मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

वेद र सामाजिक कुरीति

नारायण घिमिरे

सामान्य भाषामा वेदको अर्थ ज्ञान हो। वेदलाई पुरातन ज्ञान विज्ञानको अथाह भण्डार मानिन्छ।वेद लाई श्रुति मानिन्छ। हाम्रो समाजमा वेद सँगै अन्य स्मृतिहरू बारे पनि पटक पटक चर्चा हुने गर्छ। जानकारहरू श्रुति र स्मृतिका सम्बन्ध बुझ्न रुखको उदाहरण दिने गर्छन्। एउटा रुखलाई तपाईँ उल्टो गरेर हेर्दा देखिने आकृतिले श्रुति र स्मृतिका सम्बन्धको प्रतिबिम्ब झल्काउँछ।

 

एउटा जरा माथि र टुप्पो तल रहेको पिपलको रुख जहाँ जरालाई रुखको एक मात्र स्रोत मानिन्छ त्यो ब्रमाण्ड, ज्ञान र चेतनाको मुल शरीर हो। उक्त जरामा चार हागाहरु ऋग्वेद, यजुर्वेद, सामवेद र अथर्ववेद छन्। ती चार हाँगा र जरा सम्पूर्ण लाई वेद वा श्रुति मानिन्छ। चार भागका रहेको वेदमा मान्छेका हरेक समस्याको समाधान छ। ब्रह्मा, देवता, ब्रम्हान्ड, ज्योतिष, रीति रिवाज, तर्क, कानुन, चिकित्सा, शल्य चिकित्सा, प्रविधि, गणित, रसायन, औषधि, प्रकृति, खगोल, भूगोल, सामाजिक नियम, इतिहास, मिलिटरी, मार्सल आर्ट, सैन्य रणनीति र राजनीति आदि सबै विषय संग्रहित छ।

द्रष्टा सन्त तथा ऋषिहरूले ब्रह्माण्डबाट प्राप्त ज्ञान लिपिबद्ध हुँदै वेद जन्मिएको हो। ऋग्वेद, सामवेद, यजुर्वेद र अथर्ववेद गरी चार वटा वेद श्रुतिका रूपमा अस्तित्वमा भेटिन्छ। वेद जस्ता अलौकिक ज्ञानको अध्ययनबाट मानिसमा विकसित अन्तर ज्ञानको उपयोग गरिँदै लेखन द्वारा स्मृतिहरू जस्तै वेदाङ्ग, उपवेद, उपाङ्ग, धर्म सूत्र, पुराण, रामायण, महाभारत आदि तैयार गरिए।

लेखिएका स्मृतिहरू कतिपय वेदको मर्म अनुरूपको छन्। तर कतिपय भने कसैको निहित चासो पूर्ति गर्ने नियतले बाहिर आए। कुनै शासक, वर्ग वा पेशेवर समुदायको प्रायोजित रूपमा निहित स्वार्थ पूर्तिगर्ने प्रयोजनमा स्मृतिहरू समाजमा वितरण गरिएर वेदको भावना विपरीतका सामाजिक कुरीतिहरु वेद माथिनै सामाजिक विकर्षण पैदागर्ने कारक बनेको देखिन्छ।

कन्या दान

उदाहरणको लागि हाम्रो समाजमा रहेको कुरीति कन्या दानलाई लिन सकिन्छ। वेदमा ‘कन्यादान’ शब्द कतै उल्लेख समेत भएको भेटिँदैन। कन्या, पाणिग्रहण, पतिग्रहण र दान जस्ता शब्द बिलकुलै अलग प्रसङ्गमा वेदमा समावेश भएको देखिन्छ। ऋग्वेदमा गाई, घोडा र कपडाको दान गर्न सुजाईएको छ (ऋग्वेद 5-42-8)। अथर्ववेदले सन्तान उत्पादन गर्न सक्ने क्षमता भएको गाईको बाच्छि, ढुवानीमा सहयोगी हुन सक्ने बहर, वस्त्र र सुन आदि दान गर्ने बस्तुमा उल्लेख छ (अथर्ववेद: 9-5-29)।

 

दानको अर्थ कुनै वस्तुमा रहेको आफ्नो स्वामित्व त्यागिदिनु भन्ने हुन्छ। वेदले कन्या न त कुनै दानको प्रयोजनमा उपयोग गर्न सकिने वस्तु नै मान्ने गर्छ। न विवाहमा माता-पिताले आफ्नो पुत्रीलाई त्यागेका वा विवाह पश्चात उस सँग सम्बन्ध नै समाप्त गरेका हुन्छन्।

 

वेद पछि ब्रह्माण्ड ग्रन्थको रचना गरियो। ब्रह्माण्ड ग्रन्थ पछि उपनिषद आयो। उपनिषद पछि पुराण लेखियो। वेद, ब्रह्माण्ड ग्रन्थ र उपनिषदमा समेत उल्लेख नभएको कन्या दान पुराण मध्धेको अग्निपुराणमा कपटपूर्ण रूपमा कन्यादान सबैभन्दा उत्तम दान भनी उल्लेख गरियो। अग्नि पुराण पछि आएका स्मृतिहरूमा त कन्यादान लाई सामाजिक परम्परामा सूत्र बद्ध रूपमा स्थापित गर्ने नियतले  अभियान नै छेडिएको देखिन्छ।

 

कन्या दान गर्ने, दुलहीले श्रीमानको जुठो खानुपर्ने, खुट्टा ढोग्नुपर्ने, खुट्टाको पानी खाने परम्पराहरु वेदको बर्खिलापका अप-व्याख्या समाजमा पुगेको छ। ऋग्वेदको ऋचामा पति पत्नी सह-योद्धा र सह-धर्मी रहने उल्लेख छ। श्रीमान् र श्रीमती एक रथका दुई पाङ्ग्रा हुन भन्ने ऋग्वेदको अर्ति सर्वत्र सुनिन्छ।

 

कतिपय प्राचीन स्मृतिहरू कन्यादानको विरोधमा समेत लेखिएका छन्। प्राचीन कालमा गन्धर्व विवाह हुने गर्थ्यो। जसमा केटा केटी आपसी सहमतिमा  ब्रह्माण्ड लाई साक्षी राखी विवाह गर्थे। स्वयम् भगवान् अर्जुन ले सुभद्रा सँग गन्धर्व विवाह गर्ने ईक्षा प्रकट गर्नु भयो।

 

बलरामले कन्यादान बिनाको विवाह विवाह मान्न सकिँदैन भन्ने अड्डी कसे। भगवान् श्री कृष्णले पशुको जस्तो कन्याको दान कसैबाट अनुमोदन हुन सक्ने विषय हुन सक्दैन भनी बताए। गान्धर्ब विवाह सम्पन्न बन्यो। मनुस्मृति र नारद स्मृति जस्ता स्मृतिहरू कन्यादान जस्ता कुरीतिहरु स्विकार्दैनन्।

 

देवता

व्यक्ति वा समाज लाई कुनै पनि प्रकारले लाभ पुराउन सक्ने गुण भएको पदार्थ वा व्यक्तिलाई देव गुणी मान्दछ वेद। जस्तै आफ्नो ज्ञान वा गुण वा सज्जनता समाज कल्याणमा लगाउने मानवहरूलाई आदरपूर्वक सम्बोधन गरी देवताको उपाधि दिइन्छ।  पृथ्वी, सूर्य, चन्द्र, जल, अग्नि, वायु, माता, पिता, विविध सामाग्री, बृहत् इकोलोजी सम्पूर्ण प्राणी वा वनस्पतिहरूको  ब्रमाण्ड लाई लाभ कारी हुने गुणलाई देव गुणी वा देवता भनिएको हो। देवता एक कल्याणकारी गुण धारी वाचक उपाधि हो।

 

संस्कृतमा “कोटि” शब्दको प्रसङ्ग अनुसार दुई भिन्न अर्थ लाग्छ। पहिलो सङ्ख्या वाचक करोड, र दोस्रो किसिम वा प्रकार। वेदका अनुसार ब्रमाण्डमा ३३ कोटिका मतलब थरिका (करोड होइन) जड् देवता र एक चैतन्य देवता हुने गर्छ। ३३ प्रकारका जड् देवता भनेर देव गुण धारी पदार्थ आठ बसु (जसमा  सूर्य , चन्द्रमा, नक्षत्र , पृथ्वी , जल , अग्नि , वायु र आकाश पर्छ) ११ रुद्र (दस थरिका जीवाणु र सबै जिबणु जीवित रहन जरुरी हुने जिबात्मा), १२ महिना वा आदित्य, १ यज्ञ अथवा इन्द्र अथवा पानी पर्ने चक्र र १ सामाजिक अभियन्ता वा गुणवान नेता वा प्रजापति लाई जनाउँदछ। चैतन्य देवता भनेर जीवित प्राणीमा हुने चेतना वा कन्ससनेस लाई जनाउँछ। चेतनशीलता वा चेतना लाई देवताको पनि देवता भनी महादेवको संज्ञा दिइन्छ।

 

भगवान

ब्रमाण्डमा रहेका विशेष दिव्य गुण दिने मानिस वा प्रणाली वा संस्थालाई उसको कर्म मार्फत प्राप्त उत्कृष्टताका अनुसार भगवानको उपाधि दिने गरिन्छ। भग + वान  मिलेर बनेको शब्दमा मनुस्मितिमा लेखिएअनुसार भग भनेर ऐश्वर्य, धर्म, यश, श्री, ज्ञान, र वैराग्य जस्ता छ विधा मध्धे कुनै एक वा सो भन्दा बढी विधा भन्ने हुन्छ। वानको अर्थ ज्ञान प्राप्त भएको प्रणाली वा संस्था वा व्यक्ति हो।

 

वैदिक ज्ञानमा उत्कृष्टता वा सिद्धता प्राप्तिलाई इश्वोरको प्राप्ति मानिएको छ। उदाहरणका लागि भागवत गीतामा परमेश्वर प्राप्त गने सरल तरिका भनेको आफ्ना सबै कामहरूमा उत्कृष्टता ल्याउनू हो भनी यकिनका साथ ऊल्लेख छ। वेदले इंकित गर्न खोजेको भगवान भनेको प्राणी मात्रको निजी र सामाजिक उत्थानको लागि जरुरी हुने कुनै पनि विषयको उन्नति, ऐश्वर्य, महानता, यश, श्री, सद्गुण, नीति, धर्म, पुरुषार्थ. वैराग्य आदि मध्धे कुनै एक वा धेरै विधामा सिद्धता प्राप्त गरी उत्कृष्टता प्राप्त गरेको व्यक्ति वा प्रणाली वा संस्था भन्ने बुझिन्छ।

 

इश्वोर

इश्वोर भनेको प्रकृति भनेको हो। संसार उत्पन्न गर्ने, सञ्चालन गर्ने र विनाश गर्ने शक्ति लाई इश्वोर भनिएको हो। ब्रमाण्ड, ज्ञान र चेतनाको मूल श्रोत प्रकृति लाई वेदले  इश्वोरको संज्ञा दिएको हो।

 

पूर्वीय सभ्यतामा अध्यात्मवादी र भौतिकवादी दुवै दर्शनले जरा गाडेको छ वा चर्चित छ। अध्यात्मवादी दर्शनको सिद्धान्त गीतामा भेटिन्छ। भौतिकवादी दर्शनको व्यवहारिक मार्गदर्शक सिद्धान्त वेदमा।

(लेखक घिमिरे क्यानाडामा कार्यरत खाद्य वैज्ञानिक हुन्।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE