मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमा गाँजाको गैर–अपराधीकरण कहिले ?

नारायण घिमिरे

गाँजाजन्य खाद्य, पेय र औषधी प्रडक्ट डेभलपमेन्ट, रिसर्च र इनोभेसन लगभग परिपक्व अवस्थामा पुगिसक्दा के त्यसको खेती, प्रशोधन, बिक्री वितरण र उपभोगलाई कानुनी मान्यता दिँदै गैर–अपराधीकरण गर्नु राष्ट्रको हितमा होला भन्ने बहसले संसारकै कुनाकाप्चामा उच्च महत्त्व पाइरहेको छ । नेपालजस्तो मुलुकमा यसलाई वैधानिक छुटसहित गैर–अपराधीकरणमार्फत खुला गरिँदाको तात्कालिक र दूरगामी असरबारे पनि चर्चापरिचर्चा हुन थाल्नु अस्वाभाविक होइन ।

विगतमा अमेरिकी सरकारको तीव्र दबाबका कारण नेपालले संयुक्त राष्ट्रसंघको ‘सिंगल कन्भेन्सन अन नार्कोटिक ड्रग्स, १९६१’ मा हस्ताक्षर गरेको थियो । राष्ट्रसंघको ‘नार्काेटिक्स कन्ट्रोल बोर्ड’ले गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा राखेका कारण नेपालले पनि सोही मान्यतालाई हुबहु मान्दै ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ जारी गरी मुलुकभरि प्रतिबन्ध लगायो । त्यस्तो प्रतिबन्धका कारण नेपालमा आजसम्म पनि गाँजा र गाँजाजन्य सम्पूर्ण पदार्थ पूर्ण गैरकानुनी छन् ।

 

त्यसो त नयाँ–नयाँ वैज्ञानिक अनुसन्धानको नतिजाले आज गाँजाप्रति विश्वबजारको दृष्टिकोण सम्पूर्ण रुपमै बदलिइसकेको छ । अमेरिका, जर्मनी, बेलायत, स्वीटजरल्यान्ड, इटाली, मेक्सिको, इजरायल, क्यानडा, जमैका, थाइल्यान्ड, उरुग्वे, पेरु, स्पेन, दक्षिण अफ्रिका, नेदरल्यान्डस्लगायत ३० भन्दा बढी देशमा यो कानुनी रुपमै उत्पादन र कारोबार हुन थालेको छ । छिमेकी राष्ट्र भारतमा समेत गाँजाबाट आयुर्वेदिक औषधी बनाउन थालिएको छ ।

नेपालमा गाँजा, धतुरो र भाङ आदि लागूभागूलाई ‘शिवजीको बुटी’ मानिएको छ । गाँजा र भाङलाई शिवजीको प्रसादका रुपमा शिवरात्रिमा मुलुकभर ग्रहण गरिन्छ । नेपालको आधाजसो जनसंख्याले आफ्नो जीवनकालमा कम्तीमा एकपटक गाँजा वा भाङ चाखेको एक प्रक्षेपण छ । ‘लागुऔषध नियन्त्रण ऐन, २०३३’ मा गाँजासहित भाङ, गाँजा मूलका बोट, पात, फूल, बोटबाट आउने चोप, खोटो र चरेस सबैलाई लागुऔषध किटान गरिएकाले त्यस अनुसार पाका उमेरका आधाजसो नेपाली गम्भीर अपराधमा सहभागी बनेको करार गर्छ । प्राविधिक रुपमा मिहिनेती र उत्पादनशील पचासौँ लाख जनशक्ति जघन्य अपराधमा संलग्न रहेका, शिवरात्रिलगायतका चाडबाड र साधुकरणका नाममा जघन्य अपराधलाई संस्थागत संरक्षण दिइने राज्य बनाइरहेको छ, कानुनले ।

उसो त गाँजा सेवनलाई कानुनी रुपमा जघन्य अपराध करार गरिएको नेपालका मताधिकारप्राप्त बहुसंख्यक जनता गाँजा सेवन जघन्य अपराध रहेको विश्वासै गर्दैनन् । मान्न पनि तयार छैनन् । गाँजा सेवनलाई जघन्य अपराध करार गरिनु नेपाली परम्परा, संस्कृति, सामाजिक मान्यता र आयुर्वेदिक विश्वासको विरुद्धमा छ । प्रत्यक्ष विदेशी हस्तक्षेपमार्फत लादिएको जनविश्वासविरुद्धको उक्त कानुनी व्यवस्थाले कानुनी राज्यकै गम्भीर उपहास गरिरहेको छ ।

गाँजामा दिमागको चेतनालाई परिवर्तन गर्ने खुबी रहेको मुख्य नशालु साइकोएक्टिभ केमिकल ‘डेल्टा–९ टेट्रा–हाइड्रो–क्याना–बिनोल’ हो । त्यसलाई छोटकरीमा ‘टीएचसी’ भन्ने गरिएको छ । गाँजामा अर्को महत्त्वपूर्ण केमिकल सीबीडी पनि पाइन्छ । सीबीडी नशालु र साइकोएक्टिभ प्रकृतिको केमिकल होइन । गाँजाले मानिसको दिमागलाई एकातर्र्फ छोटो समयका लागि लठ्ठाइदिने र अर्कोतर्फ अल्मेन्जर जस्ता रोगमा दिमागका तन्तुहरु छियाछिया हँुदै सानोसानो हँुदै जाने क्रमलाई रोकी दिमागको संरक्षण गरेको भेटिएपछि संसारको ध्यान गाँजातर्फ मोडिएको हो ।

दिमागसँग जोडिएर शरीरभरि फैलिएको मानिसको स्नायु प्रणालीमा शरीरको आन्तरिक वातावरणलाई स्वस्थ र सन्तुलित राख्ने क्यानाबिनोइड सिस्टम हुने गर्छ । त्यसलाई समग्रमा इन्डो–क्यानाबिनोइड सिस्टम (ईडीसी) भनिन्छ । इडीसीको काम मुड, स्मरणशक्ति, फिजियोलोजी, प्राप्त दर्दको चेतना, भोक र समग्र स्वास्थ्यको व्यवस्थापन गर्नु हो ।

ईडीसीमा क्यानाबिनोइड (सीबी)–१ र क्यानाबिनोइड–२ नामक दुई रिसेप्टर भेटिएका छन् । सीबी–१ दिमाग, स्नायु प्रणाली, फोक्सो, कलेजो र मिर्गौलामा भेटिन्छ । सीबी–२ भने प्रतिरक्षा प्रणाली, पित्तथैली र आन्द्रामा छ्याप्छ्याप्ती पाइन्छन् । दर्द घटाउने, वाकवाकी नियन्त्रण गर्ने, डिप्रेसन लगायतका दिमागसँग सम्बन्धित विकृति देखिँदा शरीर आफैँले एनान्डामाइड नामक ब्रेन केमिकल बनाएर सीबी–१ रिसेप्टरमार्फत उपचार गर्छ । त्यसलाई शरीरको सेल्फ हिलिङ प्रक्रिया भनिन्छ । गाँजामा पाइने टीएचसीको बनावट एनान्डामाइडसँग मिल्ने हुँदा टीएचसीले सीबी–१ रिसेप्टरलाई सक्रिय पारी एनान्डामाइडकै काम गरिदिन्छ ।

अति भोक लाग्ने, भतभत पोल्ने, सुन्निने, मर्किने, दुख्ने र रोगसँग जुध्ने प्रतिरोधात्मक शक्ति कमजोर हँुदा शरीरले आफैँ २–एजी नामक प्रोटिन उत्पादन गरी सीबी–२ रिसेप्टर सक्रिय पारी सेल्फ हिलिङ प्रक्रिया पूरा गर्छ । गाँजामा पाइने सीबीडीले सीबी–२ रिसेप्टरलाई सक्रिय पारी २–एजीको काम गरिदिन्छ ।

शारीरिक गतिविधि न्युरोट्रान्समिटर अथवा रासायनिक म्यासेन्जरको सहयोगमा सञ्चालन र नियन्त्रण हुने गर्छ । मुख्यतः दिमाग र आन्द्रामा बन्ने रासायनिक म्यासेन्जर सेरोटोनिन मानिसको मुड, वाकवाकी, भोक, हड्डीको स्वास्थ्य, निद्रा, इमोसन, क्रिडाकार्य आदि गतिविधि सञ्चालन र नियन्त्रणमा जिम्मेवार हुन्छ । सेरोटोनिनको न्युरोनमा केनाबिनोइड रिसेप्टर पाइन्छ । हामीले खाने चिज, रातो मासु र नटमा पाइने एमिनोएसिड त्रिप्टोफानलाई शरीरले त्रिप्टोफान हाइड्रोअक्सिलेजको सहयोगमा सेरोटोनिनमा परिवर्तन गर्छ ।

सेरोटोनिन न्युरोनको केनाबिनोइड रिसेप्टरमा सेरोटोनिनको कमी हुँदा मानिसमा एन्जाइटी, डिप्रेसन र मुड डिस्अर्डर आदि विकृतिको विकास हुन्छ । त्यसले हाम्रो दैनिकको मुड र इमोसनलाई प्रत्यक्ष नियन्त्रण गर्छ । गाँजामा पाइने केमिकल सीबीडी जब केनाबिनोइड रिसेप्टरमा पुग्छ, त्यसले त्रिप्टोफानकै तरिकाबाट सेरोटोनिन केमिकल पैदा गरिदिन्छ । त्यसैले एन्टी–एन्जाइटी, एन्टी–डिप्रेसन र एन्टी–मुड डिस्अर्डरको ओखती बनाउँदा गाँजाको केमिकल सीबीडी प्रयोग हुने गर्छ ।

सेरोटोनिनजस्तै डोपामिन नामक अर्काे महत्त्वपूर्ण ब्रेन केमिकलले खाना खाँदा, नशालु पदार्थ लिँदा, सम्भोग गर्दा, जुवा खेल्दा, हितैषीसँग भेट्दा, टाँसिदा वा भलाकुसारी गर्दा लगायत प्रिय गतिविधिमा संलग्न भइरहँदा आनन्दित, पुरस्कृत, रोमाञ्चित, आत्मविभोर र धन्य महसुस गराउँछ । हाम्रो शरीरले दिमाग, आन्द्रा, मिर्गौला, एड्रिनल ग्लान्ड आदि भागमा रहेका रिसेप्टरमा उत्पादन गर्ने ब्रेन केमिकल डोपामिनले प्रत्येक पलपलमा धन्य र आनन्दित अनुभूति दिलाउँछ ।

भटमास, चिज, नट, सिड, मासु, अन्डा, दूध, गेडागुडी आदिमा पाइने फिनाइल–एलानिन नामक एमिनोएसिडले हाम्रो शरीरको फिनाइलएलानिन हाइड्रोकसिलेज एन्जाइमको सहयोगमा टाइरोसिन, ए–डोपा हुँदै डोपामिन बनाउँछ । शरीरले आफूलाई चाहिने डोपामिन आफैँ बनाएर आन्तरिक रुपमा उपलब्ध गराउँछ । आफ्ना लागि आफैँले डोपामिन बनाउँदै गर्दा निकै धेरै डोपामिन उत्पादन हुँदा साइकोएक्टिभ नशालुपनको विकास हुने जोखिम पनि रहन्छ । उक्त जोखिम रोक्ने प्रयोजनका लागि शरीर आफैँले आवश्यकताभन्दा ज्यादा डोपामिन बन्न नदिन जीएबीए न्युरोनको सहयोग लिने गर्छ । जीएबीए न्युरोनले थप डोपामिन बन्ने प्रक्रियामा तत्काल हस्तक्षेप गरिदिन्छ ।

डोपामिन न्युरोनमा केनाबिनोइड रिसेप्टर हुँदैनन् । तर, जीएबीए न्युरोनमा भने जीएबीएका साथै केनाबिनोइड रिसेप्टरसमेत हुन्छन् । जब मानिसले गाँजा सेवन गर्छ, तब गाँजाको केमिकल टीएचसीले जीएबीए न्युरोनको जीएबिए रिसेप्टरलाई छोटो अवधिका लागि निष्क्रिय पारिदिन्छ । शरीरले आन्तरिक रुपमा डोपामिन बनाउने कार्य सुचारु हुँदै जाँदा अलि धेरै नै गाँजा खाइएको अवस्थामा मानिस पूर्ण रुपमा झ्याप हुन पुग्छ ।

गाँजामा पाइने केमिकल टीएचसीले डोपामिन न्युरोनलाई अप्रत्यक्ष रुपमा उत्तेजित पारी शरीरमा इ–डोपा वा डोपामिन पैदा गराएर मानिसलाई आनन्दित र साइकोएक्टिभ बनाउने भए तापनि यसमा हुने सीबीडीले भने डोपामिन न्युरोनलाई उत्तेजित गरी डोपामिन पैदा गराउन कुनै भूमिका खेल्न सक्दैन । त्यसैले गाँजाको केमिकल टीएचसी मात्र मानिसमा अल्पकालीन चेतना र स्मरण इम्पेयरमेन्ट गर्ने साइकोएक्टिभ अम्मलका रुपमा प्रयोजनमा आउने गर्छ ।

हालसम्म गाँजामा हाम्रो शरीरमा प्रभाव पार्ने चार सयभन्दा धेरै तत्व भेटिएका छन् । यिनै तत्व र तिनका औषधीजन्य अनि रिक्रिएसनल अनुभूति दिन सक्ने जटिलताका कारण गाँजा पाँच सयभन्दा धेरै प्रकारका रोगब्याधका ओखती र मनोरञ्जनका लागि उपयोगी नशालु पदार्थ बनेको हो ।

कतिपय अवस्थामा गाँजाका विभिन्न केमिकलको परस्पर विरोधी भूमिका समेत भेटिएको छ । उदाहरणका लागि गाँजा सेवन गर्दा यसमा हुने सीबीडीले भोक घटाउन सघाउँछ भने टीएचसीले भोक जगाउँछ । यसलाई ओखतीका रुपमा प्रयोग गर्दा दुब्लाउनुपर्ने भए सीबिडी हालेर अनि मोटाउनुपर्ने भए टीएचसी राखेर सप्लिमेन्ट बनाउने गरिन्छ ।

नेपालमा गाँजा परम्परागत रुपमा चुरोटजस्तो सल्काएर धुँवाको सर्को लिने प्रचलन छ । तर, हाल यो इ–भ्यापका रुपमा, बिस्कुट, कुकिज, क्यान्डी आदि बनाउँदै गर्दा कच्चा पदार्थका रुपमा हाली बेकिङपछि खाने चलन छ । अन्य खानासँगै पकाएर, चिया, जुस आदिमा हाली पिउने क्रम पनि बढेको छ । गाँजाको तेल निकालेर वा अन्य तेल वा लोसन वा क्रिम आदिमा हाली छालाको मसाज गरेर पनि यसको उपयोग हुँदै आएको छ ।

प्रायः खाना, पेय र अन्य पदार्थबाट बनेका बियर वा रक्सीमा गाँजा मिसाएर खाने मानिस पनि प्रशस्त भेटिन्छन् । गाँजाको आफ्नै बियर, रक्सी समेत बन्न थालेको छ । गाँजाको बिरुवाबाट निकालिने रेजिनलाई चरेस (ह्यास÷ह्यासिस)ले दिमागमा तुरुन्तै प्रभावकारी आनन्दीपन दिने हुँदा यो हालसम्म चिलिममा हाली धुँवा नै तान्ने गरिन्छ । गाँजालाई ग्रास, पट, उइड आदि नाम पनि दिइएको छ ।

आयुर्वेदका अनुसार गाँजा शरीरको दर्दनाशक अचुक उपाय हो । मानिसमा पाचन गडबडी र झाडापखाला ठीक पार्ने, डिप्रेसन, छारेरोग लगायत धेरै मनोवैज्ञानिक रोगको निदानमा यसले ओखतीको काम गर्छ । गाँजा सेवनले पुरुषमा शुक्रकिट बढाउने, बाँझोपनपीडित महिलामा गर्भधारण र महिला–पुरुष दुवैको सहवासको क्षमता वृद्धि गर्ने, तौल र रक्तचाप घटाउने, दिमागमा आनन्द दिने आदि अब्बल गुणका कारण कम्तीमा ८० वटा प्राचीन आयुर्वेदिक औषधीको सूत्रमा गाँजा अटाएको छ । कुनै समय सिंहदरबार वैद्यखानाले गाँजा प्रयोग गरेर १० प्रकारका औषधी बनाउने गरेको तथ्य समेत भेटिएको छ ।

 

नेपालमा गाँजाजन्य चिज मिली बनेका औषधी पनि लागुऔषधकै श्रेणीमा पर्छन् । त्यसको अर्थ गाँजा प्रयोग हुने ८० भन्दा बढी प्राचीन आयुर्वेदिक औषधी सेवन गरिरहेका बिरामी, जोखिमपूर्ण छारेरोगको औषधी सेवन गर्दै गरेका बालबालिका, क्यान्सरको रोगबाट मुक्ति पाउन घर र अस्पतालमा चरम दर्द घटाउने औषधी र पेन किलरका रुपमा गाँजाको तेलको मालिस लिइरहेका आफन्त, युद्ध वा यातनापूर्ण कारबाहीको दर्द घटाउन गाँजाको प्रयोग गरिरहेका राष्ट्रसेवक सैनिक, प्रहरी वा अन्य पीडित मानिसलाई समेत लागुऔषध नियन्त्रण ऐन, २०३३ ले अपराधी नै करार गरिरहेको छ ।

आज विज्ञानसमेत आफ्नो परीक्षणबाट शताब्दियौँअघि आयुर्वेदले देखाएको बाटो सही रहेछ भन्ने नतिजामा पुगिसकेको छ । औषधीविज्ञानको नयाँ निचोड अनुसार गाँजा मानिसका पाँच सयभन्दा बढी रोगमा पश्चिमा औषधीको जस्तो साइड इफेक्टरहितको ओखती हुने प्रमाणित भएको छ ।

शरीर दुख्ने, टाउको दुख्ने आदि हुँदा, मल्टिपल सेरोसिसजस्ता डिस्अर्डरमा, अनिद्रा हुने समस्यामा, मेरुदण्डको चोटमा, मेरुदण्डको संक्रमणमा, हड्डीको जोर्नीवरिपरि सुन्निने गठिया रोग, दिमागसम्बन्धी समस्या, मुच्र्छा पर्ने छारेरोग, अल्सरजस्तो आन्द्रामा हुने दर्द आदिले निम्त्याउने पेट पोल्ने समस्या, वृद्धावस्थामा पुग्दा शरीर भतभत पोल्ने, दर्द हुँदा गरिने मालिस, आँखाको रोग ग्लाउकोमा हुँदा, एचआईभी÷एड्सका बिमारीको दर्द कम गर्न, भोक हराउने कमजोरीको उपचारमा, क्यान्सरजस्ता संक्रमणको उपचारमा गाँजाको प्रयोग अचुक औषधी हुने औषधी विज्ञानले प्रमाणित मात्र गरिदिएको होइन, ती रोगका निदानमा संसारभर गाँजा र गाँजाबाट निकालिएका पदार्थ उत्साहवद्र्धक रुपमा धमाधम प्रयोग भइरहेका छन् ।

नेपालमा गाँजालाई हेरोइनजस्तै उच्च जोखिमपूर्ण लागुऔषधको दर्जामा राखिएको छ । रक्सी र सुर्तीलाई भने अम्मलअन्तर्गत राखी खुला बिक्री वितरणका लागि अनुमति दिइएको छ । अनुसन्धानबाट रक्सी र सुर्तीभन्दा गाँजा धेरै सुरक्षित रहेको प्रमाणित भएको छ ।

इन्स्टिच्युट अफ मेडिसिन अफ द नेसनल एकेडेमी अफ साइन्सका अनुसार आनन्दका लागि सुर्ती खाने सिकारुमा ३२ प्रतिशत सुर्तीको अम्मली बनेको भेटियो । रक्सी पिउने सिकारुमध्ये १५ प्रतिशत रक्सीको अम्मली भएको देखियो भने गाँजा खाने सिकारुमा मात्र ९ प्रतिशत मात्र गाँजाको वास्तविक अम्मली बन्ने गरेको पाइयो ।

अन्य अनुसन्धानमा सुर्ती वा रक्सीको ओभर डोज भएर मानिस मरेको भेटिए तापनि गाँजा सेवनको ओभर डोजका कारण मरेको कुनै रेकर्ड भेटिएन । बरु उल्टै गाँजाको प्रतिबन्ध लगाउँदा वास्तविक तथ्यका आधारमा भन्दा भावनात्मक प्रभावमा बहेर यसको असरबारे निकै बढाइचढाइ गरिएको यथार्थ बाहिरियो । अनुसन्धानले गाँजा सेवनका कारण हुने स्वास्थ्यसम्बन्धी राष्ट्रको व्ययभार सुर्ती र रक्सी लगायतका अन्य अम्मलको भन्दा अत्यन्त न्यून रहेको समेत प्रमाणित गरिदियो । गाँजा प्रयोगकर्ताले मानिस रक्सीका अम्मलीजस्तोे सन्किएको वा आपत्तिजनक असामाजिक व्यवहार देखाएको समेत खासै भेटिएन ।

यथार्थमा आज रक्सी र सुर्तीभन्दा धेरै सुरक्षित प्रमाणित भएको छ गाँजा । हप्ताभरिको कामको थकान मेटाउन आफ्नै घरमा साथीभाइको जमघटमा दुई–चार सर्को गाँजा वा चरेस तानी आराम लिँदा होस् वा खाना वा पेयमा यसलाई मिसाएर खाँदा पनि बालिग नेपाली नागरिकले राज्यविरुद्ध जघन्य अपराध गरेको आरोपमा सजायको भागिदार बन्नु परेको छ । रक्सी र सुर्ती भने अपराध नियन्त्रणको अभिभारा पाएको निकायकै कार्यालयमा समेत आरामले चल्दै आएको छ । कम हानिकारक वस्तु सेवन अपराधीकरणमा अनि बढी हानिकारक अम्मलले पूर्ण छुट पाइरहनु विडम्बनापूर्ण स्थिति हो ।

आज पनि कतिपय मानिस हचुवामै नेपालजस्तो देशमा गाँजा, चरेस खुला गर्दा दुव्र्यसनी बढेर नेपाल बस्न लायकै रहँदैन समेत भन्न भ्याउँछन् । त्यस्ता दाबीबारे गहिरिएर बुझ्न हामीले अन्यत्रको अनुभवलाई पुनरावलोकन गर्नु जरुरी छ । संसारले आज अनुभवबाट निकालेको निचोड के हो भने गाँजा, चरेस, रक्सी, सुर्तीजस्ता अम्मललाई प्रयोगमा गैरकानुनी घोषणा गरी नियन्त्रण गर्ने नीतिले केवल कालोबजारीमा रमाउनेका लागि सुनको अन्डा पार्ने कुखुरी उपलब्ध गराउँछ ।

स्पष्ट शब्दमा भन्दा रक्सीलाई नियन्त्रण गर्दा यसको नियन्त्रित क्षेत्रमा उत्पादन र ढुवानी मात्रै गैरकानुनी बन्यो तर खानपिनमा भने नियन्त्रण हुन सकेन । त्यसले गर्दा कालो बजारमा गुणस्तरयुक्त र गुणस्तरहीन सबै सामान पुगे । रक्सी पिउनु निकै जोखिमपूर्ण बन्यो । विषालु रक्सी सेवनबाट मानिसहरु मरेको खबर दिनहुँजसो आउन थाल्यो । वयस्कभन्दा कम उमेरका युवाहरु धेरै संख्यामा रक्सीका अम्मली भेटिन थाले । समाजमा अपराध र भ्रष्टाचार निकै मौलायो । अपराध व्यावसायिकीकरण हुन थाल्यो । संगठित अपराधले सामाजिक संरक्षणसमेत प्राप्त गर्यो ।

गाँजा, चरेसको उपभोगमा गरिएको अपराधीकरणको नियति पनि त्यस्तै भेटियो । समाजका दसौँ हजार मानिस दैनिक लुकीलुकी गाँजा खाने अम्मली बने । किशोरकिशोरीको उल्लेखनीय संख्या उच्च जोखिमयुक्त लागुऔषध प्रयोगकर्ता बनेको भेटिन थाल्यो । सेवन गरिने गाँजा, चरेसको गुणस्तर यकिन गर्ने कार्य असम्भव बन्यो । ड्रगको अधिकतम मात्रा, स्वच्छता, सेवनमा हुने जोखिम, सुरक्षा, गाँजा र चरेसको गुणस्तर, उमेरको हद आदिको मापदण्ड अनिवार्य लागु गर्न सकिने अवस्था रहेन । किशोरकिशोरीहरु असुरक्षित बने । अपराध, भ्रष्टाचार आदिले सामाजिक संरक्षण प्राप्त संगठित अपराधको रुप लिए ।

गाँजा, चरेस सेवनलाई गैर–अपराधीकरण गरी अमेरिकाका धेरैजसो राज्यमा गाँजा, चरेस कानुनी रुपमै तर नियन्त्रित तवरबाट बिक्रीका लागि खुला गरिएलगत्तै यसका उत्पादनकर्ता, प्रशोधनकर्ता र बिक्रीकर्ताले राज्यले निर्धारण गरेका मापदण्ड अनिवार्य पूरा गर्नुपर्ने भयो । तोकिएको विधि र कानुनी प्रक्रिया पूरा गर्दा सबैले चाहेका बेला गाँजा, चरेसको सुरक्षित सेवन गर्न सक्ने अवस्था बन्यो । कालो बजारी गर्न वा उमेर नपुगेका किशोरकिशोरीलाई गाँजा चरेस बिक्री गर्दा आर्थिक लाभ खासै नहुने बरु उल्टो जोखिम रहने भएकाले लगभग अन्त्यजस्तै बन्यो । गाँजा सेवन अनुशासित र सुरक्षित बन्यो भने किशोरकिशोरीको जीवन र भविष्य सुरक्षित । कालो बजारमा बगिरहेको निकै ठूलो धनराशि राजस्वका रुपमा जम्मा हुन पुग्यो । गाँजा, चरेसको कारोबारले मुलुकलाई समेत अत्यन्त लोभलाग्दो आय दिन सक्यो ।

अमेरिकाको गाँजा, चरेस वैधानिक गरिएका राज्यमा दुई वर्षभित्र गाँजा, चरेसका कारण हुने झैँझगडा र अदालती मुद्दामामिला ८१ देखि ९६ प्रतिशतसम्म घटेको पाइएको छ । गाँजा, चरेस सेवनकर्तालाई प्रहरीले समात्ने काम बन्द हुँदा सुरक्षा खर्चमा उल्लेखनीय रुपमा कमी आएको छ । गाँजा, चरेस कारोबार धेरैलाई उच्च आय दिने रोजगारको क्षेत्र बनेको छ ।  वैधानिक गरिएपछि गाँजा, चरेस सेवन गर्ने उमेर पुगेका युवकयुवतीको संख्या धेरैजसो राज्यमा घटेको छ ।

एकाधमा भने पहिलेकै जस्तो समान रहेको तथ्यांकले देखाउँछ । हालसम्म एउटा पनि राज्यमा उक्त संख्या प्रतिबन्ध हुँदाको भन्दा खुला गरिएपछि  बढेको रेकर्ड चाहिँ भेटिएको छैन । आश्चर्य त के भने, वासिङ्टन, कोलोराडोजस्ता गाँजा, चरेस सेवनलाई कानुनी मान्यता दिइएको पाँच वर्ष नाघिसकेका राज्यमा रक्सी र अन्य जोखिमपूर्ण लागुपदार्थ प्रयोगमा उल्लेखनीय रुपमा घटेको तथ्यांक छ । गाँजा, चरेस खुला गरिएका राज्यमा सवारी दुर्घटनाको दर गाँजा, चरेस प्रतिबन्धित अन्य राज्यको भन्दा बढी पाइएको छैन ।

वास्तवमा गाँजा, चरेस वैधानिक भएका मुलुकमा ओपोइडको ओभर डोजका कारण हुने मृत्यु र ओपोइड प्रयोगका कारण अस्पतालमा आउने बिरामीको संख्यामा २५ प्रतिशतले कमी आएको उत्साहजनक तथ्यांक छ । यसबाहेक राज्यलाई सयौँ मिलियन डलर करस्वरुप प्रत्येक वर्ष प्राप्त भएकाले उक्त रकम शिक्षा, स्वास्थ्य र जोखिमपूर्ण लागुपदार्थको समुचित नियन्त्रण र विकृतिको उपचारमा सहयोग पुगेको छ ।

लागुऔषधका रुपमा नेपालमा लोकप्रिय रहेका पदार्थमा गाँजा, चरेस र भाङ, अफिमका प्राकृतिक तथा कृत्रिम उत्पादन हिरोइन, ब्राउन सुगर, कोडिन, कोकिन आदि, निद्रा लगाउने तथा लट्ठ पार्ने बेन्जोडायाजेपिन, नाइट्रोजिपाम, डायाजिपामस आदि, उत्तेजक औषधि सिउडो इफेन्ड्रिन कफसिरप, मेथेम्फेटामिन कफसिरप आदि हुन् । आज शारीरिक दर्द कम गर्न र आनन्द लिने लोभमा हेरोइन, फेन्टानाएल, कोडिन, मर्फिन, अक्सिकोटिन, भिकोटिन आदि वास्तवमै हानिकारक ओपोइड लागुऔषधको ओभरडोजको कारण धेरै मानिस मृत्युको सिकार बनिरहेका छन् । अनुसन्धानबाट प्राप्त वैज्ञानिक तथ्यले गाँजा ओपोइडजस्ता खतरानाक लागुपदार्थ, ड्रग, हेरोइन, कोकिन, रक्सी आदिको हानिकारक आदत छुटाउन दरिलो बाटो हुने स्पष्ट पारेको छ ।

नेपालको कानुनमा तोकेअनुसार २५ बोटसम्म गाँजाको लगाएको वा खेती गर्ने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना हुनेछ । सोभन्दा बढी खेती गर्नेलाई तीन वर्षसम्म कैद र पाँच हजार रुपैयाँ जरिवाना गर्ने भनिएको छ । अनि ५० ग्रामसम्म गाँजा राखेको भेटिएमा तीन महिनासम्म कैद र तीन हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ ।

नेपालको वातावरणमा गाँजा खेती घरबाहिर जताततै हुने हुँदा विभिन्न भागमा विभिन्न मौसममा उम्रने गाँजाको गुणस्तर फरक फरक हुने पाइएको छ । नेपाली गाँजाको रैथाने प्रजाति सेटिभा र इन्डिका उच्च गुणस्तरको हुने हुँदा उच्च गुणस्तरको चरेसका लागि नेपाल संसारका गाँजाका पारखीबीच प्रख्यात छ ।

नेपालमा झुसिलो कोपिला हुने मध्यम कडा १४ देखि १७ प्रतिशतसम्म टीएचसी हुने गाँजा फल्ने गर्छ । थोरै तर बाक्लो झुस हुने नेपाली गाँजाको कोपिला लछप्पै परेको गुलियो, कागतीको बोक्रा, लेभेन्डर र सल्लोको जस्तो मिश्रित बासनादार दिने, च्यापच्याप लाग्ने रेजिनले भरिपूर्ण हुने गर्छ । गहिरो गरी सुँघ्दा यसमा थप माटो, काठ र फूलमिश्रित बासना समेत आउँछ ।

सेटिभा र इन्डिका जातको गाँजाको हाइब्रिड सिड बनाएर बनाइएको ‘रोयल मोब’ जात बजारमा निकै बिक्री भएको भेटिन्छ । उदाहरणका लागि उत्तरी क्यालिफोर्नियाको गाँजा ओजी कुशका नाममा बजारमा भेटिन्छ भने इन्डिका जातको गाँजालाई स्पेसल कुशका नाममा बिक्री गरिँदै आएको छ । नेपालमा हुने बाहिरी वातावरणमा हुर्कने उच्च सेटिभा जातको गाँजा अफ्रिका हुदै नेदरल्यान्ड्स पुगी लगभग ८८ प्रतिशत सेटिभा जातसँग मिल्दोजुल्दो हुने गरी इन्डोर खेती हुने सेटिभाको हाइब्रिड जात बन्यो ।

लगभग आधा आउटडोर र आधा इन्डोर खेती गरिएको गाँजालाई मिसाएर ‘पावर फ्लावर’ नाम दिइयो । जुन आजको सबैभन्दा प्रख्यात र उच्च माग रहेको सेटिभाको हाइब्रिड गाँजा हो । यसरी समयक्रममा नेपालको सेटिभा र इन्डिका प्रजातिको क्रस गरी संसारमा आज धेरै हाइब्रिड जातका गाँजाका बिउ बनाएर विकास गर्दै संसारले गुणस्तरीय गाँजाका नाममा कारोबार गरिएको छ । नेपालमा गाँजाले कानुनी रुप पाउदा सेटिभा र इन्डिका दुवैले विश्व बजारमा उच्च मूल्य पाउनेमा कुनै दुबिधा छैन ।

नेपालमा अवैध रुपमा भित्रिने लागुऔषधको माध्यमबाट कम्तीमा तीन सयदेखि चार सय मिलियन यूएस डलर वार्षिक रुपमा बाहिर जाने गरेको अनुमान छ । पछिल्लो तथ्यांक अनुसार झन्डै दुई लाखको हाराहारीमा रहेका दुव्र्यसनीमा ९१ हजार ५ सय ३४ व्यक्ति कडा खालको  लागुऔषधको आदतमा फसेका छन् । यो संख्या वार्षिक रुपमा ११.३६ प्रतिशतको दरले बढिरहेको छ । लागुऔषध प्रयोगकर्तामा तीन चौथाइजति २० वर्षभन्दा कम उमेरका किशोरकिशोरी छन् ।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको तथ्यांकअनुसार सन् २०१३ देखि अहिलेसम्म १९ हजार ६ सय २८ जना लागुऔषध कारोबारी पक्राउ परेका छन् । नेपालमा लागुऔषधका रुपमा हुने कारोबारमा गाँजा र चरेस सबैभन्दा धेरै ८७ प्रतिशत छ ।

कानुनी प्रतिबन्धका बाबजुद पनि नेपालको दार्चुला, बझाङ, डोटी, रुकुम, सल्यान, बाग्लुङ, म्याग्दी, मकवानपुर, धादिङ, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, उदयपुर, सुनसरी, मोरङ, बर्दिया, सप्तरी, रूपन्देही, नवलपरासी, चितवन, सुर्खेत लगायतका जिल्लामा व्यावसायिक रुपमै गाँजा खेती हुँदै आएको छ ।

दुई ठूला राष्ट्र चीन र भारतको माग पूरा गर्न नेपालमा गाँजा उत्पादन हुने गरेको तथ्य भेटिएको छ । नेपाली कृषकले गाँजा खेती गर्न बीउ, मल र पैसा पेस्कीसमेत पाउने गरेका छन् । नेपालमा हुने गाँजा र चरेसमा भारतीय नागरिकको समेत लगानी भेटिन्छ ।

सन् २०१७ मा मात्र ७.७ बिलियन यूएस डलर कारोबार हुँदै गरेको विश्वको गाँजा कारोबार औसत वृद्धि ३७ प्रतिशत कायम गर्दै २०२३ सम्ममा ६५ बिलियन यूएस डलर पुग्ने अनुमान छ । स्वास्थ्यलाभ र मनोरञ्जनका लागि खानामा समेत प्रयोग हुने गरी गाँजाले संसारभर कानुनी मान्यता पाउँदै गर्दा २०१७ मा ८.४ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार भएको छ भने २०२२ सम्ममा २५ प्रतिशत वृद्धि भई २५.७ बिलियन यूएस डलरको गाँजा हालिएको खाना र पेयको कारोबार हुने अनुमान छ । विभिन्न स्रोतका रिपोर्टहरु केलाउँदा सात वर्षभित्रै संसारमा गाँजामा कुल बजार मूल्य १ सय ९४ बिलियन यूएस डलर पुग्ने देखिन्छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले सन् २०१२ मा तस्करी गरिँदैको अवस्थामा ४७ टन गाँजा बरामद गरेको थियो । एक अनुमान अनुसार हाल नेपालबाट वार्षिक लगभग २०० मिलियन यूएस डलर रिटेल मूल्यको गाँजा र ३५० मिलियन यूएस डलर रिटेल मूल्यको चरेस विश्वबजारमा प्रवेश गरिरहेको छ । एसियाबाट युरोप र अमेरिकामा तस्करी हुने ६ प्रतिशत गाँजा र चरेस नेपालकै भेटिन्छन् ।

वार्षिक कम्तीमा ५ सय ५० मिलियन यूएस डलर रिटेल मूल्यको गाँजा र चरेस चोरी निकासी हुने नेपालका उत्पादक र बिचौलियाको हातमा भने लगभग सय मिलियन यूएस डलरजति मात्र पर्ने गरेको बुझिन्छ । नेपालमा गाँजाले कानुनी मान्यता पाउँदा सुरुको वर्षमै लगभग ५ हजार मिलियन  रिटेल मूल्यको गाँजा र चरेस निकासी हुने र लगभग ३ हजार ३ सय मिलियन यूएस डलर नेपाल भित्रने छ । जुन क्रम आगामी वर्षमा लगभग ५० प्रतिशतको दरमा वृद्धि हुने अनुमान जो कोहीले लगाउन सक्छ । गाँजा, चरेस खुला हुँदाका बखत नेपालमा अवैध रुपमा भित्रिने औषधी लगभग ६० प्रतिशत नियन्त्रण हुनेछ । त्यसका कारण लगभग १ सय ८० देखि २ सय ४० मिलियन यूएस डलर बाहिर जानबाट रोकिने अनुमान छ ।

आज अमेरिका, क्यानडा लगायतका धेरै मुलुकले मेडिसिनल र रिक्रिएसनल बजार भन्दै औषधीजन्य र मनोरञ्जनका लागि गाँजाको नियन्त्रित बिक्री वितरणमा कानुन बनाएर कारोबार सञ्चालन सुरु गरिसकेका छन् । नेपालले वैधानिक रूपमा गाँजा खुला गर्ने आफ्नो आन्तरिक रुपमा कानुन संशोधन गरी अन्तर्राष्ट्रिय महासन्धिको प्रावधानबाट गाँजाजन्य कारोबारका लागि छुटकारा लिने निर्णयमा पुगेको जानकारी राष्ट्रसंघीय नार्कोटिक्स बोर्डमा दिनुपर्नेछ । नार्कोटिक्स महासन्धिमा धेरै मुलुकले गाँजाजन्य औषधी बनाउन पाउने छुट लिएर मात्र हस्ताक्षर गरेको भए तापनि नेपालले भने गाँजाजन्य औषधी समेतमा बन्देज लगाउने गरी हस्ताक्षर गरेको छ ।

महासन्धिबाट औपचारिक रूपले छुटकारा नलिँदा मुलुक नै लागुऔषधका लागि जोखिमपूर्ण कालोसूचीमा पर्नेछ । नार्कोटिक्स सन्धिमा हस्ताक्षर गरेका तर हाल गाँजाको वैधानिक उत्पादन, प्रयोग र बेचबिखन गरिरहेका देशकै बाटो पछ्याउँदै नेपालले पनि गाँजा खेती र बिक्री वितरणलाई अपराधीकरण गरिने कानुन सच्चाउन र नियन्त्रित बिक्री वितरण तत्काल खुला गर्नेतर्फ कदम चाल्नु जरुरी भएको छ । हुन त अन्तर्राष्ट्रिय रुपमै नार्कोटिक ड्रग्सको सूचीबाट गाँजालाई हटाउन बहस पनि सुरु भइसकेको छ । सूचीबाट हट्नासाथ नेपाललाई आफ्नो आन्तरिक कानुन संशोधन गरी गाँजाको कारोबार थाल्ने बाटो स्वतः खुल्छ ।

(घिमिरे क्यानडा निवासी खाद्यवैज्ञानिक हुन् ।)

 

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE