मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रवासबाट नेपालका प्रधानमन्त्रीलाई खुला पत्र।

नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री ज्यू,

संवृद्ध नेपाल बनाउन चाहने तपाइमा अन्तर्निहित हुटहुटी र छटपटी बारे नेपालमा कोही पनि अनविज्ञ छैन।  प्रवासमा समेत एकाध राजनैतिक पूर्वाग्रह राख्ने खेतालाहरू बाहेक कसैले तपाइको देश विकासको नियत माथि खासै  शङ्का गरिरहेको भेटिन्न। आजको नेपाल लाई संवृद्ध नेपाल बनाउन इनोभेसन, स्वरोजगारी र उधम्सिलताको अर्को विकल्प तपाइ लाई उपलब्ध छैन। तपाइको स्तरको हजारौँ प्रयास हरुका बाबजुद नेपालले विकासको दिशामा आशालाग्दो गति लिन सकी रहेको छैन।

 

संसारभर राज्य सञ्चालन गर्ने कार्यकारी निकायका प्रमुखहरू, योजना विदहरु, विकास नियोगका अधिकारीहरू प्रधानमन्त्री स्तरमा जागेको विकासको सोच र चाहना वास्तविकतामा उतार्न दुई सय प्रतिशत लागि रहेका हुन्छन्। तर हामी भने अझै मानसिकताको हिसाबमा बिसौँ शताब्दीको अमेरिकाको झनक दिने  अवस्था बाट गुज्रिरहेको अनुभूति हुने अवस्था छ।

 

कुरा सुरु गरौँ  बिसौँ शताब्दीको अमेरिकी सरकारको हावामा उड्ने मिसिन बनाउने राष्ट्रिय गौरवको योजनाको।

 

प्रधानमन्त्री ज्यू, आज संसारमा निकै धेरै मान्छेहरुले शमूएल पियरपन्ट ल्याङ्लेको नाम समेत सुनेका छैनन्। अमेरिकी सरकारको आशीर्वाद पाएका मुलुककै ध्यान खिच्ने विज्ञान तथा प्रविधिका उच्च पदमा आसीन ल्याङ्लेका बारे कम्तीमा नेपाल जस्ता मुलुकमा नबप्रबर्धनमा लागेका हरु सबैले राम्रो जानकारी लिन जरुरी छ।

 

ल्याङ्ले बिसौँ शताब्दीमा अमेरिकाका अत्यन्त शक्तिशाली मानिस मानिन्थे। अमेरिका भर तेतिबेला सर्वाधिक चर्चामा आउने अमेरिकी सरकारको लागि बिश्वोमै पहिलो पटक उड्ने मेसिन बनाउने काममा लागेका उनी आफू दत्त चित्त लगाएर मुलुकलाई नयाँ दिशा दिन लागि परेको बताउँथे।

 

जनताले निकै ठुला ठुला कुराहरू दैनिक सुन्न पाउँथे। कमी थियो त मात्र जे सुनिई रहेको हो, व्यवहारमा भने लागु बनिसकेको जनताले देख्न पाएका हुन्थेनन।

 

आफ्नै माग अनुरूप उड्ने मेसिन बनाउन ल्याङ्लेले अमेरिकाको सबैभन्दा शक्तिशाली युद्ध विभाग बाट आजको नेपालको अवस्थाको लगभग दुई खर्व हाराहारी ठानिने ५० हजार डलर पाएका थिए। काम गर्न पैसाको कुनै समस्या र कमी हुन दिइएको थिएन।

 

उनले हार्वर्डमा आफ्नो अफिस बनाएका थिए। संसारकै सबैभन्दा ठुलो जटिल अनुसन्धान केन्द्र स्मिथसोनियन लाई समेत आफ्नो काम गर्ने थलोका रूपमा कब्जा जमाएका थिए। अमेरिकाका तत्कालीन सबै उत्कृष्ट दिमागवाला कहलिने हरूसँग उनको प्रत्यक्ष सम्पर्क थियो।

 

बजारमा उपलब्ध जतिसुकै ठुलो टेलेन्टलाइ उनी मनग्गे पैसा तिरी करारमा काम लगाउन सक्थे। उनको नजरमा नरहेका जो कोहीलाई तेतिबेला उत्कृष्ट गनिन गाह्रो पर्थ्यो।

 

न्युयोर्क टाइम्स पत्रिकाले उनलाई चौबिसै घण्टा पछ्याउँथ्यो। उनले के खाए, कता गए, के उद्घाटन गरे, के अर्ती दिए, के बोले सबै राष्ट्रिय समाचार बन्थ्यो।

 

समाचार पत्रहरूले समाजको तल्लो तहसम्म ल्याङ्ले देशकै अमूल्य गहना रहेको अवधारणा स्थापित गराएको थियो। देशका अमूल्य होनहार गहना बताइने ल्याङ्लेले देशको खर्च निकै गरेका थिए।

 

उपलब्धि चाही के गरेका थिए, न कसैलाई जानकारी हुन्थ्यो। न चासो नै रहेको देखिन्थ्यो।

 

ल्याङ्ले काम गर्ने अखडा स्मिथसोनियनको मात्र केही सय माइल पर डेटन, ओहायोमा दुई साइकल पसले ओर्भिल र ऊईलबुर नाम गरेका दाजु भाई बस्थे।

 

आफूलाई बौद्धिक वर्ग र मुलुककै स्थापित हस्ती मान्ने विज्ञान तथा प्रविधिका ठेकदार ल्याङ्ले हरु ले सफल ईनोभेटर र उद्यमी हुन जरुरि भनी राज्यको तर्फबाट सूचीकृत गरेका कुनै पनि खुबी, सुविधा, आर्थिक हैसियत र क्षमता ति साइकल पसलेहरू सँग थिएन।

 

आफ्नो मनले विश्वास गरेको काम सुरु गर्ने उनीहरूसँग पैसा भएन। आफ्नो साइकल दोकान बेचेर आफूले देखेको सपना सकार पार्ने रकमको जोहो गरे।

 

ओर्भिल र ऊईलबुर लगायत काममा लागेका टोलीमा एक जनाले पनि कलेज स्तरको शिक्षा प्राप्त गरेका थिएनन। न्युयोर्क टाइम्स जस्ता पत्रिका हरुका लागि ओर्भिल वा विल्भरको पछि लाग्नु समयको बरबादी थियो।

 

तेती हुँदा हुँदै पनि बिश्वोको पहिलो उड्ने मिसिन अमेरिका मै बन्यो। तर सुविधा सम्पन्न हार्वर्ड अथवा स्मिथसोनियनमा शक्ति वान, उच्च शिक्षा प्राप्त, छेलोखेलो पैसा खर्च गर्न सामर्थ्य राख्ने शमूएल पियरपन्ट ल्याङ्लेको आविष्कारले दिन सकेन।

 

ल्याङ्लेको नजरमा गरिब, अनपढ, गवार ठानिएका ओर्भिल र ऊईलबुर नाम गरेका दुई राइट ब्रदरसको मेहनत र विश्वासले दिलाउन सक्यो।

 

यो किन भयो र कसरी भयो? माथिको प्रश्नहरुको जवाफको चुरो त्यसैमा छ।

 

यथार्थमा राइट ब्रदर्स र ल्याङ्लेको नियति र उद्देश्यको सन्दर्भका धेरै भिन्नताहरू थियो। राइट ब्रदरसमा एउटा दृढ विश्वासका कारणले पैदा गरेको उद्देश्य प्राप्तिको नियत थियो।

 

जहाँ उड्ने मेसिन बनाउने उद्देश्य अन्तिम दृढ सङ्कल्प थियो। त्यो पुरा गर्न सम्पूर्ण तन मनले उनीहरू लागेका थिए। उनीहरूमा विश्वास थियो कि उनीहरूले उड्ने मेसिन बनाउन सक्ने छन्। उड्ने मेसिनले विश्वको मार्ग नै परिवर्तन गर्न सक्ने छ।

 

ल्याङ्लेको आफू धनी हुने र प्रसिद्धि कमाउने चुरो उद्देश्य प्राप्तिमा आफ्नो सम्पूर्ण तागत खर्च भइरहेको थियो। अमेरिका र बिश्वोमा शक्ति, प्रसिद्धि र धेरै धनी हुने उनको दृढ ईच्क्षामा उड्ने मेसिन बनाउने परियोजनाका आफ्नो अन्तिम उद्देश्य प्राप्तिका खातिर मात्र सहायक परियोजना थियो।

 

धनी हुने, प्रसिद्धि कमाउने र शक्तिशाली बनिरहन सम्पूर्ण तन मन खर्चिरहेको बेला, उड्ने मेसिन आविष्कार गर्ने तर्फ जरुरी हुने जति ध्यान पुग्न सम्भव बनेन। उक्त अवस्थामा उड्ने मेसिन बन्ने सम्भावना क्षीण  थियो। कुनै प्रगति हासिल हुन सकेन।

 

राइट दाजुभाइहरूको सपनामा जस-जसले विश्वास गरे उनीहरू सबैले आफ्नो तन, मन, पसिना र सम्पूर्ण खुबी लगाएर उनीहरू सँग काम गरे। ल्याङ्लेका टिमका सदस्यहरू भने कामबाट आउने दैनिक जीविका चल्ने पगारको लागि मात्र काम गरे।

 

राइट दाजुभाइको उड्ने मेसिन जब जुरुक्क माथि उड्थ्यो अलिकति माथि पुगेपछि खस्दथ्यो। धेरै चोटि उनीहरू क्र्यासमा परेका हुन्थे। क्र्यासका कारण उड्ने मेसिनको पाँचवोटा फरक फरक भाग छुट्टाएर धेरै पटक उनीहरूलाई उनीहरूको टिमले मिसिन बाहिर निकालेको थियो।

 

खोलामा धेरै पानी बगिसके पछि अन्ततः डिसेम्बर १७, १९०३ मा राइट दाजुभाइको उड्ने मेसिनले वास्तवमै उडान मात्र लिएन सुरक्षित अवतरण समेत गर्न सफल बन्यो। हावा भन्दा धेरै गह्रुङ्गो उड्ने मेसिन संसारमै पहिलोचोटी हावामा लिएको उडान हेर्न र अनुभव लिन त्यहाँ उनीहरू बाहेक कोही पनि थिएनन।

 

उडान सफल बनेको केही दिन पछि मात्र संसारले उक्त समाचार थाहा पायो। संसारले जति बेला उक्त खबर प्राप्त गर्‍यो, उडान हेर्न र अनुभव लिन त्यहाँ धेरै मानिस पुगे।

 

ल्याङ्लेले समेत समाचार सुने। आफूलाई दिएको जिम्मा पुरा भएकोमा  खुसी देखिएर लाङ्ले त्यहाँ झुल्किने आशा गरिएको थियो। राइट दाजुभाइहरूले संसारलाई देखाएर जुन दिन अर्को उडान गरे, ल्याङ्लेले पदबाट राजीनामा गरे।

 

ल्याङ्लेको तर्फ बाट यो अचम्मको खोज तपाईँहरूले सम्भव बनाउनु भयो, अब म तपाईँहरूको टेक्नोलोजीमा सुधार गर्न कसरि सहयोग गर्न सक्छु भन्ने प्रस्ताव आएन।

 

किनकि राइट दाजु भाइहरूका कारण ल्याङ्ले आफू पहिलो उड्ने मेसिन बनाउने मान्छे भएको कीर्तिमान राख्न चुकेको महसुस गरिरहेका थिए। उनको तत्काल  धनी हुने, प्रसिद्ध कमाउने नियत असम्भव बनेको बुझाई रह्यो। त्यसैले उनी आफ्नो जिम्मेवारी बाट पलायन बने।

 

प्रधानमन्त्री ज्यू,  आज नेपालको राज्य सञ्चालनको कुन कुन क्षेत्र ल्याङ्ले प्रवृत्तिको सिकार बनिरहेका होलान्? त्यो अनुमान गर्न खासै गाह्रो छैन।

 

प्रशासन यन्त्रमा मात्र हैन राजनीतिमा समेत आज ल्याङ्ले प्रवृत्ति हाबी बनिदिँदा मुलुक माफिया करण र अनिर्णयको बन्दी मात्र बनिरहेको छैन, राइट दाजुभाइले जस्तै नेपालमै इनोभेसन दिन सक्ने लाखौँ स्वरोजगारका अवसरहरू गुमेका छन्।

 

स्वरोजगारमा जान सक्ने क्षमता बोकेका होनहार प्रतिभाहरू पलायन बनिरहेका छन।

 

सबैभन्दा डर लाग्दो पक्ष मुलुक र  मुलुकको राजनीतिक संयन्त्र  यस बारेमा न त चिन्तित भेटिन्छ, न खासै कुनै जिम्मेवारी बोध नै गरिरहेछ। उक्त अवस्थामा मुलुकमा विद्यमान असहजता हटाउन कुनै व्यवस्थित कार्यक्रम र कार्य योजनाको आश गर्नुनै मूर्खतापूर्ण हुने अवस्थाको सिर्जना भईदिएको छ।

 

प्रधानमन्त्री ज्यू,  म सानो हुँदा हाम्रो गाउँमा एउटा तोरी पेल्ने कोल थियो। तोरी पेले पछि एकातर्फ तेल आउँथ्यो। अर्कोतर्फ पिना। कोल काठको थियो। कोलको बनावट मै  संरचनागत सुधार गर्न नसकिएकाले कोलले मात्र ७०% तेल निकाल्न सक्थ्यो। ३०% पिनामा जान्थ्यो। महँगो तेल पिनामा खेर गएकाले पिना नुहाउने, लुगा धुने साबुनमा प्रयोग हुन्थ्यो। नुहाउँदा आँखा सारै पोल्थ्यो।

 

आज प्रविधिले फड्को मारेको छ। कोललाई विस्थापन गर्ने नियतले बनाइएको मिसिन ९९.९९९९% तेल निकाल्न सक्ने बनेन भने उत्पादन कर्ताले उत्पादन समेत नगर्ने जमाना आएको छ। पिना भन्दा सस्तोमा नुहाउने झकास साबुन किन्न पाइन्छ।

 

मुलुकको कर्मचारी तन्त्र मात्र ७०% पनि तेल निकाल्न नसक्ने बुढो कोल हाराहारीको उत्पादकत्व दिने नेत्रुत्वोले ओगटिन पुगेको आभास दिलाउँछ।

 

जनताको तत्कालको उच्च प्रगतिको चाहना पूर्ति गर्न मुलुकले उच्च निकायमा ९९.९९९९% तेल दिन सक्ने मेसिनको हाराहारीको उत्पादकत्व दिने क्षमताको सबल नेत्रुत्व मागेको छ। उक्त क्षमताका कर्मचारीहरू उत्पादकत्व हीन कर्म भ्रष्ट कर्मचारी तन्त्रको छायामा परेका छन।

 

कार्यालय त जागिर खान जाने थलो हो। जागिर खान गएको कर्मचारीले काम गर्न कि ओभर टाइम, टिए – डिए चाहियो कि कमिसन। इनोभेसन जस्ता कामहरू सुरु गर्ने कुरो आएको खण्डमा त एक दुई  विदेश भ्रमण, तालिम र होटेलमा सेमिनार गोष्ठी बिना फाइलको टिप्पणी समेत उठ्नु हुन्न भन्ने कल्चरले जरो गाडेको देखिन्छ प्रधानमन्त्री ज्यू।

 

आजकल केही वर्षको अन्तरालमा मुलुकमा चुनाव हुन थालेको छ। चुनाव पछि मुलुकले नयाँ प्रधान मन्त्री, मन्त्री पाउँछ। नयाँ मन्त्रीज्यू हरुको ५-७ मैनाको समय कर्मचारी तन्त्र बुझ्दैमा सकिन्छ। कर्मचारी संयन्त्र भित्रको भित्री नेपालको पाटो बुझ्न त्यति नै समय अर्को खर्च भइदिन्छ।

 

फ्याट्ट फुट्ट एकाध मन्त्रीहरू नेपालको आवश्यकता लाई पूर्ति गर्ने गरी नेपालमा आज विद्यमान समस्याको समाधानमा लाग्ने आँट निकाल्छन। त्यसरी निस्किएका सुरा ठानिएका मन्त्रीहरू पुरानो कोललाई धेरै बल लगाएर धेरै छिटो छिटो दगुराएर संवृद्धि भित्र्याउने भ्रममा आफ्नो पुरै कार्यकाल बिताएका भेटिन्छन।

 

मुलुकको दुर्भाग्य, आज मुलुक त्यो पुरानो कोललाई धेरै छिटो छिटो दगुराएर संवृद्धि प्राप्त हुने अवस्थामा छैन। मुलुकको परम्परागत पाराको सरकार सञ्चालनको तरिकाले सुरा ठानिएका मन्त्रीहरूको मेहनत समेत बालुवामा खन्याएको पानी सरि बनिरहेछ।

 

प्रधानमन्त्री ज्यू,  पुरानो कोल हैन पुरानो कोलरुपी संयन्त्र लाई उच्च उत्पादकत्व दिने मेशिनरुपी संयन्त्रमा लान नसक्दा सम्म मुलुकले जरुरतको विकाशको गति हैन जरुरतको विकाशको दिशा समेत पक्डन नसक्ने अवस्थामा पुगेको छ।

 

यो अवस्था बाट कसैले मुलुक लाई पार लगाउन सक्छ भने मात्र तपाइले लगाउन सक्नु हुने छ। धेरै अबेर नहोस्। मुलुक लाई यो अवस्था बाट मुक्ति दिलाउन नेपाल आमाले तपाइकै मुख ताकेर हेरी राखेकी छन् प्रधानमन्त्री ज्यू।

 

अन्तमा तपाइको सबल स्वस्थको कामना तथा उच्च इच्छा शक्तिको निरन्तरताको लागि प्रार्थना गर्दै पत्रको बिट मार्ने अनुमति माग्छु। जय मातृभूमि।

 

सप्रेम।

 

सम्पादक

क्यानेडियन रिपोटर्स

टोरोन्टो, क्यानडा।

मिति: १७ डिसेम्बर २०१९

WRITE COMMENTS FOR THIS ARTICLE