मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मन्त्रीजीको कृषिमा अल्झेको श्रम !!

नारायण घिमिरे

केही समय अघिको पुनर्गठन पछि नेपाल सरकारका नयाँ नियुक्त कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका मन्त्रीले बताए अनुसार वर्तमान सङ्घीय लोकतान्त्रिक अर्थतन्त्रलाई थेग्ने उपाय परम्परागत कृषिमा अल्झेको श्रमलाई मुक्त गर्नु हो। त्यसैको लागि मन्त्री जीको निश्वार्थ भावको सेवा मुलुकले पाउने छ। उत्पादन नबढ्ने, रोजगारी नबढाउने तर कुत खाने वर्तमान अर्थ प्रणालीलाई यथास्थानमा नै रोक्नेतर्फ प्रयासहरू हुने कुरा सुनियो। निर्वाह मुखी कृषिलाई उत्पादन मूलक कृषि तर्फ लैजाने कुरो त आयो तर कसरि भन्ने तर्फ भने मन्त्री जी बाट केही सुन्न पाईएन। हालका भएका सफलतामा टेक्ने अनि असफलता बाट शिक्षा लिँदै मन्त्रीजीले बर्सौँ देखि लेख्दै र भन्दै आएको अवधारणा पुरा गर्ने कुरा बाहिरियो।

 

आज कृषिमा मुलुकले सम्पूर्ण रूपमा नै कायापलट मागेको छ। सम्बन्धित क्षेत्रको मात्र सैद्धान्तिक अवधारणामा टेकेर मन्त्रीजीले बनाएको अनुमान र उक्त अनुमानका भरमा लेखिएका र बताइएका कुराहरू संधर्ब सामग्री हुन सक्लान, तर मुलुकको हालको उक्त कायापलटको जरुरतको पूर्ति गर्ने सक्क्षम परिवर्तनको संवाहक पक्कै पनि हुने छैन। बरु वर्तमान प्रधानमन्त्रीले आफू दुई तिहाइको प्रधानमन्त्री हुँदै गर्दा खुट्टाएको निर्वाह मुखी पेसाको जड हाम्रो शिक्षा प्रणाली रहेको तर्फ समाधान खोजेर सुधार गर्न सकिएला।

 

प्रधानमन्त्री कै भाषामा हाम्रो शिक्षा जसले पढेको हो, उसको आफ्नै उत्थानका खातिर त भएन भएन, जीविकोपार्जन लागि समेत पीडादायी बनिरहेको छ । हाम्रा विश्वविद्यालयहरुले असीमित प्रतिभा बोकेका विद्यार्थीहरूलाई असफलको दर्जा भिराउँदै राष्ट्रको लगानी, विद्यार्थीको सम्भावना र अभिभावकको सपनालाई तुसारा पात गरिरहेका छन्। हाम्रा ग्रेजुएटहरु ग्रेजुएसनका नाममा आई ए, बीए र एमए डिग्रीधारी साक्षर मात्र बनिरहेका छन्। हाम्रो शिक्षाकै कारण प्राकृतिक रूपमा वरदान प्राप्त नेपाल ठगिएको, मानव बस्तीका लागि पूर्ण प्रतिकूल प्रकृतिबिच आफूलाई समृद्ध बनाएको इजरायल र खाडीमा गएर श्रमिकका रूपमा जीविकोपार्जन गर्नुपर्ने बाध्यता लादिएको छ । परम्परागत रूपमा तीक्ष्ण प्रतिभा बोकेका पुर्खाको जिन भएका नेपाली विद्यार्थी असाधारण सृजनशीलता बोकेका मात्र होइनन्, उनीहरूको रुचि अनुसारको व्यावहारिक ज्ञान लिने अवसर पाए विकासमा कायापलट गर्न सक्ने सम्भावना बोकेका धरोहर छन। त्यसको सदुपयोगको जरुरी छ।

 

मुलुक दुर्भाग्य बनेको, ग्रेजुएटहरु ग्रेजुएसनका नाममा साक्षर मात्र बनिरहनुमा मात्र शिक्षा मन्त्रालयको कमजोरी रहेको मानसिकता कृषि र बन मन्त्रालयको देखियो। मुलुकले उत्पादन गरिरहेको कृषि विज्ञ आज किन कृषक बनिरहेका छैनन? मुलुकले कृषि उधम शिलतामा किन बामे सर्न सकिरहेको छैन त्यो तर्फ हाम्रो ध्यान गएन। जाने छाटकाट पनि छैन।

 

हालको वर्गीकरणमा नेपालसँग मात्र १६ प्रतिशत खेतीयोग्य जमिन छ । जसमा सिँचाइ भएको ८ प्रतिशतमा कृषिको ६० प्रतिशत जोडबल नेपालले लगाइरहेको छ। कृषिका लागि नेपालमा जग्गा धेरै टुक्रा–टुक्रा पारिसकेको र जनसंख्या बढ्दै जाने क्रममा जग्गा अरु टुक्रँदै जाने क्रम नरोकिएकाले संसारसँग प्रतिस्पर्धा नै गर्न सक्ने गरी परम्परागत व्यावसायिक कृषि गर्ने नेपालको क्षमतामा क्रमशः स्खलन आएको छ। दसकौंदेखि गरिएका बेमौसमी तरकारीमा बिषादी र हर्मोनको जोखिमपूर्ण प्रयोगले बिषादीयुक्त तरकारी र फलफूल सेवनका कारण देशलाई खराब स्वास्थ्यको भार थोपरिएको छ।

 

हालको वर्गीकरणमा सदुपयोग हुन नसकिरहेको भनिएको ६८ प्रतिशत जमिनको सम्भावना हो । त्यो भनेको हजारौं रैथाने औषधीय र सुगन्धित बिरुवाहरुको सम्भावना हो। हिमाल, पहाड र तराईमा जस्तो भौगोलिक अवस्था छ, त्यसैमा उम्रने हाम्रा हजारौं रैथाने औषधीय (मेडिसिनल) र सुगन्धित (एरोमेटिक) बिरुवाले हाम्रो जीवनशैली नै परिवर्तन गर्ने गरी आय दिन सक्ने र आगामी पुस्ताको अति क्रेजमा पर्ने डिटक्स एग्रोफुडको विकल्प हाम्रो बिकल्प बन्न सकेन।

 

अविकसित देशलाई विकास गर्न कृषि क्षेत्रमा रूपान्तरणको जरुरी हुन्छ। कृषिमा हुने रूपान्तरणले  सिर्जना गर्न रोजगारले कृषकको आम्दानी बढाउने, कुपोषण कम गर्ने र अर्थव्यवस्थालाई मध्यम आय वृद्धिको बाटोमा लाने मूल सेतुको काम गर्छ। केही अपवाद बाहेक आजका लगभग सबै औद्योगिक देशले कृषि रूपान्तरणको साथ आफ्नो आर्थिक आय वृद्धिको आरोहण सुरु गरेका हुन। पछिल्लो उदाहरणहरू ब्राजिल, चीन र भियतनाम लाई लिन सकिन्छ। जहाँ प्रत्येकले आफ्नो कृषि क्षेत्रमा रूपान्तरण गरेरनै मात्र २० वर्ष भित्रमा कृषि क्षेत्रको आम्दानी दोब्बर बनाउन सके।

 

नेपालको लागि वर्गीकरणमा सदुपयोग हुन नसकिरहेको भनिएको ६८ प्रतिशत जमिनको सदुपयोगले मात्र कृषि क्षेत्रको रूपान्तरण मार्फत संवृद्धि दिन सक्ने छ। विगतमा हाम्रा कृषि मन्त्री र मन्त्रालयमा ती कुराहरू बन मन्त्रालयको सम्पत्ति रहेको बुझाई देखियो। बनको सम्पत्ति औद्योगिकीकरण हैन सुरक्षा गर्ने जिम्बेबारी बन मन्त्री र बन मन्त्रालयको ठम्याई रहेको भेटियो।

 

नेपालमा हाल विद्यमान कृषिका परिवर्तनको दरिलो संवाहक प्रधानमन्त्री स्तरमा देखिएको रूपान्तरणमा तत्परता हो। आजको नेपाल सरकारको नित्रुत्वो मुलुकको रूपान्तरणको लागि तत्पर मात्र हैन बेचैन रहेको देखिन्छ। पुरानै संस्थागत रूपरेखा, सञ्चालन संयन्त्र र कर्मचारी तन्त्रमा जरा गाडेको ‘हवस् मन्त्री ज्यू’ संस्कृति गएको केही महिना कृषिमा रूपान्तरणको बाधकका रूपमा देखा परे। मुलुकको राष्ट्रिय कृषि योजना र रणनीति टालटुले देखियो। प्रधानमन्त्री स्तरमा रहेको नतिजा दिन चाहने हुट-हुटि विभागीय मन्त्रीहरू बाट उच्च सञ्चालन संयन्त्रसम्म पुग्यो। तत्काल कर्मचारी तन्त्रमा रहेको हवस् मन्त्री ज्यू संस्कृति जाग्यो। सुन्दर टिप्पणीहरू उठे। राय मागियो। सदर गरियो। क्याबिनेट पुग्यो। सदर गरियो। ऐन, कानुन बन्यो।

 

जब कार्यान्वयनको दिन आउँछ। बनाइएका कानुन लागु हुन्छ। जब लागु हुन्छ, प्रधानमन्त्रीको कार्यालय राम्रो कामको तारिफ सुन्न पर्खँदै गर्दा कानुन समेत बनेर कागजमा लागु गर्न सक्षम बनेको विषय सुरुवात गर्न समेतको लागि आधारभूत संरचना समेत नरहेको भेटिन्छ। त्यसको प्रभावले जनतामा देखिएको तीव्र निराशाको सिकार प्रधानमन्त्रीको कार्यालय बन्छ। डेलिभरी  दिन नसकेका सम्बन्धित मन्त्रालयका मन्त्रीहरू केही समय पस्चात भएको मन्त्री परिषद् पुनर्गठनमा बालिका बोका बन्छन। हटाइन्छ।कठै मन्त्रीहरू विषादीले ठहरै पर्छन। उक्त असफलतामा अन्य कोही कसैको जवाफ देहिता रहेको महसुस समेत गरिँदैन। मुलुक जहाँको त्यही रहन्छ।

 

मलाई अहिले पनि याद छ। जब हामी सानो थियौ,  गाउँमा तोरी पेल्ने कोल थियो। तोरी पेले पछि एकातर्फ तेल आउँथ्यो। अर्कोतर्फ पिना। कोल काठको थियो। कोलको बनावट मै  संरचनागत सुधार गर्न नसकिएकाले कोलले मात्र ७० % तेल निकाल्न सक्थ्यो। ३०% पिनामा जान्थ्यो। महँगो तेल पिनामा खेर गएकाले पिना नुहाउने, लुगा धुने साबुनमा प्रयोग हुन्थ्यो। नुहाउँदा सारै आँखा पोल्थ्यो। आज प्रविधिले फड्को मारेको छ। कोललाई विस्थापन गर्ने नियतले बनाइएको मिसिन ९९.९९९९% तेल निकाल्न सक्ने बनेन भने उत्पादन कर्ताले उत्पादन समेत नगर्ने जमाना आज आएको छ। हाम्रो बुढो कर्मचारी तन्त्रमा अझै मात्र ७०% तेल निकाल्न सक्ने बुढो कोल हाराहारीको उत्पादकत्व दिने नेत्रुत्वोले ओगटेको छ। ९९.९९९% तेल दिन सक्ने मेसिनको हाराहारीको उत्पादकत्व दिने क्षमता रहेका युवा कर्मचारीहरू उत्पादकत्व हीन कर्मचारी तन्त्रको छायामा जकडिन पुगेका छन।

 

आजको हाम्रो चिन्ता के भने नयाँ मन्त्री ज्यू को ५-७ मैनाको समय कर्मचारी तन्त्र बुझ्दैमा बित्ने होला। कर्मचारी संयन्त्र भित्रको अर्को भित्री नेपालको पाटो बुझ्न त्यति नै समय अर्को खर्च हुने होला। त्यस पछि विषादीको यात्रा डल्लै बॉकि छ। विषादीले ठहरै पारे सक्किगो। बाच्नु भएछ भने कृषिको रूपान्तरणको लागि त्यही पुरानो कोल धकेल्न आइपुग्ने त होला ? मन्त्री ज्यु ! नेपालको आवश्यकता लाई पूर्ति गर्ने गरी नेपालमा आज विद्यमान समस्याको समाधान त्यो पुरानो कोललाई तपाइले धेरै बल लगाएर धेरै छिटो छिटो दगुराएर प्राप्त हुने प्रकृतिको छैन। त्यसो गर्नु भयो भने तपाइको मेहनत बालुवामा खन्याएको पानी बन्ने छ। त्यति बेला तपाइको “कृषिमा अल्झेको श्रम” हटाउने कार्यक्रम “कठै बरा ! कृषिमा अल्झेको श्रम” बन्ने छ। पुरानो कोल हैन पुरानो कोलरुपी संयन्त्र लाई उच्च उत्पादकत्व दिने मेशिनरुपी संयन्त्रमा लान नसके तपाईँ अर्को चैतन्य मिश्र बन्नु हुने ठोकुवा गरेरै भन्न सकिन्छ। हाललाई  चिनजान नभए पानी प्रवासबाट सफल कार्यकालको शुभ कामना टक्राउने जमर्को गरे। नेपालको जय होस।

(लेखक घिमिरे जडीबुटी र हर्बल क्षेत्रमा अनुसन्धान र उद्यमशीलताको विकासका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरणका क्षेत्रमा काम गर्ने क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन।)

WRITE COMMENTS FOR THIS ARTICLE