मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गुग्गुलु खेतीबाट पाठ सिकौँ सरकार !!

नारायण घिमिरे

वनस्पति शास्त्र अनुसार कम्फोरा नामकरण गरिएको गुग्गुलुको नेपाल र भारतमा धेरै पाइने प्रजाति हो कम्फोरा ओईटि। गुग्गुलु लाई नेपालमा गोकुल धूपको रुखको रूपमा चिनिने गर्छ। गुग्गुलुको अर्थ संस्कृतमा “रोगबाट बचाउने” भन्ने हुन्छ। आयुर्वेदका अनुसार गुग्गुलु सबैभन्दा महत्त्वपूर्ण शारीरिक शुद्धीकरणको लागि उपयुक्त हुने जडीबुटी हो।

 

आयुर्वेदिक पद्धतिमा हजारौँ वर्षदेखि रुघा लाग्दा, नाकको श्वास नाली सफा गर्ने औषधि, मोटोपना घटाउने ओखती, हड्डीका जोर्नीहरू पोल्ने लक्षण हटाउने औषधि, लामो समयका छालाका विकारहरू हटाउने औषधि आदिको अभिन्न भागको रूपमा गुग्गुलुको प्रयोग हुदै आएको छ।

 

हामी लाई थाहा नै छ, हाम्रो घर घरमा पिउने पानी पुर्‍याउने पाइपको नलकामा जब फोहर पानी पठाइन्छ, तब पाइपको भित्री भागमा फोहर टाँसिने क्रम बिस्तारै बढ्दछ।

 

फोहर पानी बहने क्रम नियमित रहेमा अन्ततः पाइप नै बन्द हुन गई पानीको प्रवाह नै बन्द गरिदिन्छ। पाइपमा बहने पानी जति धेरै फोहोर हुन्छ, पानीको नल्का तेती चाँडो बन्द हुने गर्छ।

 

हाम्रो शरीरमा मुटुबाट तन्तु र कोशिका सम्म तरल पदार्थ पठाउने नलीको बृहत् सञ्जाल हुने गर्छन्। मुटुले अक्सिजन र पचेको खानाबाट प्राप्त पोषण पदार्थ रगतमा मिसाएर तिनै नली मार्फत शरीर भर वितरण गर्दछ।

 

तपाई हामीले खाने चिल्लो पदार्थ जुनसुकै श्रोतबाट आएको किन नहोस्, सबै चिल्लो पदार्थको समान रासायनिक संरचना हुने गर्छ। मुलत: एक आपसमा जोडिएका कार्बनका परमाणुहरू सँग जोडिएका  हाईट्रोजनका परमाणुहरूको श्रृंखला। एउटा खानामा हुने चिल्लो पदार्थ अर्को भन्दा फरक हुने करण कार्बनको चेनको लम्बाई, आकार र कार्बन परमाणुमा जडित हाइड्रोजन परमाणुहरूको सङ्ख्या हो।

 

प्राकृतिक रूपमा उपलब्ध हुने चिल्लो पदार्थ तपाई जति धेरै प्रशोधन गर्नु हुन्छ, उति त्यसको संरचनामा परिवर्तन हुने, छोटो हुँदै जाने, कार्बनमा धेरै हाईट्रोजन थपिँदै जाने र उक्त चिल्लोमा नशाको भित्ताहरूमा धेरै टाँसिने पनको विकास हुने गर्छ। जसलाई खराब चिल्लो पदार्थ वा धेरै एलडिएल कोलेस्ट्रोल भएको चिल्लो पदार्थ भनिन्छ।

 

हामीले खाने खाना धेरै प्रशोधन गरिएमा त्यसमा हुने प्राकृतिक चिल्लो पदार्थ खराब चिल्लो पदार्थमा परिणत हुन्छ। खानामा धेरै खराब चिल्लो पदार्थ रहेमा, नशाको भित्री तहमा चिल्लो टाँसिने गर्छ। खानामा खराब चिल्लो जति धेरै मात्रामा भयो, उति चाँडो नशा बन्द हुने अवस्था आउँछ।

 

पुरानो ग्रन्थका अनुसार खराब चिल्लो पदार्थ धेरै खाने र कम ब्ययम गर्ने बानीले हाम्रो शरीरको नशामा खराब चिल्लो टाँसिने क्रम बढ्छ । उक्त टाँसिने क्रमले लामो समयमा नशालाई भित्र बाट कडा बनाउने र नशाको प्वाल सानो बनाउँदै लगिदिने गर्छ।

 

यसरी धेरै खराब चिल्लो पदार्थ खाने र कम ब्ययम गर्ने बानीले नशाको भित्रीमा भाग चिल्लो पदार्थ टाँसिएर नशा कडा हुने, नशाको प्वाल सानो हुने करण बाट उत्पन्न हुने रक्त प्रवाहको अवरोधको उपचारको लागि अयुर्बेदले गुग्गुलुको सिफारिस गर्ने गर्छ।

 

अयुर्बेदका अनुसार आयुर्वेदिक जटिबुटी गुग्गुलुले रगत सफा गर्ने, फोहोर तन्तुहरू सफा गर्ने, सेतो रक्त कोषहरूको सङ्ख्या बढाउने र छालालाई ताजापन दिई जीवन्त पर्ने काम गर्छ। तसर्थ गुग्गुलुलाइ अयुर्बेदले परम्परागत, प्राकृतिक उत्कृष्ट रगत डिटोक्सिफायरको संज्ञा दिने गरेको छ।

 

गुग्गुलु सुक्खा ल्याटेक्स (गम – ओलियोरेजिन) हो । जुन हेर्दा हिङ जस्तो लाग्छ र रबर जस्तै खेती गरिन्छ। पाँच वर्ष पुरानो बोटको मुख्य डाँठमा भित्रको काठे भाग बाहिरको रस बहने काठसम्म पुग्ने गरी गहिरो गोलाकार चिराहरू पारेर पहेँलो सेतो सुगन्धित बाक्लो पदार्थ बाहिर निकाली जम्मा गरिन्छ।

 

रुखको मोटो हाँगाहरूले उत्तम ग्रेड लेटेक्स दिने गर्छ । प्रत्येक बोटमा प्रति वर्ष ०.५ देखि १ केजी सम्म बाक्लो झोल दिन्छ। रुखबाट झोल निकाली त्यसलाई प्रशोधन गरेर गम बनाइन्छ। प्रशोधन नगरिएको कच्चा गुग्गुलुको झोल प्रयोगले छालामा खराबी गर्ने, महिनावारि  अनियमित गर्ने, पखाला लाग्ने,  टाउको दुख्ने, वाक वाकी लाग्ने र धेरै मात्रामा खादा कलेजोमा विषाक्तता निम्त्याउन सक्ने हुन्छ।

 

खाना वा औषधिको प्रयोगको लागि कच्चा गुग्गुलुको हानिकारक पदार्थहरू हटाएर यसले दिने खराब प्रभावहरूलाई हटाउने प्रविधि अँगालिन्छ। आयुर्वेदिक प्रविधिमा गुग्गुलुलाइ कुन उपचारमा प्रयोग गर्ने हो त्यसै अनुरूपको प्रशोधन प्रक्रिया अपनाइन्छ। उपचारात्मक औषधि हरुमा प्रयोग गर्न आयुर्वेदले गुग्गुलुको अनिबार्य शुद्धीकरण गरिनु पर्ने बताउँछ।

 

शुद्धीकरण प्रक्रियामा कच्चा गुग्गुलु जम्मा गर्दा परेका बाहिरका फोहर हटाइन्छ र जम्मा भएको लेटेक्स  सानो सानो टुक्रा बनाएर सिरकको खोल बनाउने सफा मसलिम कपडा “पोतली” भित्र बाँधेर पोको पारिन्छ।

डोला यन्त्र घ्याम्पो जस्तो देखिने एक सामान्य माटोको भाँडो हो। डोला यन्त्रमा गोमूत्र (गोमूत्र), त्रिफलाको रस, उमालेर खोटो जस्तो बाक्लो बनेको असुरोको पातको झोल, असुरोको पातबाट स्टिम डिस्टिलेसन गरि आएको एक्सट्रेक वा अर्क, दूध र पानीको मिश्रणमा गुग्गुलुको पोकोलाई डुबाइन्छ।

उक्त पोकोलाई आगोले उमालेको झोलमा रहन दिइन्छ। गुग्गुलुको सम्पूर्ण घुलनशील पदार्थ उक्त झोलमा घुलिसके पछि घुलनशील अंश बाहिर फालिन्छ। डोला यन्त्रमामा उम्लिरहेको झोल पदार्थ नरम बाक्लो गम जस्तो बनेपछि पकाउन छोडिन्छ।

 

काठको बोर्ड लाई गाईको शुद्ध घिउ वा क्यास्टर तेल दली चिल्लो  पारिन्छ। चिल्लो बोर्ड माथि बाक्लो गम खनाएर फिँजाइ उक्त गम लाई घाममा सुकाइन्छ। सुकेको पदार्थ लाई शुद्ध गुग्गुलु भनिन्छ। जुन विभिन्न औषधि र सम्प्लिमेंटको फर्मुलामा प्रयोग हुन्छ।

 

यसरी बनाइएको शुद्ध गुग्गुलु वास्तवमा त्रिफला गुग्गुलु हो।  जुन एक क्लासिक आयुर्वेदिक तयारी मानिन्छ। शुद्ध गुग्गुलुमा त्रिफलाको फोहर पदार्थ शरीर बाट हटाउने  डिटोक्सिफाइं गुण र मानिस लाई छिटै  बुढो हुन बाट रोक्ने कायाकल्प गुण सँग गुग्गुलुको शरीरको सम्पूर्ण भागको निकै भित्री तह सम्म पुगेर सफा गर्ने गुण मिलाउँछ।

 

असुरोको पातको चिसो, खोकी, ब्रोन्काइटिस, दम घटाउने, पखाला र डिसेन्ट्रीको उपचार गर्ने क्षमता रहन्छ। गोमूत्र यस्तो पदार्थ हो जसमा मानव शरीरमा प्राकृतिक रूपमा हुने सबै पदार्थहरूको उपस्थित रहन्छ।

 

ईश्वरीय औषधी ठानिने गोमूत्र  मधुमेह, रक्तचाप, दम, हृदयाघात, धमनीमा रोकावट, क्यान्सर, माइग्रेन, थाइरोइड, अल्सर, एसिडिटी, कब्जियत आदि समस्याहरूको उपचारमा  प्रयोग हुने गरेको छ।

 

संयुक्त मिश्रण शरीरको नशाहरूमा र तन्तु हरुमा टाँसिएर रहेका फोहरहरू कोतरेर बाहिर निकाल्न प्रभावकारी बन्ने हुँदा यसलाई शरीर बाट विषलाई स्क्र्यापिंग गर्ने प्राकृतिक उपायको रूपमा चर्चित बनेको हो। शुद्ध गुग्गुलु  शरीरको तौल घटाउने प्रयोजनको लागि पनि प्रभावकारी हुन्छ।

 

किनकि संयुक्त मिश्रणको रुपमा रहेको गमले पाचन प्रक्रिया सुरुगर्न अग्नि वा पाचन रस पैदा गर्न उत्प्रेरित गर्छ। स्वस्थ मेटाबोलिजम लाई बढवा दिन्छ। पुरै पाचन प्रणालीका आन्द्रा, रगत, र जोर्नीहरूमा रहेका सञ्चित बनेका विषाक्त पदार्थहरू त्यहाँबाट हटाउन मद्दत गर्दछ। जसले गर्दा शरीरमा बोसो जम्ने भन्दा शरीर भित्र बोसो हटाउने वातावरण पैदा हुन पुग्छ।

 

 

परम्परागत औषधि हरुमा अत्यधिकगुग्गुलुको प्रयोग भएका कारण जङ्गली गुग्गुलुको रुखको जथाभाबी प्रयोगले सत्यानाश भएको छ । तसर्थ हाल आईयुसीएनले गुग्गुलुको रुखलाई लोप हुन सक्ने खतरा भएको प्रजातिको सूचीमा साईटिज़ अन्तर्गत राखेको छ।

 

यस अवस्थालाई सम्बोधन गर्न भारतको राष्ट्रिय औषधी प्लान्ट बोर्डले गुजरात, राजस्थान जस्तो सुख्खा एरियामा यसको खेती सम्भव भएकाले गुजरातको कच्छ जिल्ला बाट ५०० देखि ८०० हेक्टर व्यावसायिक गुग्गुलु खेती परियोजना आरम्भ गर्‍यो। राजस्थानको जोधपुर इलाकामा पनि गुग्गुलु खेती आरम्भ गरियो।

 

भारतले आईयुसीएन कै सहयोगमा कृषकमा सुरक्षित र दिगो गुग्गुलु खेती तथा भण्डारण तालिम  दियो। गुग्गुलु प्रशोधन गर्ने उद्योग सुरु गर्न, सुरक्षित प्रशोधन र सप्लिमेन्ट उत्पादन गर्न समेत भारत सरकारले व्यापक तालिम संचालन गर्यो।

 

गुग्गुलु खेती परियोजनामा किसानलाई खेती गर्न नै ७५% नगद अनुदान र प्रशोधन गर्न प्रविधि, सिप र मेसिन को लागि १००% सहयोग गरिएको थियो। फलतः २१ भन्दा बडीगुग्गुलु प्रशोधन र सप्लिमेन्ट उत्पादन र बिक्री गर्ने निजी क्षेत्र कार्यरत छन र पाकिस्तान लगायत ४२ देशमा उक्त उत्पादन पुर्‍याएर ठुलो धनराशि ग्रामीण स्तरमा भित्रन सम्भव भएको छ। आज पनि भारतमा न्यासनल मेडिसिनल प्लान्ट बोर्डले प्रति एकड गुग्गुलु खेती गर्न ९३७०२.४ भारु लाग्ने सरकारी दर रेट नै तोकिदिएको छ। त्यसको ७५% नगद अनुदान सिधै खेती गर्ने किसान लाई दिने गरेको छ।

एकातर्फ हाम्रा छिमेकी मुलुक भारत किसानलाई मेडिसिनल प्लान्ट खेती गर्न नगद अनुदान दिएर मात्र नपुगी आफ्ना स्थानीय उत्पादनलाई प्रशोधन र निर्यात योग्य बनाउन सीप र प्रविधि हस्तान्तरण गर्ने जरुरी ज्ञान र सिप प्राप्तिमा किसान लाई सहजता, प्रविधि हस्तान्तरणमा १००% सहयोग, उद्यमीलाई इनोभेटिब बनाउन दक्खल राख्ने नलेज इन्कुबेटरहरु लाई आफैले १००% सिड मनि हालेर देशमा निमन्त्रण गरी मुलुकमा उत्शाहबर्धक आर्थिक गतिविधिहरू सञ्चालन गर्न सफल बनेका छन्। संसारको बजारमा आफ्नो पकड जमाउन सकिरहेका छन्।

हामी भने कालान्तर देखिको बन नियमावली र बन कार्य विधिमा अड्केर आफ्नै खर्चमा कसैले हर्बल खेती गरी आफ्नो र मुलुकको आय आर्जन गर्न खोज्यो भने सरकारी मुद्दा लाग्ने नियम कानुन राखेर  राज्यकै खर्चमा उद्यमीलाई घोक्रे ट्याक लगाउने पासो बुनेर राखेका छौ।

 

साईटिज़ अन्तर्गत राखिएको चीनको भन्दा पनि उच्च गुणस्तर रहेको नेपाली जटा मसी भारतीय उत्पादन लाई एकाधिकार पुग्ने भित्री नियतमा भारतीय विज्ञ बाट केही वर्ष अघि साईटिज़ जेनेभामा नेपाली जटामसी उत्पादन अँनसस्टेनेबल रहेको भनी दिइएको रिपोर्टको आधारमा प्रतिबन्ध गरियो।

 

नेपालले साईटिज़ जेनेभामा उक्त विषय सँग डिल गर्न सानो टिम बनाएको थियो। हाल नेपालमा १८०० मेट्रिक टन  जटामसी उत्पादन हुने र त्यसलाई प्रशोधन निर्यात गरी राम्रो आय लिन सकिने अवस्था थियो। साईटिज़को व्यवस्था अनुरूप समुदाहिक बन बाट आउने हुँदा हुँदै पनि हामीले कम्तीमा ५०% निर्यात गर्न पाउनु पर्ने हुँदा कम्तीमा ९०० मेट्रिक टन निर्यात गर्न सक्नु पर्थ्यो।

साईटिज़ जेनेभाको आवश्यकता पूर्ति हुने गरी नेपाल सरकारका उच्च अधिकारीहरूले जरुरी हुने ईआईए/आइई रिपोर्ट दिन सकेनन्। फलतः साईटिज़ जेनेभाले भारतीय मित्रको रिपोर्टको लाइनमै उत्पादनको १०% मात्र नेपालले बिक्री गर्न पाउने कोटा प्रस्ताव गर्‍यो। नेपाल सरकारका उच्च अधिकारीहरूले बिना आनाकानी सहमति जनाए।

 

विगतको ३३७० मेट्रिक टनमा हामीले मात्र ३३७ मेट्रिक टनमा निकास योग्य सिफारिस पाउन सक्ने अवस्था रह्यो । यो सहमति बाट हालकै अवस्थामा हामीले प्रति वर्ष कम्तीमा ७२० मेट्रिक टन निर्यात गर्न सक्ने क्षमता गुमायौ। जुन लगभग साढे दुई अर्वको निर्यात हो।

 

हामीले निर्यात नगर्दा पनि संसारमा बजार माग घट्ने कुरा भएन। भारतले भने हिमाली जनजाति क्षेत्र जस्तै कुमाउ, गडवाल, काश्मीर, लताक आदिमा त्यहाँका रैथाने खेतीमै ७५% सम्म अनुदान दिएर मुनाफा भित्रँदै छ। हामी भने सामान्य भरपर्दो ईआईए/आइई रिपोर्ट दिन नसकिने अवस्था चिर्न सकिरहेका छैनौ। किनकि हामी संवृद्धि भनेर चिच्याउनै मा यति व्यस्त रह्यौ कि हामी सँग न त भुईँ को टिप्ने न खल्तीको जोगाउने फुर्सद नै रह्यो।

 

(लेखक घिमिरे क्यानेडियन खाद्य तथा औषधि विज्ञ हुन)

WRITE COMMENTS FOR THIS ARTICLE