मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

आयुर्वेद र मस्तिष्कको रोग पीएसपी

नारायण घिमिरे

एक अनुमानमा विश्वमा रहेका प्रत्येक १० लाख मानिसमा ३ देखि ६ जना सम्म ​​प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) जस्ता असामान्य मस्तिष्क विकारको सिकार बनिरहेको भेटिन्छ। प्रत्येक वर्ष लगभग पचास हजार पार्किन्सन रोग लागेको भेटिने अमेरिकामा बिस हजार अमेरिकीहरू पीएसपी ग्रस्त भेटिने गरेको तथ्याङ्क छ। यो अर्थमा विश्व भर पीएसपीलाई  पार्किन्सन भन्दा पनि  दुर्लभ रोग मानिन्छ। प्राय साठी वर्ष नाघेको मानिसमा देखिने यो रोगबाट महिला भन्दा पुरुष बढी प्रभावित बनेको तथ्याङ्क छ।

​​“प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी” अग्रेजिको शब्द ​​प्रोग्रेसिभको अर्थ दिन दिनै झन् खराब हुँदै गएर जीवन नै जोखिममा पारिदिने, सुप्रान्युक्लियरको अर्थ दिमागको भित्री भागको अलिमाथिको भाग र पाल्सीको मतलब प्यारालाइसिस भन्ने लाग्छ। सामान्य रूपमा भन्दा पीएसपी मानिसको दिमागको ब्रेनस्टिम, सेरेब्रल कॉर्टेक्स, सेरेबेलम र बेसल ग्यांग्लियामा रहेका कोशिकाहरू बिस्तारै मर्दै जाने लक्षणले सिर्जना गर्ने विकृतिका कारण विकास हुन्छ।

मुख्य दिमागको रूपमा चिनिने दिमागको मध्य भाग शरीरको सम्पूर्ण अङ्गकै गतिलाई नियन्त्रण गर्ने, हिँडडुल सहज पार्ने र स्नायु मार्फत मस्तिष्क लाई जोडि सोचाइलाई नियन्त्रित बनाउने गर्छ। कोशिकाहरू खिइदैजाने प्रक्रियामा मानिस लाई हिँडडुल गर्न र सोझो ठडिएर बस्न नसक्ने हुन पुग्छ।बिस्तारै अखाका नानीहरू छिट्टै यता उता, तल माथि  चलाउन नसक्ने, दृष्टिमा समस्या आउने, आँखाको गतिविधि सुस्त हुने, ट्वाल्ल हेर्ने, प्रकाशमा संवेदनशील बन्ने आदि समस्या जन्मी दिन्छ।

 

मनोवैज्ञानिक रूपमा कुनै कुरामा पनि रुचि नहुने र अस्थिर उदासी मनोदशाको बढ्ने हुन्छ। हिँडडुल गर्न मन नलाग्ने, सुस्त हिँड्ने, व्यवहार अनुहार र हाउभाउमा देखिने परिवर्तनहरू पार्किन्सन रोग लागेको सँग मिल्ने हुँदा कतिपय पीएसपीका बिरामी पार्किन्सन रोग लागेको भनी परीक्षणले गलत पहिचान गरिदिने गर्छ। पीएसपी पार्किन्सन रोग भन्दा अलि धेरै दुख दिने दुर्लभ रोग भएकाले पार्किन्सनको उपचार पध्दतिले पीएसपीका रोगीहरूको पूर्ण उपचार हुँदैन।

पीएसपीको अर्थ मस्तिष्कको केन्द्र भाग माथिका संरचनाहरू खिइँदै गएका कारण नियमित खराब हुँदै गएर मस्तिष्कको पक्षाघात सम्म गराई जिबननै जोखिममा पारिदिने रोग भनेको हो। यो रोग लाग्दा मस्तिष्कको संरचनाहरू खिइँदै जाने क्रममा इन्जाइमहरू जरुरी भन्दा धेरै सक्रिय बनी अल्जाइमर रोगमा हुने अवस्थामा जस्तै मस्तिष्कमा ह्वात्तै टाऊ-प्रोटिनको मात्रा बढाई दिन्छ। दिमागमा टाऊ-प्रोटिन बढ्दै जाँदा एक अर्कोमा जकडिएर गुजुल्टो पर्दै जाने र दिमागले नयाँ कुरो सिक्ने र सिकेको कुरा सम्झने निउरोनलाई क्षति पुराई अल्जाइमर रोगमा हुने लक्षण समेत पैदा गरिदिन्छ। जसलाई कगनेटिब क्षमतामा ह्रास भनिन्छ।

जब मानिसलाई अल्जाइमर रोग लाग्छ उसले ज्ञानात्मक वा संज्ञानात्मक कमजोरीको अनुभव गर्छ। धेरै वर्षहरूमा मात्र यसले भयावहको रूप लिने गर्छ। पीएसपीको अवस्थामा भने दैनिक जीवनमा हस्तक्षेप नै हुने गरी नयाँ कुरो सिक्न पनि नसक्ने र सिकेको पनि बिर्सने अति गम्भीर मानसिक क्षमतामा गिरावट आउछ।

 

मानिस विविध कारणले नयाँ कुरो सिक्न नसक्ने र सिकेको पनि बिर्सने डिमेंशिया जस्ता समस्यामा पर्ने गर्छन्। अन्य रोगमा जस्तो मानिस पीएसपी ग्रस्त बनेको वा नबनेको पुष्टि गर्न हाल रगत वा इमेजिंग जस्ता परीक्षण विधिहरू खासै विकास हुन सकेको देखिदैन। यद्यपि केही अनुसन्धानकर्ताहरूले दिमागको भित्री मध्यभाग अलिमाथिको भाग मिडब्रेनको एमआरआईबाट लगभग १००% पीएसपी ग्रस्त बनेको वा नबनेको पुष्टि गर्न सकिने दबा गरेका छन्। कतिपयले उक्त तरिकाबाट मात्र ७०% सही यकिन हुने गरेको बताउँछन्।

 

पछिल्लो समयमा औधोगिक प्रदूषणका कारण विषाक्त वातावरणमा बसेका र नियमित रुपमा लामो समय निकै थोरै मात्रामा विषाक्त खाना खान पुगेका मानिसमा धेरै पीएसपीको सङ्क्रमण भएको भेटिएको छ। प्रदूषित वातावरण र विषादी युक्त खानाको जीवन पद्धतिमा जकडिएका मानिसको सरिरमा पुगेको रसायन पीएसपी हुन प्रत्यक्ष योगदानको कारक बन्ने गरेको लगभग निस्चित भैसकेको छ।

पश्चिमा औषधि विज्ञानले मनोवैज्ञानिक प्रकृतिका अटिजम जस्तै पीएसपीको समेत न कुनै प्रभावकारी औषधी न शल्य चिकित्सा न उपचार उपलब्ध गराउन सकेको छ। मात्र पीएसपीका रोगीहरूको हेरचाहमा जरुरी पीएसपीका लक्षणहरू नियन्त्रणका उपायहरू सिफारिस गर्न सकिरहेको छ।

 

रोगको निदानको लागि जैविक असन्तुलनका कारण नै खुट्टाउन नसक्दा विकास हुन नसकेको रोगको उपचार पद्दति, रोगलागि सकेपछि हेरचाहका लागि जरुरी हुने प्रमुख लक्षणहरू कम गर्ने विकल्पमा सीमित हुन पुगेको हो। रोगलागि सकेपछिको समस्या व्यवस्थापनको वैकल्पिक उपायको रूपमा।

पश्चिमा औषधि विज्ञानमा ओखती रोगको निदानमा हैन रोगले दिने प्रतिकूल अवस्थाको नियन्त्रणको लागि दिइने गर्छ। ओखती पनि जीवन भरिनै खानुपर्ने अवस्थाका छन्। विकृति व्यवस्थापनमा एक समस्याको उपचारमा लिइने ड्रगहरूले अर्को विकृति निम्ताउने र जीवनलाई अरू जटिलतामा धकेलिदिने गरिरहेका हुन्छन।

 

पछिल्लो समयमा बायो-मेडिसिनका उपकरणहरू प्रयोग गरी पीएसपी रहेको निर्क्योल भएको बिरामीको आयुर्वेदिक अवधारणा प्रयोग गरेर गरिएको उपचार विधिले उत्शाहबर्दक उपचार भएको नतिजा दिएको पाइएको छ।

 

सन् २०१२ मा नयाँ दिल्ली, करोल बाग स्थित आयुर्वेदिक र युनानी टिब्बिया कलेज र अस्पतालको पञ्चकर्मा डिपार्टमेन्टले गरेको अनुसन्धानमा पञ्च कर्म, आयुर्वेदिक पेलेटिब स्याहार र सन्तुलित व्यायामको उचित संयोजनबाट गरिएको उक्त उपचारले पीएसपीको बिरामीमा देखिएको अशक्तता, शरीर सन्तुलन गर्न नसकिरहेको असक्षमता र आँखाको गतिविधि सुस्त हुने समस्याहरूमा उलेखनीय रूपमा सुधार भएका परिणामहरू दिएको हो।

आयुर्वेदिक उपचार पद्धतिमा पञ्चकर्म सबैभन्दा विस्तृत र प्रभावी उपचार प्रक्रिया हो। पाँच वटा उपचार पध्दतिको संयोजन गरी विकास गरिएको यो पद्धतिमा शरीरको सम्पूर्ण सुध्दिकरणमा जोड दिइन्छ। मानव शरीर भित्र मानिसको स्वस्थलाई बिकारगर्ने हानिकारक विष युक्त पदार्थहरू हटाउने प्रक्रिया हो आयुर्वेदमा सुध्दिकरण।

 

मानिसको सरिरमा आन्तरिक र बाह्य कारणबाट पैदा हुन जाने विषहरू जब शरीरबाट हटाउन सकिन्छ तब शरीरले आफूले आफूलाई नै निको पार्न सक्ने सेल्फ हिलिङ्ग प्रक्रियाबाट दिमाग लगायत आफ्नो सम्पूर्ण अङ्ग प्रत्येङ्ग ठिक ठाक र तन्दुरुस्त राख्न काविल हुन्छ भन्ने मान्यता राख्छ आयुर्वेद।

 

आयुर्वेदको यो मान्यता संसारमै सबैभन्दा अहम मान्यता रहेको स्वीकार्यता छ। आयुर्वेद चिकित्सामा पञ्चकर्म पद्दति सरिरमा हुने लगभग सम्पूर्ण हानिकारक विषादी शरीरबाट बाहिर फाल्ने ल्याकत राख्छ भन्ने मान्यता बसेको छ।

 

कलेजको पञ्चकर्मा डिपार्टमेन्टले तेट्रेक्स इंटरएक्टिव ब्यालेन्स सिस्टम (आइबिएस) पोष्टोग्राफीबाट पीएसपीको रोग लागेको पहिचान भएकी एक ५५ वर्षीया महिला उपचारको लागि छानेको थियो।

 

कलेजले पञ्च कर्म, आयुर्वेदिक पेलेटिब स्याहार र सन्तुलित व्यायामको संयोजन गरी तिन महिना लामो आयुर्वेदिक उपचार पद्धति विकास गर्‍यो। पीएसपी रेटिंग स्केल प्रयोग गरी उपचारको प्रभावकारिता मूल्याङ्कन गर्ने क्षमता बनेपछि उक्त महिलामा आयुर्वेदिक उपचार सुरु गरियो।

 

आयुर्वेदिक उपचारको पहिलो भागको रूपमा शास्त्रीय विधिद्वारा पहिले १५ दिन लामो वीरेचना कर्म गरियो।

 

सरिरमा रहेका रगतका विषहरू, पसिनाका ग्रन्थिहरू, मिर्गौला, पेट, सानो आन्द्रा, कोलोन, कलेजो, स्प्लिन र रक्त नली सफा गर्ने नियतले मानिसलाई लाभ वर्धक शुद्ध पदार्थहरू खान दिने र आन्द्रा हुँदै खलास पार्ने तरिका हो वीरेचना।

 

वीरेचना पद्धतिमा आन्द्राको पाचन शक्ति बढाउने, भोक जगाउने र पेटमा वायु कामिगर्ने आयुर्वेदिक औषधि चित्रकादी वटी हरेक दिन दुई टेबलेट खाने गरी तिन दिनको लागि दिइयो।

 

नेपालमा यत्रतत्र पाइने चितु, सेलेरी, चाव्य, कालो मरीच, पिपला, हिङ, पिप्पली मोल, हिमालय नुन, टेबल नुन, दतिवनको खरानी, बिरे नुन, अदुवाको सुठो, एमोनियम साल्ट, पोटास, यवक्षार, कागती र अनारको जुस जस्ता जटिबुटि बराबर मात्रामा हाली चित्रकादि वटी बनाएको हुन्छ।

 

पञ्च कर्ममा शरीरबाट विषादी हटाउने प्रमुख प्रारम्भिक तैयारी गरिन्छ । बिरामीको शरीर भित्र चिल्लो पदार्थ पुराएर आन्तरिक वोलिएसन गरी शुद्धीकरण प्रक्रियाको लागि शरीरलाई तयार गरिन्छ।

 

चित्रकादी वटी सेवन पछि ५ दिन आन्तरिक वोलिएसनको लागि साधा शुध्ध गाईको घिऊ पहिलो दिन ३० एमएल, दोस्रो दिन ५० एमएल, तेस्रो दिन ९० एमएल, चौथो दिन १४० एमएल र पाँचौँ दिन १८० एमएल खान दिइयो।

 

मानिसको शरीरमा आन्तरिक रूपमा उत्पन्न हुने होस् वा बाहिर वातावरण बाट पुगेको होस पानीमा घुलनशील विषाक्त पदार्थहरू रगतमा हुने जल सञ्चारको माध्यमबाट पानीमा घोली पिसाब गर्दा सजिलै शरीर बाहिर पुग्छ।

 

समय क्रममा शरीर भित्र जम्मा हुने विषहरू चिल्लोमा घुलनशील हुने विष हो। चिल्लोमा घुलनशील विषाक्त पदार्थहरू केही समय मानिसको मांसपेशीमा रहेको बोसोमा जम्मा हुन्छन्।

 

सामान्य भन्दा धेरै विष जम्मा हुनपुग्दा कोशिकाहरूमा विषहरू विलीन हुन पुग्छ। घुलनशील विषहरू हर्मोनको काममा अवरोध गर्ने, प्रतिरक्षा प्रणाली बिथोलिदिने, एलर्जी, कलेजो र छालाको रोग, लगायत क्यान्सर, स्नायु विकार, प्रजनन र सन्तान उत्पादनमा विकृति जस्ता धेरै प्रकारका विकार र रोगहरूको कारक बन्ने गर्छ। शरीरको नियमित संरचना र कार्यमा हस्तक्षेप गरी विकृति निम्ताउन निर्णायक बन्छ।

 

केशिकाका झिल्ली चिल्लो र प्रोटिनबाट बनेको हुन्छ। घिऊको चिल्लोले केशिकाका झिल्लीलाई लचिलो बनाई दिन्छ। धेरै मात्रमा  शुध्ध साधा गाईको घिऊ  प्रयोग हुँदा मानिसको रक्त सञ्चार र रगत – मस्तिष्कको बिचमा रहेको प्राकृतिक संरचनाले बनाएको अवरोध (Mental brain barriers) समेत पारगरी दिमाग सम्म पुग्ने गरेको देखिएको छ।

 

मनतातो गाईको घिउ धेरै प्रयोग गर्दा केशिकामा रहेका र मस्तिष्कमा रहेका विषहरू घिऊमा घोलिने र रगतको सञ्चार सँगै आन्द्रा सम्म पुग्ने फर्कने गर्छ। एनिमा जस्तो उपचारले आन्द्रा सम्म पुर्याईएको रोगको कारक बनेका सबै विषाक्त पदार्थहरू आन्द्राको रेक्टम हुँदै शरीरबाट बाहिर फाल्न सकिन्छ।

 

कोलोराडो विश्वविद्यालय सँगको सहकार्यमा इन्स्टिच्युट अफ साइन्स, टेक्नोलोजी एन्ड पब्लिक पोलिसी, महर्षि युनिभर्सिटी अफ मैनेजमेन्ट, फेयर फिल्ड आयोवाको सेप्टेम्बर २००२ मा सार्वजनिक गरिएको अध्ययनले मात्र १२ दिनको शास्त्रीय पञ्चकर्म उपचारले रगतमा जम्न पुगेको पेस्टिसाईड   विषादी ५८% प्रतिशतसम्म हटाउ सफल हुने देखाएको छ।

 

आन्तरिक वोलिएसन लगतै तिन दिन सम्म नियमित दिनको ४५ मिनेट तिलको तेलले पुरा शरीरको मसाज गरि बाहिरी वोलिएसन गरियो।

 

सरिरमा गरिने यस्तो बाहिरी वोलिएसनले थकान हटाउने, मानसिक तनाव कम गर्ने, सेतो रक्त केशिकालाई शरीरभर सञ्चार गराएर विषादीको नियन्त्रण गर्न उत्तेजित पारिदिन्छ। फलतः निद्रा लाग्ने, शरीर सन्तुलन गर्ने, आनंदको महसुस हुने, चिन्ता डिप्रेसन कम हुने र शरीरको डिटॉक्सिफाइ गर्न सहयोगी हुने हुन्छ।

 

बाहिरी वोलिएसन पश्चात् ३० ग्राम त्रिभित अभालेह र २० एमएल अडिरको तेल मिसाएर मनतातो बनाएर सिरिन्ज र ऐनल टीयूवको सहायताले गुद्वार मार्फत बिहान ९:३० मा दिइयो। आन्तरिक वोलिएसन बाट आन्द्रा सम्म पुग्ने पदार्थहरू साइड इफेक्टबिना दिशा मार्फत शरीरबाट बाहिर फाल्ने यो पञ्चकर्मको एक सुरक्षित र सरल पर्जिङ प्रक्रिया हो।

 

त्रिबित लेहम वा त्रिबित अबलेह कब्जियतको लागि उपयोगी हुने हर्बल जाम हो। नेपालको बाके जिल्ला तिर पाइने सिल्भा मान्सो वा निशोधको जरा र बोक्राको पाउडरमा दिशा लगाउने र अमिल्चुकी विरोधी कार्य गर्ने गुण हुन्छ। निशोध पाउडरमा चिनी, मह, दालचिनी, इलायची र दालचिनीको पात मिलाएर त्रिबित अबलेह बनाइएको हुन्छ।

 

वीरेचना पध्दति सकिए लगतै बिरामीको भोक र अवस्था अनुरूप नियमित आहारको लागि तिन दिन संसारजन कर्म गरियो। त्यस लगतै तिन महिना मात्रावस्ती, सिरोवस्ती र प्यालेटिब उपचारमा समय खर्च गरियो।

 

आन्तरिक वोलिएसन पध्दति अपनाउँदा शरीर बिषदी मुक्त हुने क्रममा शरीर थकित मात्र हुँदैन खानाबाट पोषण तत्त्व पचाउने, अबशोषण गरी केसीका सम्म पुर्‍याउने र ऊर्जामा परिवर्तन गर्ने प्रकिया, जसलाई अग्नि भनिन्छ, समेत नराम्रो सँग खलबलिने गर्छ।

 

खलबलिएको अग्नि र प्राणको सामर्थ्य बहाल गर्न वीरेचनाको लगतै एक विशेष आहार योजना जरुरी हुन्छ। जसलाई संसारजन कर्म भनिन्छ। जसमा बिरामीको इच्छा र जरुरत अनुसार पहिले हल्का जाउलो जस्तो तरल खाना दिने र बिस्तारै बाक्लो धेरै पोषण भएको खाना दिँदै सामान्य खानपान गर्ने अवस्थामा बिरामीलाई पुर्याईन्छ।

 

एक दिन बिराएर तिन महिना सम्म गरिएको मात्रावस्तीको लागि हरेक दिन चालिस एमएल क्षीरबला तेल कचौरामा हालेर उम्लिएको पानीबाट मनतातो हुनेगरी तताएर सिरिन्ज र ऐनल टीयूवको सहायताले गुद्वार मार्फत दिइयो।

 

नेपालका खेर गएको जमिन र रोड साइडमा उम्रने नेपालीमा बरीयार वा बलु भनिने बिरुवा लाई बाला (Sida cordifolia) भन्ने गरिन्छ। जिऊ दुखेको मर्केको निको पार्ने यो बिरुवाको तेल उमेरका कारण शरीरको हड्डी, जोर्नी र सेलहरू खिइने, पक्षाघात त्यसमा पनि अनुहारको पक्षाघात रोक्न निकै प्रभावकारी हुने बाला उत्तम न्यूरोप्रोटेक्टिव जडिबुटी मानिन्छ। दूध लाई संस्कृतमा क्षीर भनिन्छ। क्षीरबलातेल दूध, बाला र तिलको तेल वा नरिबेलको तेल मिलाएर बनाइन्छ।

 

अयुर्बेदमा स्वस्थ लाभको लागि विशेष औषधीजन्य तेल विशेष प्रविधि  प्रयोग गरी टाउकोमा लगाउनुलाई सिरोवस्ती भनिन्छ।

 

तिन महिना सम्म गरिएको सिरोवस्ती उपचारमा तिन भाग महामाष तेल एक भाग ब्राह्मी तेल सँग मिसाएर विशेष औषधीजन्य तेल तयार गरियो। उक्त विशेष औषधीजन्य तेल प्रयोग गरी सात दिनमा छ दिन बिधिवत सिरोवस्ती गरिएको थियो।

 

महामाष तेल नेपालमै पाइने जटिबुटिहरु तिलको तेल, सांखा पुष्पी, असुरो, अर्जुना, देवदार, हलेदो, चुत्रो, हर्रो, अमला र चन्दन मिसाएर बनाउन सकिने हिलिङ्ग सप्लिमेन्ट हो। जुन अङ्गको पक्षाघात, अनुहारको पक्षाघात, मांसपेशी खिइने र न्यूरोलॉजिकल समस्याहरूको निदानमा सहयोगी हुन्छ।

 

ब्रहमी (Bacopa monnieri) लाई  नेपालमा मेध-जिरी पनि भनिन्छ। यसको खिइँदै गएको निउरोन पुन उम्रन सहयोग गर्ने गुणले यो नर्वस टोनिकको रूपमा उपयोगमा आउँछ। केन्द्रीय स्नायु प्रणालीको स्मरण शक्ति प्रवर्द्धकको रूपमा मन्दुकापरनी (Centella asiatica) प्रयोगमा आउँछ। जसलाई नेपालीमा पेन्नि वोर्थ, गोटू कोंला, घोड़ टाप्रे, ब्रहाम्बुटि पनि भनिन्छ।

 

नयाँ कुरो सिक्न नसक्ने र सिकेको पनि बिर्सने जस्तो अति गम्भीर मानसिक क्षमतामा गिरावट आउँदा निदानमा घोड़ टाप्रेको प्रयोग गरिने गरिन्छ। दुवै मेध-जिरी र गोटू कोंला तिलको तेल वा नरिबेलको तेलमा मिसाएर ब्राह्मी तेल बनाउने गरिन्छ।

 

पञ्चकर्म पश्चात् गरिएको तिन महिने आयुर्वेदिक प्रकृतिको पेलेटिब स्याहार र सन्तुलित व्यायाम पद्धतीले बिरामीको स्वस्थमा उल्लेखनीय सुधार दिन सक्यो।

 

आयुर्वेदिक प्रकृतिको पेलेटिब स्याहारमा बिरामीलाई तिन महिना सम्म सारस्वतारिष्ट सिरप लाई आधा पानी हाली  दैनिक चार टेबल चम्चा खान दिइएको थियो।

 

रसराजरस १ टेबलेट, १०० एमजी अभ्रक भस्म सहस्रपुटि, १ ग्राम पूर्णे झारको जराको पाउडर, १ ग्राम जेठिमधुको जराको पाउडर, र २ टेबलेट मानसमित्र वटी मिसाएर महसँग मिसाएर खान दिइएको थियो।

सारस्वतारिष्ट सिरप नेपालमा सजिलै पाइने २५ थरी जडीबुटी मिलाएर बनेको स्मरण शक्ति बढाउने एन्टीएजीङ हर्बस सप्लिमेन्ट हो। रसराजरस नेपालमा सजिलै पाइने १२ थरी जडीबुटी मिलाएर बनेको झोल हो जुन अनुहारको प्यारालाइसिस हटाउन उपयोगी हुन्छ।

 

अभ्रक भस्म सहस्रपुटि वास्तवमा अभ्रक हो। अभ्रक सिलिकाहरू मिलेर बनेको सप्लीमेन्ट हो। अभ्रकमा शरीरले खाना बाट सोसेर उपयोग गर्न सक्ने अवस्थाको म्याग्नेसियम, आइरन, क्याल्सियम, अलुमिनम, र प्लान्ट अल्कालोईड राम्रो मात्रामा हुने हुदा स्नायु सम्बन्धी विकारहरू सुधारगर्न उपयोगी मानिन्छ।

 

पूर्णे झारको जरामा हुने धेरै तत्वोमा सिसेस्टेरोल, सिसेस्टेरोल सटेरोइड, पूर्णे भाईन, बोहेरबेहिक एसिड, बोहरबियोन र पाल्मिटिक एडिड मुख्य हुन।  प्रोटिन एक अर्कोमा जकडिएर गुजुल्टो पर्दै जाने प्रभावहरू रोक्न र क्यान्सर जस्तो रोगमा टिऊमरले रक्त नली लाई केमिकल सिग्नल पठाएर बढ्न उत्तेजित पारिदिने प्रक्रियालाई पूर्णे झारमा हुने पुर्णेभाईनले भूमिका खेलिदिन्छ।

 

पूर्णे झारमा रहेका अन्य तत्त्व सरिरमा रहेका बिषदीहरु शरीरबाट बाहिर फाल्न, रक्त नली सफा गर्न र पेट दुख्ने समस्या सुधार गर्न सहयोगी हुने गर्छ। रगतमा बिकार रहन पुग्दा कलेजो र स्प्लिनको पनि समस्या हुने हुँदा कलेजो, स्प्लिन सँग सम्बन्धित रोगमा पनि पूर्णे झारको उपयोग हुन्छ। सामान्य भाषामा पूर्णे झारलाई रगत सफा गर्ने चरित्रको बुटी भन्ने गरिन्छ।

 

लिकोराईस भनी चिनिने जेठीमधुमा हुने ग्लाइसेरिझिक एसिड एच. पाइलोरी भन्ने विषाक्त जीवाणु लाई आन्द्रामा टिक्न दिँदैन। पेप्टिक अल्सर, पेट पोल्ने व्यथा र ग्यास्ट्रिटिस हुँदा नियन्त्रणमा जेठी मधु सहयोगी हुन्छ। खानामा रहेको विषाक्त विरुद्ध लड्न र पाचन प्रक्रियामा सन्तुलन पुनर्स्थापना गर्न जेठिमधुको जराको ढुटो उपयोगी मानिन्छ।

 

नेपालमा सजिलै पाउन सकिने ५२ वटा हर्बल जडीबुटी, ९ वटा मिनिरल्स र खरानीहरू र १२ थरी जुस र दूध मिलाएर बनाइने मानसमित्र वटी आयुर्वेदमा परम्परागत रूपमै प्राचिनकाल देखि विभिन्न तनाव र चिन्ताले जन्माउने मनोवैज्ञानिक विकृतिको जस्तै  डिप्रेसन, एञ्जाईटिको उपचारमा प्रयोग हुँदै आएको सप्लिमेन्ट हो।

 

मानिसमा भित्र गढेर रहेको सामाजिक आक्रमण वा तिरस्कारको डर, असुरक्षाको महसुस र न्युरोनमा हुने अक्सिडेटिब क्षयका कारण स्मरण शक्ति क्षीणहुने विकृत सुल्झाउन उपयोगी रहने मानिन्छ।

 

उपचारमा आयुर्वेदिक पेलेटिब स्याहारका साथ तोकिएको योग मार्फत सन्तुलित व्यायाम गराइएको थियो। उपचारले संसारमै पहिलो पटक कुनै उपचार नहुने ग्रेडमा राखिएको रोगको उत्साह वर्धक सुधार गरेको नतिजा प्रस्तुत गरिरहेको अनुभव गराउँथ्यो ।

समग्रमा आज संसार भर सामान्य मानिने देखि अति दुर्लभ मानिने सम्पूर्ण मानव स्वस्थको उपचारको विकल्प हाम्रो परम्परागत आयुर्वेद सँग छ।

 

आदीकाल देखि नेपालीहरू आयुर्वेदिक हिलिङ्ग फुड, आयुर्वेदिक र प्राकृतिक उपचार कर्म, आयुर्वेदिक पेलेटिब स्याहार र योग लगायतका सन्तुलित व्यायाममा दक्ष पुर्खाका सन्तान रहँदै आएका हुन।

 

नेपालको भौगोलिक वातावरण, परिस्थिति, स्थान र इतिहास उक्त रैथाने सिप र प्रविधिमा बिस्वोको भरोसा जित्न सक्ने अवस्थाको छ।

 

आजको विश्व अर्थ तन्त्र विभिन्न देश बिचको आर्थिक विकासको प्रतिस्पर्धाको मापक हो।

 

माछा लाई रुख चडन बाँदर सँग प्रतिस्पर्धामा उतारियो भने माछा बाँदरको अघि सामान्यतया सधैँ दोयम सिद्ध हुनेछ। त्यस्तै जल विहारमा बाँदर माछा सँग पछि पर्ने छ।

 

जल विहार माछाको र रुख चढ्नू बाँदरको आफ्नो जन्म सिद्ध प्रतिस्पर्धी खुबी रहेकाले तुलनात्मक रूपमा एक अर्काको सामुन्ने उनीहरू आफ्नो खुबीको क्षेत्रमा अब्बल बनेका हुन।

 

हामी पनि आफ्नो मुलुकको द्रुत विकास र संवृद्धि चाहने हो भने हाम्रो परम्परागत र उत्कृष्ट रैथाने सिप र प्रविधिको पहिचान गर्नु जरुरी छ।

 

नेपालको सन्दर्भमा आयुर्वेदिक हिलिग फुड परम्परागत रूपमै नेपालीले उत्कृष्टता प्राप्त गरेको रैथाने  सिप र प्रविधि रहिआएको छ।

 

समय अनुकूल त्यो परम्परागत  रैथाने  सिप र प्रविधिलाई परिमार्जनगरि  औधोगिकीकरण र दिगो व्यवशाहिकरणमा लाग्न सके मुलुकले द्रुत विकास र संवृद्धि पक्डनेमा कुनै दुबिधा छैन।

 

(घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन। Phone +1 647 338 7034. Email:   narayanghimire@yahoo.com)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE