मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

माटो बेचेरै समृद्धि

नारायण घिमिरे

हाम्रो शरीरको छालाको भित्री भागमा रहेको सेबम ग्रन्थिले प्राकृतिक तेल सेबम निकाल्छ । छालाका लागि जरुरी हुने सेबम चिल्लो, चिनी, मैनलगायत अन्य प्राकृतिक पदार्थबाट बन्छ । त्यसले छालाबाट बाफको रुपमा खेर जाने शरीरको पानी रोकेर राख्छ र छालालाई सुरक्षा गरिदिन्छ । सामान्यतः सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिड ५७ प्रतिशत, मैन–इस्टर २६ प्रतिशत, स्क्वालिन १२ प्रतिशत र कोलेस्ट्रोल ४.५ प्रतिशत हुने गर्छ । छालामा हर्मोन, कोलेस्ट्रोल र भिटामिन ‘डी’ र ‘ई’ बनाउन स्क्वालिन तेल चाहिन्छ । हाम्रो छालालाई नरम र तन्दुरुस्त राख्न, चाउरिन नदिन र एन्टिअक्सिडेन्टका रुपमा काम गरी छालाको क्यान्सर हुन नदिन यसको भूमिका महत्वपूर्ण हुन्छ ।

शरीरका पैताला र पन्जाबाहेक प्रायः छालामा रौं हुन्छन् । छालामा रौंको फेद हुँदै खुलेका र सीधै बाहिर खुलेका छिद्रहरुको भित्री भागमा सेबम ग्रन्थि हुन्छन् । सबैभन्दा धेरै सेबम ग्रन्थि हाम्रो अनुहारमा हुन्छ । त्यो ग्रन्थिले चाहिने भन्दा धेरै तेल बनाउँदा सेबममा ट्राइग्लेसिराइड तथा फ्याट्टी एसिडको मात्रा बढ्छ र यसले छालाको पसिना, मृत कोषिका र वातावरणबाट छालामा सम्पर्कमा आएको धुलोलाई अँठाएर राखी छालाको प्वाललाई बन्द गरिदिन सक्छ । लामो समय छालाका प्वाल बन्द हुँदा तिनै जमेका फोहरबाट कालो र सेतो टाउको हुने खिल पर्ने, छाला चिर्चिराउने र चिडचिडाहट बढाउने, छालामा रातो धब्बा देखिने, छालाको तन्तु मारिदिएर अनुहार छ्याके पारिदिने, डन्डिफोर आउने र कहिलेकाहीँ त पुटुस्स छाला उछिट्टिएर टुटुल्को समेत देखिन्छ ।

छालाको भित्री भागमा रौंको फेदमा हुने क्याभिटीमा प्रोपिओनी ब्याक्टेरियम एसिन नामक ब्याक्टेरिया आरामले बस्न सक्छ । उक्त ब्याक्टेरियाको संक्रमण हुँदा यसले त्यहाँ उपलब्ध सेबमलाई उसको पौष्टिक आहारका रुपमा खाने र फोहरका रुपमा फ्याट्टी एसिड छालाको प्वालमार्फत बाहिर फाल्ने गर्छ । सामान्यतः बिहान बिहान मुख धुँदा ती फोहर पखालिने भए तापनि उक्त प्वाल बन्द हुँदा छालाको रङ दिने पिगमेन्ट मेलामिन, सेबम र ब्याक्टेरियाको घनत्वका कारण छालामा पिड्का निस्कन्छ । फोहरका रुपमा जम्मा भएको फ्याट्टी एसिडका कारण इन्फ्लामेसनका कारण दुख्ने, चिर्चिराउने र रातो धब्बा देखिने, इन्फेक्सन हुँदा पाक्ने र फुट्ने हुन्छ ।

शरीरमा हल्का पहेंलो चिल्लो पदार्थ सेबम कसरी पैदा हुन्छ भन्ने हालसम्म पूर्ण रुपमा यकिन गर्न सकिएको छैन । तर युवकको टेस्टिज वा युवतीको ओभरी र एड्रिनल ग्रन्थिले पैदा गर्ने टेस्टटोरोन हर्मोन जति धेरै सक्रिय बन्छ, त्यति धेरै सेबम पैदा हुने गर्छ। यसरी मानिसको यौन गतिविधिको कारक डाइहाइड्रो टेस्टटोरोन हर्मोनसँग सेबम उत्पादनको सम्बन्ध भेटिएको छ । यौवनावस्थामा टेक्दै गर्दा डाइहाइड्रो टेस्टटोरोन हर्मोनका गतिविधि बढ्न गई सेबम अत्यधिक पैदा हुने गर्छ । युवकमा युवतीभन्दा पाँच गुना ज्यादा सेबम उत्पादन हुन्छ ।

युवकयुवती २० वर्ष नाघेपछि भने सेबम उत्पादन क्रमशः घट्दै जाने भेटिएको छ । सेबममा चिल्लोको मात्रा बढ्दा छालाको प्वाल बन्द हुन गई जटिलता बढ्न गई छालाका रोग र विकृति भेटिएको भएता पनि चिल्लोचाप्लो खाना, जंक फुड र यौन गतिविधि आदिसँग डन्डिफोरको सम्बन्ध रहेको भने हालसम्म प्रमाणित हुन सकेको छैन । समग्रमा छाला स्वस्थ राख्ने उत्तम उपाय भने छालाको सफाइ नै हो ।

उसो त छालाको स्याहारसुसारका लागि शताब्दियौंदेखि हिलो र माटोको प्रयोग भएको देखिन्छ । माटोमा हुने मिनिरल्स, पिग्मेन्ट्स र तिनका अक्साइडवरिपरिको वातावरणमा भेटिएको चिल्लो, फोहर पदार्थ र जहर सोस्ने शक्तिका कारण सीधै पृथ्वीबाट लिइएको माटोलाई ब्युटी र हेल्थ प्रडक्टका रुपमा तेल, मास्क, लोसन, मेकअप र क्लिनजिङ थेरापीमा प्रयोग हुँदै आएको हो । यी माटो १५ असारमा रोपाइँमा हिलो छ्यापी खेल्दा होस् वा मास्कका रुपमा अनुहारमा लगाउँदा, छालाको प्वालमा जमेका चिल्लो पदार्थ सोसेर बाहिर निकाल्न सफल हुने र छालाको हेरचाह हुने गरेकै हो ।

चाडबाडमा शरीरका अंग रंगाउन होस् या घरका भित्ता, चुलोचौकामा कमेरो, रातो (गेरु), कालीमाटी, पहेंलो, हरियो, खैरो आदिले लिपेर चिटिक्क पार्न माटो प्रयोग हुन्थ्यो । आज जमाना फेरिएको छ । हामीले अलिअलि अंग्रेजी बुझेका छौं र रैथाने माटोनिर्मित सामानको उपयोग छाडेका छौं । विदेशी भाषा प्रयोग गरिएका सुन्दर सुनिने र देखिने कस्मेटिक चिजमा हुरुक्कै हुन थालेका छौं ।

हाम्रा पुर्खाका पालामा छालाका लागि उपयुक्त सेतो, रातो, हरियो, खैरो, कालो वा पहेंलो माटोमा आवश्यकता अनुसार दूध, दही, नौनी, घिउकुमारी, हरियो चिया, तुलसी, बाबरी, टाप्रे, गुलाफजल, बेसार, चन्दन, चनाको पिठो, केशर, खरानी, पीना, घोडटाप्रे, निम, अमला, नरिवल आदि मेडिसिनल र आयुर्वेदिक हर्बस र तिनका तेल मिसाएर फेस मास्क, कस्मेटिक क्लिन्जर र साबुन आदि बनाइने गरेका थिए ।

प्राचीन लिखतले सुझाए अनुसार पनि सफा र नरम अनुहारको छालामा लयालो सफा माटो दल्दा छालाको समस्या हट्छ । छालाका छिद्रबाट फोहर सोसी फाल्ने, प्वाल खोल्ने हुँदा यसले छालामा डन्डिफोर कम गर्ने, छाला चाउरिन नदिने, चिल्लो र चम्किलो बनाउने गर्छ । सफा र कुनै पनि अन्य कुरा नहालिएका प्राकृतिक माटो थेरापीले समेत छालाको प्वालमा जमेको ओएल र एसिडलाई घुलाइदिई छालाको भित्री भाग र रौंको जरासम्म रक्तसञ्चार गराई छालामा पिड्का, सब्क्युटानियस ब्लड फलो (रौंको जराको रक्तवहाव) का कारण हुने रातो वा नीलो कालो धब्बा हटाउन सघाउँछ।

माटोको भाँडा बनाउने कालीमाटी प्राकृतिक रुपमै छालालाई मिनिरल र थुप्रै सूक्ष्म तत्व दिने स्रोत मात्र हैन, अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याके कम गराउने र छालालाई छिट्टै चाउरिन रोक्ने फेसियल पनि हो । कालिमाटीलाई अनुहारको फोहोर सोस्ने निकै बलवान माटो मानिएको छ ।

कालिमाटीजस्तै लाग्ने तर हरियो हरियो देखिने ‘हरियो माटो’ सिलिको–आलुमिनोको अक्सिडेसनबाट बनेको हुन्छ । अक्सिडेसनका कारण यो माटोले वातावरणबाट क्याल्सियम, म्याग्नेसियम, पोटासियम, जिंक, सिलिकन, सिलिनियम, आइरन, कपर र कोबल्ट सोसेर लिने भएकाले हरियो हुने गर्छ । धेरै मिनिरल र सूक्ष्म तत्व भएको यो माटो अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याकछ्याके कम गराउने र छाला छिट्टै चाउरिनबाट रोक्ने खुबी भएको फेसियलको पावर हाउस नै हो। न्युट्रल पीएचमा अनुहारमा दलिने हरियो माटोलाई अनुहारको फोहोर सोस्ने पहलवान माटो मानिएको छ ।

गेरु अर्थात् रातो माटो अनुहार सफा गर्ने संसारकै उत्कृष्ट फेसियल क्लिनजर हो । यसलाई पृथ्वीमा पाइने माटोमध्ये सबैभन्दा शुद्ध माटो मानिएको छ। छालाको प्वालमा जमेका विषालु र फोहर पदार्थ निकाली राम्ररी सफा गर्ने क्षमता छ यसमा। छाला चाउरिएर वृद्धजस्तो नलागोस् भनी फेसियलका रुपमा मात्र हैन, धेरैजसो फेसक्रिमको बेस बनाउन यसकै उपयोग हुन्छ । त्यसैले सौन्दर्य प्रसाधनको क्षेत्रमा रातो माटोको माग अत्यधिक छ ।

कमेरो फेसियल क्लिनजरमा प्रयोग हुने माटोमध्ये सबैभन्दा सौम्य र सबै प्रकारको छालामा निर्धक्क दल्न सकिने माटो हो । कालीमाटीमा हुने गुण यो माटोमा पनि पाइन्छन् । साथै यसले अनुहारका काला र सेता धब्बा हटाई छालालाई नरम बनाउन सघाउँछ । यो धेरैजसो फेसियल क्रिमको बेस त हो नै, औद्योगिक रुपमा कमेरो कागज, रबर, सेरामिक र साबुनको बेस पनि हो ।

नरिवल, ताडी, सुपारी आदि जलाएर बनेको खरानीबाट छुट्याएर बनाइएको एक्टिभेटेड चारकोल वा कोइला पिनि माटोजस्तै बनाइएको पाउडरले छालाको प्वालमा जमेको फोहर र तेललाई निकै शक्तिशाली तवरबाट सोस्न सक्छ । यसलाई छालाको प्वाललाई निकै भित्रसम्म सफा गर्न सक्ने फेस क्लिन्जर र जमेको फोहर हटाउन सक्ने हालसम्मकै शक्तिशाली डिटक्सिफायर मानिन्छ। शरीर र लत्ताकपडामा कोइलाको कालो तुरुन्तै सर्ने र दाग बस्ने भएकाले यो त्यति लोकप्रिय नभए पनि दामी घरेलु उपाय भने बन्न सकेको छ ।

माटोको केमेस्ट्रीका अनुसार शुद्ध माटो सिलिकन (क्वार्ज), आल्मुनियम, म्याग्नेसियम, आइरन  र क्याल्सियमका अक्साइडहरु, पानी र अन्य पदार्थहरु मिली बनेको हुन्छ । सिलिकन र आल्मुनियमका अक्साइड दुवै सेता क्रिस्टल हुने भएकाले कमेरो माटो मुख्य तय सिलिकन र आल्मुनियमका अक्साइडहरु बाट बन्ने गर्छ । कमेरोमा आइरन अक्साइड र चुनाको मात्र बढ्दा माटो रातो हुन्छ भने रातो माटोमा क्रोमियम समेत रहदा गेरु रङको बन्ने गर्छ । खैरो पहेंलो माटो होस् वा मुलतानी माटोमा सेतो माटोमा भन्दा धेरै सिलिका हुन्छ। मुलतानी माटोमा भन्दा पनि धेरै सिलिका हुँदा माटो कालिमाटी बन्छ। आल्मुनियम अक्साइडमा आइरन, कोबल्ट, टिटानियम, भेनाडियम आदि हाली सेफायर्स बनाउने चलन छ।

समग्रमा, सामान्य रुपमा भन्दा, माटो मिनिरल र मिनिरल अक्साइडको मिश्रण हो । मिनिरल र मिनिरल अक्साइडको छालाको भित्री सतहसम्म जमेको फोहर सोस्ने र सफा गर्ने खुबीका कारण नै माटो कस्मेटिक प्रयोजनमा आएको हो । मिनिरल र मिनिरल अक्साइडहरुको मिश्रणलाई मसिनेरी पिसेर पानी हाल्दा लयालो माटो बन्ने  हदको धुलो बनेपछि त्यो कस्मेटिक ग्रेडको माटो बन्ने गर्छ। यस्तो गुण नेपालका माटोमा समेत पर्याप्त छ ।

एक अनुसन्धानले भक्तपुर, कमेरोटारको कमेरोमा केमिकल कम्पोजिसन हेर्दा सिलिका (६६.५ प्रतिशत), अलुमिना (१४.४२ प्रतिशत), आइरन अक्साइड (३.८६ प्रतिशत), मेग्निसियम अक्साइड (२.०१ प्रतिशत), पोटासियम अक्साइड (२.१६ प्रतिशत), सोडियम अक्साइड (०.९० प्रतिशत), क्याल्सियम अक्साइड (०.५६ प्रतिशत), पानी (७.८३ प्रतिशत) र अन्य (१.७६ प्रतिशत) देखाएको थियो । यो कस्मेटिक ग्रेडको माटोका रुपमा सिधै उपयोग हुन सक्ने उत्साहबर्धक खबर हो । हाम्रो राता, पहेंला, हरिया, कालो, गेरु र खैरा माटो छिमेकी पाकिस्तानले मुलतानी माटोमा गरेको लगानीजस्तो राज्यले सदुपयोग गर्ने नीति बनाउँदा आकर्षक आम्दानीको स्रोत बन्नेमा कुनै शंका छैन ।

आज परलाईट, हेक्टोराईट, बेन्टोनाईट, कवाटर नाईज, क्योलिन, फ्रेन्च ग्रीन क्ले, रसौल क्ले, मुलतानी मिट्टी जस्ता माटाहरु संसारकै बजारमा अति  चाखलाग्दो मुल्यमा बिक्रि भईरहेछन। युनिलिभरले पोन्ड ब्रान्डको ‘स्मुथ बेलेन्स पोर पोरटाइटिङ फेसियल फोम’ होस वा लोरलले बजारमा बिक्री गरिरहेको ‘गेमियर लाइट थ्री–इन–वान’ फेसवासमा प्रयोग गर्ने क्योलिन, बास्तबमा सेतो वा कमेरो माटो हो। जापानको नातुर्गोको पपुलर ‘मेन्स क्ले फेस वास’ माटोबाट लिइएको मिनिरल र मेन्थोल मिली बनेको छ। त्यस्तै तिजोय ब्रान्डले समेत माटोलाई उसको ‘मिनिरल क्लिनजिङ फोम’ मा प्रयोग गरिरहेको। बजारमा क्ले मास्क र फेस मास्क भनी धुलो माटोको बिक्री बाक्लो छ ।फ्रान्सको आर्जिलेजको रेड क्ले फेस मास्क, इटालीको बोर्जिज फंगो मड मास्क, जर्मन स्वासन अल्ट्रा बभेरियान माउन्टेन मड मास्क, अस्ट्रियाको मुर फेसियल, भारतका हेस मुलतानी, पतञ्जली मुलतानी आदि हजारौं माटोका व्यवसाय अस्तित्वमा छन् ।

संसारमा धेरैजसो सौन्दर्य प्रसाधन कस्मेटिक ग्रेडका कच्चा पदार्थ प्रयोग गरी बनेका छन् । युरोप, अमेरिकाका ब्रान्डेड सामान भनेपछि हामी आँखा चिम्लेर उपयोग गर्छौं। विदेशी माल गुणस्तरीय भइहाल्छ भन्ने भ्रममा हुन्छौं प्राय हामी। तर त्यसको वास्तविकता नजिक पुग्ने कोसिस गर्दैनौं । संसारभरिका कुनै पनि नियम कानुनको परिधिको मापदण्डभित्र पर्ने नियतले नबनाइएको, के कति सुरक्षित छ भनी कुनै परीक्षण नगरिएको र यसमा हालिएको कच्चा पदार्थ के कति जायज छ भनी पुनरावलोकन समेत नगरिएका कस्मेटिक प्रडक्टलाई संसारमा कस्मेटिक ग्रेड नामकरण दीइएको छ। कस्मेटिक ग्रेड भन्दा पनि कमसल ग्रेडलाई टेक्निकल ग्रेड भन्ने गरिन्छ ।

ठेट नेपालीमा भन्दा कस्मेटिक ग्रेडको अर्थ हो, जे पायो, त्यही पदार्थ प्रयोग गरी बनेको। नामकरण नै जे पायो, त्यही पदार्थ प्रयोग गरी बनेको भनिसकेपछि नियन्त्रण र निगरानी प्रक्रिया अप्ठ्यारो छ । त्यसैले अमेरिकी सरकारी अनुगमन निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन (एफडीए) ले ३० प्रतिशतसम्म ब्याक्टेरिया भेटिदा बजारमा जान अनुमति दिने नीति लिएको छ । जब कि फर्मास्युटिकल ग्रेडका प्रडक्टमा बजारमा जाने अनुमतिका लागि ०.१ प्रतिशतभन्दा कम ब्याक्टेरिया रहनु अनिवार्य हुन्छ। आज संसारमा रहेका ५ प्रतिशतभन्दा कम कस्मेटिक उद्योगका उत्पादन मात्रै फर्मास्युटिकल ग्रेड पूरा गरेका भेटिन्छन् । एफडीएले कस्मेटिक ग्रेड प्रडक्ट अनुमान गरिएभन्दा पनि निकै कमसल हुन सक्ने भएकाले बनेको ६० देखि ९० दिनभित्रै फाल्न सल्लाह दिएको छ । हाल म्याद नाघेका त्यस्ता कस्मेटिकको वैकल्पिक बजार एसिया र अन्य गरिब मुलुक बनेको अनुमान छ ।

अव्यवस्थित बसोबास, पुख्र्यौली सीप र प्रविधिको उपहास, कमजोर धरातलका विषयमा उद्यमशीलता विकास गर्न चाहने लंगडो सोखले हामी आफ्नै माटोलाई दिनप्रतिदिन प्रदूषित गरिरहेका छौं भने तिनै माटो हामीलाई बेचेर धनी हुने धेरै मुलुक छन् । हाम्रा खुरिखन्डे भिराला कोल्टा पाखापखेराका रातो माटो, कमेरो वा धापमा हुने कालीमाटी वा हरियो माटी, घसेटा जलेर बनेका चारकोल त्यत्तिकै मिल्किएका छन् । यसबाट फाइदा लिनेबारे त हामीले सोचेका समेत छैनौं । आफ्नो बलियो धरातलको पहिचानमा हाम्रो कुनै चासो पनि भेटिदैन।

सात समुद्रपारिबाट केमिकल र प्रिजर्भेटिभ अनि एडिटिभ हालेकै भरमा कस्मेटिक भित्रिएका छन् । हामी विदेशी कस्मेटिक भेटेकैमा दंग छौं । भनिन्छ, जहाँ सन्तुष्टि, त्यहीँ हुन्छ समृद्धि । तर सन्तुष्टि क्षणिक भएर हो कि हामीलाई समृद्धिको स्वाद चाख्ने मौकै मिलेन । हाम्रा प्रधानमन्त्री, मन्त्री र देश विकासका लागि विषयविज्ञको टाइटलको स्वामित्व र समृद्धिको ठेक्का लिएर उच्च पदमा  पदासीन महामहिमहरु मुलुकको समृद्धिका लागि छट्पट गर्दै अचूक उपाय खोज्न सधै विश्वभ्रमणमा भेटिन्छन्। मुसाकी छोरी मुसैलाई भन्ने हेक्का भएको दिन चाहिँ समृद्धि हामीबाट टाढा छैन, हामी आफै आफ्नै लहड र सनकले टाढिएका मात्र हौं ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE