मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालीले घेरे भारतीय दुतावास: जापानमा बुझाए ज्ञापनपत्र

जापान। भारतले नेपालमा गरेको नाकावन्दीको संसारभर रहेका नेपालीहरुले विरोध जनाउने क्रम जारी छ। उनीहरुले संगठीत तथा व्यक्तिगत रुपमा विरोध जनाइरहेका छन्। यसैबीच बिभिन्न पेशा र व्यबसाय गर्दै जापानमा रहेका नेपालीहरुले टोकियोस्थित भारतीय राजदूताबासमा ज्ञापन पत्र बुझाएका छन्। नेपालमा संविधान जारी भएसँगै तराइ मधेश क्षेत्रमा भएको आन्दोलन र त्यसैलाई कारण देखाउँदै भारतीय पक्षले नेपालतर्फको निकासीमा गरेको अवरोधप्रति गैरआवासीय नेपालीहरुले राजदूतमार्फत ज्ञापनपत्र बुझाएका हुन् । भारतले निकासी बन्द गर्दा नेपालमा गहिरिंदै गएको पेट्रोलियम संकट, खाद्यान्न, औषधीलगायतका अत्यावश्यकीय बस्तुको अभाव हुने र यसले स्थिति थप विकराल हुने जोखिमप्रति जापानका नेपालीहरुले चिन्ता व्यक्त गरेका छन्।

1

महाविनासकारी भूकम्पपछि संविधानसभाद्वारा संविधान जारी गरिएको स्थितिमा नेपालको अर्थतन्त्रमा सकारात्मक परिवर्तनको अपेक्षा गरिएकै बेला दक्षिणी सिमामा भएको आन्दोलन र अघोषित नाकाबन्दीले ठूलो आर्थिक क्षती पुगेको ज्ञापनपत्र बुझाउन गएका नेपालीहरुको भनाइ छ। समस्याको तत्काल सामाधान गरि अन्तर्राष्ट्रिय कानुन, क्षेत्रिय तथा द्विपक्षिय सन्धि सम्झौता एवम् दुई देशबीचको सम्बन्धको सम्मान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिलाई सम्बोधन गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

2

भूपरिबेष्ठित राष्ट्रका आफ्नै बिशिष्ठ अधिकारहरु रहेको र प्रत्येक राष्ट्रले त्यसको सम्मान गर्नुपर्ने ज्ञापन पत्रमा स्मरण गराइएको छ। झण्डै ४५ हजारको संख्यामा रहेका नेपाली तथा तिनको प्रतिनिधित्व गर्ने गैरआवासीय नेपाली संघ जापान, जापानस्थित नेपाली जनसम्पर्क समिति, प्रबासि नेपाली संगठन, नेपाली जन प्रगतिशिल मोर्चा, नेपाल जनजाती महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली व्यवसायी संगठन, नेपाली विद्यार्थी संघ लगायत ५० भन्दा बढि संस्थाहरुका तर्फबाट ज्ञापनपत्र बुझाइएको हो।

3

यस अभियानका संयोजक तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत रहेका व्यवसायी भवन भट्टको नेतृत्वमा एनआरएनका अध्यक्ष सुदन थापा सहित जापानमा रहेका सयौं नेपालीहरु भारतीय दुतावासमा ज्ञापनपत्र बुझाउन गएका थिए। ज्ञापनपत्रको बोधार्थ जापानका प्रधानमन्त्री, जापानस्थित संयुक्त राष्ट्रसंघको कार्यालय, सार्कराष्ट्रका सबै दूताबासहरु लगायतमा दिइने जानकारी गराइएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE