलतः प्रेम कि त अघि नै बढ्दैन वा अलिअलि अघि बढिसकेको रहेछ भने पनि पूर्णविरामतर्फ लम्कन्छ । विषयविज्ञहरुबाट विज्ञानका आधारमा निकालिएका माथिका निचोडलाई आयुर्वेदिक प्रेमको निष्कर्षले समेत स्वीकार्ने गर्छ । आयुर्वेदिक प्रेमको हिसाबमा यी तर्क सही छन् तर पूर्ण छैनन् । जब तर्क सही हुन्छ तर पूर्ण हुँदैन, त्यसले अल्प ज्ञानं भयंकरं भनेजस्तो उपचारका लागि सही मार्गमा डोहोर्याउन सक्दैन ।

क्वान्टम फिजिक्सका अनुसार मानव शरीर प्रत्येक क्षणमा भिन्दाभिन्दै गतिमा तरंगित हुने इनर्जी निर्मित गतिशील अणुबाट बनेको हुन्छ । फाइटोकेमिकल्स, मिनिरल्स, भिटामिन आदि संगको कार्यगत हार्मोनीमा रहने खाना बाट प्राप्त हुने पोषण तत्वो जस्तै एमिनो एसिड निर्मित न्युरोपेप्टाइड नामक प्रोटिन र यसको न्युरो केमिकलसहरुको प्रभावमा काम गर्ने तरिका यो संदर्बमा निकै अहम भेटिएको छ । वातावरणसँग नियमित संवाद कायम राख्ने हेतुले कोषिकामा जोडिएर रहने न्युरोपेप्टाइडले हाम्रो सरिर भित्र इनर्जी पैदा गर्ने र इनर्जीका किरण शरीर बाहिर बाताबरणमा वरिपरि पठाउन मुख्य भूमिका खेल्ने गर्छ । त्यसलाई बडी इनर्जी (शरीरको शक्ति) नाम दिइएको छ ।

मानिसले प्राप्त गरिरहेको भिन्दाभिन्दै प्रकृतिका अनुभूतिहरुले विकास गरेको भावनाअनुरुप न्युरोपेप्टाइडमा रहेको न्युरोकेमिकल्सको गतिविधिमा अन्तर आउने हुँदा  फरक फरक अवस्थामा शरीरबाट निस्कने किरणलाई भिन्न भिन्न फ्रिक्वेन्सीमा परिवर्तन हुने गर्छ।  फरक अनुभूति हुँदाका बखत फलतः शरीरमा फरक फरक इमोसन पैदा हुन्छ । फरक फ्रिक्वेन्सीका बडी इनर्जी रिलिज हुन्छ । फरक फरक फ्रिक्वेन्सीका बडी इनर्जीले फरक प्रकृतिको शरीरको औरा निर्माण गरिदिन्छ।

तेल तेलसँगै घुल्छ भनेजस्तै  अचेतन रुपमै पैदा हुने बडी इनर्जी र सामीप्यमा रहेको प्रेमीको बडी इनर्जीसँग फ्रिक्वेन्सी मिलेको अवस्थामा  एउतै ठुलो फ्रिक्वेन्सी  बन्दाको समयमा शरीर वास्तविक रुपमा रोमाञ्चित बनेको दुवैलाइ महसुश हुने र नमिल्दाका बखत वातावरण उत्साहजनक नहुने हुन सक्छ । त्यसलाई सामान्य बोलीचालीमा एकअर्काबीचको सम्बन्धमा हुने पोजेटिभ वा नेगेटिभ भाइवको रुपमा चित्रण गर्ने गरिन्छ ।

हामीले आफूलाई जुन इमोसनमा राखिन्छ, त्यसैअनुसार शरीरका रहेका न्युरोकेमिकल परिचालित भई बडी इनर्जी उत्पादन हुने आज क्वान्टम बडी मेकानिक्सले प्रमाणित गरिदिएको छ। आयुर्वेदिक प्रेमालापका लागि तपाईंले इच्छाए अनुरुपको सम्बन्धको विकास हुने गरी शरीरको एटमिक इनर्जी पैदा गर्न सकिने विकल्प उपलब्ध रहेको क्वान्टम फिजिक्सले इंगित गर्छ ।

यहाँ क्वान्टम फिजिक्सले इंगित गरेको चुरो कुरो के हो भने, आफू सुहाउँदो योग्य प्रेमीको खोजीमा सफल हुन सकारात्मक सोचमार्फत आफू को हो र कस्तो प्रेमी डिजर्भ गर्छु भनी अन्तरात्मामा ज्ञात–अज्ञात रुपमा विकास गरेको अमूक मापदण्डमा पुनरावलोकन जरुरी छ । त्यस्तो पुनरावलोकन जसले आयुर्वेदिक प्रेमको आधारभूत मान्यतालाई पूरा गर्ने गरी ती मापदण्डलाई उन्नत सम्झौताको उचाइमा पुर्याउन सकोस् ।

आयुर्वेदमा क्रिडाकार्यलाई सम्भोग भनिन्छ । समग्रमा सम्भोग के हो त भन्नेबारे रहेको वैज्ञानिक दृष्टिकोण र आयुर्वेदिक दृष्टिकोणमा रहेको विशाल खाडलले प्रेम र प्रेमालापबारेको दृष्टिकोणमा निकै ठूलो अन्तर निम्ताएको छ । सम्भोग प्राणी मात्रका लागि भगवान्को उत्कृष्ट उपहार हो भन्ने मान्यता राख्छ आयुर्वेदिक कामशास्त्रले । वैज्ञानिक दृष्टिकोणमा भने सम्भोग मनोरञ्जनको जैविक जरुरत मानिएको छ ।

वैज्ञानिक प्रेममा प्रेमालाप पूर्तिका लागि सेक्स टोय र सेक्स रोबोटको विकल्प समेत पर्याप्त हुने बुजिन्छ। आयुर्वेदिक दृष्टिकोणमा भने क्रिडाकार्यमा एकै वर्गका  प्राणीको (जस्तै मानिस – मानिस बीच) दुई आत्माको शारीरिक र मनोवैज्ञानिक मिलनको अनिवार्य जरुरत पर्दछ। सेक्स टोय र सेक्स रोबोट निर्जीव र सजीवबीचको को बिकल्प रहेकाले यो आयुर्वेदिक प्रेमालाप हुन सक्दैन ।

आयुर्वेदले प्रेमालापलाई इन्द्रीयगत आनन्दको अनुभूति गराउने, मनोवैज्ञानिक चरम सुख  र भावनात्मक सामीप्यता दिने र आपसमा उत्कृष्ट सम्मान अभिवृद्धि गर्ने माध्यमका रुपमा मनाउने गर्छ । वैज्ञानिक प्रेमको निचोडले प्रेमालापलाई शारीरिक सम्भोग, सम्भोगपश्चात् परिकल्पना गरिएको स्खलनको चरम सुखानुभूति र स्खलनसम्म पुग्न सहयोगी हुने गतिविधिसम्ममा मात्र सीमित गरिदिएको छ । वैज्ञानिक प्रेमको बुझाइमा गीत गाउनु, नाच्नु, खेल्नुजस्तै अमुर्त सन्तुष्टि  र मनोरञ्जनका लागि जरुरी हुने जैविक जरुरतको पूर्ति गर्ने माध्यम हो, रोमान्टिक प्रेम । समग्र सन्तुष्टिसँग अमुर्त सन्तुष्टि  र मनोरञ्जन समेत सम्बन्धित हुने हुँदा रोमान्टिक प्रेमले समग्र स्वास्थ्य र समृद्धिमा ठूलो भूमिका खेल्छ भन्ने मान्यता राख्छ वैज्ञानिक प्रेम।

आयुर्वेदका अनुसार ‘समयाका र भोग’  शब्द मिली सम्भोग बनेको हो । जसमा ‘समयाका’ को अर्थ ‘सन्तुलनको कायम’ हुन्छ भने ‘भोग’ को अर्थ इन्द्रीयमार्फत अनुभूति गरिने आनन्द र धन्य अनुभूति । आयुर्वेदले सम्भोगलाई दीर्घकालीन रुपमा दिमागी अवस्था, भावना र समग्र स्वास्थ्य प्राप्तिका लागि उपलब्ध जादुयी क्रिया या कस्मिक रोमान्स दिलाउने अवसर मानेको छ ।

पूर्ण आत्मसम्मान र स्वतन्त्रतासहित स्वसन्तुलित हुँदै वैचारिक शून्यतामा पुगेर लिइने दीर्घकालीन आनन्द र धन्य अनुभूति लिने एक माध्यम भनी आयुर्वेदले सम्भोगलाई पहिचान दिएको छ । आयुर्वेदिक सिद्धान्तअनुसार सम्भोगको अर्थ ‘डिले’ वा दीर्घकालीन र सन्तुलित स्वर्गीय आनन्द लिने क्रिया हो । अनन्तकालका लागि दीर्घकालीन र सन्तुलित स्वर्गीय आनन्दमा पुग्ने प्राणीको अवस्थालाई मोक्ष समेत भनिएको छ ।

अन्तरात्माले चाहेको, मृदुभाषी, मनैदेखि मन पराउने / सम्मान गर्ने, नैतिक मूल्यमा अडेको, स्वस्थ प्रेमको दायरामा रहने निश्चित रहेको, सहवासको इच्छा मनैदेखि जागृत भएकाले सोको स्वीकृति मागिरहेको प्रेमीसँग मात्र समान सहभागिता र सहकार्य हुने गरि स्वस्थ साझेदारीको सम्भोगका लागि तयार हुन सुझाउँछ आयुर्वेद। त्यो भनेको क्वान्टम बडी मेकानिक्सले सुझाए अनुरुपको प्रेमीसँगको संगतमा रहँदा चेतन – अचेतन रुपमै पैदा हुने बडी इनर्जी र सामीप्यमा रहेको प्रेमीको बडी इनर्जीको फ्रिक्वेन्सी पूर्ण रुपमा मिल्न पुगेको अवस्था हो । त्यसले आयुर्वेदिक प्रेमको सर्तलाई पूरा गर्ने लगभग निश्चित हुन्छ भन्ने मान्यता हो।

आयुर्वेदका अनुसार नैतिक यौनजन्य क्रियाकलापले मात्र सुख, दीर्घायु, यौनशक्ति प्रबर्धन, अनुहारमा आकर्षण र छालामा चमक थप्नुका साथै शारीरिक सुगठन, मनोवैज्ञानिक दक्षता अभिवृद्धि अनि शारीरिक, मानसिक र व्यावहारिक जीवनपद्धतिलाई सन्तुलित गर्छ ।

सेतो प्रकाशको किरणलाई प्रिज्मबाट छिर्न दिँदा प्रकाश इन्द्रेणी रङका विभिन्न किरणमा परिवर्तित हुन्छन् । किनकि सेतो प्रकाश भिन्दाभिन्दै वेभलेन्थ र रङका प्रकाशहरुको मिश्रण हो । जसरी विभिन्न रङ देखिने भिन्नभिन्न वेभलेन्थका प्रकाशहरुको समसंयोजन  हूँदा सेतो प्रकाश बन्छ, त्यसरी नै मनका विभिन्न इच्छा, चाहना र प्रतिक्रियाले पैदा गर्ने तरंगका कारण शरीरबाट विभिन्न वेभलेन्थका बडी इनर्जीका किरण निस्कने गर्छ ।

तपाईंको शरीरबाट तत्कालको आपसी मुड, चाहना, मान्यता र अनुभूतिको प्रभावमा निस्केका रंगीन बडी इनर्जीका किरण प्रेमीको रंगीन बडी इनर्जीका किरणसँगको संसर्गमा आउँदा  एकापसमा राम्रो हार्माेनी हुन गएमा एउटै ठूलो फ्रिक्वेन्सी बनिदिन्छ ।  उल्लेखित सकारात्मक परिस्थितिमा प्रेमीतर्फका सबै सूचना तपाईंको शरीरले बिना अबरोध  प्राप्त गरिरहेको हुन्छ । तपाईले प्राप्त गरिरहेको प्रत्येक सूचना तपाईको वेभलेन्थसँग मिलिरहकाले अकल्पनीय सकारात्मक तरंग र रोमाञ्चित भाइव निर्माण गरि रहेको हुन्छ। संष्लेसित उच्च  फ्रिक्वेन्सीको इनर्जीको किरणबाट दुवै प्रेमीबीच आदान प्रदान हुने प्रष्ट अन्तर संचारबाट शरीरले प्राप्त गर्ने अनुभूतिले  कस्मिक रोमान्सको अनुभूति दिलाउछ।

हालै परीक्षणका लागि भर्खरै बच्चा जन्माएका आमाहरुका दुई वटा समूह बनाइयो । प्रत्येक समूहका आमाहरुलाई बीचमा केही समयका लागि उनीहरुको बच्चा छोडी अन्यत्र जान भनियो । एक समूहका आमाहरुलाई बच्चासँग अलग भएको समयमा तनावयुक्त काम र वातावरणमा राखियो । अर्को समूहको आमाहरुलाई सामान्य काम सामान्य वातावरणमा गर्न भनियो । दिइएको काम एकै समयमा सम्पन्न गरिसकेका दुवै समूहका आमाहरुलाई एकै तरिकाबाट उनीहरुको बच्चा भएको ठाउँमा फर्काइयो र बच्चानजिक जान भनियो ।

तनावयुक्त वातावरणबाट फर्केका आमाहरु बच्चानजिक पुगेर केही पनि नगरी सामान्य रुपमा बस्दा समेत उनीहरुको शरीरबाट निस्केको बडी इनर्जी तुरुन्तै तिनका नवजात शिशुमा सरेको भेटियो । आमाहरुले ती नवजात शिशुहरुलाई न केही गरेका थिए, न त केही भनेका नै थिए, न त छोएकै थिए, तनावयुक्त वातावरणबाट फर्केका आमाहरुका बच्चाहरु आमानजिक पुग्नेबित्तिकै रुन र च्याँठिन सुरु गरिहाले । सामान्य काम सामान्य वातावरणमा काम गरी फर्केका आमाहरुमा भने त्यस्तो केही भेटिएन । चेकअपका क्रममा जब ती बच्चाहरु आमाको नजिक परेका थिए, उनीहरुको मुटुको धड्कन आमाको मुटुको धड्कनसँगै मिल्ने गरी बढेको थियो । त्यसलाई तनावको संक्रमणको नाम दिइयो ।

यस्ता धेरै परीक्षणबाट के पुष्टि भएको छ भने हामी र हाम्रो नजिकै रहेको व्यक्तिसँग यस्तो इनर्जीको कनेक्सन (संक्रमण) हुने गर्छ । विशेषतः उनीहरुसँग, जो आफूसँग नजिक छन् र जोसँग हाम्रो नजिकको भावनात्मक सम्बन्ध बसेको छ । निजी जीवनका घटना न त तपाईंले  चाहे अनुरुप अघि बढ्छन्, न त तिनीहरु तपाईंको पूर्ण नियन्त्रणमै रहने सम्भावना रहन्छ । वातावरणबाट पलपल प्राप्त भएका सूचनाले तपाईंमा भिन्दाभिन्दै समयमा भिन्दाभिन्दै असर थुपारिदिन्छन् । यस कारण तपाईंका बडी इनर्जी र शरीरबाट प्रवाह हुने इनर्जीको पलपलमै फरक फरक बनिदिन्छ ।

जब तपाईं तनावमा पर्नुहुन्छ, कसैको हेलाँ, अन्याय, घृणा र उपहासको पात्र बनाइन्छ या आक्रोशमा हुनुहुन्छ, कुनै कुरो प्राप्त गर्ने इच्छाले भुतुक्कै बन्नुभएको छ तर त्यो तपाईंलाई मिलिरहेको हुँदैन, डरमा हुनुहुन्छ वा कुनै अप्रिय घटनाको सिकार हुनुभएको छ, यस्ता अवस्थामा तपाईंले नचाहँदा नचाहँदै पनि त्यसले पारेका नकारात्मक असर आंशिक रुपमा प्रियजनमा सरिसकेको हुन्छ । तपार्ईंको बिग्रेको मुडका कारण,  यो समयमा बिना कुनै खराब इरादा तपार्ईं एकाएक तपार्ईंकै प्रेमीसँग किचकिच गर्ने, सानो सानो कुरामा  असहमति जनाउने र आफ्नो ऊग्र असन्तुष्टि पोख्ने जस्ता उग्र व्यवहार प्रस्तुत गर्ने सम्भावना रहन्छ ।

तपाईंको नकारात्मक बडी इनर्जीको संक्रमणका कारण नजानिँदो रुपमा मुड बिग्रिसकेको तपाईंको प्रेमीको तपाईले बर्षाउनु भएको थप तान्डब्यले तपाईंमाथि सहानुभूति दर्साउन सक्ने क्षमता गुमाइसकेको हालतमा पुग्नसक्ने अधिक संम्भाबनामा रहन्छ। फलतः दुईबीच असमझदारी आवश्यकताभन्दा निकै अघि बढ्छ। घटना पश्चात् परिस्थिति अलि साम्य बनिसक्दा समेत घटनाको निष्पक्ष पुनरावलोकन गर्दा एकले अर्को नै बढी जिम्मेवार रहेको भन्ने निचोडमा पुग्ने गरेको भेटिन्छ ।

आजको सामाजिक परिस्थितिमा, कारण जोसुकै होस् ; जुन कुनै समयमा तपाईं तनावमा पर्नु सामान्य मानिन्छ हिजोआज । आफूमा पर्ने तनावले प्रेमीलाई दिने नकारात्मक असर र त्यसले प्रेमीहरुबीच एकअर्कोलाई मनै भाँचिनेसम्म पुर्याउने घटना प्रायः एकै दिनमा एउटै परिघटनाले तयार गरिहाल्ने हुँदैन । तर, यी र यस्तै प्रकृतिका सानासाना परिघटनाको विशाल रुप नै जोडीबीचको प्रेम टुट्ने कारक हुने लगभग निश्चित रहन्छ । तसर्थ सफल दाम्पत्य जीवनको आशामा प्रेमीहरुको खोजीमा रहेका जो कोहीले यस्ता प्रत्येक घटनाको मूलजराकै पहिचान गरी उपयुक्त निदान खोज्नु जरुरी छ ।

क्वान्टम बडी मेकानिक्सका अनुसार जब तपाईं तनावमा पर्नुहुन्छ, त्यसको असर निजी जीवनमा पर्न नदिन तपाईंले हाई–फ्रिक्वेन्सी इनर्जीको सहायता लिन सक्नुहुन्छ । हाई–फ्रिक्वेन्सी इनर्जीलाई तपाईंको ‘होम इनर्जी’ भने पनि हुन्छ । अर्थात् बाहिरी तनावयुक्त वातावरणमा नपरिरहेका बेला तपाईंसँग रहने इनर्जी ।

बाहिरी वातावरणले तपाईंमाथि पैदा गरेको तनावमा प्रेमीको कुनै भूमिका र नियन्त्रणमा छैन । कुनै पनि तनाव अल्पकालीन हो । तपाईंका लागि प्रेमीसँगको सम्बन्धले नै मुख्य महत्व राख्छ । उक्त महत्वका सामू तपाईं जुन कारणले चिन्तित हुनुहुन्छ, ती गौण हुन् । यस्तो महसुस गर्न सके तपाईं आफूलाई चिन्ताग्रस्त अवस्थाबाट न्युट्रल अवस्थामा पुर्याउन सक्षम हुनुहुन्छ । यो तपाईंले तत्कालका तनावमाथि लगभग नियन्त्रण प्राप्त गरिसकेको अवस्था हो ।

जब तपाईं ‘यदि मलाई आजको यो बाहिरी तनाव नपरेको भए म के सोचिरहेको हुन्थें होला’ भनी आफैंलाई सोध्नुहुन्छ र त्योबारे कल्पन थाल्नुहुन्छ, तपाईंले वास्तवमै आफू नयाँ अनुभूतिमा प्रवेश गरिसकेको महसुस गर्न थाल्नु हुनेछ ।

यो अवस्थामा तपाईं बिस्तारै आनन्दित र सुखी बन्दै जानु हुनेछ । प्रेममा रहँदा प्रेमीसँगका आत्मीय क्षण र ती क्षणको निरन्तरताले पुनः दिन सक्ने सन्तुष्टिबारे सोचमग्न भई तपाईंले आफैंलाई होम इनर्जीको अवस्थामा पुर्याउन सक्नुहुन्छ । तपाईं इनर्जीको अवस्थामा पुग्दाका बखत परिणाम के आउँछ, त्यसले आफैंलाई अचम्मित पार्नेछ ।

तपाईं कुनै चीजको प्राप्तिका लागि वास्तवमै आकुलव्याकुल बनिसकेको र नियन्त्रणका लागि नै चुनौतीपूर्ण बनेको अवस्थामा ‘यदि मैले यो प्राप्त गर्न सकिनँ भने राम्रो हुने छैन’ भन्ने जस्ता सोचाइले नकारात्मक भाइव दिन्छ । त्यही कुरो यदि ‘अहिले म यो कुरो पाउनका लागि अत्यन्त आतुर छु’ भनी परिवर्तन गरे सोचाइले सकारात्मक भाइव दिने, र प्रेमीसँगको सम्बन्धलाई तुलनात्मक रुपमा गाढा गरि दिने छ ।

समय परिस्थितिमा नितान्त अप्ठ्यारो सूचना नै दिनुपर्ने अवस्था आइलाग्दा समेत तपाईंले आफूलाई  आमने सामने रहेर, सकेसम्म सन्तुलित राखी, धन्यानुभूति महसुश गर्दै गरिएको कुराकानीले तुलनात्मक रुपमा सकारात्मक परिणाम दिने देखिन्छ । किनकि क्वान्टम बडी मेकानिक्सका अनुसार समयले स्थिती त्यो भन्दा पनि खराब हुनबाट रोकेको संझि सोको लागि आफु धन्य बन्नु जरुरि छ भनि आफुले आफुलाई सल्लाह दिदै गर्दाको अवस्थामा तपाईं वनावटी रुपमा आफ्नो मुड ठीक गरिरहनुभएको छ वा वास्तवमै तपाईंको मुड ठीक छ भन्ने फरक तपाईंको दिमागले खुट्याउन सक्दैन । यसले निकै गाह्रोभन्दा गाह्रो कुराकानीलाई पनि सरलीकृत मात्र गर्ने छैन, उक्त समयलाई समेत अद्भुत आत्मीयताको क्षणमा परिवर्तन गरिदिने छ ।

आयुर्वेदिक मान्यतामा भने उल्लेखित बाहेक ध्यानको विकल्प समेत अघि सारिएको छ ।

पृथ्वीको गुरुत्वाकर्षण, चुम्बक आदिबारे अध्ययन गर्ने क्रममा हामीले बुझेको तथ्य के हो भने एकापसमा भौतिक रुपमा नजोडिईकन रहेका दुई भिन्न भिन्न वस्तुबीच आन्तरिक तथा अन्य इनर्जीका कारण आकर्षण तथा विकर्षण हुन सक्छ। यस अर्थमा दुई प्रेमीबीचको आकर्षण प्राकृतिक नियम अनुकूलको प्रकृतिले प्राणी मात्रलाई उपलब्ध गराएको सबैभन्दा उत्तम र सुन्दर उपहार हो । यसले तपाईंको मनलाई प्रेमीको मनसँग भौतिक रुपमा नजोल्टिदाको बखतमा समेत मनोवैज्ञानिक र भावनात्मक संसर्गमार्फत  जोल्टिने, एक आपसमा चिरपरिचित गराउने, मिलनको विन्दुसम्मै पुर्याउने र फरक फरक शरीरमा रहेका दुई मुटु आपसमा जोडिएको अनुभूति दिई साझेदारीमा जीवनयापन गर्ने अवसर उपलब्ध गराउदछ।

प्रकृतिको यो उपहार जति उत्कृष्ट छ, त्यसको सदुपयोग र जगेर्ना गर्ने तौरतरिका पनि आफ्नै ढर्राको मात्र छैन, अति नाजुक र संवेदनशील पनि छ । जे होस्, उपलब्ध आयुर्वेदिक प्रेमको मान्यतालाई आत्मसात् गर्दा प्रेम जीवन सार्थक रहने देखिएको सन्दर्भमा भ्यालेन्टाइजस्ता दिवसमा प्रेमको गुलाफ सट्टापट्टा गर्ने क्रममा वैज्ञानिक विचारधाराको प्रेमभन्दा आयुर्वेदिक मान्यताको प्रेमीमा आफूलाई परिवर्तन गर्नेतर्फ सोच्ने कि ?

घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् । 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE