मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

दिगो सफलताको मन्त्र

नारायण घिमिरे, टोरन्टो

साँझपख काम विशेषले डाँडाको टुप्पो पर्ने गाउँ बाहुन भन्ज्याङ जानैपर्ने भयो । टर्च लाइटमा ब्याट्री कम थियो । जंगलमा चाहिन्छ भनेर जेनतेन छामछाम छुमछुम गर्दै कल्चोकको ठाडो बाटो चढ्दै थिएँ । बाटोमै भेटिए सीमा र सुनीता । अँध्यारोमा असिनपसिन हुँदै उक्लिरहेका । मैले झोलाबाट लाइट निकालें । उनीहरूलाई मेरी मितिनी आमाको घरसँगै जोडिएको जिमाँको घरसम्म पुर्याइदिएँ । टर्च लाइट बल्दै नबल्ने भएर थन्कियो । त्यो रात अरू माथि जान सकिने अवस्था रहेन ।

मितिनी आमाको घरमा मलाई सुत्नका लागि पश्चिमतिरको बार्दलीमा रहेको कोठा दिइयो । संयोगवश सीमा र सुनीता पल्लो घरको बार्दलीको पूर्वतर्फ सुत्ने तरखरमा रहेछन् । उनीहरूको कोठाका मान्छे देखिन्थेन, आवाज टड्कारो सुनिन्थ्यो । नारायणगढमा जन्मेहुर्केका दुई किशोरी एकआपसमा निर्धक्क छिल्लिँदै थिए । मेरो ध्यान उनीहरूकै खासखुसले तानेको थियो । सुनसान रातमा त्यो खासखुस मेरा कानसम्म ठोक्किरहेको थियो ।

गतिली लाग्ने हट्टाकट्टा काली सुन्दरी सुनीता सलक्क परेकी गोरी सीमालाई भन्दैथिई, ‘हेर् मोरी, केटो त चालु र झिल्के रैछ । पट्याऊँ कि भनी नजिकिन खोजेको थियो । मैले उछिन्ला भन्दै हत्त न पत्त पहिले तँ आफै ठोक्किन पुगिहालिस् ।’ सीमा बोली, ‘सबै तैंले सोचेजस्ता हुन्नन् । मलाई त यो केटा तैंले सोचेजस्तो केटीकै पछि लाग्ने टाइपको हैन, बरू सोझो र असलजस्तो लाग्यो ।’ सुनीताले थपी, ‘हुन्छ सोझो ! कहाँबाट पछ्याएको थियो कुन्नि ? असल देखिने नाटक गर्दै थियो ।’

सीमाले सतर्क गराई, ‘हैन है । बरू निकै सहयोगी रैछ । हामीलाई उज्यालो देखाइदिएर कस्तो सजिलो बनाइदियो । म त चिप्लेर ठोक्किन पो पुगेछु । के सोच्यो होला ? लाजै लाग्यो । उसले नसमातिदिएको भए भीरबाट लड्थें होला । तँ त जेलाई पनि बैंससँगै जोड्छेस् यार ।’

सुनीता रोकिने वाला थिइन, ‘तँ कुरै बुझ्दिनस् । लाइट त उसैलाई हिँड्न पनि चाहिन्थ्यो नि । हामीलाई सहयोग गरेजस्तो गरेर हिरो बन्दै थियो । एक मन त लौ मौका परेजस्तो छ यसैलाई आँटूँ कि भन्ठानेको । तैंले लिफ्ट दिइस् । तँलाई मात्रै भाउ दियो । तँ जहिल्यै यस्तै गर्छेस् । तेरो गोरो छालाको कमाल मेरा लागि सधैं अभिशाप बनिरहने भो ।’ सीमाले प्याच भनिहाली, ‘मेरो गोरो छालाले के खाएर हुनु ? बरु तेरो ताप्के नतात्दै बिँड तात्ने बानीले माछो फुत्केजस्तो लाग्यो ।’ सुनिताले सीमालाई भनी, ‘चुप लाग् बाँदर्नी !’ दुवै खितिति हाँसे ।

जिन्दगीमा कहिल्यै पनि केटीहरु छिल्लिएको सुनेको थिइनँ । मलाई के अनुभव भयो भने, केटी मान्छे पनि केटा मान्छेजस्तै मौका मिल्दा छिल्लिएर बोल्दा रहेछन्, उनीहरुमा पनि केटातर्फ आसक्ति हुँदो रहेछ अनि एकले अर्को रुपमा आफूभन्दा अब्बल भएकाले केटा उसैतिर लाग्यो भन्ने हीन भावनाले ग्रसित हुँदा रहेछन् । महिला र पुरुष सबै कुरामा समान हुन्छन्, खालि देश, काल र परिस्थिति अनुरुपको सामाजिक पर्खाल नै महिला र पुरुषबीच असमान मान्यता बढाउने मूल कारक रहेछ भन्ने बुझ्न भने मलाई निकै समय लाग्यो ।

फुर्तिली, ब्ल्याक ब्युटी र कसिलो जीउडाल भएकी सुनिताले मेरो अचेतन मनलाई आफूतर्फ खिचेकी थिई । गोरी सलक्क परेकी भए पनि आत्मविश्वास नभएकी, आफ्नै सुविधामा मात्र ध्यान दिने र सामान्य औपचारिकतामा समेत अरुको मर्म बुझ्न कन्जुस्याइँ गर्ने सीमाभन्दा सुनीता सयौं गुना आकर्षक र सेक्सी लाग्थ्यो । सुनीता फुर्तिली मात्र थिइन, पटकपटक तपाईंलाई ठीकै त छ ? हाम्रो कारणले दुःख पाउनुभो है ? सहयोगका लागि धन्यवाद, लाइट समात्दा समात्दा हात दुख्यो भने मलाई दिनू, म बाटो देखाइदिन्छु आदि भन्न पछि पर्दैनथी ।

यस्तैमा घरिघरि गाह्रो भो भने लाईट दिनू भनी हातै समात्न पनि आइपुग्थी । जब उसको हातले आफ्नो हात छुन्थ्यो, शरीरमा एक प्रकारको करेन्ट नै बग्थ्यो । रौं ठाडाठाडा हुन्थे । उसको हातले जति पटक मेरो हातलाई स्पर्श गर्यो, त्यति नै पटक मेरो आङ नै जिरिङ्ग भएको हुन्थ्यो । केटी मान्छेको हातले छोएर शरीरमा करेन्ट बग्ने र हातका रौं नै ठाडो हुने अनुभव जीवनकै पहिलो थियो मेरा लागि ।

त्यो घटनाको धेरै पछिसम्म पनि साँझपख संयोगले कुनै लक्का जवान केटी नजिक आइपुग्दा मेरो मुटु जोडतोडले धड्किन थाल्थ्यो । मनमा नजानिँदो पाराको डर पस्थ्यो अनि कल्पनामै सुनीताको खिसिक्क हाँसेको मुहारको दर्शन मिल्थ्यो । धड्कन बढेको नजिककी युवती र अरुले चाल नपाऊन् भनी म छेउ लाग्थें । शरीरमा साँझपख करेन्ट आउने भएकाले दुर्गा र चण्डीको रुप भनेकै महिला हो जस्तो लाग्थ्यो मलाई ।

उकालो चढ्दा सीमा लरखराउने मात्र होइन, गुल्टिहाल्ने हो कि जस्तो गर्थी । त्यसैले उसलाई मात्र लाइट देखाउनुपथ्र्यो । यात्राभरि लाइट उसको चालढालमै केन्द्रित गर्नुपर्ने माहोल बन्यो । वास्तवमा उसैलाई हिँड्न सजिलो हुने गरी फोकस गरेको उज्यालोको सहारामा सुनीता र मैले सजिलै उकालो पार गरेका थियौं । आफ्नो ध्यान सुनीतातिर गएको थाहा नपाऊन् भन्ने मनोविज्ञानले ग्रसित भएर मैले सीमालाई महत्व दिएजस्तो अभिनय गरेको थिएँ ।

सीमा लड्न लाग्दा हात समात्नै पर्ने पो हो कि जस्तो हुन्थ्यो तर म सुनीताको शरीरको करेन्ट लागेर हच्किन्थें । अनि ‘सीमाको हात समात न प्लिज’ भन्दै सुनीतालाई गुहार्थें । त्यही मौकामा मलाई सुनीताले दुईपटक जिस्काएकी थिई, ‘तपाईंलाई सीमाको माया लाग्यो कि के हो ?’ सुनीताले त्यसो भनिरहँदा मोरीले मेरो ध्यान एकोहोरिरहेको चाल पो पाई कि भनेर डराएको थिएँ ।

एकान्तको खासखुसमा सुनीताले दाबी गरेजस्तै मलाई पनि अँध्यारोमा हिँड्न मनग्ये सहयोग भएको थियो । तर, सुनीताले जे देखी र मेराबारे उसको दिमागले निकालेको निष्कर्ष वास्तविकताभन्दा निकै पर थियो । न सुनीताले भनेको र सीमाले घुमाउरो रुपमा स्वीकारे अनुरुप मेरो मन सीमाको गोरो छालाले तान्न सकेको थियो, न त फुर्तिली, हुटहुटिली र चञ्चली सुनीता ताप्केभन्दा पहिले बिँड तातेका कारण सीमाले बाजी नै मारिरहेकी थिई । बरु  सुनिता तातेकी बिँड होइन कि राप र ताप दुवैले उन्मत्त भएर बलेकी सजीव ताप्केमै परिवर्तित भएकी थिई । र, मेरो मनलाई सम्पूर्ण रुपमै जलाउन र खग्रास पार्न सफल बनेकी थिई । समयको विडम्बना हो सायद, एकातर्फ पोटिला, खाइलाग्दा र छुँदै दाग लाग्लाजस्ता दुई सुन्दरी आफैले आफ्नै आँखाले देखे–भोगेको एउटै घटनाको सन्दर्भमा पूरै विपरीत निष्कर्षमा पुगेका थिए । त्यसै घटनाको जिउँदो साक्षी मैले भने सोही दिन साविककै समयमा नितान्त फरक घटना भएको साक्षात् अनुभूति गरिरहेको थिएँ ।

बिन्दास कुराकानी सुनेपछि सुनीता भुइँ न भाँडा की, बहुलट्ठी स्वभावकी संकीर्ण सुन्दरी रहेको छाप पर्यो मलाई । उनी मेरो मनमा पगे्रको सम्मानको लायक छैनन् भन्ने निष्कर्षमा पुगें । रात छिप्पिँदै जाँदा उनीहरूको छिल्लिएको आवाज कम सुनिँदै थियो । सायद जिमाँले नसुनून् भनी बिस्तारै बोलेका थिए कि ? बेलाबेलामा खितिति हाँसेको चाहिँ सुनिन्थ्यो । अरू कुराकानी के भयो, खासै बुझिएन । कति बेला निदाएछु, किुखुराको भाले बासेको आवाजले झल्यास्स ब्यूँझिएँ ।

बिहान हतारहतार मुख धोई बाहुन भन्ज्याङ जान तयार भएँ । मितिनी आमाले दूध नखाई जान नदिने हुनुभयो । मितिनी आमाको घरमा बिहानको दूध र दिउँसोको मोही र मकै अति मीठो हुने चर्चा गाउँभरि हुन्थ्यो । दूध खाएरै जाने भइयो । तर दूध दुहुन्जेल कुर्नुपर्ने भो । म मितिनी आमाले भैंसी दुहँुदै गर्दा ओछ्यान मिलाउन र झोला लिन बार्दलीमा उक्लें । सुनीताले बोलेको सुनें, ‘ओई सीमा उठ त । त्यो हिजो बेलुकी तेरो पछि लाग्ने केटो राति नै बाहुन भन्ज्याङ जाने भन्थ्यो हैन ? त्यसलाई त मैले भर्खर तल आँगनमा मुख धुँदै गरेको देखें । त्यो कहाँदेखि तेरो पछि लागेर आएको हो, थाहा छैन । यो तेरा लागि जस्तो झुटो बोल्न पनि तम्सिने भएछ । हेर् त्यल्ले तेरो पिछा त्यसै छोड्ला जस्तो छैन ।’ सीमाले भनी, ‘त्यस्तो चाहिँ हैन है । केही पर्यो होला नि । सोध् न उसैलाई गएर । थाहा लागिहाल्छ नि ।’ सुनीता हिन्दी मिसाएर बोली, ‘हेर् न अझ उसैको पक्ष लिन्छे । सुनों गाउँवालो, ए लड्की पुरी तरहसे फस गई । मोहल्लाको खबर करों क्यूँ ?’ सीमाले तुरून्तै उत्तर फर्काई, ‘तँलाई मन परेको भनेकी हैनस् ? लौ तैं पछि लाग् त्यसको । मैले सबै तँलाई नै छोडिदिएँ । ल हेरूँ न त, तँ कति पानीमा रैछेस् ? खालि जता पनि जहिले पनि मलाई नै दुश्मन देख्छे यार ।’ सुनीताले थपी, ‘भो भो । धेरै नखोक् । बरु ऊसँगै सिनेमा हेर्न गएको सपना देखिरहेको थिई होला । मैले उठाइदिएँ जस्तो छ ।’

–             ‘रातभरि बकबक गरी तैंले सुत्नै दिइनस् । के सपना देख्नु ?’

–             ‘ल ल तेरो कुरो तैं जान् । त्यो केटाले चाहिँ तँसँगै घुमेको सपना देख्ने भो ६ दिन, ६ रातसम्म । नाम चाहिँ के रैछ ?’

–             ‘हिजो त खुब चम्कीचम्की हात समात्न मात्र ध्यान भो तेरो । नाम सोधिनस् ?’

–             ‘तँलाई किन सजिलो पार्दिने ? तेरो पिछा लाग्नेलाई तैं सोध् न भनेर नसोधेको ।’

–             ‘अहिले चाहिँ किन चाहियो त फेरि ?’

–             ‘तँलाई चाहिएको छ कि भनेर ।’

–             ‘मलाई सुत्न दे । मोही माग्छेस् ढुंग्रो लुकाएर । रहर गर्ने मात्र हैन, सोमत पनि सिक् केटी । हैन भने धेरै धोका खान्छेस् । ल म सुतें । मलाई दुई घण्टाजति किचकिच नगर् ।’

सीमाको झर्कोफर्कोपछि केही सुनिएन । उनीहरुको खासखुस सुनेर एक मन हाँस उठ्यो भने अर्को मन रिस पनि । पहिलो नजरमै आफ्नो ध्यान खिचेकी ब्ल्याक ब्युटीको विचार सुनेपछि मनमा ऊप्रति गहिरो वितृष्णा जागेर आयो । सेक्सी सुनीताको अघि गोरी चिटिक्क परेकै किन नहोस्, सीमाले मेरो मनमा खासै प्रभाव जमाउन सकेकी थिइन । ऊप्रति सामान्य सद्भावमात्रै पैदा भयो । बरु आफू कुनै मिसनमा भएको बोध गरें । मितिनी आमाले दिएको तातो दूध चुपचाप पिएँ र लागें आफ्नै गन्तव्यतिर । त्यसपछि सुनीता र सीमासँग न कहिल्यै भेट भयो, न त उनीहरूबारे कुनै खोजखबर नै गरें ।

लगभग २७ वर्षअघिको सामान्य घटनाबाट सिकेको पाठले विभिन्न सन्दर्भमा आज पनि मलाई मार्गनिर्देशन दिने गर्छ । सफल जीवनका लागि सबैभन्दा आधारभूत जरुरी कुरा आफ्नै कुशलता, क्षमता र त्यसको मूल्यको स्वपहिचान हो । आफ्नो कुशलताको पहिचान गर्न सक्दा मानिसले आफ्नो सम्भावनाबारे अड्कल मात्र गर्दैन, आफैमाथि आफ्नो विश्वास आर्जन गर्न सक्छ । आत्मविश्वासका साथ थालनी गर्दा मानिसलाई काम गरेजस्तो होइन कि आफ्नो सोख पूरा गरिरहेको अनुभूति हुन्छ । र, आफूले गरिरहेको काममै रमाउने, गर्व गर्ने र सन्तुष्ट रहने हँुदा सफलता प्राप्त गर्ने सम्भावना पनि अधिकतम हुन्छ ।

आत्मविश्वासको अभावमा मानिसले आफ्नै आँखासामु भएका घटनाको प्रभावका आधारमा यकिन यही हो भनी ठोकुवा गर्ने हदसम्म पुग्ने जोखिम रहन्छ । आफ्नै आँखाले प्रत्यक्ष देखेको, सुनेको र महसुस गरेका आधारमा पुगेको निचोड गलत हुन सक्ने ९० प्रतिशतभन्दा बढी सम्भावना रहने कुराको हेक्का राख्न सक्दैन । एकै पलका एउटै घटनाका १० भिन्दाभिन्दै प्रत्यक्ष दर्सीका आधारमा घटनाबारे १० फरक फरक निचोड हुन सक्ने वास्तविकता स्वीकार्न सक्नु त झन् धेरै परको कुरा भयो ।

आफूलाई उपलब्ध हुन सक्ने ज्ञातअज्ञात अमुक तथ्यका आधारमा निर्णयमा पुग्ने धैर्य नहँुदाको अवस्थामा हावामा उड्ने खुबी नभएकाले माछा र पौडने कला नभएकाले खरायो नालायक प्राणी हो भन्ने जस्ता निचोड निक्लन्छन् । गलत निष्कर्षका गलत परिणामले निराशा र नकारात्मक सोचको गर्भधारण गराउँछ । चरम निराशा र नकारात्मक सोचले मानिसलाई आफ्नो प्रिय वस्तु र परिस्थितिबाटै टाढा पुर्याइदिन्छ । पारिवारिक सम्बन्धमा रहेकाहरुका हकमा लोग्ने–स्वास्नीबीच अत्यन्त झीनामसिना असमझदारीले समेत ठूलो वैमनष्य पैदा गराई पारिवारिक जीवन नै नारकीय बनाइदिन्छ । घरमै गुमेको अमनचैन र प्रतिष्ठाले मानिसलाई असामाजिक मात्र बनाउँदैन, क्रमशः आफ्नै प्रगतिमा गर्व गर्ने क्षमता समेत गुमाउँछ ।

मनोवैज्ञानिकहरूका अनुसार आफ्नो सबल पक्षको हेक्का नभएको मानिसमा अन्य व्यक्तिका सबल पक्षले रिस र जलन पैदा गराउँछ । आफ्नै यथार्थ स्वीकार्न नसकिरहेको अवस्थामा मान्छेले व्यावहारिकभन्दा आदर्श छाँट््न थाल्ने मात्र होइन, पूर्ण आडम्बरी जीवन पद्धति अवलम्बन गर्छ । आत्मरतिका लागि सुरु भएको देखावटी जीवन जिउने रहर पछि मनोरोगमा परिणत भइदिन्छ । अन्ततः मानिस आफूले आफैलाई ढाँट्ने मनोवैज्ञानिक लतको सिकार बन्छ ।

प्रवासी जीवनको सन्दर्भमा कुनै एक मुलुकमा स्थापित भइसकेका व्यक्ति अर्को मुलुकमा शून्यबाट जीवन सुरु गर्ने इरादामा बसाइँ सरेका हुन्छन् । त्यो न सहज हुन्छ, न त सोचे अनुसारको पूर्ण सेटलमेन्ट तुरून्तै सम्भव हुन्छ । नयाँ कर्म क्षेत्रको यथार्थलाई स्वीकारेर नयाँ भूमिको आवश्यकता अनुरूप आफूलाई सक्षम बनाउँदै लग्नुपर्ने समयमा कतिपय आप्रवासी आभासी (भर्चुअल) सामाजिक प्रतिष्ठा कमाउने अधकल्चो सोख र आडम्बरी सुपेरियर कम्प्लेक्सनले आफ्नो करिअर नै धरापमा पारिरहेका छन् ।

आडम्बरी जीवन पद्धतिको सिकार बनेका यस्ता प्रवासी आफ्ना बकम्फुसे कुरा र तर्क संसारले पत्याउने भ्रममा भेटिन्छन् । वर्षौंदेखि आफूले गरिरहेको पेसा बताउन निकै लाज मान्नेहरु आफूलाई कन्सल्टेन्ट आदि पदले परिचय गराउने तर काम गरिरहेको कार्यालय चाहिँ बताउन अप्ठ्यारो मान्ने, अगाडि डाक्टरको डा. झुण्डाउने तर विद्यावारिधि गरेको संस्था र वर्ष गोप्य राख्न चाहने आदि विकृत मनोभावले ग्रस्त भेटिन्छन् ।

परदेशमा समेत आफ्नो पेसा, योग्यता, अनुभव र ओहदा निर्धक्क ढाँट्ने बानी नै बसालेका अनि मान र प्रतिष्ठाका लालची यी मनोरोगी जस्तोसुकै विषयवस्तुमा पनि आफै विज्ञको रूपमा प्रस्तुत हुन्छन् । सभा वा बैठकमा माइक समातेर बोलिरहनुपर्ने, सबैको ध्यान आफैमा केन्द्रित होस् भन्ने चाहने, सामाजिक सञ्जालमा अर्काको निन्दा गर्न पाउदा निकै गर्व गर्ने, आफूलाई सबैले मानिदिनुपर्ने, तर आफूले भने अरुको मानसम्मानमा सामान्य औपचारिकता समेत पूरा गर्न जरुरी नठान्ने जस्ता आदतको सिकार बनिरहेका छन् ।

प्रवासमा आफ्नो क्षमता र हैसियत अनुसारकै जिम्मेवारी पाएका एकाध महाशय पनि आत्मरतिका लागि समाजमा आफ्नो वास्तविकताभन्दा अलि बढाइचढाइ प्रस्तुत हुन्छन् र अप्राकृतिक सामाजिक प्रतिष्ठा स्थापित गराउने सोखमा आफ्नै पारिवारिक सुख र सामाजिक प्रतिष्ठा समेतलाई तिलाञ्जलि दिन पुग्छन् । हुन त कालान्तरमा कतिपय यस्ता मानिस वास्तविकताको पहिचान गर्न सक्षम भई पुनः सफल व्यवसायी हुन सफल भएको पनि पाइएको छ । कतिपय भने परिवारको मात्र नभई समुदायकै भाइरसका रूपमा स्थापित भएका छन् ।

समग्रमा भन्नु पर्दा स्वदेशमा होस् वा प्रवासमा, हिन्दी फिल्मी गीत ‘क्या चिज हे तु खुद भि तुमको मालुम नहीं है’ ले इंगित गरेजस्तै आफ्ना सबल पक्षलाई समयमै पहिचान गरी त्यसको भरमार उपयोग गर्नु नै सफल हुने सबैभन्दा उत्तम विकल्प हो । राज्यको दिगो विकास र समृद्धिको सवालमा पनि रैथाने स्रोत र सीपको पहिचान जरुरी हुन्छ । आधुनिक प्रविधिमार्फत रैथाने स्रोत र सीपको पूरापूर सदुपयोग र बजारीकरणले दिने प्रतिफललाई अन्य विकल्पले कहिल्यै भेट्ने छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE