मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अर्गानिक खेति प्रणाली

नारायण घिमिरे

कुनै पनि राष्ट्रले कुनै अमुक प्रणाली अपनाउनुका पछाडि आधारभूत उद्देश्यहरू रहने गर्छन्। मोटामोटी रूपमा अर्गानिक खेती प्रणाली अपनाउनुका पछाडि पनि आधारभूत उद्देश्यहरू छन्। जस्तै दीर्घकाल सम्म माटोको उत्पादकत्व कायम राख्न। कृषि प्रविधिका कारण हुन सक्ने सबै प्रकारका प्रदूषणहरू रोक्न। पर्याप्त मात्रामा उच्च पोषण र गुणस्तर युक्त  खाद्य पदार्थहरू उत्पादन गर्न। कृषि अभ्यासमा कोइला, पेट्रोलियम र प्राकृतिक ग्यास जस्ता जीवाणु अवशेष युक्त फोसिल ऊर्जाको प्रयोग कम गर्न। पशुपालनमा जरुरी हुने पशुको भौतिक र शारीरिक आवश्यकता र मानवीय व्यवहार उपलब्ध गराउन । कृषक र कृषि उत्पादकहरू पेसाबाट जीवन बिताउन र सर्वाङ्गीण विकासको सम्भव तुल्याउन। आदि।

 

नेपालमा अर्ग्यानिक खेती र जैविक खेती एकै हो भन्ने प्रकारका भ्रम व्यापक पाइन्छ। कुनै पनि खेतीको उत्पादन र प्रशोधन प्राकृतिक अथवा जैविक तरिकाबाट गर्दैमा तपाइको उत्पादन अर्ग्यानिक बन्दैन। तपाइको कृषि उपज अथवा कृषिमा आधारित उत्पादन अर्गानिक हुनको लागि तपाइले त्यसका आधारभूत आवश्यकता पुरा गर्नु पर्ने हुन्छ।

 

यदि तपाईँ आफ्नो बारीमा अर्ग्यानिक फसल उत्पादन गरेर बेचेर योजना बनाउँदै हुनुहुन्छ भने तपाइको भूमिले मुख्य: दुई अनिवार्य आधारभूत आवश्यकता हरू पूरा गर्नु पर्ने छ ।

 

पहिलो तपाइले खेती गर्न छान्नु भएको जमिनमा कम्तीमा विगत तिन वर्ष देखि राष्ट्रिय सूचीमा अर्ग्यानिक खेती गर्ने जमिनमा प्रयोग गर्न निषेध  गरिएका भनी उल्लेख गरिएका पदार्थहरू प्रयोग गरिएको हुनु हुँदैन।

 

जस्तै उदाहरणका लागि यदि तपाइले विगत तिन वर्ष भित्र कुनै पनि बेला कुनै पनि बहानामा राष्ट्रिय सूचीमा सूचीकृत विषादी जस्तै अर्ग्यानोक्लोरिक पेष्टिसाईडहरु तपाईँको जमिनमा प्रयोग भएका छन् भने उक्त जमिनमा जैविक खेती गर्दैमा फसल अर्ग्यानिक भनी दाबी गर्न पाइँदैन। किनकि उक्त फसलमा पेष्टिसाईडका अवशेषहरू रहन सक्छन्। विषादीको काम गर्ने प्राकृतिक रूपमै पाइने बिरुवाका झोल वा एक्सट्रेक, किरा, परजीवी र फङ्गस आदि जस्ता जैविक विषादी प्राय राष्ट्रिय सूचीमा सूचीकृत हुदैनन। सूचीकृत नरहेको अवस्थामा प्रयोग गर्न मिल्छ।

 

दोस्रो अर्गानिक खेतीको लागि छानिएको जग्गा अर्गानिक खेती नगरिने जग्गा सँग नियमले तोकेका सर्तहरू पालन हुने गरी सीमाहरू र बफर क्षेत्रहरूको व्यवस्था भएर छुट्टिएको हुनुपर्छ। छिमेकको जमिनमा प्रयोग गरिने अर्गानिक खेतीमा प्रयोग गर्न  निषेधित रहेका पदार्थहरू तपाईँको भूमि सम्म पुग्ने सम्पूर्ण सम्भावना नरोकी तपाइले जैविक खेती गर्दैमा त्यहाँ उब्जेको फसल अर्ग्यानिक भनी दाबी गर्न पाइँदैन।

 

अर्गानिक खेतीमा लाग्न चाहने किसानको जनावरको मल र कम्पोष्ट मलबारे गहिरो ज्ञान हुनु जरुरी छ। कुनै पनि जनावरको कच्चा गोबर र मुतलाई जनावरको मल भनिन्छ। गोबर चौपायाले पचेर बाकी रहेको घाँस र अन्नपात बाट बनेको हुन्छ। गोबर र मुतमा हुने बिरुवाको पोषण तत्त्वलाई यूट्रीयन्ट भनिन्छ। यूट्रीयन्टमा लगभग तिन प्रतिशत नाइट्रोजन, दुई प्रतिशत फस्फोरस र एक प्रतिशत जति पोटासिएम हुने गर्छ।

 

माटोमा उर्वरता दिन विभिन्न रुखहरू, जडीबुटी र झाडीबाट आउने बिरुवाका हरिया पात, डाँठ र जराहरू तोकिएको तरिकाले सीमित अवधि सम्म कुहाएर बनाएको मललाई कम्पोष्ट मल भनिन्छ।

 

कम्पोष्ट मलले माटोमा बिरुवालाई आवश्यक हुने नाइट्रोजन, पोटेशियम, फास्फोरस र अन्य खनिज पदार्थ मात्र हैन रासायनिक मलको प्रयोगले बिग्रिएको माटोको बनावट लाई अर्ग्यानिक तत्वोहरु उपलब्ध गराएर सुधार गर्छ।

 

मल्चमा रहेको कुहिएको पातहरू, काठ, घाँस, जरा आदिले माटोमा पानी, मिनिरल, अक्सिजन, नाइट्रोजन, फस्फोरस आदि समातेर राख्न सक्ने बनाउँछ। साथै बिरुवाको लागि हानिकारक हुने रोग र किराको लागि प्रतिकुल वातावरण बनाई दिन्छ। किसानका लागि  जैविक मल र जैविक विषादीको उचित समिकरणको प्रयोग रासायनिक मल र रासायनिक विषादीको विकल्प हुने गर्छ।

 

परम्परागत पशुपालन बाट प्राप्त हुने जनावरको मल र जैविक विधिबाट बनाइने कम्पोष्ट मलबाट आज संसारमा भइरहेको  अर्गानिक खेतीको लागि जरुरी हुने प्राकृतिक मलको मुख्य आपूर्ति हुने गरेको छ। कम्पोष्ट मलको प्रयोग बिना परम्परागत पशुपालन बाट प्राप्त हुने जनावरको मलको मात्र उपयोग बाट जैविक खेती गर्न खोज्नु व्यवहारिक हुन सक्दैन।

 

अर्ग्यानिक कृषि पध्दति एक सरल आधारभूत नियम द्वारा बाँधिएको छ । अर्ग्यानिक कृषि र कृषि उद्यममा प्राकृतिक रूपमा उपलब्ध जैविक पदार्थहरूको प्रयोगको अनुमति दिइन्छ। मानव स्वस्थ र पर्यावरणलाई हानि पुर्याऊने पदार्थहरू तथा सिंथेटिक वा रासायनिक सामग्रीहरू लाई प्रतिबन्ध गरिन्छ। सिधान्त: अर्गानिक खेती प्रणाली र कृषि उद्यममा रासायनिक मल, रासायनिक विषादी, रासायनिक इन्जायम र आनुवंशिक परिमार्जित गरिएको बिउ बिजन प्रयोग गर्न दिइँदैन।

 

यति हुँदाहुँदै आजको व्यववाहरिक वास्तविकतामा अर्ग्यानिक उत्पादन र प्रशोधनको लागि जरुरी हुने कतिपय अनिवार्य इनपुटहरुको हाल सम्म पनि पर्याप्त मात्रामा बजारमा उपलब्धता हुने गरेको छैन। मानव स्वस्थ र पर्यावरणको लागि बिलकुलै हानिकारक नभएका र मानिसको स्वास्थ्यको दृष्टिमा जरुरी कतिपय पदार्थहरू समेत जैविक रूपमा उपलब्ध छैनन्।

 

कतिपय सन्धर्बमा यस्ता पदार्थहरू अर्ग्यानिक उत्पादन र प्रशोधनको लागि उपलब्धताको निश्चितता जरुरी हुन्छ। जसको लागि अन्तर्राष्ट्रिय रूपमै अर्ग्यानिक उत्पादन र प्रशोधनको लागि स्वीकृत गरिएका र प्रतिबन्ध गरिएका सूची बनाईएकोछ। जसलाई “राष्ट्रिय सूची” भन्ने गरिन्छ।

 

अर्ग्यानिक उत्पादन र प्रशोधनको लागि स्वीकृत सूचीमा रहेका कतिपय चीजहरू विवाद रहित भने छैनन्। जे होस ती पदार्थहरू अपवादको रूपमा स्वीकृत सूचीमा समावेश गरिएकाले अर्ग्यानिक फूड्स प्रोडक्शन ऐन द्वारा निर्दिष्ट तीन महत्त्वपूर्ण मापदण्डहरू पूरागरि सकेपछि मात्र उपयोग गर्न दिइन्छ।

 

पहिलो यो मानव स्वास्थ्य वा वातावरणको लागि हानिकारक नभएको प्रमाणित हुनुपर्छ। दोस्रो अर्ग्यानिक उत्पादन वा प्रशोधनको लागि उक्त पदार्थको अर्ग्यानिक विकल्प बजारमा उपलब्ध नभएको वा उपलब्ध भएपनि व्यापारलाई जरुरीहुने मात्रामा उपलब्ध नभएको हुनुपर्छ। कहिलेकाहीँ बजारमा उक्त पदार्थको अर्ग्यानिक विकल्प भए पनि उक्त विकल्पले बजार माग पूर्ति गर्न जरुरी गुणस्तर पूर्ति गर्ने अवस्था नरहेको पनि हुन सक्छ। तेस्रोमा उक्त  विकल्प अर्गानिक उत्पादनको आधारभूत उद्देश्यहरूको सिधान्तको खिलाफमा रहेको हुनु हुँदैन।

 

गुणस्तरीय मानव खाद्य वेवस्थापनको आजको बिश्वोको प्रथम प्राथमिकता खाद्य बाट मानव सुरक्षाको सुनिश्चित हुनुपर्छ भन्ने छ। दितिय मानव खाद्यमा हुने मनोवैज्ञानिक र हिलिग़ गुण  दिने फाइटोकेमिकल्सको मात्रा सन्तोषजनक खोजिन्छ। र अन्तिममा मात्र खानाले उपलब्ध गराउने पोषण तत्त्व पुरा गरेको हुनुपर्ने मान्यता छ।

 

अझै पनि बिश्वोभर मुख्य: गरिब र पिछडिएका देशका ३५ देखि ४५ लाख हेक्टर भूमिमा मानव दिशा-पिसाब सिँचाई मार्फत मलको लागि हाली खेती गरिएको भेटिन्छ। फोहर मिश्रित पानी र मानव मल मुत्र जैविक हुँदा हुँदै उक्त कृषि प्रणालीले रोगका सङ्क्रमण र जैविक विकारबाट हुने प्रदूषणहरू रोक्न असमर्थ हुने निश्चित रहेकाले अर्गानिक कृषिमा उपयोग गर्न प्रतिबन्ध छ।

 

परिणाम स्वरूप कृषि उपज र तिनबाट बनेका पदार्थहरू अर्गानिक रहेको प्रमाणित गर्नु अघि उक्त कृषि उपज उत्पादनको बेला औधोगिक फोहोर, बजारबाट निक्लने नालीका फोहोर र घरबाट निस्कने दिशा पिसाब आदि नमिसिएको पूर्ण रुपमै यकिन भएपछि मात्र उत्पादनलाई अर्गानिक रहेको प्रमाणित गर्ने गरिन्छ।

 

मानव सुरक्षाको लागि खेतीमा फोहर मैला प्रशोधन केन्द्रबाट आउने पानी वा मल, सिवेज वा सल्ज मलको रूपमा हालिएको, अयोनाईज रडिएसन प्रयोग गरिएको, जिन इन्जिनियर गरिएको बिउ प्रयोग भएको, कृषि उपजको तेल वा रस निकाल्न रासायनिक सल्भेंटको प्रयोग भएको आदि हुनु हुँदैन। अर्गानिक खेती प्रणालीमा पनि यस्ता कुराहरू स्विकारिने गरिँदैन।

 

(लेखक घिमिरे क्यानडा निवासी खाद्य वैज्ञानिक हुन् । narayanghimire@yahoo.com)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE