मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लिची खाएर कसरी गुमाए ४७ बालबालिकाले ज्यान ?

भारतको बिहारमा यसपालिको गर्मी सिजनमा लिची खाएर ४७ जना बालबालिकाको मृत्यु भएको खबर अन्तर्राष्ट्रिय सञ्चार माध्यममा आएको छ।

कति मानिसले यो खबर पत्याएका छैनन्, कति डरले लिचीनै खान हुन्न रै’छ भनिरहेका छन्। लिचीमा के हुन्छ त्यस्तो रसायन छ? जसले त्यति धेरै बालबालिकालाई मृत्युको मुखमा पुर्‍यायो?

लिची खाएर मर्नेमा मुख्यत: गरिब परिवारका बालबच्चा छन्। कुपोषणका शिकार बनेका बालबालिका गर्मीको समयमा लामो समयसम्म भोकै रहँदा उनीहरूको रगतमा चिनीको मात्रा कमी हुन जान्छ। शरीरमा पानीको मात्र पनि कम हुन्छ। यसरी रगतमा चिनीको मात्रा कम भएको बेला लिची खाँदा त्यसले तुरुन्तै असर गर्छ।

भोको पेटमा जब बच्चाले लिच्ची खान्छ शरीरले लिचीमा हुने गुलियो छिटो छिटो तन्तुमा लान खोज्छ। यो गुलियोलाई तन्तुमा पुर्याउने काम क्यारनिटिन नामक एमिनो एसिडले गर्दछ।

 

लिचीमा पाइने मिथाइलिन-साइक्लो-प्रोपायल-ग्लाइसिन (एमसीपीजी)  र मिथाइलिन-साइक्लो-प्रोपायल-एसिटिक-एसिड (एमसीपीएसी)

क्याटरिनसँग टाँसिएर बस्छ। त्यसले क्याटरिनलाई तन्तुसम्म ग्लुकोज पुर्याउने काममा अवरोध पुर्याउँछ।

त्यो अवरोध चिर्न र ग्लुकोज तन्तुमा पुर्याउन शरीरले बचेकुचेको शक्ति त्यसैमा खर्च गर्छ। त्यसले रगतमा ग्लुकोजको झनै कमी गराइिदन्छ।

हाम्रो शरीरमा सबभन्दा भोको अंग भनेको मस्तिष्क हो। शरीरको कुल तौलमा मस्तिष्कको हिस्सा २ प्रतिशतमात्र हुन्छ। तर यो मस्तिष्कले शरीरलाई चाहिने जम्मा शक्तिको २० प्रतिशत एक्लै खपत गर्छ।

त्यो भोक तृप्त गर्ने स्रोत ग्लुकोज मात्र हो। जब हाम्रो दिमागमा ग्लुकोजको आपूर्ति १० मिनेट मात्र रोकिन्छ त्यसले स्थायी रूपमै दिमागलाई भत्काइदिन्छ। त्यसलाई ‘परमानेन्ट ब्रेन ड्यामेज’ भनिन्छ।

जब लिचीमा हुने एमसीपीजी/ एमसीपीएसीले क्यारनिटिनसँग टाँसिएर दिमागमा ग्लुकोजको आपूर्ति कमी गरिदिन्छ बालबच्चा बेहोस हुन्छन्। दिमागमा ग्लुकोज आपूर्ति बन्द नै हुन थाल्यो भने ‘ब्रेन ड्यामेज’ हुन खोज्छ। त्यस्तो बेला बच्चा कोमामा जान्छ। ग्लुकोज आपूर्ति लामो समयसम्म रोकियो भने केटाकेटीको ज्यानै जान्छ।

अंग्रेजी महिनाको मे र जुनमा भारतका धेरै राज्यमा प्रचण्ड गर्मी हुने गर्छ। लिची फल्ने याम पनि यही हो। यही गर्मी याममा भारतको मुजफ्फरपूरदेखि भेलोरसम्मका सहरमा लिची खाएर बालबालिकाको मृत्यु भएको हो।

लिचीको यो अवगुण बुझेरै हाम्रो आयुर्वेदले किसानलाई लिची बारीमा भोक लाग्दा नजानु भन्छ। खाना खाइवरी मात्र जानु भन्छ।

हामी पनि लिची खाँदा वा हाम्रा बालबालिकालाई खुवाउँदा सतर्क बनौं। भोको पेटमा लिची नखाऔं।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE