प्रथम क्रियोल नेपाली भाषी अँनलाइन पत्रिका
छठ पूजा “𝘾h𝙝𝙖𝙩𝙝 P𝙤𝙤𝙟𝙖“
पुरानो वैदिक परम्पराको भगवान् सूर्य र भगवान् सूर्यकी बहिनी भनेर चिनिने छठी मैयाँलाई समर्पित पूजा हो छठ पर्व। उधाउँदो सूर्यको बिहानीको किरण (उषा) र अस्ताउँदो सूर्यको बेलुकीको किरण (प्रत्युषा) शारीरिक, मानसिक, मनोवैज्ञानिक र आध्यात्मिक सबलताको हिसाब वाट मानिसको लागि अति उपयोगी दुई प्रमुख शक्तिको स्रोत हुने गर्दछ। मानव जीवनको सन्दर्भमा उषा र प्रत्युषाले सूर्यको फरक फरक ऊर्जा प्रदायकको भूमिका खेल्ने अर्धाङ्गिनीको रूपमा रूपमा छठ पर्वमा परिपूजित हुने गर्दछन्।
उषा र प्रत्युषाले सूर्य र प्रकृतिसँग सम्बन्धित वैदिक मान्यताको ब्रह्माण्डीय शक्तिहरूको प्रतिनिधित्व समेत गर्दछन्। सूर्यलाई हार्दिक नमन अर्पण गर्ने, पृथ्वीमा जीवन दिनुभएको र जीवनयापन सम्भव गर्दिनुभएकोमा कृतज्ञता व्यक्त गर्ने र भविष्यको कल्याण तथा समृद्धिको लागि समेत आशीर्वाद लिने आदि कार्यको अत्यन्त विशिष्ट गतिविधि अन्तर्गत पर्दछन्।
सूर्य उपासना सँग सम्बन्धित छठ पर्वको समयमा उदाउँदो सूर्यको उषा र अस्ताउँदो सूर्यको प्रत्युषा दुवैको समानान्तर पूजा हुन्छ। छठ पर्वका लागि तलाउ, पोखरी, नदी र खोला किनारहरू सफा गरेर सजाएर झकिझकाउ बनाइने गरिन्छ।छठको पहिलो दिनलाई अरबा–अरबाइन भनिन्छ। व्रतालुले भोजनमा माछा, मासु, लसुन, प्याज, कोदो, मुसुरो जस्ता खाद्यान्न परित्याग गरी सात्त्विक भोजन गरी व्रत बस्ने परम्परा छ । नेहाय खाय (नुहाएर खाने) विधिबाट सुरु हुने छठको दोस्रो दिन व्रतालुले प्रसादको रूपमा चामल, सक्खर र दूध मिसाएर बनाएको खीर खरना (खिर खाने) खान्छन् । तेस्रो दिन छठ पर्वको मुख्य दिन हो । तेस्रो दिनको अस्ताउँदो सूर्यलाई र चौथो दिनको उदाउँदो सूर्यलाई अर्घ दिएर विधिवत् रूपमा सम्पन्न गरिन्छ। अर्घ दिन व्रतालु ४८ घण्टासम्म पानी पनि नखाई उपबास बस्ने गर्दछन् ।
छठमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हाती लगायतको सामग्रीहरू चढाइन्छ। प्रसादको रूपमा ठकुवा, भुसुवा, केरा, खाजा, उखु, हल्दी, अदुवा एवं विविध प्रकारका मिठाई तथा फलफूल आदि सूर्यलाई अर्घको रूपमा चढाउने गरिन्छ।वेद र विज्ञानको दृष्टिमा छठ पूजा
शिवकी पत्नी पार्वतीको निश्चित प्रकृतिको प्रवृति लाई वेदमा रूद्रा तथा प्रिसनी भनि उल्लेख गरिएको छ। संसार (मातृभूमि) र जीवहरुको माताको अस्तित्व कायम गर्न आधारभूत संरचनाको भूमिका प्रष्ट गर्न वेदमा प्रिसनी प्रवृतिको साहरा लिइएको छ।
पृथ्वी वा शरीरको संरचनाको आधारभूत पाँच कणहरूमा (पञ्च-महाभूत) आकाश, वायु,अग्नि, जल र पृथ्वी तत्त्वहरु पर्ने गर्दछन। संरचनागत रूपमै प्रकृतिको नियमको सिद्धान्त (एकीकृत क्वान्टम फिल्डको नियम) लाई स्विकारी भाइब्रेशनल मोड (कम्पन) मा कायम रहने र कम्पनकै अवस्थामा रहेर पनि एक अर्को बिच आकर्षण र विकर्षण (प्रेम र घृणा) को द्वन्द्वात्मक सम्बन्धमा रहेर एक स्थिर ब्रह्माण्ड वा शरीरको संरचना निर्माण गर्ने कार्य (धर्म) पञ्च-महाभूत कणहरूको हो।
ऋग्वेद मन्त्र १.३८.११
मरुतो वीळुपाणिभिश चित्रा रोधस्वतीर अनु |
यातेम अखिद्रयामभिः||
भावार्थ: शक्तिशाली सूक्ष्म जीवहरू सङ्ख्यामा अनगिन्ती छन्। पानी जमिन, शरीर र खोला किनार आदिमा अत्यन्त सक्रिय रहन्छन।
ऋग्वेद मन्त्र १.३८.१२
सथिरा वः सन्तु नेमयो रथा अश्वास एषाम |
सुसंस्क्र्ता अभीशवः||
भावार्थ: सूक्ष्म जीवहरू अत्यन्त व्यवस्थित रूपमा सङ्गठित प्रणाली अन्तर्गत रहेर आफ्नो गतिविधिहरू सञ्चालन गर्दछन्।
ऋग्वेद मन्त्र १.३९.८
युष्मेषितो मरुतो मर्त्येषित आ यो नो अभ्व ईषते |
वि तं युयोत शवसा वय ओजसा वि युष्माकाभिर ऊतिभिः||
भावार्थ: समुदायका अबुझ सदस्यहरू जसले सामाजिक उत्तरदायित्वहरू नबुझेर वा अनदेखा गरी आफ्नो निजी स्वार्थ पूर्तिका खातिर जता-ततै फोहर फाल्ने, वातावरण प्रदूषण गर्ने जस्ता अदूरदर्शी कार्यमा संलग्न भेटिन्छन तिनीहरू लाई समय अनुकूल उचित शिक्षा-दीक्षा दिनु अनिवार्य हुनेछ। जनचेतना अभिवृद्धिको साथ साथै प्रदूषण रहित सफा र शुद्ध वातावरण कायम राख्न प्राकृतिक बायोडिग्रेडेशन जस्ता नियन्त्रित सूक्ष्म-जीवीक्रिया जस्ता हस्तक्षेपकारी उपायहरुको अवलम्बन गर्नु उपयुक्त हुनेछ।
छठ पर्वमा अवलम्बन गरिने तलाउ, पोखरी, नदी र खोला किनारहरू सफा गरेर सजाएर झकिझकाउ बनाइने तरिका अन्तर्गत सूक्ष्म-जीवीहरुको नियन्त्रण गर्ने हस्तक्षेपकारी उपायहरू अवलम्बन गरिने गरिन्छ।
अ॒ल्गण्डू᳚न् हन्मि मह॒ता व॒धेन॑ दू॒ना अदू᳚ना अर॒सा अ॑भूवन् ।
शि॒ष्टान॑शिष्टा॒न् नि ति॑रामि वा॒चा यथा॒ क्रिमी᳚णां॒ नकि॑रु॒च्छिषा᳚तै॥ अथर्ववेद क्रिमिजम्भनम्: ३
शब्दार्थ: छालामा जलन पैदा गर्ने रोगाणुहरु (हानिकारक माइक्रोबियल प्रजातिहरू) लाई नष्ट गर्ने विभिन्न औषधिहरूको विकास गर्न सकिन्छ। शरीर भित्र हुर्किसकेका र हुर्कँदै गरेका कतिपय रोगाणुहरू सङ्क्रमण शक्ति गुमाई सकेको अवस्थामा पुगेको हुन्छन्। शरीरको रोग प्रतिरोधी क्षमताको बाबजुद नष्ट नभएका निष्क्रिय तथा सक्रिय रोगाणुका सबै प्रजातिहरूलाई औषधिको प्रयोजनले नष्ट गर्नु उपयुक्त हुन्छ। ताकि एउटा पनि सङ्क्रामक रोगाणु शरीरमा जीवित रहने वातावरण नरहोस।
अन्वा᳚न्त्र्यं शीर्ष॒ण्य॑१मथो॒ पार्ष्टे᳚यं॒ क्रिमी᳚न् ।
अ॒व॒स्क॒वं व्य॑ध्व॒रं क्रिमी॒न् वच॑सा जम्भयामसि ॥ अथर्ववेद क्रिमिजम्भनम्: ४
शब्दार्थ: आन्द्रामा सङ्क्रमण गरी जीवन यापन गर्ने रोगाणुहरूले दिशा-पखाला-बान्ता आदि जस्ता हैजामा हुने जस्तो लक्षणका रोगहरू निम्त्याउँछ। टाउकोमा सङ्क्रमण गर्नेले चिलाउने, बेचैनी दिने, निराश गर्ने प्रकारका रोगहरू पैदा गर्छ। करङ भित्र सङ्क्रमण गर्नेले मुटु खान्छ। छालामा सङ्क्रमण गर्नेले कुष्ठरोगको लक्षणमा देखिने जस्ता छालाका रोगहरू निम्त्याउँछ। मासुमा सङ्क्रमण गर्नेले मासु खाने गर्दछ। यी सबै प्रकारका सङ्क्रमण गर्ने रोगाणुहरू लाई औषधिको प्रयोग गरी विखण्डन गरी निष्क्रिय तुल्याउन र नष्ट गर्न सकिन्छ।
छठ पर्वमा प्रयोग हुने हल्दी, अदुवा, बाँस र अन्य वनस्पति निर्मित सामग्री आदि जस्ता जडीबुटी पानी जन्य तथा किटजन्य रोगसँग लड्न औषधीय भूमिका दिने प्रकृतिका छन्। उक्त पर्वका अग्नि, यज्ञ र सूर्यको सदुपयोग सूक्ष्म जीव रोगाणु विनाशक, भिटामिन-डी निर्माणमा सहयोगी र शरीरको डिसइन्फेक्टेन्ट निर्माण गर्ने क्षमता राख्दछन्। छठ पर्वमा हुने लामो व्रत शरीरको कोशिकामा जमेर रहने मानिसमा रोग निम्त्याउने हेबी वाटर भनिने विषाक्त पानी हटाउने उत्तम उपाय हुने प्रमाणित बनेको छ।
उद्यन्नादित्यः क्रिमीन् हन्तु निम्रोचन् हन्तु रश्मिभि:।
ये अन्तः क्रिमयो गवि॥ क्रिमिनाशनम २.३२.१, अथर्ववेद।
शब्दार्थ: सूर्योदय र सूर्यास्तको समयको सूर्यको किरणले शरीरमा रहने रोगाणुहरु लाई नष्ट गर्न सक्दछ।
व्याख्या: हामी सबैलाई वैज्ञानिक रूपमा प्रमाणित भएको यो तथ्य थाहा छ कि सूर्यको किरणले मानव शरीरमा रहेको भिटामिन ‘डी’उत्पादन गर्दछ जसले मानव सेलमा रहेको ‘टी’ सेलहरूलाई सक्रिय पारि मानिसको प्रतिरक्षामा प्रणाली लाई बलिष्ठ पार्ने कार्य गर्दछ। यो बारे वैज्ञानिक अनुसन्धानले अर्को पातो समेत वैज्ञानिक रूपमा प्रमाणित गरिदिएको छ। जस अनुसार न्यून मात्रामा निलो प्रकाशको किरण रहेको सूर्यको प्रकाशले मानव कोशिका भित्रका टी सेलहरू लाई तीव्र गतिमा सक्रिय हुन समेत उत्प्रेरित गर्ने गर्दछ।
मानव शरीरको सबैभन्दा ठुलो अङ्गको रूपमा रहेको छालाको कोशिकामा यसरी सक्रिय भएका टी सेलहरूले छालामा रहने धेरै सूक्ष्म जीवहरू सतर्क पारि दिन्छ। छालालाई आफ्नो वासस्थान बनाएका तिनीहरू कि त शरीर छोडेर भाग्दछ। छालामै रहने रोगाणुहरु भने सूर्यको किरणको प्रभावले टी सेलहरूले नष्ट पारिदिन्छ। सङ्क्रमणको स्थानमा सक्रिय रहेका टी सेलहरू चाहे प्रतिरक्षामा प्रणालीको सहयोगीको भूमिकामा हुन् वा रोगाणुहरु नष्ट गर्ने भूमिकामा शरीरको सुरक्षा कवचको काम गरिरहेका हुन्छन्।
रगतले जब शरीरमा सङ्क्रमण भएको महसुस गर्दछ तब रगतमा रहेको सेतो रक्त कोशिकाहरूले शरीर लाई सङ्क्रमण गर्ने ब्याक्टेरियाहरू मार्न र प्रतिरक्षा प्रणाली लाई चुस्त पार्न हाइड्रोजन पेरोक्साइड नामक यौगिकको निर्माण गर्दछ। सूर्यमा हुने नीलो प्रकाशको किरण हाम्रो छालाको बाहिरी तह लाई छेडेर दोस्रो तह डर्मिस सम्म सहजै पुग्न सक्दछ। सूर्यको नीलो किरणले डर्मिसमा रहेका टी सेलको कोशिकाहरूमा हाइड्रोजन पेरोक्साइड बनाउने गर्दछ। हाइड्रोजन पेरोक्साइडले गर्दा टी-सेलका कोशिकाहरूको शरीर भरि सक्रिय सञ्चार हुन सम्भव बन्छ। टि-सेलको प्रतिरक्षात्मक प्रतिक्रियामा र प्रतिरक्षाको क्रममा क्षति भएको टी -सेल त्यहाँ वाट हटाउन पनि हाइड्रोजन पेरोक्साइडको प्रयोग हुन्छ।
सूर्यको किरणले छालामा भिटामिन-डीको उत्पादन गर्न अल्ट्राभोइलेट किरणको जरुरत हुन्छ। युभी किरणले छालामा छालाको क्यान्सर र मेलानोमा हुने जोखिम समेत उच्च पारि दिन्छ। सूर्यको किरणमा हुने निलो प्रकाशले छालामा हुने उक्त विकृतिहरू रोक्ने विशेष भूमिका खेल्ने गर्दछ। जसको अन्तिम नतिजा शरीरको रोग प्रतिरोध क्षमता बलिष्ठ बन्नु हुन पुग्छ।
दिउसोको समयमा सूर्य सिधै आकाशमा माथि हुन्छ। त्यो समयमा सूर्यको किरणमा हुने छोटो ओइव-लेन्थका किरणहरू त्यसमा पनि मुख्यतया निलो किरण माथिल्लो वायुमण्डलमा रहेको हावा अणुहरूले परावर्तित गरी तितरबितर पारिदिन्छ। जसले गर्दा आकाश निलो देखिन्छ तर हामी सम्म भने निलो किरण कम आइरहेको हुन्छ। त्यसैले गर्दा सूर्योदय र सूर्यास्तको समयमा हामीले सूर्यवाट धेरै निलो किरण प्राप्त गर्न सक्छौ।
यो अर्थमा माथिको सूक्तले दिएको सिद्धान्त वैज्ञानिक रूपमा प्रमाणित हुन्छ। पुरानो वैदिक परम्पराको भगवान् सूर्य र भगवान् सूर्यकी बहिनी भनेर चिनिने छठी मैयाँलाई समर्पित पूजा छठ अत्यन्त विशिष्ट पर्व रहेको पुष्टि हुन्छ।