मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खाना नै अब्बल ओखती !!

नारायण घिमिरे

बजारमा रहेका केमिकल औषधिहरुको बढ्दो साइड इफेक्ट, दीर्घ रोगीहरूको उपचारमा प्रभावको अभाव, प्रभाव शून्य औषधिहरूलाई नयाँ औषधिले प्रतिस्थापन प्रक्रियामा रहेको उच्च लागत, एन्टिबायोटिक जस्ता औषधि प्रयोगले विकास गरेको सूक्ष्म जीव प्रतिरोधी जटिलता,  नजानिएका नयाँ रोगहरूको उदय, आदिको विकल्पको पूरक र वैकल्पिक ऊपायको रूपमा हिलिङ्ग फुडको सर्वत्र चासो बढेको हो।

 

आयुर्वेद र चिनियाँ चिकित्सा पद्धतिका धेरै समानताहरू छन्। दुवैको मुख्य ध्यान बिरामीको आधारभूत स्वास्थ्यलाई कसरि प्रवर्द्धन गर्ने र जीवनको गुणस्तर बढाउने भन्नेमा केन्द्रित हुन्छ। निश्चित रोगहरूको उपचारमा रोगका लक्षणहरूको उपचार साथै समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने चिकित्सकीय रणनीति अपनाइन्छ। दुवै प्रणालीमा औषधीको रूपमा बोटानिकल स्रोतहरू र जीवाणुहरू प्रयोगमा आउँछन्। प्रयोग गरिने बोटानिकल स्रोतहरू र जीवाणुहरूमा आधा जसोमा लगभग समानता भेटिन्छ। यसका अतिरिक्त, दुवै प्रणालीहरूमा रोगी, उपचार सामग्री र रोगहरूको वर्गीकरण गरिने तरिका र दर्शनहरू समान प्रकृतिका हुन्छन।

 

 

चिनिया औषधि विज्ञानमा ट्रिपल बर्नरको अवधारणा स्थापित छ। माथिल्लो बर्नरमा शरीरको मुटु र फोक्सो लगायत डायफ्रम भन्दा माथिल्ला भागहरू पर्दछन्। डायफ्रमको तल र नाइटोको माथिको भागलाई बिचको बर्नर मानिन्छ। जसमा फियो (स्प्लिन), आमाशय लगायतका अङ्गहरू रहन्छ। नाइटोको तलको भागलाई तल्लो बर्नरमा राखिएको छ। जसमा कलेजो, मृगौला, सानो आन्द्रा, ठुलो आन्द्रा, मूत्र थैली आदि रहन्छ।

 

ट्रिपल बर्नरले काम गर्न तरिका जीवन्त शक्ति (ची) र पानीको प्रवाह सँग मिल्ने गर्छ। बिचको बर्नरले फीजको रूपमा काम गर्छ। जहाँ फियो (स्प्लिन) र आमाशयले खानालाई पकाएर ससाना खानाका कणमा परिवर्तन गरिदिन्छ। परिवर्तित खाना ईमल्सनको रूपमा फिँज जस्तो बन्न पुग्छ।

 

माथिल्लो बर्नरले बाफको रूपमा काम गर्छ। जहाँ ची, रगत र रगतका रगत तरल पदार्थहरूको संसर्गमा फिँजको रूपको खानाले बाफको रूप लिन्छ। बाफ जस्तो देखिने साना साना खानाका कण  ची, रगत र रगतका रगत तरल पदार्थहरूले  शरीर भरि वितरण गरिदिन्छन्। जसरी पानीको बाफ हावामा बिलाउँछ, त्यसरी नै शरीरको केसीका हरूमा पुगेको साना साना खानाका बाफ कोशिका भित्रै बिलाउँछन्।

 

तल्लो बर्नरले खानामा रहेको शरीरले सोस्न सक्ने सफा पदार्थलाई अघुलनशिल अपच पदार्थ सँग छुट्याऊछ। खानाको नपचेको फोहोर पदार्थहरू शरीर बाहिर निकाल्ने काम गर्छ।

 

चाइनिज मेडिसिनका अनुसार खानका पाँच स्वाद वा फ्लेबर्सहरू हुन्छन। गुलियो,  पिरो, नुनिलो, अमिलो, तितो- टर्रो । कुनै खाद्य पदार्थ बिना स्वादको पनि हुने गर्छ। स्वाद अनुसार खाद्य पदार्थ शरीरको कुन अङ्गको लागि उपयोगी हुने र कस्तो ऊर्जा दिन सक्ने क्षमता राख्ने गर्ला भन्ने सङ्केत / अनुमान लगाउन सकिने हुन्छ।

 

खाद्य पदार्थले शरीरलाई चिसोपन, शीतलता वा तातोपना दिने गुण हुन्छ। कुनै खाना शरीर लाई तताउने प्रकृतिको हुन्छ भने कुनै न्यानो बनाउने, कुनै शीतलता दिने, कुनै चिसो बनाउने त कुनै न चिसो न तातो बनाउने तटस्थ प्रकृतिको हुने गर्छ। प्रभावकारी हिलिङ्ग गुण पैदा गर्न खानामा उपलब्ध ऊर्जा वृद्धि वा प्रभावकारिता वृद्धि वा निश्चित क्षमतामा वृद्धि (टोनिफाई) गर्न सकिन्छ।

 

चिनिया चिकित्सा विज्ञानको मान्यतामा सबै प्रकारको फ्लेबर्स / स्वाद संलग्न हुने गरी धेरै प्रकारका खाना संलग्न भएको खाना नै सन्तुलित भोजन हो। भनिन्छ बिहानको खाना राजसी पाराको, दिउसोको खाना एक व्यापारीको जस्तो र रात्रिको खाना धेरै गरिब मानिसले खाने जस्तो रहनुपर्छ। निद्रामा तपाईँको शरीरले खाना बिनानै रातभर गुजार्ने गर्छ। निद्राको समयमा, तपाईँको मस्तिष्क अत्यधिक सक्रिय रहने, मुटुको धड्कन र रक्तचाप उच्च रहने, दिमागको मर्मत संहार आदि हुने हुँदा प्रति किलो बडी ऒइट एक किलो क्यालोरी प्रति घण्टा इनर्जी इन्धनको रूपमा तपाईँको शरीरले खपत गरिरहेको हुन्छ। जुन अत्यधिक हो।

 

जागा रहेको भन्दा निद्रामा रहेको बेला शरीरले अधिक क्यालोरीहरू खपत गर्ने हुँदा बिहानको खाना महत्त्वपूर्ण रहन्छ। तपाईँले बिहानको समयमा खानुभएको सन्तुलित र प्रशस्त खानाले उक्त दिन तपाईँको कोशिकाहरू को उत्तम सुरुवातको दिन बनाइ दिन्छ। यदि तपाईँ दिनको तीन पटक भोजन गर्नु हुन्छ भने बिहानको खानाबाट ३०-३५%, दिउसोको खाना बाट ३५-४०% र रातिको खाना बाट २५-३५% दैनिक जरुरी क्यालोरीको पूर्ति गर्न उपयुक्त मानिन्छ।

 

मानिसको लागि जरुरी हुने दैनिक क्यालोरीको मूल श्रोतको लागि बिहानको ब्रेकफास्ट लाई उपयोग गर्न जरुरी मानिन्छ। हालसालै गरिएको एउटा अध्ययनले बिहानको बिग ब्रेकफास्टमा हल्का कार्बोहाइड्रेटमा आधारित ब्रेकफास्ट खानु भन्दा केही  चिल्लो (मुलत शुद्ध गाइको घ्यू) र प्रोटिन संलग्न खानाले शरीरको तौल प्रभावकारी रूपमा घटाउने पाइएको थियो।

 

शरीरको वजन नियमित रूपमा कम गर्न कोसिसमा रहेका हरूलाई रात्रिको खानामा हल्का खाना खाने त्यो पनि सुत्नु भन्दा कम्तीमा दुई घण्टा पहिले भन्ने सल्लाह दिइन्छ। स्पेनमा त बेलुकीको खाना नखाएर चिकित्सक सँगको कम्तीमा सय भेट कम गराउन सहयोगी हुन्छ भन्ने बुझाई छ।

 

“सन्तुलित आहार” भनेको के हो भन्ने प्रश्नले आज हाम्रो समाजलाई पूर्ण भ्रमित बनाएको छ। किनकि हामीमा डाक्टर वा पोषण विज्ञहरूको राम्रो सल्लाह बिना व्यावहारिक रूपमा दैनिक सन्तुलित आहार खान नसकिने हुन्छ भन्ने गहिरो भ्रम छ।

 

वास्तवमा सन्तुलित आहार भनेको खानामा पचाउन गाह्रो हुने धेरै पोषण तत्त्व रूपी खाना जस्तै घ्यू, दूध, अण्डा, मासु, गेडा-गुडी आदि र हल्का तर शरीरलाई पर्याप्त पोषण उपलब्ध गराउने पचाउन सजिलो खाना जस्तै साग, सब्जी, तरकारी, फलफूल, कन्दमूल आदि बिचको सन्तुलन हो। प्राकृतिक रूपमै उपलब्ध सबै पाँच स्वादहरू र इन्द्रेणी जस्तै विभिन्न रङ्गका खानाको हप्ता भर खाइने खानामा संयोजन गरी खान सक्दा तपाइको भोजन वास्तवमै पूर्ण सन्तुलित आहारमा परिवर्तन हुने निश्चित रहन्छ।

 

पूर्ण सन्तुलित आहारले हड्डीहरू सिधा रहने, मांसपेशीहरू कोमल र जवान रहने, श्वास र रक्त सञ्चार प्रभावकारी बनाउने, छालाका प्वालहरू सफा रहेर अनुहारमा चमक आउने, शरीरको बनावट कसिलो र फुर्तिलो हुने हुन्छ। त्यसमा पनि मेरुदण्ड, हड्डी र करङ मासी युक्त बनीदिनाले मनोवैज्ञानिक सबलता प्राप्त हुन्छ। जसलाई जीवनको सार मानिन्छ।

 

वास्तविकता मै जाने हो भने खाना के खाने, कति खाने र कुन समयमा खाने भन्ने कुरामा तपाइको शरीरले के, कति मात्रामा कुन समयमा मागिरहेको छ बुझेर शरीरको माग पूर्ति गर्नु राम्रो हुने मानिन्छ। यदि तपाईँ तपाईँको शरीर लाई ध्यान दिएर सुन्नु हुन्छ भने तपाईँको शरीरले तपाईँ लाई उक्त कुराहरू नियमित रूपमै बताई रहेको हुन्छ।

 

जस्तै खाना खाए पछि असहजता महसुस हुने, पेट फुल्ने, सुस्त र भारी महसुस हुने, राम्रो निद्रा नपर्ने, भोक राम्रो नलाग्ने, धेरै नखाँदा पनि सजिलै वजन बढ्ने, शरीरको तौल कहिले बढ्ने कहिले घट्ने हुने (यो – यो) र गुलियो खाने तीव्र इच्छा हुने आदि लक्षणहरूले आमाशय, फियो (स्प्लिन) र प्यांङक्रियाजको ऊर्जामा कमी हुनाको कारणको कमजोरी लाई सङ्केत गर्दछ।

 

उक्त अङ्गहरूका कमजोरीले हामीले खाएको खाना पर्याप्त रूपमा खानाको सार तत्त्व वा एसेंसमा परिवर्तन हुन सक्दैन । दिशा आन्द्रा बाट बाहिर सजिलै निस्कन सक्ने सुक्खा सिँगाने प्रकारको नभई हिलाम्मे आन्द्राबाट बाहिर निस्कन कठिन हुने पाराको भइदिन्छ। कचपटिएको प्रकृतिको दिशाका कारण पाचन प्रक्रिया ढिलो हुने, पेटको तल्लो भाग र तिघ्रामा धेरै बोसो जम्ने, भारी र थकान महसुस हुने र कहिलेकाहीँ मांम्सपेशि र जोर्नीहरू दुख्ने लक्षणहरू देखा पर्छ।

 

खाना नपच्दा चिन्ता बढ्छ। चिन्ताले धेरै नकारात्मक विचारहरू र ‘ची’ उत्पन्न गराउँछ। जसले पाचनको अङ्गहरू लाई झन् कमजोर बनाउँदछ। खानाको पाचन प्रक्रिया झन् जटिल बनिदिन्छ। यो अवस्थामा मनमा गुलियो खाने तीव्र इच्छा विकास हुन्छ। त्यो भनेको उक्त समयमा उक्त शारीरिक जटिलता बाट मुक्त हुन तपाइको शरीरले गुलियो मिठाई हैन गुलियो फ्लेबर वा स्वाद मागेको हुन्छ।

 

मीठा स्वाद भएका खानाहरू जस्तै राम्रो पाकेको चामलको भात र नरम र स्वादिष्ट हुने गरी उसिनेको सक्करखण्डा आदि खाएर उक्त समस्या बाट मानिस मुक्त बन्न सक्छ। दिशा आन्द्रा बाट  सजिलै बाहिर निस्कन सक्ने सुक्खा सिँगाने चिप्लो प्रकारको बन्छ। शरीरलाई न्यानो राख्ने, घरमा आराम गर्न, पौष्टिकता उपलब्ध गराउने आदि बाट शरीर भारी र थकान भएको महसुस हुने, मांम्सपेशि र जोर्नीहरू दुख्ने जस्ता समस्याबाट मुक्त हुन सकिन्छ।

 

शरीरलाई आवश्यक पर्ने एन्टी अक्सिडेन्ट र पोषण पदार्थहरू प्राप्त हुने र वजन कम गर्न मद्दत गर्ने गुणका कारण आजभोलि कॉचो साग सब्जी र फलफूलको सलाद धेरै खाने चलन बढेको छ। खाना पचाउन संलग्न हुने  फियो (स्प्लिन), आमाशय (स्टोमक) र अग्न्याशय (प्यांङक्रियाज) ले खानालाई पचाउन पहिले खाना गरम पार्न जरुरी हुन्छ।

 

कॉचो साग सब्जी र फलफूलको सलाद, चिसो खाना, चिसो पानिले पाचन प्रक्रियामा संलग्न हुने उक्त आगोलाई चिसो बनाउँदछ। तपाइको पाचन प्रक्रिया राम्रो रहँदा यो कुनै समस्याको विषय रहन्न। तर यदि पाचन प्रक्रिया कमजोर रहेको अवस्था छ पकाइएको खाना सँग हल्का बफाएको सलाद, मनतातो खाना, पानिले उक्त कमजोरी हरूमा मद्दत गर्दछ।

 

आयुर्वेदका अनुसार तपाईँ स्वास्थ्य हुनुहुन्छ कि हुनु हुन्न भनेर नत कुनै ल्याब टेस्ट वा वार्षिक चेक अपले देखाउने कुरा हो न कुनै डाक्टरले तपाइलाई बिल्ला भिराउने विषय नै हो।

 

तपाइको स्वास्थ्य तपाइको दैनिकीको एक निरन्तर र सहभागितामूलक प्रक्रिया हो। जसले तपाइका जीवनका सबै पक्षहरूलाई जस्तै शारीरिक, मानसिक, भावनात्मक, व्यवहार, आध्यात्मिक, पारिवारिक, सामाजिक र सार्वभौमिक लगायतका सबै पक्षको सबै स्तरहरूमा सन्तुलन प्राप्त गर्न तपाइलाई सहयोग गर्छ।

 

तपाइको स्वास्थ्य जीवन भनेको तपाईँका सबै पक्षको सबै स्तरहरूमा सन्तुलन प्राप्त गर्नु हो। आयुर्वेदिक चिकित्सामा पश्चिमा औषधि विज्ञानको सामान्य व्यक्ति र सामान्य उपचार पद्धति जस्ता बक-वासहरुका लागि कुनै स्थान छैन। तपाइको स्वास्थ्य तपाइको आफ्नै मौलिक प्रकृतिको असमान प्रकारको रहन्छ। आयुर्वेदले तपाईँ लाई तपाईँका यथार्थका व्यक्तिगत स्वभावहरूको सम्मान र समर्थन गर्दै तपाइको आफ्नो सबै भन्दा नितान्त फरक प्रकृतिमा रहने स्वास्थ्यका ब्लुप्रिन्टहरू बुझ्न सहयोगी हुने उपयुक्त मार्ग दर्शन उपलब्ध गराउँछ।

 

आयुर्वेदिक पद्धतिको चिकित्सामा अन्तर्निहित मूल मर्मले भन्छ तपाइले तपाइमा अन्तर्निहित स्व-उपचारको शक्तिलाई चिन्नुहोस,  तपाईँ आफ्नो लागि आफ्नै महान चिकित्सक बन्नुहुनेछ।

 

आयुर्वेदका अनुसार तपाइको शरीरमा ७० प्रतिशत भन्दा धेरै हिस्सामा रहने पानी तपाइको जीवनदायी अमृत हो। आगोले तपाइको शरीरलाई जरुरी हुने अग्नि (तातोपन वा फायर) र रेडिएन्ट (ज्योतिषमान वा उज्यालो) ऊर्जा प्रदान गर्दछ। आगो बाट प्राप्त अग्नि र रेडिएन्ट ऊर्जाका कारण शरीरका सबै मेटाबोलिक र रासायनिक कार्यहरू सञ्चालित हुने गर्दछ।

 

हावा शरीरको सम्पूर्ण भागमा स्वतन्त्र रूपमा बग्दछ। शरीरका हरेक कोषलाई अक्सिजन उपलब्ध गराई आन्तरिक जैविक कार्यहरू सुचारु गराउँछ। अन्तरिक्ष अथवा स्पेस शरीर भित्र र बाहिरका सबै गतिविधिहरुको पृष्ठभूमिमा अटल रूपमा उपस्थिति रहन्छ। जसले सबै तत्त्वहरूलाई अन्तर्क्रिया गर्ने र एक आपसमा मिलेर जरुरी कार्यहरू सम्पादन गर्ने अवसरहरू उपलब्ध गराउँदछ।

 

आयुर्वेदको बुझाइमा तपाइको शरीरमा पानी तत्त्वले तपाईँ हामीले बुझेको पानी भन्ने पदार्थ भन्दा निकै धेरै उत्कृष्ट कार्यहरू गर्दछ। पञ्च तत्त्वका भौतिक गतिविधिहरूमा सहजीकरण, रासायनिक र जैविक कार्यहरू सञ्चालनमा सहजीकरण, अग्नि र रेडिएन्ट ऊर्जा उत्पादन र व्यवस्थापनमा  सहजीकरण जस्ता हरेक क्षेत्रमा पानीको सक्रिय संलग्नता रहने गर्दछ।

 

उदाहरणको लागी पानी तौल मशुस गर्न सकिने एक नरम, आफू-आफूमा तत्काल घुलने तरल पदार्थ हो। पानीको पानीसँग तुरुन्तै मिल्ने गुणको कारण पानी घुलनशील रहेको शरीरका तरल पदार्थहरूको नियन्त्रित रूपमा परिचालन गर्न र रासायनिक गतिविधि हरूलाई समेत कुनै निश्चित दिसा दिन सहयोग पुर्याउछ।

 

अत्यन्त सूक्ष्म स्तरमा पानीको दिमागमा हुने समुचित प्रभावले मानिसमा उत्पन्न हुने सोचाइ र भावनाहरूमा प्रेम, करुणा र सन्तुष्टि उत्पन्न गराई तपाइको शान्त र शालीन व्यक्तित्व निर्माणमा सहयोग गर्ने गर्छ।

 

खानाले आफ्नो स्वाद मार्फत आफ्नो गुण, अवगुण र प्रयोजन बारे सूचनाहरू तपाइलाई दिई रहने मान्यता छ आयुर्वेदको। जस्तै एक रसिलो पाकेको आँपले तपाइलाई हर्षको प्रिय सन्देश दिइरहेको हुन्छ भने एक पिरो अकबरे खुर्सानीले ज्वलन्त पिरो चेतावनी युक्त चिच्चावट तपाईँ सम्म पुर्‍याई रहेको ठानिन्छ।

 

आयुर्वेदका अनुसार तपाइको शरीरलाई सूक्ष्म रूपमा जरुरी बनिरहेको खाना र पोषण तत्वोहरुको ज्ञान तपाईँको शारीरको आन्तरिक जानकारीमा रहने गर्छ। उक्त शारीरिक जरुरत निश्चित खाना र स्वादको खाना खाने आकाङ्क्षा र चाहनाको रूपमा प्रकट हुने गर्छ। कुनै निश्चित खाना बाट प्राप्त हुने पोषण तत्त्व, अग्नि र रेडिएन्ट ऊर्जाहरुको शरीरलाई अत्यधिक जरुरत परिरहेको बेला तपाइमा प्राकृतिक रूपमै उक्त खाना र स्वाद प्राप्त गर्ने तीव्र चाहना पैदा हुनु स्वाभाविक मान्दछ आयुर्वेद।

 

आयुर्वेदिक मान्यता अनुसार खानाको स्वादले तपाईँलाई आफू कसरी पोषण युक्त खाना खाने भन्ने विषयमा उपयोग कर्ता मैत्री उपाय उपलब्ध गराउँदछ। खानामा टाँसिएका बजारका लेबलहरू हेरेर खानामा एक्स मात्राको प्रोटिन, वाई मात्राको कार्बोहाइड्रेट र जेड मात्राको चिल्लो, मिनिरल, क्रुड फाइबर आदि रहेछ भनी हिसाब गरेर कुन खाना कति पौष्टिक युक्त छ भनी हेर्नु निर्क्योल गर्नु अत्यन्त हचुवाको तरिका हो।

 

किनकि खानामा हुने प्रत्येक स्वादको लेखाजोखा राखिने तरिकाले नितान्त अद्वितीय रूपमा तपाइको दिमाग, शरीर, इन्द्रिय र आत्मालाई आफ्नै तरिकाबाट जरुरि पोषण, अग्नि र रेडिएन्ट ऊर्जाहरु उपलब्ध गराउने निश्चित गराउँदछ। आधुनिक पौष्टिकताको दृष्टिकोण बाट समेत प्रत्येक स्वादले खानाको प्रमुख आहार निर्माण गर्ने प्रमुख खण्डहरूलाई पूर्ति गर्ने प्रमाणित गर्दछ।जस्तै गुलियो वा मिठो खाना चिल्लो, प्रोटिन, कार्बोहाइड्रेट र पानीले भरपुर हुने गर्छ। अमिलो, नुनिलो, तितो/टर्रो र तीक्ष्ण (एस्ट्रिजेन्ट) खानाहरूमा उच्च फाइबर, भिटामिन र खनिजहरू उपलब्ध हुन्छ।

 

जब तपाइको शरीरलाई खाना बाट प्राप्त हुने ऊर्जाको आवश्यकता हुन्छ मस्तिष्कले शरीरलाई सङ्केतहरू पठाउँदछ। सबै स्वादका खानहरू समावेश गरिएको खाना मार्फत शरीरले सङ्केत गरे अनुरूप भित्री रूपमा शरीरमा जरुरतमा रहेको पोषण तत्त्व, पाचन ऊर्जा र रेडीएन्ट ऊर्जा पर्याप्त मात्रामा उपलब्ध हुने सुनिश्चितता गर्दछ। त्यसो गर्दा कुनै निश्चित खाना खाने अधिक लालसा समेत पैदा हुनबाट रोकिने गर्छ । फलतः निश्चित खाद्यान्न अधिक खाइने दुर्गुण बाट समेत मुक्ति मिल्छ।

 

दैनिक रूपमा तपाईँले खाने प्रत्येक खाना यदि तपाईँले गौर गरेर हेर्नु भयो भने त्यस लाई सबै स्वादहरू संलग्न हुने गरी विकास गर्न खासै अप्ठ्यारो हुँदैन। मानौँ आज रति तपाईँ मात्र दाल र भात खाने योजनामा हुनुहुन्छ भने दलमा अदुवा र नुन हाल्ने, पाक्न लाग्दा थोरै हरियो धनियाँ हाल्ने, गाइको घिऊमा जिरा, मेथी पड्काएर हरियो लसुन, प्याज हालेर भुट्ने अनि झान्ने, खाना खादै गर्दा थोरै कागती निचोर्ने, खुर्सानी ठोस्ने, भए अलिकति गाडेको अचार चपाउने, छेउमा मूला, गाजर, काँक्रो, गोलभेँडा जे भेटिन्छ हरियो परियो सलाद खाने आदि बानीले तपाइको शरीरको जरुरतको सबै स्वादबाट तपाइले खाने खानालाई पूर्णता दिन सकिन्छ।

(लेखक घिमिरे जडीबुटी र हर्बल क्षेत्रमा अनुसन्धान र उद्यमशीलताको विकासका लागि ज्ञान, सीप र प्रविधि हस्तान्तरणका क्षेत्रमा काम गर्ने क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन।)

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE