मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खाद्य सुरक्षा बिनाको भ्रमण बर्ष २०२० !

नारायण घिमिरे

नेपाल भ्रमणमा जान चाहने पर्यटक र आफ्ना ग्राहक हरूलाई संसारमै प्रख्यात मानिने ट्रिप एडभाईजरको वेभ पोर्टलले लेखेको छ “नेपालको अभिवादनको शब्द “नमस्ते” हो। जुन हातका दुवै हत्केलामा जोडेर गरिन्छ। यसको शाब्दिक अर्थ हुन्छ म मा रहेको दिव्यता तपाईँमा रहेको दिव्यलाई अभिवादन गर्दछ”। नेपाल घुम्न जाने प्रत्येक यात्रीलाई कम्तीमा निम्न उन्नाइस बुँदाहरू थाहा हुनु जरुरी छ भनी भ्रमणको लागि सल्लाह राखिएको छ।

 

१ – एक्लै ट्रेक नगर्नुहोस – हालका वर्षहरूमा धेरै एकल ट्रेकरहरु बेपत्ता पारिए। सधैँ एक गाइड भाँडामा लिनु होस। अन्य व्यक्तिसँग ट्रेक नगर्नुहोस्। यहाँ अनलाइन फोरमहरू छन् जस मार्फत यात्रीहरूले सह-ट्रेकरहरू खोज्न सक्छन्। यो सबैलाई लागू हुन्छ। विशेष गरी महिला जो एक्लो यात्रा गरिरहेका हुन्छन् तिनीहरू बढी जोखिममा देखिन्छन। सधैँ तपाईँको नजिकको सम्बन्धमा रहेको तपाईँको मानिस लाई तपाइको यात्रा योजनाहरू सञ्चार गर्नुहोस्।

२ – खाद्य सुरक्षा – बोतल नगरिएको वा नउम्लेको पानीबाट बच्नु होस। सकेसम्म कच्चा तरकारीहरू र पहिलै काटेर राखेका फलहरू बेवास्ता वा नाखानुस।

३ – यद्यपि नेपाल प्राचीन प्राकृतिक वातावरण र सौन्दर्यका लागि परिचित छ – तर राजमार्गहरू र प्रमुख सहरका सडकहरू त्यस्तो छैन। तिनीहरू ट्राफिक भिडभाड, धुवाँ, खाल्टा सुल्टी, गन्ध र धुलोले भरिएको छ। त्यस कारण धेरै जसो साइकलमा वा मोटरसाइकलमा यात्रा गर्नु राम्रो छैन। त्यहाँ केही  साइकलमा वा मोटरसाइकलमा यात्रा गर्न लायक अफ-रोड माउन्टेन बाइक ट्रेलहरू छ।

४ – सडकमा भेटिने भिखारीहरूलाई पैसा नदिनुस – तपाईँले सडकमा देख्ने भिखारीहरू दयालु देखिन्छन। उनीहरूलाई पैसा दिएर उनीहरूलाई बढी   भिखको लागि बिन्ती गर्न प्रोत्साहित गर्दछ। यदि तपाईँ वास्तवमै हेरचाह गर्न चाहनु हुन्छ भने नेपालमा त्यो क्षेत्रमा काम गर्ने धेरै परोपकारी संस्था मध्ये एक छानेर सहयोग गर्नुस।

५ – तपाईँ नेपाल छोड्नु भन्दा पहिले तपाईँ सँग रहेका सबै नेपाली मुद्राहरू सटही गरी सक्नुस। नेपाल बाहिर नेपाली मुद्राहरू स्वीकार्य हुँदैनन। यसका साथै नेपालबाट नेपाली मुद्रा नेपाल बाहिर लानु नेपालको कानुन विरुद्ध मानिन्छ।

६. कसैको टाउकोमा नछुनुस। साथै आफ्नो खुट्टाको पैताला उनीहरू तिर सोझिने वा देखिने गरी नबस्नुहोस्। यस्ता कुरा नेपालमा असभ्य मानिन्छ।

७. तपाईँ सँग प्रतिबद्ध गरिएका मौखिक होस् वा लिखित तालिका र समयहरूमा पूर्ण भरोसा नगर्नुहोस। तिनीहरू समयमा भनिएको वा प्रतिबद्ध गरिएको अनुसार सुरु वा पुरा नहुने हुन सक्छ। जसले तपाईँका पछिल्ला सबै तालिकामा बाधा पुग्न सक्छ। तपाईँको प्रमुख योजनाहरू र गतिविधिहरूको बिचमा जति सक्दो धेरै समय बचत गरी तालिका तयार गर्नुहोस्। विशेष गरी तपाईँको निश्चित आइपुग्न पर्ने र उडान लिन पर्ने पर्ने मिति छ भने बिचमा तालिका हेरफेर हुदापनि असर नगर्ने गरी बनाउनुहोस।

८ – सधैँ सचेत / सावधान हुनुहोस कि नेपालमा जति बेला पनि बन्द हड्तालहरु हुन सक्छन। बन्द हडतालको समयमा यातायात चल्ने अनुमति हुँदैन। जसले तपाईँको सबै यात्रा योजनाहरू बदली गरिदिन सक्छ।

९ – नेपालमा “गाँजा” (मारिजुआना) वैध छ भनेर नसोच्नु होस्। जुन साँचो होइन। यध्धपी गाँजा नेपालको सडक र पहाड जताततै पाइने घाँस हो, यसलाई उठाउन र उपभोगको उद्देश्यले बोक्नाले तपाईँ कानुनी समस्यामा पर्न सक्नुहुन्छ।

१० – नेपालीले “हो” भनेको जस्तो निश्चययता दिने गरी टाउको हल्लाएको देखेर उनीहरू तपाईँसँग सहमत भएको भनी नसोच्नु होस्। त्यसको बारे सकेसम्म सरल शब्द प्रयोग गरी सहमति भएको नभएको सकेसम्म सिधै पुनः पुष्टि गरी निश्चित गर्नुहोस्।

११ – काठमाडौँ र पोखराका डान्स वा नृत्य बारहरू बाट टाढा रहनुहोस्। यिनीहरू पर्यटकलाई जालमा पार्ने स्थानहरू हुन। त्यहाँ बेचिने मदिरा र खानाको बिलमा धेरै मोल मूल्यहरू राखेर ठगिन्छ। यी स्थानहरू मध्ये कतिपयमा डरलाग्दो ठगी र हिंसा भएको इतिहास छ।

१२- यदि तपाईँ एयरपोर्टमा भिसाका लागि आवेदन दिने योजनामा हुनुहुन्छ भने, राहदानी आकारको फोटो आफूसँगे भएको निश्चित गर्नुहोस्। वैकल्पिक योजनामा तपाईँले तपाइको फोटो एयरपोर्टको बुथमा लिनु पार्ने हुन्छ।

१३ – रातको समय वा जीवन १० बजे  समाप्त हुन्छ। ठमेल वरपरका केही स्थानहरू थोरै अबेला सम्म खुला रहन्छ।

१४ – तपाईँको इलेक्ट्रोनिक्सको लागि एक युनिभर्सल प्लग र भोल्टेज एड्याप्टर किट ल्याउनु होस। नेपालमा २२० भोल्टेज प्रयोग हुन्छ।

१५ – ध्यान दिनुहोस् कि केही सामान्य मन्दिरहरू र सार्वजनिक क्षेत्रहरूमा विदेशीहरूलाई लागू हुने प्रवेश शुल्क हुन सक्छन्। ती शुल्कहरू रु २५० देखि ७०० सम्म हुन सक्छ।

१६ – तपाई सँग सधैँ केही टिशू पेपर र हातका सेनिटाइजर राख्नुहोस। ध्यान दिनुहोस् कि केही शौचालयहरूमा तपाईँ लाई कम्बोट चाहिने पनि हुन सक्छ।

१७- ट्याक्सीमा चालु मिटरमा हिडनुस। रातको १० बजे पछि दोब्बर मिटर भाडा तिर्नु सामान्यतया स्वीकार्य मानिन्छ।

१८ – मन्दिरको वरपर बाँदरहरूको अगाडी खाना प्रदर्शन नगर्नुहोस। किनकि उनीहरू यसलाई खोस्न अभ्यस्त भएका हुन्छन।

१९ – प्लास्टिकको प्रयोग नगरौँ भन्ने प्रयास लाई समर्थन गर्न प्लास्टिक चीजहरूको प्रयोग सीमित गर्नुहोस र नेपाललाई राम्रो स्थान बनाउन सहयोग गर्नुहोस।

 

नेपालको पर्यटन क्षेत्र पर्यटक सुलभ बनाउन माथि उल्लेख गरिएका केही अप्रियता सच्चाउने काम मात्रले पर्याप्त हुने छैन। राज्यले पर्यटकको आर्थिक र भौतिक सुरक्षाका साथै मनोवैज्ञानिक र खाद्य सुरक्षा पनि पर्याप्त ध्यान पुर्‍याउन जरुरी छ। खाद्य सुरक्षा र मनोवैज्ञानिक सुरक्षा भित्र पर्यटकले नेपाल रहँदा उपभोग गर्ने पानी, पेय, खाद्य, औषधि र हस्पिटालिटी मुख्य छन। जसमा खाद्य तथा पेयको गुणस्तर अत्यन्त चुनौती पूर्ण बनेको छ।

 

दुखको कुरा आज पनि नेपाल जाने यात्रीलाई धेरै जसो गाइड बुकमा यो सल्लाह दिएको पाउनु हुन्छ कि तपाईँ जस्तोसुकै उच्च स्तरको होटेलमा बसेको किन नहुनु होस कम्तीमा नुहाउनु हुँदा आफ्नो मुख राम्रो सँग बन्द गर्नुहोला। यदि त्यसो हुन सकेन र तपाइको मुखमा नुहाउने पानी पस्यो भने तपाईँको हिमालय पैदल यात्रा स्थगित गर्न तयारी गर्नुहोस्। किनकि नेपालका होटेलका पानीमा गियारडिना इन्टेसटिनालिस नामक सूक्ष्म परजीवीहरू द्वारा प्रदूषित हुने गर्दछन्।तपाईँ पखाला, बान्ता, पेट दुख्ने, पेट कराउने र ज्वरो आउने आदि को सिकार बन्न सक्नु हुन्छ।

 

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रीभेन्सन जसलाई संसारकै ट्राभल एडभाइजरीहरुले आफ्नो संदर्ब सामग्रीका रूपमा लिने गर्छन् ले तलका कुराहरू लेखेको छ। तपाईँ नेपालको भ्रमणमा हुनुहुन्छ भने कोठाको तापक्रममा दिइएका पाकेको खाना भए पानी नाखानुहोस। राम्रो सँग धुन सकिने स्थिति छैन भने काँचो सलाद लगायत तरकारी र खान पुरै नकार्नुस। शील गरिएको बोतल वा क्यानका पेय पदार्थ मात्र पिउनु होस। पानी तेतिबेला मात्र पिउन सुरक्षित हुन्छ जब यो उमालेको होस वा रासायनिक औषधि बाट कीटाणु रहित गरिएको होस।बन्द बोतल बाट अथवा कीटाणु रहित पानी बाट बनेको निश्चित छैन भने बरफलाई बेवास्ता गर्नुहोस्।

 

यस्ता कुरा हरू आज किन संसार भर लेखिएका छन् तिनको चुरो कारणमा नपुगी स्थायी समाधान भित्राउन सकिँदैन। भिजिट नेपाल २०२० मनाउँदै गर्दा राज्यको राम्रो ध्यान पुग्न नसकेको अहम विषय नेपालका रेस्टुरेन्ट वा भोजनालयहरूमा उपलब्ध हुने खानाको गुणस्तर हो। नेपालका मुख्य सहरी क्षेत्रमा रहेका होटेल र रेस्टुरेन्टहरू नेपाल आउने पर्यटकले चाहे अनुरूपको खाना तथा पेय उपलब्ध गराउन सक्ने क्षमता राख्दछन। तर नेपालका प्राय धेरै मुख्य सहरहरूमा राज्यले हाल गुणस्तरीय पिउने पानी उपलब्ध गराउन नसक्दा सहर काकाकुल बनेको अवस्था छ। पिउने पानीका रूपमा हुने गरेका सीमित आपूर्तिका पानी प्रदूषित भेटिन्छन। पिउनको लागि सुरक्षित हुदैनन। खाध उद्योग, होटेल र भोजनालयहरूमा जरुरी गुणस्तर व्यवस्थापन गर्न सरसफाइ गर्ने पानीको रूपमा पनि पिउने पानी नै प्रयोग गरिनु जरुरी हुन्छ।

 

हाम्रा होटेल र रेस्टुरेन्ट ब्यवसाहिहरू लाई गुणस्तरीय सेवा प्रधान गर्न अनिबार्य रहेको मात्रामा पिउन योग्य पानी आपूर्तिको राज्य द्वारा ग्यारेन्टी गर्न नसक्नुले नेपालका होटेल र रेस्टुरेन्टहरूमा स्वादमा बेजोड बनाइएका खानपानको खाद्य सुरक्षा र गुणस्तर भने चुनौतीपूर्ण बनिदिएको छ।

 

अझै पनि हाम्रा सहर हरूमा बाक्लो आवासीय इलाकाहरूबाट निस्कने फोहर पानी बिना प्रशोधन सतहका पानीमा मिसिई रहेका भेटिन्छ। सहरमा रहेका उद्यम र अन्य  फोहोर समेतले सतहका पानी प्रदूषित बनाई रहेको देखिन्छ। प्रदूषण युक्त सतहको पानी जुन नदी र तालमा बग्छ, माटोको भित्री भाग सँग समेत पुगी कुनै न कुनै रूपमा पिउने पानीको मूल वा स्रोत बन्ने गर्छ। सतहको पानीमा गरिएको प्रदूषण घुमी फेरी हाम्रै भान्सामा पुग्ने मर्म सहरले नजर अन्दाज गरेको प्रतीत हुन्छ।

 

काठमाडौँ उपत्यका जस्ता राजधानीमा रहेका सतह र भूगर्भीय पानी प्राकृतिक वातावरण र मानव द्वारा दूषित बन्नाले सुरक्षित खाध आपूर्तिमा ठुलो चुनौती बनेको सफा पानीको उपलब्धता दैनिक कठिन बन्न्दै गएको छ। जस्तै राजधानी काठमाडौंले दैनिक १५० टन फोहोर उत्पादन गर्ने अनुमान गर्दा आधा हिस्सा नदीमा फ्याँकिने गर्छ। जसमा अशि प्रतिशत फोहोर त्यहाँ बाक्लो बस्तीमा रहेको घरपरिवारले उत्पादन गरेको फोहर हुने गरेको छ। दैनिक रूपमा, बढ्दो जनसङ्ख्या र नयाँ संरचनाको कारण पिउने पानीको अभाव दैनिक बढ्दो छ।

 

२०६४ तिर नेपालका विभिन्न खाद्य वस्तुहरूमा कीटनाशक विषादी पदार्थको ​​अवशेषहरू हेर्दा १२ प्रतिशत नमुनामा कीटनाशक अवशेषहरूको अवशेष भेटिएको थियो। जसमा कन्दमूल जस्ता तरकारीमा ११.९% प्रतिशत र हरियो सागपातमा १०.९% प्रतिशत कीटनाशक विषादी प्रदूषणको देखिएको थियो।  २०७२ मा आइपुग्दा 58% तरकारीका नमुनाहरू निगरानीमा रहेका  कीटनाशक विषादी रहेको भेटिएन। बाकी ३८% मा कीटनाशक विषादी अवशेषहरू भेटिएता पनि तोकिएको अधिकतम अवशेष स्तर वा एमआरएल भित्रकै परिणाममा रहेका देखिएका थिए।

 

बिगडाटा एग्री कल्चरको २०७५ को अनुसन्धान मूलक रिपोर्टले नेपालको तत्कालीन प्रति हेक्टर कीटनाशक विषादीको खपत ३९६ ग्राम देखिएता पनि ब्यवसाहिक र वाणिज्यिक मुनाफाको लागि गरिएको तरकारी क्षेत्रमा कीटनाशक विषादीको खपत १६०० ग्राम प्रति हेक्टर रहेको बताउछ। स्थानीय बजारमा लगी बेच्ने प्रयोजनमा उत्पादित तरकारी र नगदे बालीमा विषादीको भारी प्रयोग हुने गरेको छ। सबै भन्दा धेरै फंगीसाइड, त्यस पछि इनसेक्टिसाइड अनि हर्बिसाइड प्रयोग हुने गरेका छन्। नेपालमा प्रयोग हुने कीटनाशक हरू मिश्रित कीटनाशकहरू र अर्गानोफॉस्फेटहरू रहेका छन्।

 

बिगडाटाका अनुसार सिन्थेटिक कीटनाशकको ​​तुलनामा जैव-कीटनाशक वा बोटानिकल कीटनाशकको विषादी प्रयोग नगण्य छ। कीटनाशकको प्रयोग तराई क्षेत्रमा सब भन्दा उच्च छ। बजार क्षेत्र र राजमार्गको वरपर क्षेत्रमा कीटनाशकको प्रयोग द्रुत गतिमा बढ्दै गरेको देखिन्छ। भन्टा, टमाटर, जरा तरकारी, साग पातहरूमा अत्यधिक कीटनाशक विषादीको ​​प्रयोग भइरहेको देखिन्छ। जस्तै २०७४ – ७५ मा कालीमाटीमा रहेको रेपिड बायोएस्से पेस्टीसाइड रेसिड्यू विश्लेषण इकाईको जम्मा १९०३ परीक्षण गरिएको नमुनाहरू मध्ये ५ वटा क्वारेन्टाइन गर्नु पर्ने र २२ वटा तुरुन्तै फाल्नुपर्ने भेटिएका थिए।

 

नेपालमा कीटनाशक विषादी प्रयोगका लागि १३२ किसिमका कीटनाशक दर्ता भएका छन। बिगतमा विषादी ​दुरुपयोग नियन्त्रण गर्न सरकारी प्रयासहरू पर्याप्त नहुँदा नहुँदै आफ्नै बिक्रीमा असर हुँदै जाने अवस्थामा सरोकारवालाहरूको जिम्मेवारी बोधमा जथाभाबी विषादी प्रयोगको क्रम घट्दै गएको देखिए पनि हाल पुनः व्यापक रूपमा बढेको देखिन्छ। २०६४ – ६५ मा मात्र १३२ टन कीटनाशक आयात हुने नेपालमा २०७४-७५ मा ६३५ टन  कीटनाशक विषादी बनाउन प्रयोग हुने एक्टिब पदार्थ आयात गरिएको देखिन्छ। यसरी आयात भएको मा ८५% तरकारी तथा फलफूलमा प्रयोग हुने भनिएको छ। बजारमा उपलब्ध कीटनाशक विषादीको प्रयोगको मात्रा र प्रयोग पछिको सुरक्षित अवधि कति हो भन्ने किसानको स्तर सम्म उचित सूचना पुगेको देखिन्न। २०१८ को एक अध्ययनमा ९०% किसानहरूमा कीटनाशक विषादी आउने बत्तल या भाडा या कन्टेनरमा विषादीको विषाक्तताको लागि राखिएका कलर कोड बारे केही थाहा नभएको देखाएको छ।

 

आज भोलि मुख्य उद्देश्य बजारमा बेच्ने वा निर्यात रहेका नगदे बाली विशेष गरी चिया, चामल, कपास, केरा, सुन्तला जस्ता बालीनालीहरूमा समेत कीटनाशक पदार्थको अवशेषहरू भेटिन थालेका छन्। कीटनाशक विषादीको विकल्प नहुनु नेपालमा  विषादीको व्यापक प्रयोग  बढ्नुको कारण बनेको छ। ठुला बहुराष्ट्रिय कम्पनीहरू बाट विविध आर्थिक  प्रोत्साहन युक्त कार्यक्रम गाऊ गाउँमा पुगेको छ। बहुराष्ट्रिय कम्पनीका स्थानीय एजेन्टहरू मुनाफाको प्रलोभनमा किसानहरूको उच्च प्रतिफल लिन चाहने आकंछाको दुरुपयोग गरेर आफ्नो प्रभावलाई सकेसम्म रासायनिक कीटनाशक विषादी प्रयोगमा बढवा दिन सक्रिय छन्। जैविक र अर्गानिक उत्पादनको बजार मूल्यले रासायनिक कीटनाशक विषादी प्रयोग गरी हुने उत्पादनको मुनाफा कहिल्यै पूर्ति गर्न सक्दैन भन्ने भ्रममा भेटिन्छन किसानहरू।

 

कीटनाशक विषादी प्रयोगका दीर्घकालीन प्रभावहरू छन्। जसले वातावरणीय दूषितता, गम्भीर स्वास्थ्य समस्याहरू र स्वास्थ्य बिग्रने गैर-लाभकारी बाली उत्पादन गर्नु हानिकारक रहेको  महसुस उत्पादकको स्तर सम्म पुगी सकेको छैन। बिना कुनै तालिम पाएका किसान हरुको हात हातमा विषादी पुगेको छ। विषादी प्रयोग गरेर आफ्नै अगाडी किराहरू मरेको देखेका किसानहरू कीटनाशक विषादीको प्रयोगले तत्काल मानिस मर्ने नहुँदा मूलकले भोगी रहेको क्षतिमा,  बिषदी बाट लक्षित नगरिएका जीवहरू, वातावरण र इकोसिस्टम मा परिरहेका दीर्घकालीन प्रभावहरू राम्ररी   प्रस्टिन सके जस्तो देखिँदैन। फलतः बीज, खेती प्रणाली, आयात, भण्डारण, ढुवानी र अन्य प्रशोधन कार्य हरूमा समेत कीटनाशक विषादीको दुरुपयोग धेरै बढेको देखिन्छ।

 

हाम्रा होटेल र रेस्टुरेन्टका भान्सामा अत्यधिक धेरै बोइलर कुखुराको मासु प्रयोग हुने गरेको छ। पछिल्लो समयमा छिटै हुर्काउने नियतले औषधी, इन्जाइम, भिटामिन, सेनिटाईजर र रसायनहरू मनपरि प्रयोग गरिएको बोइलर कुखुराको ऊत्पादन अत्याधिक हुने गरेको छ। कुखुरा हलक्क बढाउन दानामै मिसाएर नियमित एन्टिबायोटिक दिने गरिएको बोइलर कुखुराको मासुमा विषादी र स्टेरोइडको मात्रा अनुगमन नगरिएकाले खान योग्य नरहेको शङ्का गर्ने धेरै आधार देखिन्छ।

 

खानामा हुने कीटनाशकका अवशेषहरूले मानव स्वास्थ्यमा पार्ने प्रभावहरूमा टाउको दुख्ने, वाक वाकी लाग्ने, छाला चिलाउने, छाला पोल्ने, मस्तिष्कमा बेचैनी हुने, चक्कर लाग्ने, बिस्तारै शरीर बिस युक्त बन्ने, सास फेर्न गारो हुने, फोक्सो कलेजो र मुटुको क्षति, दिमागको क्षति हुने देखि डरलाग्दो क्यान्सर जस्ता प्राण घातक रोगले पिडादाइ मृत्यु निम्ताउने गर्छ।

 

अत्याधिक कीटनाशकको प्रयोग भएको वा तोकिएको एमआरएल लेबल नाघेको कीटनाशक विषादी रहेको सलाद, हरियो सागपातमा, फलफूल, तरकारी, कन्दमूल आदि होटेल र रेस्टुरेन्टहरूमा उपलब्ध हुने खानपानमा प्रयोग हुनु कानुनी र नैतिक रुपमा स्वीकार्य हुँदैन। अत्यधिक कीटनाशकको प्रयोग भएका जमिनमा फाल्ने कन्दमूल, फलफूल र हरियो सागपातमा कुनै पनि हालतमा खानामा प्रयोग हुनु हुँदैन। यसमा शून्य सहनशीलता लिइनु पर्छ। तोकिएको एमआरएल लेबल नाघेको कीटनाशक विषादी रहेको खानाले हाम्रो पर्यटन क्षेत्र नै धराशायी बन्ने गरी बदनामी निम्त्याउँछ। मुलुक भुक्का टुरिस्ट मय बन्छ। आशा गरौँ, नेपालले भिजिट नेपाल २०२० मनाउँदै गर्दा यसको उद्देश्य प्राप्ति सँग प्रत्यक्ष सरोकार राख्ने होटेल र रेस्टुरेन्ट हरुमा गुणस्तरीय खाना व्यवस्थापनमा खडकिएको पूर्वाधारहरुको व्यवस्था मिलाउन सरकार सफल हुनेछ।

 

(संसारभर जटिबुटी र हर्बल क्षेत्रमा उन्नत अनुसन्धानमा संलग्न हुँदै उद्यमशीलताको विकासको लागि जरुरी हुने ज्ञान, सिप प्रविधिको हस्तान्तरणको नेतृत्व गर्दै आएका लेखक घिमिरे क्यानडा निवासी खाद्य तथा औषधि बिज्ञ हुन।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE