मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वैज्ञानिक ज्ञान र वैदिक ज्ञान

नारायण घिमिरे

जब हामी कुनै बस्तुलाई हेर्छौ त्यसको लेखाजोखा लम्बाई, चौडाइ, ऊचाई, तौल, शक्ति, गति, तातोपन लगायतका कुराहरू बाट राख्ने गर्छौ। महसुस भने बस्तुको रङ्ग, स्वाद, गन्ध, ध्वनि, छुँदा प्राप्त हुने अनुभव आदिबाट हुने गर्छ। विज्ञानले विषय बस्तुलाई भौतिक मापदण्डको आधारमा बुझ्ने गर्छ।

विज्ञानमा व्यक्तिले महसुस गर्ने बस्तुको प्रकृति परीक्षणका बखत प्रतिपादित सिद्धान्तको स्वीकार्यताको मूल्याङ्कनमा उपयोग भइरहेको हुन्छ। सिद्धान्त प्रतिपादन र परीक्षण पश्चात् स्थापित हुने निष्कर्षमा भने अटाउने गर्दैन। फलतः भौतिक मापदण्ड भन्दा अनुभव र महसुस मार्फत ज्यादा स्वीकार्य हुने उत्कृष्ट वैज्ञानिक विधाहरू जस्तै ज्ञान, प्रतिभा, साहित्य, कला र सङ्गीत आदिलाई स्वयम् विज्ञानले कला भनेर सीमित परिभाषाको दायरामा कोचिदिएको छ।

वैज्ञानिक ज्ञान परीक्षणमा खरो उत्रेको प्रमाणित ज्ञान हो। विचारलाई प्रयोगात्मक परीक्षण द्वारा प्रमाणित गरिएपछि विचार वैज्ञानिक ज्ञान बन्दछ । सर्ब-स्वीकार्य हुने गर्छ। विचारको उत्पत्ति कसरी हुन्छ, विचार वैज्ञानिक बनिसके पछि सर्व-स्वीकार्यताको अनुभूति मानिसमा कसरी हुन्छ आदि बारेको ज्ञान भने राख्दैन विज्ञान।

 

संस्कृतमा वेद शब्दको अर्थ ज्ञान भन्ने हुन्छ। वैदिक ज्ञानलाई आध्यात्मिक प्रकृतिको ज्ञान मानिन्छ। जुन अनुभव र अनुभूति बाट प्राप्त हुन्छ। बैज्ञानिक रूपमा पुष्टि नहुँदा नहुँदै पनि आध्यात्मिक ज्ञान व्यक्ति र समाज दुवैको जीवन्त अनुभवको माध्यमबाट मानिसले अनुभूति गर्छ।

 

विज्ञानले बस्तुको वास्तविक उपस्थितिको बोध गराउँछ। वैदिक ज्ञानले बस्तुको उपस्थितिले दिने अनुभूतिको अनुभव बारे सचेतना दिलाउँछ। बस्तुको मापन गर्न सकिने सूचनाहरूको अध्ययन गर्ने गर्छ विज्ञान। बैज्ञानिक सूचना लगायत बस्तुको उक्त समयमा अर्को बस्तुको सन्दर्भको सूचना, सूचनाको प्रकृति र तत्कालीन संदर्बको अर्थ र प्रभाब बारेको जानकारीको समेत हेक्का राख्ने गर्छ वैदिक ज्ञानले।

 

पाकेको आँपको वास्तविकता भनेर विज्ञानले त्यसको कडा पन, नरम पन, तौल, सङ्ख्या, लम्बाई, चौडाइ, रसिलोपन जस्ता गुण आदि मापन गर्छ। मापनका लागि भौतिक औजार हरूको प्रयोग गर्छ। वैदिक ज्ञानले आँपको रङ्ग, स्वाद, छाम्दा महसुस हुने नरमपन, वासना आदि बारे हामीलाई अनुभूति गराउँछ। जसको लागि हाम्रा इन्द्रियहरू र चेतना उपयोगमा आउँछन्।

 

वैदिक सूचनाहरूमा उक्त समयमा आँपको रङ्ग, रसिलो पनको तपाइको आँखा अगाडी घुमेको चित्र, तपाइले महसुस गर्नु भएको वासना, आँप खाने इच्छा र चाखी हेर्दा अनुभूति भएको गुलियो  अमिलो पन आदिले तपाइमा छाडेको असरको अनुभूति बाट प्राप्त अनुभवको समेत लेखाजोखा राख्ने गर्छ ।

 

मानिसले अनुभूति बाट प्राप्त गर्ने अनुभव लाई मानिस कुन अवस्था र सन्दर्भ बाट गुज्रिरहेछ त्यसको निकै ठुलो असर हुने गर्छ । उदाहरणको लागि यदि उक्त समयमा तपाईँ भर पेट आँप खाई सकेर बस्नु भएको अवस्था रहेछ भने तपाईँ लाई त्यो आँपको न त वासना ले लोभ्याई रहेको, न त खाने इच्छा नै जागेको अवस्था समेत हुन सक्छ। यस अर्थमा अनुभूतिका साथ साथ संदर्ब समेत महत्त्व पूर्ण हुने ठानी तिनीहरूको सूचना राख्ने गर्छ वैदिक ज्ञान। सबैलाई समग्रमा कन्ससनेस वा चेतना भनिएको छ।

 

विज्ञानले कुनै पनि बस्तुबारे हामीलाई पहिचान गराउन निकै ठुलो सहयोग गर्ने गर्छ। वैदिक ज्ञानले उक्त बस्तुले हाम्रो निजी र सामाजिक जीवनमा पुराउन सक्ने प्रभाव, विभिन्न सन्दर्भको महत्त्व, मूल्य तथा अर्थ बारेको जटिल तम सूचना बारे हामीलाई सचेत पारिदिन्छ।

 

आजको कटिंग ऐज दुनियाँको सैधान्तीक र व्यवहारिक अनुसन्धानहरू विज्ञान र वैदिक ज्ञान नियमित जरुरतका विषय बनेका छन्। जब अनुसन्धान निकै गहिरो र जटिल मोडमा पुग्दछ, वैदिक ज्ञानले राख्ने सूचनाको लेखाजोखा बाट अनुसन्धान कर्ता तुलनात्मक रूपमा निकै चाँडो अनुसन्धानको निचोडमा पुग्ने गरेको भेटिन्छ। विज्ञानको क्षेत्रमा लागेका नयाँ पिडिको लागि वैदिक ज्ञान नयाँ सुवर्ण अवसर हो। जुन कुरा आजको हाम्रो नयाँ पिडि सँग पुग्न सकिरहेको छैन। पुराउन जरुरी छ।

 

वेद, उपनिषद र पुराण आदिबारे जान्न पहिले श्रुति र स्मृति बारे जान्नु जरुरी छ। शास्त्रको सुरुवात बिन्दुको बारेमा जानकारी नरहेको परम्परागत रूपमा सुन्दै वा संचारित हुँदै आएको शास्त्र लाई श्रुति भन्ने गरिन्छ। जस्तै वेद र उपनिषदहरू श्रुति हुन्। यो विश्वास गरिन्छ कि वेदको ज्ञान अलौकिक हो।

 

मतलब वेद कुनै व्यक्तिको सम्झना वा लेखन द्वारा तैयार गरिएको नभई द्रष्टा सन्त तथा ऋषिहरूले समय क्रममा सिधै ब्रह्मबाट प्राप्त ज्ञान परम्परागत रूपमा लिपिबद्ध हुदै शास्त्रको स्वोरुपमा  विकसित बनेको हो। ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चारवटा वेद अस्तित्वमा छ। वेद जस्ता अलौकिक ज्ञान अध्यन बाट विकसित मानव अन्तर-ज्ञानको उपयोग गरिँदै व्यक्तिको सम्झना वा लेखन द्वारा तैयार गरिएको शास्त्र लाई स्मृति भनिन्छ। जस्तै वेदाङ्ग, उपवेद, उपांग, धर्म सूत्र, पुराण, रामायण, महाभारत आदि सबै स्मृति हुन्।

 

वेदमा कुनै पनि संस्कृति विरोधी, समाज विरोधी, दर्शन वा धर्म विरोधी कुन्ठा, ईर्ष्या, कुटिलता, घृणा वा तिरस्कारहरू छैनन्। छ त व्यक्तिगत र समाजको समेत लाभ पुग्ने जीवनको अर्थ, अस्तित्व लगायतका व्यवहारिक ज्ञानका विषयहरू। अर्को मुख्य चुरो कुरा वेद कुनै अमुक संस्कृतिको वा धर्मको ग्रन्थ हैन। यथार्थमा हिन्दु, जैन र बुद्ध जस्ता संस्कृति र दर्शनहरूमा वैदिक ज्ञानको निकै प्रगाढ प्रभाव भेटिन्छ।

 

वेदको आधिकारिक प्रयोगात्मक ज्ञान र अवधारणा जान्न र मनन गर्नको लागि वेदको अध्ययन जरुरी छ। वेदको न त अध्ययन, न त मनन गरेका कतिपय धर्म गुरुहरुले वेदका व्यावहारिक, आधिकारिक र प्रमाणिक ज्ञानबाट विचलित गलत सूचना संचार गरीदिदा अक्सर वेद विवादास्पद बन्दै सामाजिक सर्व-स्वीकार्यता गुमाउँदै गएको भेटिन्छ।

 

वेद पश्चात् प्रचलनमा ल्याइएका स्मृति शास्त्रहरूमा वेदको मर्मको निरन्तरता रहेको भनी वेदका बारेमा जिज्ञासा राखिदा, स्मृति शास्त्रहरूको उद्धरण गरी जवाफ फर्काउने हाम्रो गलत प्राक्टिसले वेदलाई विवादास्पद बनाइ दिएको छ ।

 

धार्मिक भक्तिको नाममा गुरु आशक्ति अभिवृद्धि गर्ने नियतमा वेदमा उल्लेख गरिएको भन्ने दुहाई दिँदै नियमित उपाङ्ग, धर्म-सूत्र, रामायण, महाभारत, पुराणहरू पाखण्डी पूर्ण वाचन गरिने, वाचन गर्ने धर्मगुरुहरू अद्वितीय, अभिजात, ईश्वरको दूतहुने धारणाले सामाजिक स्वीकार्यता प्राप्ति वेद प्रति नयाँ पुस्ताको विकर्षण हुनुको प्रमुख कारक बनिदिएको छ ।

 

वैदिक ज्ञान यथार्थमा मानिसको दैनिक सोच र कर्म लाई व्यक्तिगत तथा सामाजिक उत्थानको दिशा निर्देशका खातिर उपलब्ध  उत्कृष्ट व्यवहारिक ज्ञान हो। व्यक्ति र समाजको लाभ पुग्नेगरि निजी तथा सामाजिक गतिविधिहरू कार्यान्वयनमा नभई नहुने व्यावहारिक सोचको विकास गर्न जरुरी हुने पूर्वाधार उपलब्ध गराउँदछ वैदिक ज्ञानले भन्ने यथार्थता आज सम्म पनि हाम्रो समाजमा पुगिरहेको भेटिन्न।

 

वेदको यथार्थता हाम्रो समाजमा वाचन गरिने र सुनाइने भन्दा निकै भिन्न भेटिन्छ। नितान्त निजी र सामाजिक जीवनका व्यावहारिक पक्षहरू र सुदृढ मानव जीवनयापनमा अर्थ राख्ने स्वस्थता, खानपान, तन्दुरुस्ती, अर्थशास्त्र, राजनीति, संस्कृति आदि जस्ता सबै पक्षहरूको व्यावहारिक ज्ञान समावेश छ वैदिक ज्ञानमा ।

 

आजको दिनको मानिसको जीवन यापनलाई उल्लेख्यनिय रूपमै सरलीकृत पार्न सफल बनेको विज्ञान, आगामी पुस्ताको रोजाई र आवश्यकताको पूर्ति गर्न जरुरी पर्न गएको सिप, ज्ञान र प्रविधि पहिल्याउन वैदिक ज्ञानको सहारा लिदैछ। यसै प्रयोजनका लागि विज्ञानले मानवीय बुद्धि, मन र सचेतनाको भौतिक बस्तु सँगको सम्बन्धको सिद्धान्त प्रतिपादन गर्ने तर्फ समय खर्चिरहेको छ। प्रकृति, समय र भौतिक बस्तुहरूको चेतना सँगको सान्दर्भिकता विकास गर्न अब वैदिक ज्ञानको उपयोग गरिनुपर्ने बेला आएको छ। जुन हाम्रो रैथाने परम्परागत कौसलता र कार्य शैलीको ग्लोबल संबॄध्दिका लागि उच्च जरुरत महसुस गरिएको अवस्था हो।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE