मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नयाँ पुस्ता र वेद

नारायण घिमिरे

नेपालका गाउँ घरमै रहेर अध्ययन अध्यापन गर्ने हाम्रा बाल बच्चाहरू नेपालका भविष्यका कर्णधार हुन। जबसम्म हामी संसारमै प्रतिस्पर्धा गर्न सक्ने ज्ञान, सिप र प्रविधिको पहुँच उनीहरू सँग पुर्‍याउन सक्दैनौ तब सम्म मूलक सर्वाङ्गीण विकास सहित अघि बढ्ने छैन।

 

दुनियाँमा विज्ञानले मारेको आश्चर्यजनक फड्को सहित धनी र गरिब राष्ट्र बिचको विज्ञान र प्रविधिमा रहेको पहुँच र ज्ञानको दुरीले कुनै एक मुलुकमा रहेका बच्चाहरु लाई अर्को मुलुकमा रहेका बच्चाको भन्दा ज्ञान र सिपमा सहज पहुँच मिलिरहेको छ। ज्ञान र सिपमा सहज पहुँच पुग्दैमा विकसित मुलुकमा हुर्केका बच्चाहरू अविकसित मुलुकमा हुर्के बढेका बच्चाहरू भन्दा धेरै तिष्ण र कामयाबी बनिरहेको अवस्था भने छैन।

 

विकसित मुलुकहरुमा स्कुल स्तरको दश जोड दुई शिक्षा प्राप्त गरिसके पछि रोजगारीको अभाव रहेमा मात्र उच्च शिक्षा विद्यार्थी हरुको रोजाइमा पर्ने गरेको छ। नेपाल जस्ता अविकसित र अल्प विकसित मुलुकहरूमा रोजगारी प्राप्तिका लागि उच्च शिक्षामा होमिने प्रवृत्ति देखिन्छ। सबै विकसित, अर्ध विकसित र अविकसित मुलुकहरुमा रहेका शैधान्तिक प्रकृतिका उच्च शिक्षा, प्राविधिक शिक्षा र प्राविधिक तालिम दिने सस्थाहरु अबको नयाँ पुस्ताको अत्यन्त जरुरीको स्वरोजगारको अवसर जुटाउनका लागि जरुरी रहेको प्राविधिक ज्ञान र सिप उपलब्ध गराउन असमर्थ बनिरहेका छन्।

 

आज बिश्वोकै उत्कृष्ट दाबी गरिने तालिम केन्द्रहरू पश्चिमी मोडलका छन। ज्ञान (knowledge) सिकाउँने ति केन्द्रहरू बजार प्रतिस्पर्धाले व्यवसाय उत्कृष्ट बन्छ भन्ने अवधारणा आत्मासाथ गरेका छन। स्वरोजगार योजना सुरुगर्न बुद्धिको (wisdom) आवश्यकता हुन्छ। तालिम केन्द्रमा धेरै थरिका ज्ञानहरू प्राप्त गरिरहेका विद्यार्थीहरू अनुभवको अवसरबाट प्राप्त हुने बुद्धिको विकासहुने अवसर बाट भने प्राय: वञ्चित बनिरहेका भेटिन्छन।

 

आजको बजार हेरेर शिक्षण संस्थाहरूले उपलब्ध गराउँदै आएको रोजगार मूलक जनशक्ति उत्पादन कार्यक्रमका उपजहरू बजारमा उपलब्ध कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence) युक्त रोबोटहरू सँग प्रतिस्पर्धामा उत्रन नसकेर बेरोजगार बनिरहेका छन्। एआई, बिग डाटा र रोबोटका कारण आज उपलब्ध धेरै कामहरू भविष्यमा मेसिनहरूले गर्ने छन्। विकसित नयाँ टेक्नोलोजीले धेरै सफल व्यक्तिहरू, चाख लाग्दा रोजगारीका अवसरहरू  सिर्जना हुनेछन।

 

वर्ल्ड इकोनोमिक फोरमले २०१७ तिर सार्वजनिक गरेको प्रतिवेदनले हाल संसार भर प्राथमिक तहमा पढिरहेका केटा केटीहरू मध्ये ६५ प्रतिशतले हाल बजारमा उपलब्ध नै नभएका क्षेत्रहरूमा रोजगारी गर्नेछन भनी यकिन गरिदिएको छ। आजको १० वर्ष पछाडि हामीले हाल स्कुल हरूमा पढाई रहेका बच्चाहरू के काम गर्नेछन भन्ने संसारलाई नै अन्दाज नभई सकेको अवस्थामा कस्तो शिक्षा उनीहरूको लागि जरुरी छ भन्ने उत्तर विज्ञान सँग छैन। स्कुलहरू सँग ‘यो शिक्षा त कसो काम नलाग्ला र ?’ भनी हचुवाको पाठ्यक्रम पढाउनुको विकल्प छैन।

 

एकातर्फ हार्वर्ड विश्वविद्यालय जस्ता तालिम केन्द्रहरू छन्। विशाल तथा बृहत बस्तु वा सेवाको उत्पादनको काममा आउने प्रकृतिका बृहत्तर ज्ञान भएका जनशक्ति पैदा गरिरहेको छ। परिवर्तित बजार माग पूर्ति गर्न सक्षम बजारमा उपलब्ध रहने भोलिका ईनोभेटिब उद्योगहरू कस्टम डिजाइनमा आधारित उच्च प्रभाबकरिता दिने स-साना उधमका क्लस्टरका रुपमा रहने छन। जसरी रकेटको इन्जिन जडित  ट्राक्टरले निश्चित दुर्घटना निम्ताउँछ त्यस्तै बृहत्तर ज्ञान भएका जनशक्ति बाट स-साना उधमका क्लस्टर सञ्चालन हुने अवस्था रहन्न।

 

अन्य विश्वविद्यालय र तालिम केन्द्रका उत्पादन हरू बजारका हिजोका सिप, ज्ञान र प्रविधि बारे जानकार त हुनेछन तर तत्कालीन बजारको माग पूर्ति गर्ने व्यवसाहिक बुद्धिमत्ता समेतमा निपुण रहेको रहनेमा शङ्का गर्ने ठाउँ छ।

 

हार्वर्ड, येल जस्ता युनिभर्सिटीहरुले धेरै मानिस हरुको सफलताको कथा देखाएर आफ्ना विद्यार्थीहरूलाई कसरी सफल हुने भन्ने तालिमहरू दिन थालेको निकै धेरै भयो। अर्काको सफलताको कथाबाट विद्यार्थीहरू सजिलै सफल हुने अनुमान उद्यमशील जीवनका आधारभूत कठिन भन्दा कठिन चुनौतीहरू पार गर्ने कडी बन्न सकेन। अर्काको असफलता र असफलताले सिकाएको अनुभूति नसंघालिएको शिक्षण प्याकेजले संसारमा उथलपुथल दिने शिष्यहरू दिन सकेन।

 

कुनै पनि काम जब सुरु गर्नु हुन्छ तब पहिलो दिनको प्रथम चोटि बाटै त्रुटि रहित पूर्णता सहित गर भन्नेहरू सिधान्तमा मात्र आकर्षक बने। गल्ती गर्ने भएर नै हामी मानिस भएका हौ। जीवनमा गरिएका गल्तीहरू बाट सफल हुने तरिका र आत्मा विश्वास प्राप्त हुन्छ। गल्ती गर्न हैन गल्तीबाट सिक्न नसकेर पुन त्यही गल्ती दोहराउने मूर्खताबाट बच भन्ने मन्त्र बोकेकाहरुले बजारमा खल बली पूर्ण सफलताको नतिजा दिन सफल बने।

 

परम्परागत रूपका बस्तु वा सेवाको बिक्रीको नियतले स्थापित गरिएका व्यवसायहरू बदलिँदो बजार माग अनुरूप आफूलाई बदल्दै स्थायी रूपमा व्यवसाय सञ्चालन गर्ने नियतमा व्यवसायहरू बाट विस्थापित बने। बिक्री प्रवर्धन मार्फत बस्तु वा सेवाको बजारीकरण सिकाउने शिक्षा पध्दति व्यवसाय प्रवर्धनको लागि आपसी विश्वास, आत्मीयता र भावनात्मक सम्बन्ध विकासमा गर्नुपर्ने विचारको स्कुल बोकेका शिक्षा पध्दतिका सामु पुड्को साबित भए।

 

भनिन्छ बिहानीले दिनको सङ्केत गर्छ। भोलिको हाम्रो पुस्ताको रोजाई यकिन नै गरिरहन नसक्दा पनि के हुने छ भन्ने लगभग सङ्केत भने हामीलाई प्राप्त छ। स्कुलमा रमाउने हाम्रो आउँदो पुस्ता आजको कागज र सिध्दान्तमा सिमित हुने ज्ञानमा जकडिएको तालिम प्रविधिमा अल्झिने र रमाउने छैनन्। आफ्नो मन, बचन र कर्म आफूले छानेको व्यवसायको सफलताको लागि एकिकृत र समर्पित बन्ने छन।

 

नयाँ युग कृत्रिम बुद्धिमत्ताको (Artificial Intelligence) युग हुदै छ। त्यो युग जहाँ मानिसको पहुँचमा पुगेका सम्पूर्ण गुणहरु बाट प्राप्त गर्न सकिने फायदाहरू मेसिनको प्रयोगबाट समाजले लिन सक्ने छ। नयाँ युग जहाँ कसैले अर्काले भन्दा चाड़ो नयाँ सिधान्त वा प्रविधि पढ्ने वा हेर्ने अवसर पाएकै भरमा अर्को भन्दा बुद्धिमान वा ज्ञानी कहलिने अवस्था रहने छैन।

 

न कुनै विद्यालय वा विश्वविद्यालयमा पुगेर अध्ययन गर्ने अनुकूलता मिलेकै भरमा पढेको मानिस विद्वान वा बौद्धिक र अनुकूलता नमिलेको व्यक्ति अज्ञानी वा अबुझ हुने अवस्था कायम नै रहिरहने छ। पब्लिक डोमेनमा रहेका किताबी, कागजी, इन्टरनेट र विज्ञानको ज्ञानलाई मेसिनको सहयोगमा सजिलै मानिसको दिमाग र जरुरत हुने स्मार्ट डिभाइसहरूलाई सहजै उपलब्ध हुने युग हुनेछ भोलिको आर्टिफ़िसिएल इन्टेलीजेन्सको (एआई) नयाँ युग।

 

प्रत्येक नयाँ प्रविधिले नयाँ सामाजिक समस्याहरू र अरूबढी मानवीय गुणको जरुरत हुने प्रकृतिका मानव जनशक्तिको माग गर्ने छ। एआइ युगको मानिसको जीवन शैली कम समय काम गर्ने र धेरै समय हिँडडुल र भ्रमणमा खर्चिने प्रकारको हुने छ।

 

सबैको हित, स्वस्थ प्रतिस्पर्धाको संकॄति र स्व-अस्तित्वको स्वीकार्यता समेटिएको नीतिगत अवधारणा भित्र रहेर अर्काको असफलता बाट सिकेर दीर्घकालीन सफलताको सिधान्त पहिलाईने छ। सुरुमा नौलो क्षेत्रमा असफलता हाता लाग्ने छ। हरेक असफलता नयाँ उद्यमहरू सिर्जना गर्ने व्यवसाहिक उत्कृष्टता भित्राउने कडि बन्ने छ। विज्ञानका ज्ञानका (knowledge) उपलब्धिहरू एआई भित्र अटाऊने छन। रोजगारीमूलक मानवीय बुद्धिको (wisdom) लागि वेद जस्ता ज्ञानहरुको सहयोग लिईने छ।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE