मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

१५ सय वनस्पति कहाँ बेच्ने, कसरी बेच्ने?

नेपालको विकासका लागि स्थानीय कच्चा पदार्थ र श्रममा आधारित उद्यमशीलतामार्फत हाताहाती प्रतिफल दिलाउन सक्ने धेरै ‘इनोभेटिभ’ कम्पनी र संस्थाहरूको स्थापना हुन जरुरी छ। यिनको स्थापनाको अनिवार्य पूर्वाधार भनेको हाम्रा प्राविधिक शिक्षालय, विश्वविद्यालय र अन्य अनुसन्धाता संस्थाले पर्याप्त मात्रामा दक्ष-अर्धदक्ष जनशक्ति उपलब्ध गराउन सक्नु हो।

उद्यमशीलता अन्तर्गत हाम्रो ऐतिहासिक महत्वका आयुर्वेदिक औषधि, खाद्य र ‘सप्लिमेन्ट’ मुख्य छन्। स्थानीयतामा आधारित कृषिजन्य उद्यम विकासका लागि ‘इनोभेटिभ कल्चर’ र पूर्वाधार विकास जरुरी छ। स्थानीय स्तरमा प्राविधिक शिक्षालय र विश्वविद्यालय मार्फत प्राविधिक ज्ञान र प्रवर्द्धनमा ‘स्टार्टअप’का लागि ‘इनोभेटिभ’ सीप हस्तान्तरण गराउन यो खुला अवधारणा पत्र यहाँ प्रस्तुत गरिएको हो।

सन् २०१४ को भूमिसम्बन्धी तथ्यांकअनुसार नेपालको कुल क्षेत्रफलको २.६ प्रतिशत हिस्सा पानी छ। १६ प्रतिशत खेती गरिएको जमिन छ। खेती गरिएको जमिनमध्ये आधामा मात्र सिँचाइ सुविधा उपलब्ध छ।

यसरी हिसाब गर्दा पनि ८ प्रतिशत जमिनमा मात्र पुस्तौंपुस्तादेखि हाम्रो सारा कृषिको जोडबल थुपारिरहेका छौं भन्ने प्रस्टिन्छ। १६ प्रतिशत खेतीयोग्य मानिएको जमिनमा हाम्रो ८० प्रतिशत कृषिको लगानी घोप्टाए पनि कृषकको जीवनशैली उँभो लागिरहेको छैन। जंगल भनिएको २४ प्रतिशत र अन्य भनिएको ४४.०८ प्रतिशत गरी जम्मा ६८.०८ प्रतिशत भूभाग जस्ता छन्। त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, औषधिजन्य, वासनादार वनस्पति तथा खाद्यान्न लगायत अरू थुप्रै वनस्पतिको पहिचान, प्रशोधन र व्यावसायीकरण गर्न सके ‘कृषि क्रान्ति’ योजनामा मात्र सीमित हुने छैन।

एक अध्ययनअनुसार संसारका १५ हजार प्रजाति वनस्पतिमध्ये ३७ सय वासनादार (एरोम्याटिक) र औषधिजन्यको मूल्य यकिन भइसकेको छ। नेपालमा पाइने लगभग ७ हजार वनस्पतिमा १५ सय प्रजातिको मूल्य यकिन भएको र कम्तीमा १ सय ४० वटाको औद्योगिक कारोबार भइरहेको छ।

हालसम्म नेपालका वनस्पति र व्यावसायिक जीवाणुहरूको अध्ययन आयुर्वेदिक महत्वलाई ध्यानमा राखेर गरिएको छ। तिनको सिजनिङ, सेनिटरी, जैविक विषादी, जैविक मल, खाद्य, सौन्दर्य, पोषण सप्लिमेन्ट, लत्ताकपडा, र अन्य प्रयोजनमा औद्योगिकीकरणका लागि ‘इनोभेटिभ कल्चर’ विकास हुनुपर्छ। जसमा हाम्रो ध्यान पुगिरहेको छैन।

प्राविधिक दृष्टिबाट हेर्दा कृषिबाटै विकासमा कायापलट आउने प्रभाव दिनसक्ने क्षेत्र वासनादार र औषधिजन्य वनस्पति र जीवाणु नै हुन्। नेपाल संसारको आधा जनसंख्या बोकेको भारत र चीनको बीचमा छ। हातमा मनग्ये पैसा भएका युवा रहेको भारतको दुईतिहाई जनसंख्या शाकाहारी छ। हामीकहाँ बन्ने वासनादार र औषधिजन्य कच्चा पदार्थमा आधारित शाकाहारी खाना र सौन्दर्य सामग्रीका लागि भारत आशलाग्दो बजार छ।

हामीकहाँ सजिलै उत्पादन गर्न सकिने लेउ, झ्याउ, कीरा, जडिबुटी लगायतका लागि चीन स्वर्णबजार हो।

त्यसैले हाम्रो समस्या बजार हैन, उत्पादनलाई मूल्यवान् बनाउने ज्ञान र गुणस्तरमा नियमितता व्यवस्थापन गर्न सक्ने क्षमताको हो।

यसका लागि मुलुकभित्र ‘इनोभेसन’ संस्कृति विकास हुनैपर्छ। त्यसको अनिवार्य शर्त भनेकै राष्ट्रिय नव-प्रवर्द्धन (आविष्कार) केन्द्र स्थापनाको परिकल्पना, स्थापना र व्यवस्थापन हो।

नेपालमा प्राविधिक ज्ञानका विषयमा विदेशबाट सिधै पूर्ण र प्रत्यक्ष लगानी गर्न पाइने कानुन छ। यो सुविधा ‘टेक्नोलोजी र कन्टेन्ट’ दिनसक्ने संस्थामा प्रयोग हुन जरूरी छ।

एकाध मेडिकल कलेजहरूमा यस्तो विदेशी लगानी प्रयोग गरिएको छ। कृषिजन्य उद्यमशीलता र नवप्रवर्द्धनका विषयमा प्रवासी नेपालीहरूले समेत पहिचान बनाइसकेका छन्। हाम्रो हावापानी र माटो सुहाउँदो प्राविधिक सीप र उद्यममशीलता हस्तान्तरणमा यस्तै दक्ष प्रवासी, स्वदेशी र ‘इन्कुबेटर सेन्टर’हरूको सहयोग जुटाउन सकिन्छ।

यसका लागि सरकारले पहल गर्न जरुरी छ। प्रस्तावित राष्ट्रिय नव-प्रवर्द्धन श्रोत केन्द्रको परिकल्पना, स्थापना र व्यवस्थापन प्रमुख अभियान बन्न सक्छ।

हाम्रो जस्तॊ भौगोलिक अवस्था छ, त्यसमै अनुकूल भएर हुर्कने हजारौं रैथाने वनस्पतिले हाम्रो जीवनशैली सुधार्ने गरी आय दिन सक्छन्। संसार पछि लाग्दै गरेको ‘डिटक्स एग्रोफुड’ को उत्पादनस्थल नेपाली भूमि हुनसक्छ। यसकारण राज्यले खेतीसँगै यो क्षेत्रमा पनि ध्यान र लगानी बढाउनुपर्ने समय आएको छ। हामीकहाँ भएका उपजहरूमा प्रविधि प्रयोग गरी मूल्यवान् बनाउन प्रयास गरिनुपर्छ। स्रोत व्यवस्थापन र तालिम सञ्चालन गरी उचित मूल्य कायम हुनुपर्छ।

हामीकहाँ उत्पादित वस्तु कच्चापदार्थका रूपमा अन्य मुलुकले सस्तोमा किन्ने र त्यसैलाई प्रशोधन गरी दसौं गुणा महँगोमा हामीले किन्ने अवस्था छ। हामीले बेलैमा यसमा काम नगरे यो समस्या झनै विकराल बन्छ। किनकि, धनी राष्ट्र वा उसका सहयोगी संस्थाले हामीलाई यी ज्ञान उपलब्ध गराउन सक्ने अवस्था छैन। उनीहरूको जोड हाम्रो जस्तो देशमा मानव अधिकार, आधारभूत शिक्षा, भाषा, स्वास्थ्य, कुरिती निवारण लगायतमा सीमित हुन्छन्।

तत्कालीन अवस्थामा यी राम्रै गतिविधि भए पनि देशको कायापलट गर्न पर्याप्त हुँदैन। त्यसैले हामी आफैंले कसरी हुन्छ, यसमा अगाडि बढ्नुपर्ने बेला आएको छ।

यसका लागि कृषकहरुलाई आयुर्वेदतर्फ आकर्षण गर्न जरुरी छ। गाउँगाउँमा स-साना कृषि उद्यम विकास चाहिन्छ। जडिबुटीजन्य खाद्य, औषधि, आयुर्वेद, जैविक मल, बिषादी, वैकल्पिक ऊर्जा लगायत अन्य क्षेत्रका ग्रामिण पकेट क्षेत्र विस्तार गरिनुपर्छ। यसनिम्ति स्थानीय जनशक्ति उत्पादन गर्ने, ‘स्टार्टअप’ र सीपमूलक स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने तथा ‘आइडिया इन्कुबेसन’ गर्ने इनोभेटिभ कार्यक्रमहरू सञ्चालन हुनु जरुरी छ।

स्थानीयस्तरमा भरपर्दो उत्पादन सम्भव भएपछि यसलाई ठूलो उद्यम बनाउनतर्फ सोच्नुपर्छ। यहीँको हावापानी, माटो, कच्चा पदार्थ र सीप सुहाउँदो पाठ्यक्रम र तालिम प्याकेज तयार गरिनुपर्छ। उधमशीलता विकासको पूर्वाधार विस्तार गर्नेतर्फ अघि बढ्न जरूरी छ।

कृषि तथा आयुर्वेद उद्यम विकासमा निजी र सामुदायिक संघसस्थाहरू समेतलाई अभिप्रेरणा पुग्ने गरी विशेष नीति लिन जरुरी छ।

केही सुझाव यहाँ छन्ः

आयात प्रतिस्थापन गर्ने नियतले स्थानीयसँग मिलेर सम्भाव्य कृषि तथा वन उपजमा आधारित उद्यम पहिचान गरी आवश्यक सीप, ज्ञान र प्रविधि प्रयोग गर्न सहभागी हुने।

रैथाने जिवाणु, जडिबुटी, खाद्य, औषधि, आयुर्वेद, जैविक मल, विषादी, वैकल्पिक उर्जा र अन्य क्षेत्रमा नमुना उद्यमशीलता विकास गर्ने।

प्राविधिक तथा आयुर्वेद शिक्षालयहरू व्यवस्थापन गर्दै उद्यमशील पाठ्यक्रम र प्याकेज बनाउने। कृषि जनशक्ति उत्पादन गर्न निजी क्षेत्रलाई आर्थिक र भौतिक सहयोग पुर्याउन प्रेरित गर्ने।

‘स्टार्ट द स्टार्टअप’ र सीपमूलक स्वरोजगार विस्तार गर्न तालिम र प्रवर्द्धनका कार्यक्रम गर्ने।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE