मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अनुसन्धान तथा इनोभेसन

नारायण घिमिरे

संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज्ने तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ नराख्ने एकेडेमिक वा सैद्धान्तिक अनुसन्धान । अर्को, पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान। सैद्धान्तिक अनुसन्धानमा सफल देखिएका धेरै अनुसन्धानका नतिजालाई हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न ।

सामाजिक सञ्जालको विकाससँगै संसारमा नयाँनयाँ कुरा विकासमात्र भएका छैनन्, संसारलाई रातारात ती कुरा थाहा पाउने अवसर मिलेकाले बजार माग दिनदिनै परिवर्तन भइरहेको छ । बदलिँदो बजार माग अनुसार तत्काल आफ्ना उद्योगको उत्पादनलाई परिवर्तन गर्न नसक्ने प्राय सबै उद्योगधन्दाहरु बजारबाट विस्थापित भएका छन् ।

हिजो तपाईंको छिमेकी मात्र प्रतिस्पर्धी थियो भने आज संसारको कुनै कुनाको नामै नसुनेको प्रतिस्पर्धीसँग तपाईंले बजार प्रतिस्पर्धा गरिरहनु परेको छ । आजको बजार व्यवस्थामा तिनै मात्र सफल हुन सक्छन्, जसको आफ्नै व्यावहारिक अनुसन्धान र इनोभेसन निकाय छ । व्यावहारिक अनुसन्धान निकाय जसले बडी अफ नलेज बेस्ड इन्कुबेसन सेन्टरसँग को–क्रिएसनमा काम गर्छ ।

विश्वको मान्यता के छ भने, तपाईं आजको युनिभर्सिटी मोडेलमा व्यावहारिक अनुसन्धान गर्नुभयो र एकेडेमिसियनहरुले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनरसिप मोडल अपनाउनुभयो भने पनि लगभग एक हजार डलर मूल्य बराबरको रिसर्चका निष्कर्षलाई व्यावसायिकीकरण गर्न १ देखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यावसायिकीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ ।

आज विश्वमा परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ । को–क्रिएसन मोडलले तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने निश्चित गराउछ । त्यस कारण आज संसारका ठूलठूला उद्योगहरु सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम बनेका हुन् । त्यसरी सक्षम बनेका संस्थालाई इनोभेटिभ कम्पनी भनिन्छ ।

नेपालजस्तो मुलुकको विकासका लागि मुलुकलाई स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै इनोभेटिभ कम्पनी र संस्थाहरुको स्थापना हुन जरुरी छ । इनोभेटिभ कम्पनी र संस्था स्थापनाको अनिवार्य पूर्वाधार भनेको नेपालस्थित प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य रिसर्च संस्थाले इनोभेटिभ कम्पनी र संस्थाका लागि पर्याप्त मात्रामा दक्ष तथा अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो ।

नेपालमा भर्खरैको प्रदेश र केन्द्रीय निर्बाचनले सत्ता मात्र हैन, पूरै प्रणाली नै परिवर्तन गराएको छ। नेपालमा प्रधानमन्त्री केपी ओलीले नेपाल राष्ट्रका सामू सार्वजनिक रुपमा तीनवटा कुरा राखेका छन् । पहिलो– हाम्रो शिक्षा जसले पढेको हो, उसको आफ्नै उत्थानका खातिर त भएन भएन, जिविकोपार्जनका लागि समेत पीडादायी बनिरहेको छ ।

दोस्रो– हाम्रा विश्वविद्यालयहरुले राज्यकोषबाट विशाल धनराशि लिँदै सीमित घेरामा रहेर असीमित प्रतिभा बोकेका विद्यार्थीहरुलाई असफलको दर्जा दिँदै राष्ट्रको लगानी, विद्यार्थीको सम्भावना र अभिभावकको सपनालाई तुसारापात गरिरहेका छन् । विद्यार्थीलाई पढाइका नाममा आईए, बीए र एमए डिग्रीधारी साक्षर मात्र सावित गरिरहेका छन् ।

तेस्रो– हाम्रो शिक्षाकै कारण प्राकृतिक रुपमा वरदानप्राप्त नेपाल ठगिएको, मानव बस्तीका लागि पूर्ण प्रतिकूल प्रकृतिबीच आफूलाई समृद्ध बनाएको इजरायल र खाडीमा गएर सस्तो श्रमिकका रुपमा जिविकोपार्जन गर्नुपर्ने बाध्यता लादिएको छ । परम्परागत रुपमा तीक्ष्ण प्रतिभा बोकेका पुर्खाको जिन भएका नेपाली विद्यार्थी असाधारण सिर्जनशीलता बोकेका मात्र होइनन्, उनीहरुको रुचि अनुसारको व्यावहारिक ज्ञानलिने अवसर पाए विकासमा कायपलट गर्नसक्ने सम्भावना बोकेका धरोहर हुन् ।

इनोभेसनका पूर्वाधारको सबैभन्दा पहिलो वैज्ञानिक सर्त भनेको प्राविधिक शिक्षालय र विश्वविद्यालयमा बजारमुखी पाठ्यक्रम उपलब्ध हुनु हो । बजारमुखी पाठ्यक्रमको अर्थ पाठ्यक्रममा परिवर्तित ‘बडी अफ नलेज’ को ज्ञान संलग्न भएको हुनु हो । ठूला धनराशि खर्चेर पटकपटक परिवर्तन भएका हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयहरुको पाठ्यक्रम आज पनि कम्तीमा ८० वर्षभन्दा पुरानो ‘बडी अफ नलेज’ मा आधारित भएको सहजै अनुमान लगाउन सकिन्छ ।

आज संसारका विश्वविद्यालयहरु बढीमा १० वर्ष पुराना र प्राविधिक शिक्षालय बढीमा पाँच वर्ष पुराना ‘बडी अफ नलेज’ मा आधारित पाठ्यक्रम आफ्ना विद्यार्थीलाई सिकाइरहेका छन् । हाम्रा प्राविधिक शिक्षालय र विश्वविद्यालयले दशकौंदेखि अध्यापन गराइरहेका आयातीत ज्ञान लादिएका, नाम मात्रका प्राविधिक, स्थानीय उद्यमशीलताको विकासमा प्रतिकूल ८० वर्षभन्दा पुरानो ‘बडी अफ नलेज’ मा आधारित पाठ्यक्रमले हाम्रा विधार्थीलाई डिग्रीधारी साक्षर बाहेक अरु बनाउन सक्ने अवस्था नै थिएन ।

नेपालमा पटकपटक विज्ञान तथा प्रविधि नीति, संस्थाको व्यवस्थापन, संस्थागत संरचना, भौतिक पूर्वाधार र व्यवस्थापनमा सुधारका जोड र प्रयास भएकै हुन् । शिक्षामा अग्रगामी छलाङमार्फत सुधार या क्रमभंगताका लागि वर्तमान सरकारले सल्लाह मागी गठन गरेका विभिन्न आयोग र समितिले सरकारलाई सुझाव दिने क्रम जारी छ । कतिपय सरकारले प्राप्त गरिसकेको छ भने कतिपय अन्तिम अवस्थामा पुगी सरकारको हाता लाग्दैछ ।

आयोग र समितिहरुले सुझाएका अग्रगामी भनिएका ती सुझावमा समेत पुरानै सोचाइ, तरिका, पारा र सिस्टमको पुनरावृत्ति देखिन्छ । पुरानै सोचाइ, तरिका, पारा र प्रणालीले नयाँ परिणाम दिन नसक्ने निश्चित छ। शिक्षामा अग्रगामी छलाङमार्फत क्रमभंगता सुरु गर्ने सपना देखाएर पेस गरिएका, गर्वका साथ समाचार माध्यममा प्रस्तुत गरिएका सरकारलाई प्रस्तुत सुझाव चुरो कुरामा पुगेकै भेटिन्नन् ।

भेटिन्छ त केवल प्राविधिक व्यवस्थापन, संरचना र सञ्चालन प्रक्रियामा हेरफेरका लागि सुझाव । त्यस्ता सुझाव अक्षरसः लागू हुँदा हिजो डिग्रीधारी साक्षर कहलिएकाहरु भोलि प्राविधिक डिग्रीधारी साक्षर मात्र कहलिने छन् । मुलुकको इनोभेसन वा विकासका लागि सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको विकासमा खासै अर्थ राख्ने छैन ।

नेपालले आफ्नो जीडीपीको ४ प्रतिशत शिक्षामा खर्च गर्छ । त्यो सार्क मुलुकमा उच्च मध्येमै पर्छ । तर, इनोभेसनमा सार्क मुलुकमै नेपाल पछाडि छ । इनोभेसन वा विकासका लागि नेपालको तत्कालको आवश्यकता भनेको सीपमुलक तालिम र बजारमुखी उद्यमशीलताको हस्तान्तरण नै हो । त्यसका लागि सरकारले गाउँगाउँमा प्राविधिक स्कुल भनि प्राविधिक शिक्षालाई अति महत्व दिएको प्रस्ट पार्छ । प्राविधिक शिक्षालयलाई ‘प्रविधि र कन्टेन्ट’ दिनसक्ने ‘बडी अफ नलेज’ दिने इनोभेसनका इन्कुबेटर नेपालमै उपलब्ध हुन जरुरी छ ।

इनोभेसनका इन्कुबेटरहरुले प्राविधिक शिक्षालय र विश्वविद्यालयलाई स्थानीय बजारमुखी ‘बडी अफ नलेज’ मा आधारित पाठ्यक्रम विकास गर्न, आफ्ना विद्यार्थीलाई  राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमै प्रतिस्पर्धी बनाउन, आवश्यक ज्ञान र सीप उपलब्ध गराउन र परिवर्तित प्रविधि र बजार माग अनुसार नियमित पाठ्यक्रम परिमार्जनमा सहयोग पुर्याउँछन् । नयाँ ग्य्राजुएट, वैदेशिक रोजगारबाट ८–१० लाख लिई फर्केका र स्थानीय स्तरमै स्वरोजगार हुन चाहने, नयाँ पेसामा जान चाहने उद्यमी आदिलाई उनीहरुको आवश्यकता अनुरुपको सीपमुलक तालिम प्याकेज विकास गरी उपलब्ध गराउन प्राविधिक शिक्षालयहरुलाई सहयोग गर्छन् ।

मुलुकमा स्थापना भई सञ्चालनमा रहेका उद्योगहरुसँग को–क्रिएसनमार्फत उनीहरुको उत्पादन परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम र गुणस्तरलाई अन्तर्राष्ट्रिय बजारले ग्रहण गर्ने बनाउन सहयोगी भूमिका खेल्छ । साथै विदेशी इन्कुबेटरहरुसँग उद्यमी तथा शिक्षालयहरुलाई जोड्ने काम गर्छ । जबसम्म इनोभेसनका इन्कुबेटरहरु नेपालमै उपलब्ध हुन्नन्, तबसम्म प्राविधिक शिक्षालय र विश्वविद्यालयले पढाइका नाममा प्रधानमन्त्रीकै भाषामा प्राविधिक प्रमाणपत्रधारी साक्षर जनशक्ति मात्रै उत्पादन गरीरहनेछन् ।

लेखक घिमिरे केनेडियन खाद्य वैज्ञानिक हुन्।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE